शरिनमाथि गालीगलौज

घृणा फैलाउने अभिव्यक्ति, मुद्दा दर्ताको तयारी

घृणा फैलाउने अभिव्यक्ति, मुद्दा दर्ताको तयारी

काठमाडौं : ‘आउँ हिजो बारम्बार जितायौ राजनीतिक पार्टीका नेताहरूलाई यस पटक देश भक्त शरिनलाई जिताउन सहयोग गरौँ’ गत वर्ष मङ्सिर ४ को प्रतिनिधि सभा सदस्यमा झिनो मतान्तरले पराजित शरिन तामाङले सामाजिक सञ्जाल मार्फत भोट मागेका थिए।

सुनसरी क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले प्रतिस्पर्धी हालका शिक्षा मन्त्री अशोक राईलाई पराजित गर्न त सकेनन् तर, आच्छुआच्छु भने पारे।

तेस्रो जिन्दगी जिएका छन् उनले। उनको लैङ्गिक पहिचान पुरुष र महिला भन्दा फरक छ। त्यो पनि प्रकृतिले दिएको। न रहरले न त बाध्यताले।

चुनावमा धराने जनताको १६ हजार ६०६ मत पाएर पनि विजयी हुन सकेनन्। ४५३ मतान्तरले पराजित शरिनको यतिवेला मन कुँढिएको छ सामाजिक सञ्जालमा एक जना महिलाले गालीगलौज गरेको भिडियो पोस्ट भएपछि।

मान्छेले मान्छेलाई गर्ने विभेद, घृणा अन्त्य गर्ने अभियानमा लागेका उनैमाथि घृणा गर्ने भिडियो भाइरल बनेको छ। घृणा फैलाउन प्रयोग गरिएका शब्द प्रति यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले आपत्ति जनाएका छन्।

शरिन जन्मँदा छोरी हुन्। छोराछोरी जन्माएर हुर्काउने आमा पनि हुन उनी। छोराछोरी हुर्किबढेपछि इजरायल पुगेकी उनले श्रीमान्सँग डिभोर्स गरे। आफूजस्तै छोरी मान्छेसँग वैवाहिक सम्बन्धमा रहेको सार्वजनिक गरे। हिजो उनी कसैको श्रीमती थिइन भने आज उनी श्रीमान् छन्।

श्रीमान्बाट श्रीमतीले पाउने मायामा कुनै कमी हुन दिएका छैनन् उनले। सामाजिक अभियन्ता समाज र राष्ट्रको लागि केही गर्छु भनेर अगाडि बढ्न खोज्दा ‘किन यस्तो तुच्छ व्यवहार हुन्छ?’ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले प्रश्न गरेका छन्।

छापामार शैलीमा मतदाता भेट्छु : शरिन तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले शरिन माथि छापामार शैलीमा सामाजिक सञ्जालमा आक्रमण हुनु दुखद भएको बताए। व्यक्तिलाई लैङ्गिक पहिचानलाई लिएर घृणा फैलाउने अभिव्यक्ति नदिन उनले सचेत नागरिकलाई आग्रह गरे।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको पहिचान सहितको अधिकारका लागि सन् २००१ देखि सङ्गठित अभियान सुरु गरेका पन्तले शरिनमाथि सामाजिक सञ्जालमा भएको गालीगलौजले भिडियो धरानका मेयर हर्क साङपाङले सेयर गर्नुलाई राजनीतिक प्रोपोगाण्डा भनेका छन्।

पन्तले सामाजिक सञ्जालमा लेखेका छन्,‘वारेन बफेटले एक पटक भनेका थिए, पहिले सृजना/आविष्कार गर्नेहरू आउँछन्, त्यसपछि नक्कल गर्नेहरू, त्यसपछि मूर्खहरू आउँछन्।’

कसैको भावनामा ठेस पुर्‍याउने अधिकार कसैलाई नभएको बताउँछन् मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसी। सामाजिक सञ्जालमा आफू समलिङ्गी भएको आफै सार्वजनिक गरेकी शरिनका दुई सन्तान छन्।

लामो समय आफ्नो वैवाहिक जीवनमा ब्रेक लागे पछि शरिनले २०७७ फागुनमा परिवारकै सहमति र राजीखुशीमा काभ्रेकी देवी कार्कीसँग वैवाहिक जीवनको लगनगाँठो कसेकी थिइन। उनले दाइको पहिचान बनाएकी छन्।

तर, त्यही पहिचानमा प्रश्न उठाएर सामाजिक सञ्जालमा तथानाम गालीगलौज गरे पछि उनले आफ्नो नैसर्गिक अधिकार खोसिएको भान भएको प्रतिक्रिया दिएका छन्।

उनले मङ्गलवार साइबर अपराधमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताइन। ‘छलफलमै छु, साइवर अपराध या गाली बेइज्जतीमा मुद्दा दर्ता गर्ने तयारी छ,’शरिनले पहिचानसँग भनिन्।

विवाह, प्रेम आफ्नो नितान्त व्यक्तिगत अधिकार र स्वतन्त्रताको कुरा हो। नेपालमा पहिलो पटक कानुनी रूपमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा समलिङ्गी विवाह दर्ता गरेर इतिहास रचेका छन्। माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

नेपाली समाज खुल्ला र स्वतन्त्र बन्दै गएको सन्देश प्रवाह भइरहेका बेला शरिनमाथि उनको लैङ्गिक पहिचानलाई लिएर घृणा फैलाउने अभिव्यक्ति दिनेलाई कारबाही गर्नुपर्ने माग समेत भएको छ। शरिनले पनि साइबर ल अन्तर्गत या गाली बेइज्जती मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्।

सुनौँ शरिनसँगको यो कुराकानी

https://www.facebook.com/pahichan.news/videos/380044264769436

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.