हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल, बिरोधमा समाचार लेख्ने मिडियालाई कारबाही गर्ने धम्की

हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल, बिरोधमा समाचार लेख्ने मिडियालाई कारबाही गर्ने धम्की

काठमाडौँ : हर्मोन र लिङ्ग प्रत्यारोपणको अभियान चलाउँदै आएकाहरूको उक्साहटमा मिडियाविरुद्ध नै उजुरी दर्ता भएको पाइएको छ। ३१ वर्षको कलिलै उमेरमा निधन भएका क्रिष्टिना मगरको समाचारलाई बहाना बनाएर हर्मोन प्रयोग र यौन अङ्ग प्रत्यारोपणको मलजल गर्न प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको पाइएको हो।

दातृ निकायबाट मानव अधिकारका नाममा लिने अनुदान हर्मोन क्लिनिक सञ्चालनमा खर्च गरेको, अनियमितता भएको, दुई/दुई वर्षमा नेतृत्व परिवर्तन गर्ने भनिए पनि दुई दशकदेखि एउटै व्यक्तिले नेतृत्व सम्हालिरहेको, ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष क्रुज एड्सको प्राविधिक सल्लाहकार,एफएसजीएमएनको अध्यक्ष ब्लु डायमन्डको कार्यकारी निर्देशक रहेको, क्रुज एड्सको अध्यक्ष ब्लु डायमन्डको कर्मचारी रहेका स्वार्थको समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि आत्तिएर मिडियाविरुद्ध नै लागेको पाइएको छ।

संस्थामा पारदर्शिताको विषय उठाउँदा जागिरबाट निकालिएका उदाहरण देखाएर उजुरीमा हस्ताक्षर गर्न लगाइएको उजुरी कर्ता मध्येका एक जनाले पहिचानलाई जानकारी दिएका छन्। ‘नाम उल्लेख नगरिदिनु होला,हामीलाई केयर एन्ड सपोर्टमा भेला बोलाएर यो पहिचान मिडियालाई घेर्न जानु भनेका थिए,केही साथीहरूले त उक्साहटमा फोन पनि गरे,’उजुरीकर्ता मध्येका अर्का एक जनाले पहिचानसँग भने,’त्यो रुविनाको पो जागिर छ, कार्यक्रमहरूमा छुट्टै भत्ता बुझ्ने होला, हामीलाई भोलि त्यही सडकमा उभिनु पर्नेछ,केही गारो सारो पर्‍यो भने उनीहरूलाई नै भन्नुपर्छ, कृपया मेरो नाम उल्लेख नगरिदिनुहोला।’

पहिचान मिडियाविरुद्ध प्रेस काउन्सिल नेपालमा तेस्रो लिङ्गी समुदायको नामबाट खाली कागजको पानामा परेको उजुरीमा पहिचान मिडियाले बारम्बार हर्मोन प्रयोग र लिङ्ग परिवर्तनको विरुद्धमा समाचार सम्प्रेषण गरी सम्पूर्ण तेस्रो लिङ्गी समुदायमा नकारात्मक प्रभाव पारेको हुँदा यस पहिचान मिडियालाई आवश्यक कारबाही गरिदिनु हुनका लागि अनुरोध गरिएको छ।

प्रस्तुत विषयमा पहिचान डटकम (https://pahichan.com/) बाट मिति २०८१/०५/२५ गते “हर्मोन खाँदा किष्टिनाको ३१ वर्षकै उमेरमा निधन, परिवार पीडामा“ शीर्षकमा हर्मोन अन्तर्गत सम्प्रेषित सामग्रीका सम्बन्धमा मिति २०८१/०५/२८ गते उजुरी दर्ता भएको छ। जसमा “… एक हप्ता अगाडि चिरायु हस्पिटलमा टाउकोको नसा फुटेर मृत्यु भएको समाचारलाई नियतवश आफ्नो स्वार्थपूर्तिको लागि सम्पूर्ण समुदायमा नकारात्मक असर पर्ने गरी हर्मोनको कारणले मृत्यु भएको भनी समाचार सम्प्रेषण गरेको साथै संवेदनशील पेसा अपनाउँदै आएकी क्रिष्टिनाको गोपनीयतालाई ध्यान नदिएर यौन पेसा गरेको गोप्य कुरा समाचार बनाई छरपस्ट पारिएको, हर्मोन प्रयोग र लिङ्ग परिवर्तनको विषयलाई प्राथमिकता दिई बारम्बार समाचार सामग्री सम्प्रेषण भएबाट सम्पूर्ण तेस्रो लिङ्गी समुदायमा नकारात्मक प्रभाव परेकोले उक्त मिडियालाई आवश्यक कारबाही लागि अनुरोध गर्दछौँ।’’

भदौ २८ गते दर्ता भएको उजुरीबारे पहिचान अनलाइनलाई प्रेस काउन्सिल नेपालले पठाएको पत्रमा उल्लेख भएको विवरण हो यो। भरखरै ३१ वर्ष लागेका क्रिष्टिनाको निधनले आमा बेलीमाया पीडामा छिन्। ज्वरो आएर वाकवाकी गरेपछि शिक्षण अस्पताल हुँदै चिरायुमा पुर्‍याउँदा क्रिष्टिनाको निधन भयो। क्रिष्टिनाको निधनबारे पहिचान अनलाइनले सम्प्रेषण गरेको समाचारमा केही व्यक्तिको उक्साहटमा परेको उजुरीबारे प्रस्ट पार्न चाहन्छौ।

समाचारको लिङ्क (प्रेस काउन्सिलको पत्र पछि शीर्षक सच्याइएको)

निधन के कारणले भयो भन्ने कुरा उजुरीमा उल्लेख गरिएको रहेछ। कोठामा बिरामी परेकी क्रिष्टिनालाई सुरुमा ग्राण्डि अस्पताल लगिएको, त्यहाँ आइसियु खाली नभएपछि शिक्षण अस्पतालमा ल्याइएको, त्यहाँ आमाबाबा दुवै आउनु भएको, शिक्षण अस्पतालले पनि अन्तै लैजान रेफर गरेपछि आमा घर फर्किनु भएको, चिरायु अस्पतालमा पुर्‍याउँदा क्रिष्टिनाको निधन भएको उनकै साथीले पहिचान अनलाइनलाई जानकारी दिएका हुन्। बाबाआमासँग कुरा गरेको अडियो क्लिप पनि यो समाचारमा राखिएको प्रस्ट पार्न चाहन्छौँ। क्लिक गरेर सुन्न सकिन्छ।

क्रिष्टिनाले हर्मोन खाने गरेको तर यसले राम्रो गर्दैन है भन्ने बताए पछि एक वर्ष अघिदेखि छोडेको आमा बेलीमायाको अडियो सुरक्षित छ। तेस्रो लिङ्गी समुदायमा हर्मोन खाने लहर चलेको भुक्तभोगीहरूले नै बताउँदै आएका छन्।

ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरू नै आफूले हर्मोन खाँदा शारीरिक रूपमा असर देखिएपछि छोडेको बताउँदै आएका छन्। हर्मोन प्रयोग गर्दा वाकवाकी लाग्ने, रिंगटा लाग्ने, विर्सने, रिसाउने समस्याहरु देखिने भुक्तभोगी हर्मोन प्रयोग गर्ने तेस्रो लिंगीहरुले बताएका छन्। कार्डियो अस्पतालका प्रवन्ध निर्देशक शेर बहादुर रानाका अनुसार हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या देखिने गरेको छ। चिकित्सकको सल्लाह अनुसार हर्मोन प्रयोग गर्नेहरुलाई स्वास्थ्य समस्या देखिँदैन। तर, यो ग्यारेन्टी भने चिकित्सकले पनि गर्न सकेका छैनन्।

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

अर्को कुरा क्रिष्टिनासँग पढेका, एउटै गाउँ ठेगानाका, २०६६ सालमा सँगै काठमाडौँ आएका र एउटै पेसा अपनाउनुको कारण ब्लु डायमन्ड सोसाइटी जस्ता संस्थाले काम नदिएपछि भनेर प्रस्ट रूपमा भन्ने रुम पार्टनर भन्दा नजिकको साथी अरू को हुन सक्ला?

जन्मदिने आमाको कुरा असत्य र समुदायको नाममा भ्रामक, हानिकारक मात्रै होइन भोलि ज्यान नै जान सक्नेसम्मका गैरकानुनी हर्मोन सेवन र यौन अङ्ग प्रत्यारोपणलाई प्रोत्साहन गर्नेहरू सत्य कसरी हुन सक्छन्? समाचारको विषयमा भन्दा आफ्नो व्यक्तिगत निहित स्वार्थपूर्तिका लागि हर्मोन र यौन अङ्ग प्रत्यारोपण विरुद्ध जेहाद छेड्न उजुरी गरेको प्रस्ट देखिएको छ।

हर्मोन सेवन गरेर छोडेका भुक्तभोगीको समाचार लिङ्क : लहलहैमा हर्मोन र यौन अङ्ग प्रत्यारोपण नगर्न भुक्तभोगीले दिए सुझाव

हर्मोन सेवन गर्ने र यौन अङ्ग प्रत्यारोपण गर्नेहरू मात्र तेस्रो लिङ्गी हुन्, अरू होइनन् भन्ने भाष्य सिर्जना गराउन खोजिएको छ, जुन नेपालको कानुन विपरीत छ। काठमाडौँ कीर्तिपुरका दीपक महर्जन(हनि) को यो स्ट्याटस पनि समाचारको एउटा आधार होइन र? जो ब्लु डायमन्ड सोसाइटी, मितिनी नेपाल स्थापना हुनु अघि नै आफूलाई तेस्रो लिङ्गी महिलाको पहिचानमा चिनाउँदै आएका नेपाली नागरिक हुन्।

यो समाचारको लिङ्क : तेस्रो लिङ्गीहरूको प्रश्न : हर्मोन थेरापी र सेक्सचेन्ज नगर्ने तेस्रो लिङ्गी होइनन्?

उजुरीकर्ताले पहिचान मिडियाको समाचारमा उल्लेख नै नभएको हर्मोन खाँदा मृत्यु भएको समाचारलाई भ्रामक झुटो र नकारात्मक सम्प्रेषण भन्नुले पनि हर्मोन र यौन अङ्ग प्रत्यारोपणलाई उक्साउने नियत देखिँदैन र? उजुरीको सार कुरा यस्तो छ,’यस पहिचान मिडियाले बारम्बार हर्मोन प्रयोग र लिङ्ग परिवर्तनको विरुद्धमा समाचार सम्प्रेषण गरी सम्पूर्ण तेस्रो लिङ्गी समुदायमा नकारात्मक प्रभाव पारेको हुँदा यस पहिचान मिडियालाई आवश्यक कारबाही गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु।’

हर्मोन खाने बित्तिकै मृत्यु हुने कुरा कहीँ कतै भनिएको छैन। भुलवश भएमा हामी त्यसलाई सच्याउने प्रतिबद्धता जनाउँछौ। तेस्रो लिङ्गी पहिचानका लागि हर्मोन खानै पर्ने, लिङ्ग प्रत्यारोपण गर्नै पर्ने हो र, यसविरुद्ध लेखिएका समाचारलाई भ्रामक भनेको?

महिलाको गुण भएका पुरुष र पुरुषको गुण भएका महिलाका लागि हर्मोनल क्लिनिक !

पछिल्लो समय फेसनको रूपमा आएको विशेष गरी तेस्रो लिङ्गीको पहिचान नदिएका पश्चिमा देशहरूमा महिला या पुरुष नै बन्नु पर्ने बाध्यात्मक अवस्था नेपालमा छैन। नेपालले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिंगीलाई प्राकृतिक मानेर पहिचान अनुसार नागरिकता दिएको छ। विवाह दर्ता हुन थालेको छ। यसका लागि हर्मोन प्रयोग गर्नुपर्छ, यौन अङ्ग प्रत्यारोपण गर्नुपर्छ त भनेको छैन नि।

हर्मोन प्रयोग गर्ने र यौन अङ्ग प्रत्यारोपण गर्नेहरू अप्राकृतिक हुन्। यौन अङ्ग प्रत्यारोपण गरेर छोराबाट छोरी बनेका (सन्तोष पन्तका छोरा) क्याटलिनलाई तेस्रो लिङ्गी पहिचान नदिन सरकारलाई नै दबाब दिएको थियो ब्लु डायमन्ड सोसाइटीले। सोसाइटी स्थापना गर्ने सुनिलबाबु पन्तले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिंगी प्राकृतिक हुन, उनीहरूलाई महिला पुरुष भन्दा छुट्टै पहिचानसहित समान अधिकारका लागि वकालत गरे। सरकारले पनि २०६९ पुस १६ मा क्याटलिनका लागि छुट्टै र तेस्रो लिङ्गीका लागि छुट्टै निर्देशन नै जारी गर्‍यो।

लिंग परिवर्तन गर्ने दश जनाले पाए नागरिकता, हर्मोन क्लिनिक सञ्चालनको प्रयास

लिङ्ग परिवर्तन गरेका क्याटलिनले महिलाको नागरिकता पाइन। समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिंगीले अन्यको नागरिकता पाए। आफ्नै इतिहास भुलेर पश्चिमा संस्कृतिको सिको गर्न लगाउनु र वास्तविक समुदायले पाउन थालेको अधिकार मेटाउन खोज्नु ब्लु डायमन्ड जस्ता संस्थाको क्षयीकरण भएन र? दुई दशकदेखि के का लागि वकालत गरेको? पश्चिमा देशहरूले सच्याउने प्रयास गरिरहेको बालक जन्मेका महिला बन्न र बालिका जन्मेका पुरुष बन्न हर्मोन र लिङ्ग परिवर्तन गर्नुपर्ने प्रक्रियालाई नेपालमा भित्र्याएर भविष्यका कर्णधार बालबालिकामाथि खेलबाड गर्न नेपालको कुन कानुनले छुट दिएको छ?

यौन पेसा अपनाउने कुरामा पनि गोपनीयता अपनाउनु पर्ने भनिएको छ। कानुनले वर्जित गरेको छ यौन पेसालाई। नेपालको संविधान, कानुन, नीति, नियम, निर्देशिकामा यौन पेसा कानुनी हो भनेर लेखिएको छैन। गैरकानुनी कामविरुद्ध समाजमा सचेतना फैलाउनु मिडियाको कर्तव्य भित्र पर्दैन र?

राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु, सत्य, तथ्यमा आधारित भएर समाचार प्रकाशन गर्नु नै मिडियाको धर्म होइन र? सार्वभौम संसद्मा समेत हर्मोन खाने र लिङ्ग परिवर्तन गर्नु राम्रो नभएको कुरा उठिरहेको छ।

समाचारको यो लिङ्क : लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला , महिला बनेका पुरुष देखि तर्सिए सांसद

हर्मोन खाने छोड्ने, जथाभाबी खाने गर्दा शरीरमा विभिन्न खालका समस्याहरू देखा पर्ने हुँदा प्रयोग गर्नै परे चिकित्सकको सल्लाह लिएर मात्र गर्न ब्लु डायमन्ड सोसाइटी र मितिनी नेपालको सहकार्यमा परिवार नियोजन सङ्घमा सञ्चालित क्लिनिकमा कार्यरत चिकित्सकले बताएका छन्।

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

सम्प्रेषित सामग्रीको अनुगमन गर्दा “… काम नपाएपछि यौन पेसा अपनाएको, घरमा बाआमालाई आफ्नो पेसाबारे केही नबताएको, राम्री देखिन औषधी खाने गरेको, एक वर्षदेखि औषधी (हर्मोन) खान छोडेको बेलीमाया (आमा) ले सुनाएको, हर्मोंन खान ब्लु डायमन्डको मुद्दाले उक्साइरहेको, हर्मोन खाने ३ जनाको ६ महिनाको अन्तरालमै मृत्यु भएको, हर्मोन खान ब्लु डायमन्ड र मितिनी नेपालले क्लिनिक सञ्चालन गर्न परिवार नियोजन सङ्घसँग सहकार्य गरेको…“ भनी किष्टिना मगरको तस्बिरसहित एकपक्षीय सामग्री सम्प्रेषण भएको देखिएको भनिएको छ।

“पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सामग्रीको सम्प्रेषण गर्नुपर्ने, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न हुने किसिमबाट समाचार सम्प्रेषण गर्न नहुने, कसैलाई अनुचित लाभ वा हानी पुर्‍याउने नियत राखी सामग्री सम्प्रेषण गर्न नहुने, सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनुपर्ने, गोपनीयताको हकको सम्मान गर्नुपर्ने“ पत्रकार आचारसंहिताको व्यवस्थाबारे यहाँलाई अवगत नै छ’भनिएको छ।।

पहिचान मिडियाले पत्रकार आचारसंहिता पालना गर्दै आएको छ, र गरिरहने प्रतिबद्धता जनाउँछ। तर, जन्मदिने बाबाआमा र घरपरिवारभन्दा बाहिरका निहित स्वार्थबाट प्रेरितहरू नजिकका हुन भनेर कसरी पत्याउने? र उनीहरूसँग प्रतिक्रिया लिने यति चाहिँ प्रस्ट पारिदिनु भए आभारी हुनेछौँ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.