राज र अञ्जलीले १२ वर्षपछि पाए विवाह दर्ताको प्रमाणपत्र

राज र अञ्जलीले १२ वर्षपछि पाए विवाह दर्ताको प्रमाणपत्र

400
SHARES

कास्की : कास्कीको रुपा गाउँपालिका वडा नं ५ को कार्यालयमा इन्द्रेणी विवाह दर्ता भएको छ। पोखरा महानगरपालिका वडा नं ८ का अञ्जली थापा र रुपा गाउँपालिकाका लक्ष्मी सिलवाल (राज)बीच इन्द्रेणी विवाह दर्ता भएको हो।

सर्वोच्च अदालतको आदेश र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्र अनुसार स्थानीय पञ्जीकाधिकारीले विवाह दर्ताको प्रमाणपत्र प्रदान गरेको वडा अध्यक्ष राजन खनालले जानकारी दिए। ‘सर्वोच्चको आदेश छ, विभागको परिपत्र पनि छ, सबै प्रक्रिया पुरा गरेर आउनु भएको छ,’वडा अध्यक्ष खनालले पहिचानसँग भने,’उहाँहरूको अस्थायी विवाह दर्ता प्रमाण पत्र जारी गरेका हौँ।’

लक्ष्मी र अञ्जलीबीच २०६९ माघ १० गते पोखराको विन्दवासिनी मन्दिरमा विवाह भएको थियो। लामो सङ्घर्ष पश्चात् विवाह दर्ता गर्न सफल भएको राजले बताए। ‘विवाह गरेको १२ वर्ष पछि कानुनी रूपमा विवाह दर्ता गर्न सफल भएका छौँ,’राजले पहिचानसँग भने,’धेरै सङ्घर्ष गर्दै आएका थियौ, हामीले कुनै संस्थाको सहयोग पनि लिएनौ, सहज रूपमा विवाह दर्ता गर्न पाउँदा धेरै खुसी छौँ।’

राजले अन्य लैङ्गिक पहिचानमा नागरिकता लिएका छन्। ‘वडा अध्यक्ष राजन खनाल र स्थानीय पञ्जीकाधिकारी यमुना ढकालले सहज रूपमा विवाह दर्ता गरिदिनु भयो,’राजले भने,’कुनै झन्झट भोग्नु परेन।’ उनले विवाह दर्ता पछि अब सम्पत्तिको समान अधिकार, धर्म सन्तान राख्नका लागि पहल गर्ने बताए।

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

१२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा दक्षिण एसियामै पहिलो इन्द्रेणी विवाह दर्ता गरेका थिए।

बर्दियाको बढैयाताल गाउँपालिका कार्यालयमा पहिलो लेस्वियन जोडी अन्जुदेवी श्रेष्ठ र सुप्रिता गुरुङले विवाह दर्ता प्रमाणपत्र पाएका थिए। सर्वोच्चको आदेश र विभागको परिपत्र अनुसार स्थानीय तहमै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको सहज रूपमा विवाह दर्ता हुन थालेको छ।

पहिलो लेस्बियन जोडी : पाए समलिङ्गी विवाह दर्ता प्रमाणपत्र

विवाह दर्ताका लागि मायाको पहिचान नेपालले सहजीकरण गर्दै आएको सचिव सुरेन्द्र पाण्डेले जानकारी दिए। कास्की रुपा गाउँपालिकामा विवाह दर्ता गर्न सफल जोडी राज र अञ्जलीलाई मायाको पहिचान नेपालले बधाई दिएको छ।

मायाको पहिचान नेपालले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ताका लागि आवश्यक सरसल्लाह र परामर्श दिइरहेको सचिव पाण्डेले बताए। मायाको पहिचान नेपालका अनुसार भरखरै मात्र सङ्खुवासभाको सिद्धपोखरी गाउँपालिकामा पहिलो गे म्यारिज (समलिङ्गी विवाह) दर्ता भएको छ।

नेपालभर रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूलाई विवाह दर्ताका लागि आवश्यक सहजीकरणदेखि कानुनी प्रक्रियामा सहजीकरण गरिरहेको सचिव पाण्डेले बताए।

सम्बन्धित समाचार:

समलिङ्गी तेस्रो*लिंगी विवाह सहज तरिकाले दर्ता गर्न परिपत्र जारी

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

राष्ट्रपतिले सुरेन्द्र पाण्डेलाई सोधे, समलिङ्गी विवाह दर्ता पछि जीवन कस्तो चल्दैछ?

रोजेको मान्छेसँग विवाह गर्न नपाउँदा…

समलिङ्गी विवाह दर्ता गरेर इतिहास रचेका जोडीहरू आफ्नै समुदायको संस्थाबाट अपहेलित, संरक्षण दिनुको साटो तिरस्कार?

समाचार शेयर गर्नुहोस्
400
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.