अमेरिकाको कोलम्बसमा साहित्य अनुरागीहरूको विशेष उपस्थितिमा ‘मनदेखि मनसम्म’ स्पोकन वर्ड पोएट्री नाइटको सातौँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ। न्युजिल्यान्ड निवासी कवि बिदुर पौडेलको कविता कृति ‘बसाइ सरेको देश’ लाई मुख्य थिम बनाएर आयोजना गरिएको यस कार्यक्रममा २०जना भन्दा बढी स्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।
हेल्दी होम हेल्थ केयर र हेल्दी एडल्ट डे केयरको सहयोगमा आयोजित यस कार्यक्रमको संयोजन दियालो’ सुसन माझीले गरेका थिए। कार्यक्रममा शरणार्थी शिविरको अभाव, परदेशमा पहिचानको खोजी, मातृभूमिप्रतिको अगाध प्रेम र विछोडको पीडालाई शब्दमार्फत उतारिएको थियो ।
“देश केवल भूगोलको नक्सा मात्र होइन। आमाको आवाज, बाबुको पसिना र आफ्नो अस्तित्व पनि हो।”बालकृष्ण अधिकारी
कार्यक्रममा सहभागी स्रष्टाहरूले विदेशी भूमिमा पासपोर्ट र नागरिकता पाए पनि आफ्नो भाषा हराउँदा आत्मा हराउने डर व्यक्त गरे। भाषा र संस्कृति सन्तानहरूमा हस्तान्तरण गर्नु परेको कठिन दायित्वको पनि मार्मिक चित्रण कविताहरूमा पाइयो।
प्रमुख स्रष्टाहरू र उनीहरूका कविता
टेक आचार्य: ‘हाम्रा आँखा’
शेखर कोइराला काकू: ‘फुलवारी
आरबि खड्का: ‘म नभएरै छु’
अर्जुन रसायली: ‘म देशको कलाकार’
गंगा लामिटारे: ‘भाषाको मृत्यु’ नेपाली भाषा र अक्षरहरूको महत्त्वमा आधारित
दियालो’ सुसन माझी: ‘बसाइ सरेको देश’
मदन दुलाल: ‘आमा र मौनताको पीडा’
यसबाहेक कार्यक्रममा डा. भोला सेवाकोटी, बालकृष्ण अधिकारी,भीम अधिकारी, गोविन्द लुइँटेल, कपिल नेपाल, नारायण दाहाल, टेक आचार्य, ईश्वर ढकाल, इन्दिरा तिम्सिना, गोविन्द अधिकारी, सबिन धिमाल, शेखर काकू, भरत तिम्सिना, पातलो अन्तरे , डा. हरि उप्रेति लगायतका स्रष्टाहरूले पनि आफ्ना रचना वाचन गरेका थिए।
कार्यक्रमको सबैभन्दा मर्मस्पर्शी क्षणहरूमध्ये एक थियो। साहित्य परिष्द् भूटानका अध्यक्ष गंगा लामिटारेको कविता ‘भाषाको मृत्यु’। तीन महिनाको जेल बसाइपछि स्कुल फर्कँदा आँगनमा आगो बलिरहेको र त्यसमा नेपाली भाषाका किताबहरू जलिरहेको दृश्यलाई उनले आफ्नो कवितामा मुख्य पीडाका रूपमा प्रस्तुत गरे।
उनले किताब जल्नुलाई केवल कागज जल्नु मात्र नभई आफ्नो इतिहास, आवाज र अस्तित्व नै पोलिरहेको पीडाका रूपमा महसुस गरेका छन्। अक्षरहरू खरानी बन्दै हावामा उडिरहेको देख्दा आफ्नो पहिचान नै समाप्त हुन लागेको आभास उनलाई भएको थियो।
“अब नेपाली पढाइ हुँदैन” यो वाक्यले मुटु नै छियाछिया पार्यो। वर्षौँदेखि पढाएका अक्षरहरूलाई अपराधी झैँ आगोमा फालिँदाको वेदना असैह्य थियो।” गंगाराम अधिकारी
वर्षौँदेखि बालबालिकालाई पढाएका अक्षरहरू र शब्दहरू जसले कसैलाई चोट दिएका थिएनन्। तिनलाई अपराधी झैँ आगोमा फालिँदाको असैह्य वेदना उनले व्यक्त गरे। आफ्नै भाषाको ‘मृत्यु’ देख्दा पनि केही गर्न नसकी निशक्त भएर उभिनु परेको र चुपचाप फर्कनु परेको विवशताले उनको कवितामा अर्कै गहिराइ थपेको छ।
तर यो सबै पीडाका बीच, उनको कवितामा एउटा दृढ आशा पनि झल्किन्छ। आगोले किताब जलाउन सके पनि कसैको सम्झना, कविता र आवाजमा भाषा कहिल्यै मर्दैन। भाषा फेरि जन्मनेछ।
कार्यक्रममा अर्को चर्चित कविता थियो। विश्व भूटानी साहित्यिक संगठनका अध्यक्ष पातलो अन्तरेको रचना। उनले प्रवासमा रहेका नेपालीहरूको पहिचान, मानसिक द्वन्द्व र मातृभूमिप्रतिको गहिरो विछोडलाई अत्यन्तै मार्मिक र प्रतीकात्मक रूपमा प्रस्तुत गरे।
उनले आफ्नो पहिचानलाई पासपोर्टको निलो र कालो कभरभित्र कैद भएको र भिसाका म्यादहरूमा जिन्दगी टाँसिएको अवस्थाका रूपमा चित्रण गरे। एयरपोर्टका ट्रलीहरूलाई आफ्ना सपनाहरूको अस्थायी केन्द्र मान्दै, विदेशी सहरका बत्तीहरू झिलिमिली भए पनि तीमध्ये कुनै पनि आफ्नो बाल्यकालका उज्यालो नभएको पीडा उनले व्यक्त गरे।
“दुखले दुखै छोडिसक्यो, सुख बचाउन पनि अब त पेन्क्रियास फेरिरहनु पर्छ। देश दुख्न छोडेको छ तर रात परेपछि देब्रे छाती दुख्छ।” पातलो अन्तरे
उनको कवितामा परदेशको भोगाइलाई व्यङ्ग्यात्मक शैलीमा उतारिएको छ। भौतिक पीडाभन्दा गहिरो छ मनभित्रको घाउ। हरेक बिहान नयाँ देशको घामसँग सम्झौता गर्ने र हरेक रात पुरानो देशको चन्द्रमासँग बाँच्ने। यो दोसाँधको जीवन नै प्रवासी अस्तित्वको सार हो।
कवितामा आमाको आवाज भान्साको धुवाँसँगै रमाइरहेको र बुबाको पसिना टोपीमा बाँचिरहेको बिम्बले सुनिनेहरूको मन छोयो। पातलो अन्तरेको कवितामा परदेशमा भौतिक सम्पन्नता भए तापनि आफ्नो अस्तित्व र घर फर्किने अधुरो सपनाका बीचमा भइरहेको संघर्षको सजीव चित्रण पाइन्छ।
त्यसैगरि साहित्यकार इश्वर ढकालले आफ्नो कविता ‘देश नक्सामा सीमित’ मार्फत २० वर्षको लामो प्रवास बसाइ र संघर्षको कथा पोखे। परदेशमा श्रमको मोती कौडीको दाममा बेच्नु परेको कटु-यथार्थलाई उनले सोझो शब्दमा उतारे। देश केवल भौगोलिक नक्सा मात्र नभई छाती भित्रको निको नहुने घाउ पनि हो।
उनका अनुसार प्रवासीहरू आफ्नै कथाका शरणार्थी हुन्। देश नक्सामा सीमित देखिन्छ तर आत्मामा सधैँ दुखिरहन्छ। यो दुखाइ समयसँगै कम हुँदैन, बरु प्रवासका वर्षहरू बित्दै जाँदा गहिरिँदै जान्छ।
कबिहरूले “बसाइ सरेको देश” खोजिरहेका बेला गितकार तथा कबि आरबि खड्काको कविता ‘म नभएरै छु’ संवेगात्मक र दार्शनिक दुवै भावले भरिपूर्ण थियो। छुटेर पनि यात्रामा हुनु, टुटेर पनि प्रेममा रहनु। यो अनौठो विरोधाभासलाई उनले शब्दमा उतारे। मानिस पूर्ण रूपमा रित्तिएर नै भरिन सक्छ, नरोएरै पनि आँसुसँगै बाँच्न सक्छ। यो चेतनाको गहिरो अनुभूति उनको कवितामा झल्किन्छ।
जीवनलाई एउटा निरन्तर यात्रा र चेतनाको रूपमा व्याख्या गर्दै उनले प्रवासी अस्तित्वको त्यो अवस्थालाई समेटे। जहाँ ‘म’ छु पनि र छैन पनि। उपस्थितिको अनुपस्थिति वा अनुपस्थितिको उपस्थिति। यही नै प्रवासी आत्माको स्थायी अवस्था हो। कबिता भित्र हराइरहेका कबिहरू पछि एक कलाकार हराएको क्यानभासको खोजी गर्दै आउछ। भूटानी समाजका गायक तथा संगितकार अर्जुन रसायलीले आफ्नो कविता ‘म देशको कलाकार’ मार्फत एउटा विशेष पीडा व्यक्त गरे। हातमा रङ छ तर क्यानभास हराएको छ, मुटुमा स्वर छ तर सुन्ने कान हराएको छ। पराई आकाशमुनि सपना कुर्दै गर्दा विदेशी अक्षरमा पीडा लेखिन्छ, तर मनले भने आफ्नै झ्याउरे भाका गुनगुनाइरहन्छ।
यो बिम्बले प्रवासी स्रष्टाको दोहोरो संसारलाई सुन्दर ढंगले उजागर गर्छ। बाहिरको दुनियाँले बुझ्ने भाषामा आफूलाई प्रस्तुत गर्दागर्दै पनि भित्रको आत्माले आफ्नै लय र भाका नछोड्ने जिद्दी।
त्यसैगरि हामी सबैलाइ साथी चाहिन्छ। त्यसै भएर दर्शन र राजनीतिको दोभानमा डा. पुरानाघरे: ‘साथी’ देखि ‘गगन’ सम्मको शसक्त प्रस्तुति र फरक पुनरागमन भयो।
मान्छे सामाजिक प्राणी मात्र होइन, एक भावनात्मक यात्री पनि हो जसलाई यात्राको हरेक मोडमा ‘साथी’को अपरिहार्यता रहन्छ। डा. पुरानाघरेले हालैको एक कार्यक्रममा आफ्ना दुई भिन्न प्रकृतिका सिर्जनामार्फत यही मानवीय सत्य र वर्तमान राजनीतिको कुरूप यथार्थलाई निकै तार्किक र कलात्मक ढंगले चिरफार गरे।
डा. पुरानाघरेको कविता “साथी” ले मित्रतालाई केवल ‘सम्बन्ध’को रूपमा मात्र नहेरी ‘अस्तित्व’को कडीका रूपमा प्रस्तुत गरेको छ। कविताको प्रारम्भिक पङ्क्ति, “हुँदा अघि बाटो – म यात्री भएर पछि छु”ले एक गहिरो दार्शनिक प्रश्न खडा गर्छ। यहाँ ‘बाटो’ अवसर र सम्बन्धको प्रतीक हो भने ‘यात्री’ व्यक्ति स्वयम्। बाटो (साथी) बिना यात्रीको कुनै पहिचान हुँदैन भन्ने तर्कले कवितालाई अस्तित्ववादी धरातलमा उभ्याएको छ।
कविताको भावुक र दार्शनिक परिवेशबाट निस्किएर डा. पुरानाघरेले जब कार्यक्रमको फर्मेन्ट नै तोडेर गजलको उठान गरे, तब हलको वातावरण वैचारिक विद्रोहतर्फ मोडियो। कार्यक्रमको परम्परागत ढाँचा तोड्दै उनले प्रस्तुत गरेको गजल नेपाली राजनीतिको वर्तमान संकथनमाथि एउटा तिखो ‘सर्जिकल स्ट्राइक’ थियो।
“साथी” कविताले जहाँ मित्रताको दर्शनलाई अस्तित्ववादी गहिराइमा पुर्याउँछ, त्यहीँ “गगन अझै” गजलले व्यवस्था बदल्ने दाबी गर्नेहरूको अवस्थामाथि गम्भीर प्रश्न खडा गर्छ। यो आलेखले के पुष्टि गर्छ भने, डा. पुरानाघरे केवल शब्द खेलाउने कवि मात्र नभएर समाजको नाडी छाम्ने एक सचेत चिन्तक पनि हुन्, जसका सिर्जनाले पाठकलाई एकैसाथ भावनाको गहिराइमा डुबाउँछन् र बौद्धिक जागरणतर्फ उम्काउँछन्।
निरन्तर कबिदेखि कलाकारको “बसाइ सरेको देश खोजिरहेका बेला एउटा प्रवासी नेपालीले भोग्ने मानसिक द्वन्द्व, आफ्नो जरा (Ancestral roots) प्रतिको मोह र विदेशी भूमिमा पाउने भौतिक सुख र मानसिक अशान्ति बीचको अन्तरलाई स्पष्ट पार्दै भिम अधिकारीले आफ्नो कवितामा परदेश लाग्दाको त्यो क्षणबाट सुरु गरे। आमाको आँखाबाट खसेका आँसु र ‘फर्कन्छु’ भन्ने आश्वासन जुन अझै मनमा गडिरहेको छ। आमालाई स्वर्गमा पुगेपछि पनि आफ्नो सन्तानको चिन्ताले छाड्दैन भन्ने मार्मिक भावले सभाहललाई भावुक बनायो।
उनले आफूलाई ‘बारम्बार बसाई सर्ने यात्री’ को रूपमा चित्रण गरे। सिता र बुद्धको देशबाट बसाई सरेको ४ सय वर्ष बितिसक्यो तर पुर्खाहरूको पसिना मिसिएको माटोको खोजी अझै सकिएको छैन। आफूलाई कुनै एउटा समय वा वर्गको मात्र नभई ‘चारै युगको बसाई सर्ने मान्छे’ भन्दै उनले यो पहिचानको संकटलाई ऐतिहासिक गहिराइसम्म लगे।
“ओछ्यान छ निन्द्रा छैन, पैसा छ शान्ति छैन, शिक्षा छ ज्ञान छैन।” विदेशी भूमिमा भौतिक सम्पन्नताको खोक्रोपन
उनको कवितामा आधुनिक प्रवासी जीवनको विरोधाभास सबैभन्दा तीखो ढंगले उजागर भएको छ। भौतिक सम्पन्नता छ, तर आत्मिक शान्ति छैन। सबै छ, तर जरा छैन। कवितामा उनको अन्तिम चाहना पनि उत्तिकै मर्मस्पर्शी छ। आफ्नै पसिनाले किनेको माटोमा गाडिन पाउने, आफ्नै घाटमा अन्तिम सास फेर्न पाउने।
कार्यक्रममा सविन धिमालले वाचन गरिएका कविताहरूमध्ये ‘केटाकेटीहरू’ शीर्षकको कविता आफ्नै किसिमले मार्मिक थियो। यसमा बालबालिकाको चञ्चलता र वृद्ध अवस्थाको एक्लोपन बीचको सम्बन्धलाई अत्यन्तै कोमल र प्रतीकात्मक ढंगले चित्रण गरिएको छ।
कवितामा केटाकेटीहरू आँगनमा गीत गाउँछन्, हल्ला गर्छन् । साँझमा निस्कने छिछिमिराजस्तै भोक प्यास सबै घरमै छोडेर बाहिर हुत्तिन्छन्। बिहानै ‘उड्ने खाट’ बाट अवतरण गरे झैँ उठेर ठुलो स्वरले ‘ए बी सी डी’ गाउन थाल्छन्। प्रवासमा हुर्कँदै गरेको नयाँ पुस्ताको संसार यसरी झल्किन्छ।
चउरमा उभिएको रुखझैँ वृद्ध पात्र हेरिरहन्छ। केटाकेटीहरू छायामा खेल्छन्, हाँगा-हाँगामा चढ्छन्। झमक्क रात पर्छ, आँगन शान्त हुन्छ अनि सम्झिन्छ ती पुराना केटाकेटीहरू, जो मुसुक्क मुस्कुराएर बिलाउँछन्। सर्जक सविन धिमाल
झमक्क रात परेपछि जब आँगन शान्त हुन्छ, वृद्ध पात्रले आफूले चिनेका र नाम थाहा भएका पुराना केटाकेटीहरूलाई सम्झिन्छ। ती स्मृतिमा आउने केटाकेटीहरू मुसुक्क मुस्कुराउँछन् र आँखा झिम्काउँदा बिलाउँछन्। वर्तमानको हल्ला र विगतको मौनता। यी दुईबीचको भावनात्मक खाडल नै यस कविताको मूल आत्मा बनेको छ।
त्यसैअनुरूप अन्तर्राष्ट्टिय गितकार संघका अध्यक्ष डा. हरि उप्रेतीको कविताको केन्द्रमा एउटै प्रश्न छ। ‘तेरो देश कहाँ छ?’ नागरिकता र पासपोर्टले पहिचान खोजिदिँदैन। उनका लागि देश आमाको कापेको हात हो, बुबाको मौन आँखा हो, र सन्ततिको डर र आशा हो।
देश छोड्दा आमाले हात हल्लाउँदै भन्नुभएको ‘छोरा छिट्टै फर्कनु है’। त्यो वाक्य छातीमा अधुरो प्रार्थना बनेर बसिरहेको छ। भौतिक रूपमा फर्किन नसके पनि हरेक बिहान भाषाका अक्षरहरूमा र रातको सपनामा उनी आमाको आँगन खोज्दै फर्किन्छन्। आफ्नै सन्तानले ‘बुबा’ भन्नुको साटो ‘ड्याडी’ भन्दा उनलाई देश हराएको महसुस हुन्छ।
मान्छेलाई देशबाट निकाल्न सकिन्छ तर मान्छेको छातीबाट देश निकाल्न सकिँदैन।
नेपाली अक्षर लेख्दा र गीत गाउँदा उनी देशमै भएको महसुस गर्छन्। भाषा नै वास्तविक रगतको नदी हो। यो सुक्न नदिनु नै प्रवासमा नेपाली हुनुको सार्थकता हो। उनले आफूलाई ‘भाषाको यात्री’ र ‘स्मृतिको संरक्षक’ भन्दछन् र प्रत्येक कविता आमातिर फर्केको एउटा पाइला, प्रत्येक गीत भाषा बचाउने एउटा संकल्प गर्दै डा.हरि उप्रेतिले कबिता सुनाए ।समग्रमा, डा. उप्रेतीको कविताले प्रवासमा भौतिक रूपमा टाढा भए पनि भाषा, साहित्य र संस्कृतिलाई बचाएरै आफ्नो देशलाई जीवित राख्न सकिन्छ भन्ने गहिरो भाव बोकेको छ।
कार्यक्रमको अन्त्यमा स्रष्टाहरूले आफ्नो माटो गुमाए पनि मनभित्रको देश र भाषा सधैँ जीवित रहने संकल्प व्यक्त गरे। जहाँ पुगे पनि नेपाली भाषा, साहित्य र संस्कृति नै आफ्नो वास्तविक पहिचान भएको सन्देश उनीहरूले दिए।
प्रविधिमा भरत तिम्सिना र फोटोमा अशोक भुजेलले साथ दिएको यस कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई भावनात्मक रूपमा जोड्न र ‘हराएको देश’ को अनुभूति गराउन सफल भएको विश्व भूटानी साहित्यिक संगठन का अध्यक्ष पातलो अन्तरेले बताए। ‘मनदेखि मनसम्म’ कार्यक्रम सन् २०२५ को भ्यालेन्टाइन डेमा ह्यारिसबर्ग, पेन्सिल्भेनियाबाट सुरु भएको थियो। भरत तिम्सिना, शेखर कोइराला, मदन दुलाल, पातलो अन्तरे लगायतको संयोजनमा सञ्चालित यो पहल जीबीएलओ (विश्व भुटानी साहित्यिक संगठन) को सक्रिय सहयोगमा अगाडि बढिरहेको छ।
यस कार्यक्रमको मूल दर्शन छ कविता जटिल वा विशिष्ट वर्गको मात्र होइन, सामान्य मानिसको भाषामा पनि व्यक्त हुन सक्छ। आजको व्यस्त जीवनशैलीमा जहाँ पुस्तक पढ्ने समय सीमित छ, वाचिक काव्यमार्फत साहित्यलाई सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यले यो मञ्च खडा भएको हो। हालसम्म सात शृङ्खला सफलतापूर्वक सम्पन्न भइसकेका छन् र कार्यक्रम अब विभिन्न राज्यमा बसोबास गर्ने नेपाली भाषी समुदायसम्म पुग्ने परिकल्पनकारहरूको भनाइ छ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.