एलर्जी हुने कारण र उपचार

एलर्जी हुने कारण र उपचार

109
SHARES

मानिस या पशु प्राणीको शरीरले कुनै विशेष प्रकारको बाहिरी तत्त्वलाई सहन गर्न नसक्नु एलर्जी हो। अर्थात् ती विशेष प्रकारका तत्त्वप्रति शरीरले प्रतिक्रिया (हाइपर सेन्सिटिभिटी) देखाउनु हो। उदाहरणका लागी धुलो या धुवा अथवा चिसो अनि कुनै वासना या गन्ध अथवा खानाको सम्पर्कमा आउँदा तुरुन्तै रुघामर्की लाग्नु, नाकबाट पानी बग्नु, धेरै पटक हाच्छिउँ आउनु, नाक बन्द हुनु, आँखा राता हुनु, आँसु धेरै बग्नु आदि आदि। यसरी नै छाला चिलाउने, शरीरमा डाबर आउने, अचानक एकोहोरो खोकी लाग्ने, दम फुले जस्तो हुने, केही कुरा खाने बित्तिकै पखाला लाग्ने या वान्ता हुने जस्ता लक्षणहरू एलर्जी हुन्। यस्ता लक्षण भएका समस्याहरू कसैलाई खानेकुराबाट त कसैलाई कुनै कुराको सम्पर्कबाट, ढुँडी, ढुसी, पुराना थन्काएर राखेका कपडा, कागजात, गन्ध, चिसो, चकलेट, दूध या यसका परिकार, जनावरका भुत्ला, राग, मौसममा आएको अचानक परिवर्तन, घाम या ठाउँ फेरिने बित्तिकै देखा पर्न सक्छ।

आखिर एलर्जी के हो र किन कसै कसैमा मात्र आउँछ? आजसम्मको अध्ययन र अनुसन्धानले एलर्जी के कारणबाट हुन्छ र यसको उपचार के भन्ने कुरा पुर्णरुपमा पत्ता लाग्न सकेको छैन। मात्र के कुराको एलर्जी हो सोबाट बच्न सुझाव दिइने र केही रोकथामका औषधी दिइने गरिन्छ। जसका कारण बिरामीलाई केही राहत हुने गर्छ। हाम्रो शरीरमा उत्पन्न हुने हिस्टामिन नामक तत्त्वका कारण एलर्जी हुने कुरा पत्ता लागेको छ र एण्टी एलर्जी औषधीले यसैलाई नियन्त्रणमा राख्छ।

आजको आधुनिक एक्काइसौँ शताब्दीमा मानिसहरू धेरै व्यस्त छन्। आफ्नो शरीरको ख्याल गर्न र बाहिरी वातावरणसँग बच्न सक्ने अवस्था छैन। धेरैलाई जीवन निर्वाह गर्न निक्कै असहज छ र धेरै सङ्घर्ष पनि गरिरहनु परेको छ। यति गर्दा पनि विश्वका एक चौथाइ जनसङ्ख्याले हुँदा मात्र खान पाउने अवस्था छ। भोकमरीको यो भयावह अवस्थामा मानिसले यो र त्यो भनेर जोगिन सक्ने छुट पनि छैन। जहाँ जे भेटो त्यही खाने र लगाउने अनि ठाउँ र मौसमको प्रतिकुलतालाई पनि मिच्नु पर्ने अवस्था छ। यसका साथसाथै केही मानिसहरू भने धेरै खाएर र अनावश्यक सोखका कारण अनेक प्रकारका एलर्जीबाट ग्रसित रहँदै आएका छन्। र, यो क्रम तीव्र रूपमा बढेका कारण एलर्जी सम्बन्धी समस्या लिएर चिकित्सक कहाँ धाउनेको संख्या पनि बढेको पाइन्छ।

कारण :

हाम्रो शरीर प्रकृतिको सबै भन्दा ठुलो उपहार हो। प्रकृतिले हामी स्वयमलाई हरेक खाले रोग र असहज अवस्थाबाट बच्न शरीरमै विभिन्न रोग प्रतिरोधात्मक क्षमताको विकास गरिदिएको छ। शरीरलाई बाहिरी या भित्री विभिन्न रोगहरूबाट बचाउने शक्ति शरीरले आफै उत्पादन गर्दछ। यो शक्तिलाई इम्युनिटी भनिन्छ। शरीरमा विभिन्न रोग र बाहिरी प्रभावबाट बचाउन विभिन्न रूपमा इम्युनिटीको विकास भएको हुन्छ। यो मध्येको एउटा हो इम्युनोग्लोविन। इम्युनोग्लोविन विभिन्न प्रकारका हुन्छन्। जस्तै आइजि ए, आइजि इ, आइजि एम आदी। जब शरीरमा कुनै प्रकारको बाहिरी तत्त्वले लगातार प्रभाव या असर देखाउन थाल्छ, माथि भनिएका मध्ये कुनै एक प्रकारको इम्युनोग्लोविन बढ्न सक्छ, त्यो तत्त्वको प्रभावलाई कम गर्न। तर शरीर आफै सक्षम हुँदैन। जसका कारण शरीरले विभिन्न लक्षणहरू देखाउन थाल्छ। यो भनेको शरीरले सहयोग माग्नु हो गुहार, मलाई बचाउ भनेको हो। जस्तै लगातार धेरै पटक हाच्छिउँ आउनु, नाकबाट पातलो पानी बग्नु, अचानक एकोहोरो खोकी लाग्नु, केही खानेवित्तिकै पखाला लाग्नु, असैय पेट दुख्नु, जिउ चिलाउनु, डाबर आउनु, दम फुल्नु आदि आदि लक्षणहरू शरीरका प्रतिक्रिया हुन्।

किन शरीर आफै यस्ता एलर्जी उत्पादन गर्ने तत्त्वलाई नियन्त्रण गर्न सक्दैन त?

कारण हो, हाम्रो शरीरले विभिन्न यस्ता रोगलाई प्रवेश गर्नबाट रोक्ने क्षमता गुमाउँदै जानु। हामीले प्राकृतिक नियमको विपरीत जीवनशैली अपनाउनु, अप्राकृतिक खानेकुरा खानु, हामीले सेवन गर्ने सागसब्जी र अन्नबालीमा विभिन्न प्रकारका खाद र विषादीको प्रयोग गरिनु, विभिन्न प्रकारका बजारमा बनेका फास्टफुड खानामा ध्यान दिनु। योग अभ्यासको या शारीरिक व्यामको कमी, दिनभर कुर्सीमा बसेर चिया या अन्य पेय पदार्थको सेवन, शरीरलाई आवश्यक भिटामिन र खनिज तत्त्वको कमी, निद्राको कमी, अनावश्यक चिन्ता, जीवनशैलीमा आएको परिवर्तन, धेरै मात्रामा अनावश्यक औषधीको सेवन वा गलत औषधीको प्रयोग आदी मुख्य कारण हुन्। यस्ता विभिन्न कारणबाट शरीरले आफै उत्पादन गर्ने रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा माथि भनिएका विभिन्न खाले तत्त्व शरीरमा रोगको रूपमा देखा पर्छन्। र, यस्ता एलर्जी उत्पन्न गर्ने तत्त्वको प्रयोगशालामा परीक्षण पनि हुने गरेको छ।

उपचार :

आजको दिनसम्म आइपुग्दा विश्वमा विभिन्न औषधी र उपचार प्रणालीको विकास भएको छ। एलर्जी जस्ता शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएर शरीरमा रहिरहने रोगका लागि धेरै महँगा टेस्टहरू हुने गरेका छन्। कति त गलत र कडा औषधीका कारण अन्य रोग निम्ताएको भेटिन्छ। तर पनि पूर्ण उपचार हुन नसकेका धेरै उदाहरणहरू देख्न पाइन्छ। रोगीले पहिला त आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु अत्यन्तै जरुरी छ। अप्राकृतिक रूपमा खाने या प्रयोग गरिएका सामानबाट पनि एलर्जी भएको हुनसक्छ। दैनिक प्रयोगमा ल्याइने परफ्युम, बडी लोसन, साबुन, सनस्क्रिन या कपडाबाट पनि एलर्जी भएको हुनसक्छ। पहिला त के कारणबाट भएको हो आफूले पत्ता लगाउने। शरीरको सामान्य जाँच गराउने। अन्य कुनै रोग भए उपचार गराउने। अनावश्यक औषधीको सेवन नगर्ने। शरीरलाई सोखी र भोगी नबनाउने। थोरै खाने स्वस्थ खाने तर पानी धेरै पिउने। कम्तीमा ६ घण्टा राम्रोसँग निदाउने।

आजको दिनसम्म आइपुग्दा पनि कुनै पनि चिकित्सा प्रणाली पूर्ण रूपमा सफल भएको छैन। होमियोप्याथिक या आयुर्वेदिक चिकित्सा पद्धतिमा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधीहरू हुन्छन्। त्यसमा पनि होमियोप्याथिक औषधिले त रोगी व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने सँगै जरैदेखि निको पार्ने क्षमता पनि राख्छ। त्यसैले बिरामी वर्गले समयमा नै सचेत भएर आफूलाई भएको समस्या बारे राम्रो जानकारी र उपचार लीन र सधैँ सचेत रहनु आवश्यक छ।

आजका दिन सम्ममा धेरै मानिसलाई सताएको एलर्जीमा, छिनछिनमा नै रुघा मर्की लाग्नु, हाच्छिउँ आउनु, सुख्खा खोकी लाग्नु अनि शरीरमा डाबर आउनु, चिलाउनु, र दम जस्तो देखा पर्नु आदि आदि। यस्ता रोगबाट धेरै मानिसहरू पीडित भए पनि बिरामीले सही उपचार पद्धति नपाउँदा र सही सल्लाह नपाउँदा रोग सहेर बस्न बाध्य छन्। त्यसैले बिरामी आफैले पनि पत्रपत्रिका पढ्ने, अन्य चिकित्सा प्रणालीका चिकित्सकसँग पनि सरसल्लाह लिनु उचित हुन्छ। आजकल त धेरै बिरामीहरू गुगल या युट्युबको अध्ययनबाट सही उपचार पद्धति छान्न थालेका छन्। त्यसैले यसको पनि उपयोग गर्नुपर्छ। केही होमियोप्याथिक औषधीहरू जस्तै सोरिनम, थुजा, कल्केरिया कार्व, पल्सेटिला, नेट्रमम्यूर, हिपरसल्फर, सल्फर आदि छन्। माथिका मध्ये या अरू कुनै पनि औषधी चिकित्सकको सल्लाहमा मात्र लिनुपर्छ।

(डा. नेउपाने रीता होमियो क्लिनिक दमकका सञ्चालक हुन्।)

समाचार शेयर गर्नुहोस्
109
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.