डा. रिजालको पुण्यतिथिमा ‘भूटान लोकतन्त्र डिजिटल अभिलेखालय’ घोषणा

डा. रिजालको पुण्यतिथिमा ‘भूटान लोकतन्त्र डिजिटल अभिलेखालय’ घोषणा

120
SHARES

काठमाडौं – भूटानी प्रजातान्त्रिक अभ्यासहरूको निरन्तर अनुगमन तथा प्रजातन्त्रका लागि भएका सङ्घर्षहरूको इतिहास अभिलेख गर्ने उद्देश्यले द भूटान वाचले ‘भूटान लोकतन्त्र डिजिटल अभिलेखालय’ घोषणा गरेको छ। उक्त अभिलेख वैज्ञानिक, शिक्षक, लेखक तथा द भूटान जर्नलका संस्थापक सह–सम्पादक डा. गोविन्द रिजालको स्मृतिमा समर्पित हुने जनाइएको छ।

डा. रिजालको ५ मे २०२४ मा कीर्तिपुर, काठमाडौँमा भएको सडक दुर्घटनामा निधन भएको थियो। भूटानमा जन्मिएका उनी १९९० को दशकको सुरुवातमा आफ्नो मातृभूमिबाट निष्कासित भएका थिए।

तेस्रो देश पुनर्स्थापनाको अवसर हुँदाहुँदै पनि उनले विदेश जाने निर्णय नगरी नेपालमै बसेर भूटानी प्रजातान्त्रिक अभियानमा सक्रिय रहने बाटो रोजेका थिए। यही निर्णयले उनको सम्पूर्ण व्यक्तित्वलाई परिभाषित गरेको उल्लेख गर्दै उनी व्यक्तिगत सहजताभन्दा समुदायलाई अगाडि राख्ने र पछाडि परेकाहरूका लागि निरन्तर काम गर्ने व्यक्ति भएको द भूटान वाचले जनाएको छ।

धान प्रजनन र आणविक जीवविज्ञानका विज्ञका रूपमा उनले नेपाल र फिलिपिन्सका समुदायहरूको खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए। १९९० को दशकका शरणार्थी शिविरहरूमा शिक्षकका रूपमा उनले धेरै युवा भूटानीहरूलाई प्रेरणा दिएका थिए भने उनको गणितीय क्षमतालाई विद्यार्थीहरूले अझै सम्झिने गरिएको छ।

उनले आफ्नो जीवनयात्रा र भूटानको राजनीतिक अवस्थाको विश्लेषण समेटिएको आत्मकथात्मक कृति ‘ए परदेशी इन प्याराडाइज’ तथा नेपाली कथासङ्ग्रह ‘बेजोड बन्ध’ प्रकाशित गरेका थिए। निधनको समयमा उनी भूटानको विस्तृत इतिहास लेखनमा संलग्न थिए, जसको पाण्डुलिपि उपयुक्त समयमा प्रकाशित गरिने अपेक्षा गरिएको द भूटान वाचले जनाएको छ।

द भूटान जर्नलका सह–सम्पादकका रूपमा उनले जर्नललाई भूटान र भूटानी डायस्पोरासँग सम्बन्धित विषयहरूमा बौद्धिक बहस र मन्थनको मञ्चका रूपमा विकास गरेका थिए। सबैलाई समान सम्मान र आत्मीयताका साथ व्यवहार गर्ने उनको स्वभावका कारण उनको अनुपस्थितिले ठूलो रिक्तता सिर्जना भएको उल्लेख गरिएको छ।

द भूटान वाचले डा. रिजालका अनुसन्धान, लेखन तथा सम्झनालाई चिरस्थायी बनाउन ‘रिजाल स्मृति अभिलेखालय’ तयार गरिएको जनाएको छ। अभिलेखालयलाई समृद्ध बनाउन उनलाई चिन्ने सबैलाई योगदान गर्न आग्रह गरिएको छ। “तपाईँ उहाँको विद्यार्थी हुनुहुन्थ्यो, अनुसन्धानका सहकर्मी, उहाँका पुस्तकका पाठक, वा केवल उहाँसँग भेटघाट मात्र भएको व्यक्ति-रिजाललाई सम्झाउने जुनसुकै सामग्री उपलब्ध गराइदिन अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ।

व्यक्तिगत श्रद्धाञ्जली, संस्मरण, तस्बिर, पत्र, आलेख, शैक्षिक पत्राचार वा उहाँसँग सम्बन्धित कुनै पनि सामग्री उपलब्ध गराइएमा आभार व्यक्त गरिने उल्लेख छ। यो अभिलेखालय सबैको साझा सम्पत्ति हुने पनि जनाइएको छ।

उक्त डिजिटल अभिलेखालयले डा. रिजालको स्मृतिलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। यस अभिलेखालयमा भूटानको प्रजातान्त्रिक संस्कार र अभ्यासहरूलाई पाँच प्रमुख वर्गमा अभिलेखीकरण गरिनेछ-राजनीतिक बहुलवाद, समावेशीकरण र विविधता, न्यायपालिका र कानुनी शासन, नागरिक समाज तथा सञ्चारमाध्यम, र सुशासन।

राजनीतिक बहुलवादअन्तर्गत राजनीतिक विकल्पको आवश्यकता, दलहरूको स्वतन्त्र गठन, सञ्चालन र विचार अभिव्यक्तिको अधिकार, नागरिकको मतदान तथा राजनीतिक सहभागिता, दलीय उपस्थिति, कानुनी वातावरण, निर्वाचन कानून, मतदाता सहभागिता र निर्वाचन व्यवस्थापनसम्बन्धी सामग्री सङ्कलन गरिनेछ। यसले भूटानको निर्वाचन प्रणाली समावेशी, प्रतिस्पर्धी र पारदर्शी छ कि छैन भन्ने मूल्याङ्कनमा सहयोग गर्ने जनाइएको छ।

समावेशीकरण र विविधता अन्तर्गत राजनीतिक, जातीय, धार्मिक र लैङ्गिक प्रतिनिधित्व अभिलेख गरिनेछ। यसले भूटानको प्रजातान्त्रिक सुधारमा भएका प्रगति र कायम रहेका संरचनात्मक अवरोध दुवैलाई समेट्नेछ।

न्यायपालिका र कानुनी शासनअन्तर्गत न्यायिक नियुक्ति, न्यायिक सुरक्षा, पारदर्शिता र राजनीतिक प्रभावका सङ्केतहरू अभिलेख गरिनेछन्। स्वतन्त्रता विस्तार गर्ने वा सीमित गर्ने कानुन तथा कानुनी विकासको अभिलेखीकरणमार्फत भूटानको कानुनी संरचनाले प्रजातान्त्रिक जीवनमा पारेको प्रभाव देखाइनेछ।

नागरिक समाज तथा सञ्चारमाध्यमअन्तर्गत स्वतन्त्र अभिव्यक्ति, नागरिक समाज र स्वतन्त्र पत्रकारितासम्बन्धी अवस्था अभिलेख गरिनेछ। प्रेस स्वतन्त्रता, नागरिक समाजसम्बन्धी कानून, मानवअधिकारवादी संस्थाहरू, संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समीक्षा प्रक्रिया तथा अधिकार उल्लङ्घनका प्रमाण सङ्कलन गरी भूटानमा नागरिकको सुरक्षा र प्रजातान्त्रिक अभ्यासको अवस्थाबारे चित्र प्रस्तुत गरिने जनाइएको छ।

सुशासनअन्तर्गत शक्ति प्रयोग, नेतृत्व, उजुरी तथा गुनासो सम्बोधन, भ्रष्टाचार र अधिकार दुरुपयोगका घटनाहरू अभिलेख गरिनेछन्। यसले कार्यपालिका र प्रशासनभित्रको पारदर्शिता, जबाफदेहिता र जिम्मेवारीको अवस्था देखाउनेछ।

अभिलेखालयमा भूटानका प्रजातान्त्रिक सङ्घर्षहरूको इतिहास पनि समेटिनेछ। २००८ मा भूटान शान्तिपूर्ण रूपमा प्रजातान्त्रिक बने पनि १९५०, १९८० र १९९० का दशकमा भएका सङ्घर्षहरूको समुचित अभिलेखीकरण नभएको उल्लेख गर्दै ती सबै सङ्घर्षहरूको दस्तावेजीकरण गरिने जनाइएको छ।

अभिलेखालयले कुनै पक्ष वा विपक्ष लिने छैन र विचार प्रकाशन गर्ने छैन। प्रमाणहरूलाई दस्ताबेजका रूपमा सङ्कलन गरिनेछ, ताकि अनुसन्धानकर्ता, पाठक, नीतिनिर्माता तथा सर्वसाधारणले अध्ययन गरेर आफ्नै निष्कर्ष निकाल्न सकुन्।

द भूटान वाचले अभिलेखालयमा योगदान गर्न सबैलाई आह्वान गरेको छ। “यदि तपाईँसँग भूटानको लोकतान्त्रिक इतिहास वा वर्तमान अभ्याससँग सम्बन्धित दस्ताबेज, तस्बिर, ध्वनिमुद्रण, व्यक्तिगत विवरण वा कुनै पनि अभिलेख छन् भने कृपया उपलब्ध गराइदिनु होला,” भूटान डिजिटल अभिलेखालयका संयोजक विक्रम अधिकारी र द भूटान वाचका अध्यक्ष राम कार्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ। सामग्री उपलब्ध गराउनेको नाम स्पष्ट रूपमा उल्लेख गरिने जनाइएको छ।

अभिलेखालयमा नयाँ सामग्रीहरू क्रमशः थपिँदै जानेछन् र यसको सफलता भूटानी समुदाय तथा भूटानको प्रजातान्त्रिक इतिहासप्रति चासो राख्ने सबैको सहभागितामा निर्भर रहने द भूटान वाचले उल्लेख गरेको छ।

समाचार शेयर गर्नुहोस्
120
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.