अमेरिकी नागरिकसँग इन्द्रेणी विवाह दर्ता, परिवारमा खुसीयाली

अमेरिकी नागरिकसँग इन्द्रेणी विवाह दर्ता, परिवारमा खुसीयाली

नवलपुर : विदेशी नागरिकसँग विवाह गर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीलाई वडा कार्यालयबाट दर्ता प्रमाणपत्र दिन थालिएको छ। नवलपुरको देवचुली नगरपालिका वडा नं ३ केउरेनीले अमेरिकी नागरिक र स्थानीय नागरिकको इन्द्रेणी विवाहलाई दर्ता गरेर प्रमाणपत्र दिएको छ।

केउरेनीका सम्पूर्ण अधिकारी (परिवर्तित नाम) आइतबार अमेरिकन नागरिकसँग विवाह दर्ता गर्न सफल भए। विवाह दर्ताको प्रमाणपत्र पाउने बित्तिकै सम्पूर्णको परिवारमा खुसीयाली छाएको छ।
सम्पूर्णले मोरङको शनिश्चरेबाट अमेरिका पुगेकी हिमा गुरुङसँग दुई वर्ष अघि गरेको विवाहले कानुनी मान्यता पाएको हो।

हिमा अमेरिकी नागरिक हुन्। नेपालस्थित अमेरिकी दूतावासबाट अविवाहित (नो अब्जेक्सन लेटर) भएको पत्र, अमेरिकाको एटलान्टा जर्जियाको विवाह सम्बन्धी कानुनको प्रमाणित प्रतिलिपि सहित हिमासँगको विवाह दर्ता गर्न सम्पूर्णले वडा कार्यालयमा निवेदन दिएका थिए।

बिहीबार वडा कार्यालयमा निवेदन दिएका सम्पूर्ण र हिमालाई स्थानीय पञ्जीकाधिकारी रवीन्द्र पौडेलले अध्ययन गरेर आइतबार मात्र विवाह दर्ताको प्रमाणपत्र दिएका हुन्। वडा अध्यक्ष होमनाथ पौडेलले सर्वोच्च अदालतको आदेश र गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार सम्पूर्ण र हिमालाई विवाह दर्ताको प्रमाणपत्र दिएको बताए।


जन्मेदेखि काठमाडौँ नटेकेकी ८२ वर्षकी हजुरआमा सम्पूर्ण र हिमाबीच विवाह दर्ता भएकोमा औधी खुसी छिन्। बुबा अमृत र आमा लक्ष्मीले सम्पूर्णको माग पुरा गर्न भरपुर सहयोग गरे। अविवाहितको सिफारिस लिन देखि कोर्ट म्यारिजका लागि अस्थायी बसोबासको सिफारिस लिएर अदालतमा निवेदन दिनसम्म बाबाआमा दुवैले साथ दिए।

सम्पूर्णले घरमा बुबाको सहयोग मागिन्। वडाध्यक्षसँग कुरा गरिदिन भनिन्। बाबा अमृतले वडाध्यक्षलाई घरकै बाटो हिँड्दा बोलाएर विवाह दर्ता गरिदिन भने। वडा अध्यक्ष पौडेलले वडा कार्यालयमा निवेदन दिनु पर्ने बताए।

अध्यक्ष पौडेलले वडा सचिव रवीन्द्र पौडेललाई बुझ्न लगाए। विवाह दर्ताको निवेदन नवलपरासी जिल्ला अदालतका वैतनिक वकिल अमर बहादुर साहले लेखिदिए। सचिव रवीन्द्र पौडेलले आवश्यक कागजपत्र सबै लिए। उनले हिमालाई अमेरिकी नागरिकताको प्रतिलिपि लिएर आउन भने। आइतबार सम्पूर्ण र अमेरिकी नागरिक हिमाको विवाहले कानुनी मान्यता पायो। वडा सचिव एवं स्थानीय पञ्जीकाधिकारी पौडेलले विवाह दर्ताको प्रमाणपत्र दिए।

आमा लक्ष्मीले नवलपरासी जिल्ला अदालतका वैतनिक वकिल साहको सहयोगमा कोर्ट म्यारिजको प्रमाणपत्र लिन दुबैलाई नवलपुर जिल्ला अदालतसम्म पुर्‍याएकी थिइन। अदालतले स्थानीय तहमा दर्ता गर्न सुझाए पछि सम्पूर्णले वडा कार्यालयमा निवेदन दिएका हुन्।

नवलपुरकै स्थानीय बासिन्दा सम्पूर्णको अमेरिकी नागरिक हिमासँग दुई वर्ष अघि मात्रै चिनजान भएको थियो। ‘टिकटक मार्फत हाम्रो चिनजान भयो,प्यारालाई मैले नै प्रस्ताव गरेकी हुँ,’अमेरिकन नागरिक नेपाली भाषी हिमाले पहिचानसँग भनिन्,’प्यारासँगको विवाहले कानुनी मान्यता पाउँदा खुसी लागेको छ।’

जन्मँदा बालिका सम्पूर्णलाई परिवारमा छोराको व्यवहार गरेका छन्। ‘मैले प्यारालाई श्रीमान्/पति मानेको छु,म सन्तुष्ट छु,’हिमाले भनिन्,’विवाह दर्ता गरेर हामी सँगै बस्न चाहन्छौँ।’

सम्पूर्णकी एक जना दिदी छन्। दिदीका दुई सन्तान छन्। सम्पूर्ण र हिमाले सन्तानको बारेमा गर्ने प्रश्नको भने सामना गर्नु परिरहेको छ।

उनी धर्मसन्तान राख्ने जवाफ दिन्छन्। उनीहरूको विवाह दर्ताका लागि दुई महिनादेखि मायाको पहिचान नेपालले सहजीकरण गरिरहेको जनाएको छ। ‘उहाँहरू संस्थामै आउनु भएको थियो,हामीले आवश्यक प्रक्रियाका लागि सहजीकरण गर्‍यौ,’सचिव सुरेन्द्र पाण्डेले भने,’स्थानीय तहसँग समन्वय गरिरहेका थियौँ,विवाह दर्ता गर्ने जोडीलाई बधाई दिन चाहन्छौँ।’

सम्पूर्ण र हिमाले विवाह दर्ताका लागि सहजीकरण गरिदिएकोमा मायाको पहिचान नेपाललाई धन्यवाद दिएका छन्। ‘हामीलाई विवाह दर्ता गर्ने प्रक्रियाबारे केही थाहा थिएन,मायाको पहिचान नेपालले सहजीकरण गरे पछि सहज रूपमा विवाह दर्ता गर्न सफल भयौँ,’उनीहरूले भने।

१२ असार २०८० मा सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार १२ वैशाख २०८१ मा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न छुट्टै फारम डेभलप गरेर परिपत्र जारी गरेको छ। विभागको परिपत्र पछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीहरूको सहज रूपमा स्थानीय तहमै विवाह दर्ता हुन थालेको हो।

लमजुङको दोर्दी गाउँपालिकाले १३ मङ्सिर २०८० मा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह दर्ता गरेको थियो। बर्दियाको बढैयातालले अन्जुदेवी श्रेष्ठ र सुप्रिता गुरुङ्गको विवाह दर्ता गरेको थियो।

सम्बन्धित समाचार:

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

पहिलो लेस्बियन जोडी : पाए समलिङ्गी विवाह दर्ता प्रमाणपत्र

राज र अञ्जलीले १२ वर्षपछि पाए विवाह दर्ताको प्रमाणपत्र

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

राष्ट्रपतिले सुरेन्द्र पाण्डेलाई सोधे, समलिङ्गी विवाह दर्ता पछि जीवन कस्तो चल्दैछ?

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.