पाठ्यक्रममा समलिङ्गी तेस्रोलिंगी : शिक्षकलाई सकस (भिडियो)

पाठ्यक्रममा समलिङ्गी तेस्रोलिंगी : शिक्षकलाई सकस (भिडियो)

कक्षा ७ का विद्यार्थीहरू यौनिकता तथा लैङ्गिकता शिक्षा पढिरहेका छन्। सामाजिक शिक्षक कृष्ण प्रसाद पोखरेल विद्यार्थीहरूलाई यतातिर हेर..हेर.. साथी भन्दैछन्।

लैङ्गिक पहिचान र यौनिक अभिमुखीकरणबारे उनी विद्यार्थीलाई बुझाउँदै छन्। ‘महिला महिलाको जस्तै व्यवहार देखाउने, शृङ्गार गर्ने, तब न हामीले महिला भन्छौ,’ उनले विद्यार्थीलाई हातमा किताब देखाउँदै सोधे,‘पुरुषलाई पनि पुरुषको जस्तै व्यवहार देखाउने, लवाई खवाई त्यही खालको हुने, त्यो खालको पुरुषलाई पुरुष भनेर चिन्छौँ हो?’ विद्यार्थीहरूले जवाफ दिए,‘हो सर।’

‘यी अङ्गहरू हामीले बनाएका हौँ त?’ उनको थप प्रश्नमा विद्यार्थीहरूले भने,‘होइन सर।’


प्रकृति प्रदत्त भएकाले प्राकृतिक भनेर चिनिन्छ। यो प्राकृतिक हो। जैविक पहिचान पनि हो। जस्तो स्वरूपमा व्यक्ति जन्मन्छ, त्यस्तै यौन हो। महिला महिला नै, पुरुष पुरुष नै र अन्तरलिंगी अन्तरलिंगी नै रहन्छन्। यो चेन्ज गर्न सक्दैनौ। शारीरिक बनावट फरक ढङ्गका छन्। शारीरिक अङ्गहरू, संरचनाहरू फरक छन्। महिलासँग महिलाकै अङ्गहरू, पुरुषसँग पुरुषकै अङ्गहरू, बनावट र संरचनाहरू छन्। यी सबै विशेषता यौनिकता भित्र पर्दछन्।

जनक उच्च माविमा दुई जना अन्तरलिंगीलाई अध्यापन गराएको बताएका मथुरापाटी माविका प्रधानाध्यापक रामबाबु भट्टराई कक्षा कोठामा उनीहरूमाथि कुनै किसिमको फरक व्यवहार नभएको दाबी गर्छन्। ‘बाहिर बाहिर कुरा भए पनि कक्षा कोठामा विद्यार्थीहरुबीच फरक व्यवहार भएन,’भट्टराईले भने,‘उनीहरूले पनि सहज रूपमा अध्ययन गरे।’

फरक महसुस गरेका बालबच्चालाई अभिभावकले कसरी मार्ग निर्देशन गर्ने?

यौनिकता भित्र शारीरिक बनावट, लैङ्गिकता, लैङ्गिक पहिचान, यौनिक पहिचान, यौन स्वास्थ्य र यौन अधिकार पनि पर्छ। कक्षा ७ का विद्यार्थीलाई देशभरका शिक्षकहरूले व्यक्तिगत अनुभूति र अभिव्यक्ति नै यौनिकता भनेर सिकाइरहेका छन्। यौनिकताको अनुभूति फरक ढङ्गले हुन्छ। धर्म, परम्परा अन्तर्गत गरिने विभिन्न व्यवहारहरू, चलनहरू, चाडपर्व, रीतिरिवाजहरूले पनि यौनिकतामा प्रभाव पारिरहेको हुन्छ। पारिवारिक अनुशासन, संस्कार संस्कृति, शारीरिक अवस्थाका कुराहरूले पनि यौनिकतामा प्रभाव पार्छ।

खानपान र शारीरिक सुगठनको कुरा पनि यसमा जोडिन सक्छ। पोषणका कुराहरू पनि आउन सक्छ। यी सबै कुराहरूले यौनिकतामा प्रभाव पारिरहेको हुन्छ। यौन पहिचान भन्नाले व्यक्तिले देखाउने यौन व्यवहार हुन्। सम्बन्धहरू हुन्।

सम्बन्धमा पनि विविधता छ। पुरुष र महिलाबिच मात्रै यौनाकर्षण हुन्छ भन्ने छैन। पुरुष पुरुष र महिला महिलाबिच विवाह नै हुने गरेको छ पछिल्लो समय। अमेरिकी समलिङ्गी महिलासँग विवाह गरेकी कञ्चनपुरकी सुमन पन्तले जीवन साथीका लागि २०७३ मा पारिवारिक भिसा दिलाइन सर्वोच्च अदालतको आदेशले।

२०७९ चैत ६ गते जर्मन समलिङ्गी पुरुषसँग विवाह गरेका काठमाडौँका अधिप पोखरेलले पनि सर्वोच्च अदालतको आदेशमा जीवन साथीका लागि पारिवारिक भिसा दिलाए। अधिपले पार्टनरका लागि पारिवारिक (स्पाउस) भिसा पाएको समाचार आए पछि पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले आफ्नो छोरो समलिङ्गी अर्थात् ‘गे’ भएको सार्वजनिक नै गरेका थिए।

लैङ्गिकताको भ्रम : महिला या पुरुष बन्नुपर्ने अनिवार्यता

कुनै पनि केटी मान्छेहरू यौनिक व्यवहारका लागि शारीरिक र भावनात्मक रूपमा केटीसँगै आकर्षित हुनेलाई स्त्री समयौनिक भनिन्छ भनेर पढाउन थालिएको छ। शारीरिक रूपमा, भावनात्मक रूपमा सबै प्रकारका यौनसँग यौनिक आनन्दका लागि आकर्षित हुन्छन् भने तिनलाई दुईलिंगी भनेर चिनिन्छ।

जन्मँदा पुरुष जस्तो भएर जन्मियो। पछिका क्रियाकलापहरू, व्यवहारहरू महिलाको जस्तै देखाउँदै गयो, महिला जस्तो भए पनि पुरुष जस्तै व्यवहार देखाउँदै गयो, भने तिनीहरूलाई तेस्रोलिंगी (मध्यमलिंगी) भनिन्छ। कक्षा ७ को स्वास्थ्य, शारीरिक र सामाजिक शिक्षामा भने यस्तै व्यवहार देखाउनेलाई पारलिंगी (ट्रान्ससेक्सयुअल) भनेर पनि पढाउन थालिएको छ। समलिङ्गी तेस्रोलिंगी सुनेका र प्रत्यक्ष देखेका शिक्षक नयाँ शब्द पारलिंगी पढाउनु पर्ने भए पछि झनै अलमलिएका छन्।

पाठ्यक्रममा एलजिबिटिआई : तेस्रोलिंगीको ठाउँमा पारलिंगी

धार्मिक, सामाजिक जुन संरचना छ। त्यो संरचनाका कारण बालबालिकाहरूले प्रस्ट रूपमा आफ्ना कुराहरू व्यक्त गर्न नसक्ने अवस्था छ। नयाँ विषयमा सिधै कक्षा कोठामा प्रवेश गर्दा कता कता अपूरो भएको हो कि, केही नपुगेको हो कि, केही आफूले पुरा गर्न नसकेको हो कि जस्तो महसुस शिक्षक कृष्ण पोखरेलले गरेका छन्।

पोखरेल काभ्रे नमोबुद्ध नगरपालिका वडा नं १ को मथुरापाटी माध्यमिक विद्यालयमा अध्यापन गराउँछन्। तथापि उनले आफूसँग रहेको ज्ञान सकेसम्म विद्यार्थीहरूलाई दिएको बताए। विद्यालयका प्रधानाध्यापक भट्टराईले पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम ल्याइसकेपछि शिक्षकहरूलाई पनि विभिन्न कार्यक्रम ल्याएर सुशन्जित गराउनु पर्ने आवश्यकता महसुस गरेका छन्। शिक्षकहरूलाई समय समयमा यी विषयमा तालिमहरू दिनु पर्ने सुझाव छ भट्टराईको।

समानलिंग प्रति आकर्षण भएका जस्तै : पुरुष पुरुषप्रति महिला महिलाप्रति, मध्यमलिंगीपुरुष मध्यमलिंगीपुरुषप्रति र मध्यमलिंगीमहिला मध्यमलिंगीमहिलाप्रति नै आकर्षित छन् भने त्यस्ता व्यक्तिहरूलाई समलिङ्गी व्यक्ति भनेर चिनिन्छ। कोही व्यक्ति दुई वा दुई भन्दा बढी लिङ्ग प्रति आकर्षित छन् भने त्यस्ता व्यक्तिलाई दुईलिंगी भनेर चिनिन्छ।

पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे शिक्षकलाई अभिमुखीकरण दिन आवश्यक देखिएको बताउँछन्। ‘पढाउँदा सस्तो, हाँसोको विषय बनाइनु हुँदैन। यो विषय पढाउँदा विषयको गम्भीरतालाई मध्यनजर गरेर सम्मानसहित तथ्यगत जानकारी दिनु अति आवश्यक छ,’पन्तले भने,‘विद्यार्थीहरूलाई फरक यौनिकता र लैङ्गिकता भएका व्यक्तिहरू प्रति सम्मान र सद्भाव गर्न सिकाउनु पर्छ।’

कक्षा ६ देखि १२ सम्म एलजीबीटीआईबारे पढाउनु पर्ने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading