गुहारपछि मात्रै बोलिन् भूमिका श्रेष्ठ: विस्थापित तेस्रोलिंगीलाई ‘नाम टिपाउन’ आह्वान

गुहारपछि मात्रै बोलिन् भूमिका श्रेष्ठ: विस्थापित तेस्रोलिंगीलाई ‘नाम टिपाउन’ आह्वान

202
SHARES

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद भूमिका श्रेष्ठ सुकुम्वासी बस्ती भत्काउँदा बिचल्लीमा परेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको अधिकारका लागि अन्ततः बोल्न बाध्य भएकी छन्। उनले आफ्नो सचिवालयमा सम्पर्क गर्न र नाम टिपाउन अनुरोध गरेकी छन्।

सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगी समुदायमाथि बढ्दो चौतर्फी दबाब, असुरक्षा र निरन्तरको गुहारपछि मात्रै उनले औपचारिक रूपमा चासो देखाएकी हुन्।

सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूले दशरथ रङ्गशाला पुगेर प्रत्यक्ष रूपमा गुहार मागेपछि सांसद श्रेष्ठले सम्पर्क गर्न आग्रह गरेकी हुन्। त्यसअघि लामो समयदेखि समुदायले भोग्दै आएको बहुआयामिक समस्याका विषयमा संस्थागत रूपमा ध्यानाकर्षण गराउँदा समेत ठोस पहल नभएको गुनासोसमेत सार्वजनिक हुँदै आएको थियो।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अगुवा जेनजी बाबु दुमि राईले सांसद श्रेष्ठको सचिवालयमा समुदायको सामूहिक समस्याबारे छलफल गरेको भोलिपल्टै सांसद श्रेष्ठले विस्थापित लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूलाई सम्पर्कका लागि सामाजिक सञ्जालमार्फत सूचना जारी गरेकी छन्।

राईले श्रेष्ठको सचिवालयमा लैङ्गिक हिंसा, घरायसी हिंसा, मानसिक, भावनात्मक तथा शारीरिक स्वास्थ्य समस्या, घर भाडा नपाउने अवस्था, बढ्दो महँगी र रोजगारीसम्बन्धी जटिलताबारे विस्तृत जानकारी गराएको उल्लेख गरेका छन्। मायाको पहिचान नेपालका प्रदेश समन्वय अधिकारीसमेत रहेका राईले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए।

तत्काल सुकुम्वासी हट्दै गर्दा समुदायलाई परेको समस्यालाई कसरी सम्बोधन गर्ने र समाधानका सम्भावित उपायहरू के हुन सक्छन् भन्ने विषयमा पनि छलफल भएको राईले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्। “साँच्चै पीडित छन्, तर नीति के छन्, कसरी सम्बोधन गर्ने, कहाँ गर्ने अनि कसरी बनाउन सकिन्छ भन्ने धेरै प्रश्न छन्,” उनले लेखेका छन्, “राज्यको नीतिमा अटाउन नसक्ने कुरालाई कसरी सम्बोधन गर्ने भन्ने चुनौती अझै जटिल छ।”

सुकुम्वासी बस्तीबाट विस्थापित समुदायका व्यक्तिहरूको उचित बसोबास व्यवस्थापनका लागि सांसद श्रेष्ठसँग सम्पर्क गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले समेत सुझाव दिएको थियो। पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले प्राधिकरणकी विकास आयुक्त जानुका ढकाललाई रङ्गशालामै भेटेर तथा टेलिफोनमार्फत विस्थापितहरूको उचित बसोबासको व्यवस्था गर्न माग गरेका थिए।

मङ्गलवार सांसद श्रेष्ठले सामाजिक सञ्जालमार्फत काठमाडौं उपत्यका विकास प्राधिकरणका सम्पर्क व्यक्तिबाट प्राप्त जानकारीअनुसार उपत्यकाभित्रका विभिन्न स्थानमा बसोबास गरिरहेका लैङ्गिक तथा यौनिक अल्पसंख्यक सुकुम्वासी व्यक्तिहरूका विभिन्न गुनासाहरू प्राप्त भएको उल्लेख गरेकी छन्।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक तेस्रोलिंगी पहिचानमा एक जनाले आधिकारिक रूपमा नाम दर्ता गरेर नम्बर लिए पनि अभिलेखमा भने समुदायका व्यक्तिहरूको नाम स्पष्ट रूपमा दर्ता भएको जानकारी पाउन नसकेको सांसद श्रेष्ठले लेखेकी छन्।

उनले आफ्ना समस्याहरूलाई आधिकारिक रूपमा दर्ता गराउन र अधिकार सुनिश्चित गर्नका लागि यो सूचना जारी गरिएको उल्लेख गरेकी छन्। साथै, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायभित्र पर्नुहुन्छ र सुकुम्वासी समस्या झेल्दै हुनुहुन्छ भने तुरुन्तै भूमिका श्रेष्ठको सचिवालयमा सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध गरिएको छ।

सम्पर्क ठेगाना:
📍 भूमिका श्रेष्ठ सचिवालय
📞 सम्पर्क नम्बर : ९८०८२६२६९९ (रुक्शना कपाली, सचिवालय प्रमुख) ।
📧 इमेल : [email protected]

समाचार शेयर गर्नुहोस्
202
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.