निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

डायस्पोरा साहित्यमा नेपाली भाषी भुटानीको स्मरण

डायस्पोरा साहित्यमा नेपाली भाषी भुटानीको स्मरण

3k
SHARES

समय ११:४० भएको थियो। म अफिसको काममा व्यस्त थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरेँ, डा. गोविन्दराज भट्टराई सरको फोन आएको रहेछ। उठाएँ, “सर नमस्कार” भनेँ।

“भाइ, तिमी कहाँ हौ?” भन्नुभयो।

“म अफिसमा छु,” भनेँ। सरलाई मेरो अफिस कहाँ पर्छ भन्ने कुरा यकिन थिएन कि जस्तो लाग्यो।

“पुतलीसडकबाट कति टाढा छ? तुरुन्त आउन मिल्छ कि मिल्दैन?”

“सानोठिमी हो सर, त्यहाँसम्म आउन १२ कि.मी. जति पर्छ,” भनेँ। अफिसको ड्रेसमै थिएँ, तुरुन्त निस्कन अलिक असहज हुन्छ। पुतलीसडक पुगेर फर्कन कम्तीमा दुई घण्टाको समय चाहिन्छ नै।

तुरुन्तै सरले नै भन्नुभयो, “अहिले निस्कन मिल्दैन भने एउटा पुस्तक छ, हामीले कार्यक्रम गर्ने ठाउँमा नाम लेखेर छोडिदिन्छु। फुर्सद मिलाएर लगेर पढ्नु होला।”

“अमेरिकाबाट कोही आउनुभएको छ यतिखेर?” सोध्नुभयो।

“यतिखेर कोही आएका छैनन्,” भनेँ।

“२१ गते कार्यक्रम छ, पुस्तक पढेर आउनु होला।”

“हुन्छ,” भनेँ।

भोलिपल्ट बेलुका पुस्तक लिन गएँ। भित्री पेजमा ‘प्रिय भाइ हरिकृष्ण ढुङ्गेल, भक्तपुर सप्रेम’ २०८२/३/९ लेखिएको रहेछ। पुस्तक झोलामा हालेर घर आएँ। घरमा पुग्ने बित्तिकै केही खानुपर्छ मलाई, किनभने बाहिरको खानेकुरा त्यति मन पर्दैन। ड्रेस फेरेर किचनतिर नलागी बाहिर सिकुवामा बसेर पुस्तक निकालेँ। पुस्तक निकै गह्रौँ र मोटो थियो। नयाँ भुटानको छायाँचित्र नामले नै प्रभाव पार्‍यो, किनभने म भुटानी भाषी नेपालीसँग नजिक छु। अझ गह्रौँ छ जस्तो लाग्यो, पुस्तकभित्र।

पुस्तकको सुरुमा नै गोविन्द सरको ग्रन्थबारे केही शब्द रहेछ, हेरेँ मात्र, पढिनँ। पुस्तकको अन्त्यबाट पल्टाएँ, अनुक्रमणिका रहेछ। खुसी लाग्यो, किनभने प्रायः नेपालमा प्रकाशित पुस्तकहरूमा अनुक्रमणिका राख्ने चलन कमै छ। अनुक्रमणिकाबाट सूचना तुरुन्त प्राप्त गर्न सकिन्छ। सरर हेरेँ, चिनजान भएका नाम, सुनेका नाम, धेरै भुटानी साहित्यकारको नाम रहेछ। लाग्यो, यो पुस्तक भुटानी साहित्यलाई समेटेको बृहत्तर ज्ञानकोश हुनुपर्छ। दुई–चार जनाको नामबाट पाठ खोजेँ, पढ्न थालेँ, पढ्दै गएँ। सुरुबाटै पढ्न थालेँ, रोकिन मन लागेन।

जति पढेँ, उति पढौँ लाग्यो। पढ्दा पढ्दै भोक तिर्खा बिर्सिएछु, साँझ परिसकेको रहेछ। उठेर खाजा खाएँ। बेलुका ८ बजे गोविन्द सरलाई फोन गरेर पुस्तक ल्याएको जानकारी गराएँ।

“पुस्तक राम्रो लाग्यो,” भनेँ।

सरले भन्नुभयो, “तीन मिनेट जति बोल्नुपर्छ है।”

म दुबिधामा परेँ। गोविन्द सरको कृतिमाथि के टिप्पणी गर्नु र? आखिर म त साहित्यमा लिलिपुट मानव नै हुँ। अर्को मनले भन्यो, सरले त्यत्रो जिम्मेवारी दिनुभएको छ, किन पूरा नगर्ने? त्यसमा पनि भुटानी र भुटानबारे केही परिचित छु म। “हुन्छ,” भनेँ।

अमेरिकामा पुनर्वास भएका स्रष्टा दधिराम अधिकारीको करिब ३०० पेजको डिजिटल कपी उर्वशी मेरो हातमा छ। त्यसलाई जानी नजानी सम्पादन गर्दैछु। त्यो उपन्यास पनि पूर्वी पहाड पाँचथरबाट भुटान पसेका नेपालीहरूले भोगेका सङ्घर्ष र दुःखको कथावस्तु हो। त्यो रोकेर भए पनि नयाँ भुटान पढेँ। धेरै भुटानी नेपालीहरूको इतिहास त्यसमा छ। पुनर्वासपछिको सङ्घर्ष भएको हुँदा झन् पढ्न ऊर्जा मिल्यो। बेलुका खाना खाएर दुई–तीन वटा पाठ पढेँ। अत्यन्त सरल छ। मिठास छ। यात्रा भए पनि साहित्य घुलिएको छ। सम्मेलनको बारेमा पढेँ, कोरेँ, अन्डरलाइन गरेँ। किनभने बोल्नका लागि केही कुरा तयार पार्नुपर्छ।

सोचेँ, यात्राका हरेक विषय वस्तु उत्तिकै रसिला छन्, सलल बगिरहेका छन्। तर पनि पुस्तकको मूल कुरा भुटानी साहित्यको सङ्घर्ष नै हो। त्यसैले त्यही सेरोफेरोमा बोल्नुपर्छ भन्ने लाग्यो। सम्मेलनमा भाग लिएका विषय वस्तु मिन तरिकाले पढेँ। परिशिष्टको कार्यपत्र दोहोर्‍याएर पढेँ। बोल्ने कुरा लगभग तयार पारेँ। केही पोइन्टहरू बिर्सिएलान् कि भनेर टिपोट पनि गरेँ।

मनमा चाहिँ डर लागिरह्यो, त्यत्रो विद्वानहरूको अगाडि कसरी बोल्नु होला भनेर। सोचेँ, गोविन्द सरबाहेक त्यहाँ भुटानबारे जान्ने मभन्दा अरू को नै होलार?

गोविन्द सरलाई फोन गर्नुपर्‍यो भन्दै थिएँ, तर सरले आफैँ कार्यक्रमको दुई दिनअघि फोन गर्नुभयो, “पढिसक्यौ भाइ? कस्तो लाग्यो?”

“सकेको छु, अत्यन्तै राम्रो लाग्यो,” भनेँ।

पुनः दोहोर्‍याउनुभयो, “तीन मिनेट जति बोल्नुपर्छ है।”

“हुन्छ,” भनेँ। तयारी गरेको थिएँ। बोल्ने कुराका पोइन्ट टिपोट गरेको थिएँ। तीन मिनेटमा कति नै बोलिएला, १० मिनेट जतिमा त सकिन्छ कि भन्ने थियो।

धेरै विद्वान महानुभावले बोले। धेरै कुरा पनि आए। धेरैजसोले गोविन्द सरको लेखनकला, लेखनमा ८०औँ कृति पुगेको कुरा, सरकै गुणगानका विषयले प्राथमिकता पाए। वक्ताले भनेका कुरा गोविन्द सरका विशेषता हुन् नै। अझ जति गुणगान गरे पनि कमै हुन्छ।

पुस्तकको विषयवस्तु भनेको भुटानी नेपालीहरूले नेपाली साहित्य परम्परामा गरेको सङ्घर्ष, उनीहरूले देखाएको बहादुरी, ग्लोबल नेपाली ड्यास्पोरामा भुटानी नेपालीको उचाइ मूल विषय हो। त्यसैको सेरोफेरोमा अन्य कुरा जोडिएका मात्र हुन्, जस्तो लाग्छ। अन्यमा बोल्नुभएका कार्यक्रमका सभापति तुलसी भट्टराईले मात्र पुस्तकको चुरो कुरा सङ्केत गर्नुभयो। त्यो मेरो मनमा खट्किरहेको विषय थियो। किनभने त्यही विषयवस्तुमा केन्द्रबिन्दु भएर बोल्ने तयारीमा म थिएँ।

भुटानी साहित्यलाई तीन तहबाट हेर्दा उपयुक्त होला:

१. पुरानो भुटानभित्रको साहित्य

२. १९९० पछिको शरणार्थी शिविरको साहित्य

३. २००९ पछिको पुनर्वास साहित्य

१. भुटानभित्रको साहित्य:

“पैलो पल्ट गए गोर्खा धर्म विवाद कारण
त्यसैमा द्धौत गाँसेछन् गोर्खा–भुटानबिचमा।

दोस्रो पल्ट गए फेरि राम शाह त्यहाँ हुँदा
रैती बस्तीहरु ल्याए वाचा–कबोल साथमा।

गोर्खाली जनता राखे दक्षिणी भेकमा अनि
अधिकार दिए जम्मै राष्ट्र निर्माण गर्नमा।”

वि.सं. १६२४ तिर धर्मराजा साब्डुङ्ग नाम्गेलले गोर्खाका राजा राम शाहसँग सम्झौता गरी ४०–५० परिवार भुटान लगे।

पुनः १६४० तिर धातु र काठका मूर्ति बनाउने कालिगढहरू पनि लगियो र दक्षिण भेगमा बसोबास गराइयो।

अनकन्टार, औलो लाग्ने जङ्गलमा आबाद गराउन

सीमावर्ती क्षेत्रमा कोचमेचेको आक्रमण रोक्न

भारतमा ब्रिटिस शासनको पालासम्म नेपाली जातिको भुटान प्रवेश क्रम

विभिन्न जनजातिबीच नेपाली भाषा बोलचालको साझा माध्यम

सन् १९३० मा प्रकाशित दक्षिण भुटानका प्रशासक गर्जमान गुरुङ्गको वंशबारे लेखिएको पुस्तिका नै भुटानको पहिलो नेपाली साहित्य कृति।

सन् १९५० तिर नेपाली कविता राष्ट्रगानको रूपमा प्रयोग।

‘जय जय महाराजको हाम्रा भूपति श्री ५ को

झन्डा रहोस् उच्चसरि अमर बनोस् राज्यको

शान्ति दर्शन भैरहोस् स्वाधीन हाम्रो भुटानको

गौरीशङ्कर उच्चसरि हिमालय पर्वत वहाँ भई

शिरोमणि हाम्रा माझमा चन्द्र सूर्य चम्कला झैँ।

 सन १९५९ मा भारतका प्रधानमन्त्री भुटान भ्रमणको क्रममा स्वागतमा नेपाली संस्कृति लोकगीतको प्रयोग गरिएको थियो ।

 कालान्तरमा नेपाली भाषा सरकारी कामकाजको अनिवार्य माध्यम बन्न पुग्यो ।

 सन् १९६० को दशकदेखि स्कुलहरूमा नेपाली भाषाको पठन पाठन कक्षा ८ सम्म अनिवार्य बनाइयो ।

 दक्षिण भुटानमा जाहेर गर्ने चिठ्ठी पत्रहरू र कासो नेपाली भाषा मै लेखिन्थे । कानुन निर्माण, मन्त्रिपरिषद् बैठकहरू नेपाली भाषामा नै छलफल गरिन्थे ।

 २०४२ साल तिर भुटान जाँदाको आफ्नो अनुभव

 दन्किँदो भुटान, The Mudder of Democracy in Himalayan Kingdom,नारायणपदेश, ज्ञानदर्पण, हिमाल कविता सङ्ग्रह, शङ्कर महाकाव्य, सामाजिक चिन्तन, कल्पत्रयी खण्डकाव्य आदि प्रकाशन भए ।

२. शरणार्थी शिविरको साहित्य (१९९० पछि):

कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ। त्यसका लागि न युद्ध नै गर्नु पर्छ न त हत्या नै।

शिविरमा देखे भोगेका कुराहरू

सन १९९३ मा नेपाली भाषा परिषद्, भुटानको गठन गरी वार्षिक मुख पत्रिका भुटानी कोपिला प्रकाशन र आधुनिक भुटानी नेपाली साहित्यको पृष्ठभूमि।

सिलिगुडी बोर्डबाट सञ्चालित प्रभाकरदेखि साहित्य अलङ्कारसम्मको अध्ययन

भुटान जागरण, सन्देश, फूलबारी, दीपशिखा, नौलो आवाज जस्ता पत्रपत्रिकाको थालनी

परिषद्ले समाज सेवा र भाषा–साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरूको पहिचान गर्दै सम्मान र अभिनन्दन गर्ने परम्पराको सुरुवात साथै भाषा साहित्य सम्मेलनको विकासक्रम।

सन् १९९७ – पहिलो सम्मेलन त्रिरत्न मावि, बेलडाँगी

सन् १९९८ – दोस्रो सम्मेलन, प्रज्ञा भवन, कमलादी

सन् १९९८ – तेस्रो सम्मेलन, शनिश्चरे

सन् २००३ – चौथो सम्मेलन, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बेलडाँगी–२ को मैदानमा नेपाली साहित्यका तीन चर्चित आख्यानकार गोविन्द भट्टराई , कृष्ण धरावासी र लीलाबहादुर क्षेत्रीको सहभागिता ।

जन्मभूमि कविता सङ्ग्रह, आमाको गुनासो कथा सङ्ग्रह, ऐतिहासिक भुटान उपन्यास चट्याङ्ग खण्डकाव्य लगायतका कृति प्रकाशन

३. पुनर्वास पछिको साहित्य (२००९ पछि):

पुनर्वास प्रारम्भ पछि भुटानीहरूको जीवनमा नयाँ मोड

सन् २००९ मा Bhutaneseliterature.com नामक digital Platform को स्थापना

नेपाली भाषा परिषद्, भुटान, नेपाली साहित्य परिषद्–भुटान हुँदै साहित्य परिषद् भुटान बन्न पुग्यो। जसको स्थापना काल सन् १९९३ नेपाली भाषा परिषद्–भुटानको विकसित रूपमा रूपान्तरित भयो। यस परिषदबाट ४ हजारको हाराहारीमा विभिन्न विधाका सृजनाहरू प्रकाशित भइसकेका छन्।

सम्मेलन, पुरस्कार र सम्मान

सन् २०१६ मा पुनर्वासपछिको पहिलो सम्मेलन पेन्सिलभेनियाको पिस्त्वर्गमा २ दिने सम्मेलन भयो।

सन् २०१८ मा ओहायो राज्यको सिन्सिनाटीमा ४ वटा कार्यपत्र प्रस्तुत पुस्तक विमोचन भए भने नेपाली साहित्यको विकास र स्तरउन्नतिका लागि नगद पुरस्कारको घोषणा भयो। हिमटिका आख्यान पुरस्कार, हिमतारा काव्य पुरस्कार, मुना स्मृति कथा पुरस्कार र सङ्गीत सुराग पुरस्कार

तेस्रो सम्मेलन भर्चुअल माध्यममा सम्पन्न

२०२२ ओहायो राज्यको कोलम्बसमा दुइदिने अन्तर्राष्ट्रिय सम्मेलन भयो । जसमा प्रमुख अतिथि गोविन्द राज भट्टराई “नेपाली साहित्यको उत्तराधुनिकवाद र डायस्पोरा र अञ्जना वस्तिले साहित्य सृजनामा भुटानी महिलाको बारेमा कार्यपत्र प्रस्तुत साथै पुस्तक विमोचन

विशेष सम्मान २०२२ सेप्टेम्बरमा नेपालको प्रज्ञा भवनमा परिषद्ले नेपाली साहित्यका विभिन्न फाँटमा विशेष योगदान पुर्‍याउने स्रष्टाहरूको लागि ४ वटा पुरस्कार स्थापना गरी विशेष स्रष्टा सम्मान पुरस्कार सुरु भयो।

वरिष्ठ साहित्यकार गोविन्द राज भट्टराईलाई परिषद् साहित्य पुरस्कार २०२२ र नेपाली भाषा मान्यताका लागि अग्रणी भूमिका निर्वाह गर्नुहुने दिलकुमारी भण्डारीलाई भाषा सेवा पुरस्कार २०२२, प्रकाश आङ्गदामेलाई परिषद् युवा साहित्य पुरस्कार र रामजी तिम्सिनालाई अनुसन्धान पुरस्कार २०२२ बाट सम्मान गरियो।

गङ्गा लामिटारे, दधि अधिकारी, खेम रिजाल, रमेश गौतम, शिवलाल दाहाल; खेम प्रसाद नेपाल, दिल्लीराम शर्मा, देंजोम साम्पाङ्ग, कर्ण गुरुङ, लक्ष्मीनारायण ढकाल, रमेश दियाली लगायतका साहित्यकार आदि

पुस्तक चर्चा

२०२२ ओहायो राज्यको कोलम्बसमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाने तयारीदेखि कार्यपत्र प्रस्तुत गर्ने, अर्को सम्मेलन GBLO का लागि सम्बोधन पत्र, अमेरिका घुमघाम र भेटघाट सकेर नेपाल घर फर्केसम्मका कुराहरूलाई समेटेर यात्रा–संस्मरणको रूपमा प्रस्तुत पुस्तक आएको छ। ३१३ पृष्ठको बृहत्तर ग्रन्थ भुटानी नेपाली भाषीहरूको साहित्य उठानमा भएका सङ्घर्ष, उपलब्धि र डायस्पोरा साहित्यमा नेपाली भाषी भुटानीहरूको योगदानको सेरोफेरोमा पुस्तक बगेको छ।

यस पुस्तकमा प्रस्तुत ग्रन्थबारे केही शब्द गोविन्द सर आफैँले लेख्नु भएको छ। विषय–सूचिमा ४० शीर्षक समावेश छन् भने ३ परिशिष्ट छन्, जसमा कि नोट स्पीच रहेको छ। पुस्तकको विशेषता भनेको अनुक्रमणिका हो। यसमा आफूले चाहेको सूचनाको बारेमा तुरुन्त प्राप्त गर्न सकिन्छ।

पुस्तकभित्रका केही कुरा:

– साइबर युग (पृष्ठ १२)
– अतीत र वर्तमान तुलना (पृष्ठ १२ र १३)
– सङ्घर्ष (पृष्ठ ३४)
– ग्लोबल डायस्पोरा (पृष्ठ ३५)
– परम्परा (पृष्ठ १८८)
– खचरा (पृष्ठ २५२) आदिको बारेमा चर्चा गरिएको छ।

लिखित रूपमा पुस्तक विमर्श

वि.सं. १६२४ तिर भुटानका राजा साब्डुङ नामाङ नाम्गेलले गोरखाका राजा राम शाहसँग सम्झौता गरी नेपालीहरूलाई भुटानको दक्षिण भेग तुर्सा नदीको किनारमा बसोबास गराए। पूर्वी नेपालका पहाडी जिल्लाबाट भुटान बसोबास गर्न जाने क्रम भारतमा ब्रिटिस शासनको पालासम्म चलिरह्यो। तिनै नेपालीहरूलाई भुटान देशको सुरक्षार्थ दक्षिणका ६ वटा जिल्लामा बसोबास गराइयो। जसले गर्दा दक्षिण भुटानमा नेपाली जनसङ्ख्याको बाहुल्यता हुँदै गयो। अर्कोतिर मेचे जातिको आक्रमणको रोकथामको राम्रो उपाय पनि बन्यो। सरकारी कार्यालय, गाउँका गन्यमान्य कारबारी, प्रशासक जस्ता तहमा नेपालीहरूको पहुँच नै थियो। जसले गर्दा नेपाली भाषा, परम्परा र संस्कृतिको क्षेत्रमा नेपालीहरू अग्रणी रूपमा रहे भने नेपाली भाषा सबै जातिमा बोलीचालीको माध्यम बन्यो।

९–१० वर्षको उमेरमा भुटान जाँदाको अनुभव राख्न चाहन्छु। करिब १० दिन जति भुटानमा बसियो होला। दक्षिण भुटानको चिराङ जिल्लामा देखे जति सबै नेपालीहरूको मात्र घर थिए। सबैले बिहानै रेडियो नेपाल सुन्दा रहेछन्, सबै नेपाली कार्यक्रम आउने। सुरुमा नै नेपाली राष्ट्रिय गान घन्किँदो रहेछ, “श्रीमान् गम्भीर नेपाली…” भनेर। अनि घर–घरमा नेपाली राजा–रानीका तस्बिरहरू राखिएका थिए। बोल्ने भाषा सबै नेपाली थियो। डम्फु बजारमा मात्र केही छिटपुट भोटे, बङ्गाली र मारवाडी समुदायका मानिसहरू भेटिए। नेपालभन्दा कुनै कुरामा फरक थिएन, केवल ठाउँ मात्र फरक थियो।

माथि उल्लेख गरिएको कविता “दन्किँदो भुटान” बाट साभार गरिएको हो। यो पुस्तक सन् १९७० मा नै प्रकाशित भएको थियो। यो पुस्तक भुटानी प्रजातन्त्रका लागि जागरूक गराउन भोटे सरकार विरुद्ध लेखिएको राजनीतिक ऐतिहासिक पहिलो कृति थियो। यो पुस्तक भुटानभर प्रतिबन्धित छ। यसका लेखक देवी भक्त लामिटारे हुन्। अहिले यो पुस्तक ५ औँ संस्करणसम्म प्रकाशित भइसकेको छ।

सन् १९७८ मा अर्को पुस्तक The Mother of Democracy in Himalayan Kingdom by D B Lamitarey द्वारा प्रकाशित गरिएको थियो। यो पुस्तकका बारेमा धेरैलाई थाहा नहुन सक्छ। धेरैजसो साहित्यिक पुस्तकहरू सन् १९८५ तिर वा ८० को दशकमा विशेष गरी कविताका रूपमा प्रकाशित भए। नारायण प्रसाद लुइँटेलको नारायणोपदेश, गौरीशङ्कर अधिकारीको हिमाल कविता सङ्ग्रह, शङ्कर महाकाव्य, हरि अधिकारीको सामाजिक चिन्तन र सांसारिक चिन्तन, घनश्याम रेग्मीको कल्पत्रयी खण्डकाव्य लगायतका पुस्तकहरू प्रकाशित भए।

सन् १९९० पश्चातको गतिविधि

“कुनै पनि जातिलाई समाप्त गर्नु छ भने उसको भाषा–संस्कृति मासिदिए पुग्छ; त्यसका लागि न युद्ध गर्नु पर्छ, न त हत्या नै।”
भुटानमा त्यस्तै भयो। सन् १९९० सम्म आइपुग्दा नेपाली भाषा पठन–पाठनको अन्त्य, नेपाली पोसाक लगाउन नपाउने जस्ता प्रावधानहरूले गर्दा नेपालीहरूलाई बिस्तारै जातीय सफाया नीतिबाट गलहत्त्यायो। उनीहरू १९९० देखि नेपालको कन्काईमाईमा शरण लिन पुगे। नेपाली दाजुभाइहरूको सहयोगले माईको बगरमा खाने–बस्ने बन्दोबस्त त भयो, तर शरणार्थीको सङ्ख्या दिनानुदिन बढ्दै एक लाखको हाराहारी पुग्यो।

तराईको गर्मी, बगरको तातो हावा र बालुवा, त्रिपालको छानो, अस्वास्थ्यकर खानेकुराले मृत्युदर पनि बढ्दै गयो, ताकी एक दिनमा ४८ जनासम्मको मृत्यु हुन पुग्यो। जसले गर्दा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको ध्यान आकृष्ट भयो र UNHCR ले व्यवस्थित रूपमा झापा र मोरङ गरी सात स्थानमा बसोबास गराई खाने–बस्ने व्यवस्था गर्‍यो।

मेरो पनि घर माईको छेउमै भएकाले कन्काईमाईमा भएका घटनाहरू प्रत्यक्ष अवलोकन मात्र गरिएन, प्रत्यक्ष रूपमा जोडिएकाले सरसंगत चलिरह्यो। घरमा २०–३० जनाको हाराहारीमा दैनिक खाना खाने गरेको सम्झना छ। अझ राजनीतिक भेटघाटका लागि देवी भक्त लामिटारेको १९९२–९३ तिर आगमन हुँदा एक हप्ता जति घर भुटानी राजनीतिक पार्टी लगायत शरणार्थीका लागि साझा चौतारी नै बन्यो।

UNHCR ले व्यवस्थापन गरेपछि भने माईमा रहेका शरणार्थीहरू सातवटा शिविरमा बाँडिए। तर पनि भुटानी दाजुभाइहरूको भेटघाटको क्रम भने चलिरह्यो। उता शिविरमा भने स्कुलहरू खुले, अध्ययन–अध्यापन हुन थाल्यो।

गोविन्द सरले भुटानी नेपाली साहित्यका कुलपति दर्जा दिएका गङ्गा लामिटारेको सक्रियतामा सन् १९९३ मा नेपाली भाषा परिषद् स्थापना भई वार्षिक मुखपत्रको रूपमा ‘भुटानी कोपिला’ प्रकाशन हुन थाल्यो। जसको माध्यमबाट विभिन्न नेपाली साहित्यको रूपमा विशेषगरी कविताहरू प्रकाशित हुन थाले। यही नै भुटानी नेपालीहरूको आधुनिक साहित्यिक यात्राको प्रारम्भ थियो।

केही नेपाली भुटानी दाजुभाइहरूले सिलिगुडी बोर्डबाट सञ्चालित प्रभाकरदेखि साहित्य–अलङ्कारसम्मको शिक्षा हासिल गर्दै गए। जसले गर्दा नेपाली साहित्यमा ठुलो वरदान साबित भयो।

भुटानी कोपिला साहित्य सिर्जनाका लागि एउटा प्लेटफर्म बन्दै गयो। क्रमशः अन्य भुटानी जागरण, सन्देश, फूलबारी, दीपशिखा, नौलो आवाज लगायत पत्र–पत्रिकामार्फत भाषा–साहित्यप्रति प्रचार–प्रसारमा क्रान्ति ल्याउँदै गयो।

सन् १९९३ देखि २००८ सम्म आइपुग्दा झन्डै १०० को हाराहारीमा पुस्तकहरू प्रकाशित भए भने धेरै स्रष्टाहरूको जन्म भयो। नेपाली भाषा परिषद् यतिमा मात्र सीमित रहेन; समाज सेवा र भाषा–साहित्यको क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूको पहिचान गरी सम्मान र अभिनन्दन गर्ने परम्पराको थालनी भयो। विभिन्न समयमा गोष्ठी र सम्मेलन हुँदै गए।

सन् १९९७ मा पहिलो सम्मेलन रत्न मा.वि. बेलडाँगीमा, दोस्रो सन् १९९८ मा प्रज्ञा भवन कमलादीमा, तेस्रो सम्मेलन १९९८ मै झापाको शनिश्चरेमा भयो। चौथो सम्मेलन २००३ मा बेलडाँगी २ को मैदानमा नेपाली साहित्यका तीन चर्चित आख्यानकार डा. गोविन्दराज भट्टराई, कृष्ण धरावासी र लीलाबहादुर क्षेत्रीको समेत सहभागिता भएको थियो। जसमा नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोग रहेको थियो भने प्रतिष्ठान तर्फबाट तुलसी भट्टराईको उपस्थिति थियो। पुनर्वास जान बाँकी रहेका साहित्यकारहरूले ‘अलबिदा बेलडाँगी’ कृतिको लोकार्पणसहित छैटौँ सम्मेलन प्रज्ञा भवन कमलादीमा सम्पन्न गरेका थिए।

सन् २००९ पुनर्वास पछिको साहित्य

पुनर्वास प्रारम्भपछि भुटानीहरूको जीवनमा नयाँ मोड आयो। दुई दशकसम्म एक ढिक्का भएको समुदाय विश्वका विभिन्न ८ मुलुकमा पुनःस्थापना हुन पुग्यो। शिविरमा निरन्तर चल्दै आएको साहित्यिक गतिविधिमा शिथिलता मात्र आएन, २००८ मा प्रारम्भ भएको पुनर्वास कार्यक्रमबाट गम्भीर गतिरोध उत्पन्न भयो। पुनर्वासको कारण दुई दशकसम्म भुटानी समुदायको साहित्य, शैक्षिक र चेतना विस्तारको अहम् भूमिका खेलेको संस्था इतिहासमा नै समाप्त हुने स्थितिमा पुग्यो।

केही सचेत रमेश गौतमजस्ता युवाहरूको बहसले सन् २००९ मा Bhutaneseliterature.com नामक डिजिटल प्लेटफर्मको “नेपाली साहित्यको साझा मञ्च” बीजारोपण गर्‍यो। जसले गर्दा नेपाली भाषा परिषद्को लेखन गतिविधिलाई पुनःस्थापित गरी निरन्तरता दिने काम भयो। बदलिँदो परिस्थितिमा साहित्यिक आन्दोलनलाई एउटा नयाँ उचाइमा पुर्‍याउने भयङ्कर ठुलो साहस भएको देखिन्छ।

डिजिटल प्लेटफर्मको माध्यमबाट विभिन्न मुलुकमा छरिएका नेपालीहरू पुनः एक ठाउँमा जम्मा हुन पुगे। विभिन्न समयमा स्थापना गरिएका संस्थाहरूलाई एकरूपता दिने काम भयो। जसले गर्दा नेपाली भाषा परिषद्–भुटान, नेपाली साहित्य परिषद्–भुटान हुँदै अन्ततः साहित्य परिषद् भुटान बन्न पुग्यो। जसको स्थापना काल सन् १९९३ मा स्थापित नेपाली भाषा परिषद्–भुटानको विकसित रूपमा रूपान्तरण भयो। हालसम्म यस परिषदबाट चार हजारको हाराहारीमा विभिन्न विधाका सृजनाहरू प्रकाशित भइसकेका छन्।

भुटानी साहित्य परिषद्ले भाषा–साहित्यको प्रकाशन मात्र गरेन। नेपाली कक्षाको पाठ्यक्रम तयार गरी पठनपाठन, विभिन्न समयमा अन्तर्राष्ट्रिय सम्मेलन, विविध क्षेत्रमा पुरस्कार र सम्मान समेत गर्दै आइरहेको छ। सन् २०१६ मा पुनर्वास पछिको पहिलो दुई दिने सम्मेलन पेन्सिलभेनियाको पिट्सबर्गमा गर्‍यो।

सन् २०१८ मा ओहायो राज्यको सिन्सिनाटीमा चारवटा कार्यपत्र प्रस्तुत, पुस्तक विमोचन भए भने नेपाली साहित्यको विकास र स्तरोन्नतिका लागि नगद पुरस्कारको घोषणा समेत भयो। हिमटिका आख्यान पुरस्कार, हिमतारा काव्य पुरस्कार, मुना स्मृति कथा पुरस्कार र सङ्गीत सुराग पुरस्कार गरी चार विधाका पुरस्कार स्थापना भए।

तेस्रो सम्मेलन सन् २०१८ मा भर्चुअल माध्यममा सम्पन्न भयो। सन् २०२२ मा ओहायो राज्यको कोलम्बसमा चौथो दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन भयो। जसमा प्रमुख अतिथि गोविन्दराज भट्टराई “नेपाली साहित्यको उत्तरआधुनिकवाद र डायस्पोरा”, अञ्जना वस्तिले साहित्य सृजनामा भुटानी महिलाको बारेमा र डेंजम राईले अस्तित्वहरूको न्यायिक बारेको कार्यपत्र प्रस्तुत गर्नुभयो। पुनर्वास पछिका भुटानी नेपाली कविता कृति लगायत एक दर्जन पुस्तकहरू विमोचन पनि भए।

भुटानी साहित्य परिषद् यतिमा मात्र सीमित रहेन। एक विशेष कार्यक्रमका साथ सन् २०२२ सेप्टेम्बरमा नेपालको प्रज्ञा भवनमा भुटानी साहित्य परिषद्ले कार्यक्रमको आयोजना गर्‍यो। जसमा नेपाली साहित्यका विभिन्न फाँटमा विशेष योगदान पुर्‍याउने स्रष्टाहरूको लागि चारवटा पुरस्कार स्थापना गरी विशेष स्रष्टा सम्मान र पुरस्कारको सुरुवात गर्‍यो। वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराईलाई परिषद् साहित्य पुरस्कार २०२२, नेपाली भाषा मान्यताका लागि अग्रणी भूमिका निर्वाह गर्नुहुने दिलकुमारी भण्डारीलाई भाषा सेवा पुरस्कार २०२२, प्रकाश आङदाम्बेलाई परिषद् युवा साहित्य पुरस्कार र रामजी तिम्सिनालाई अनुसन्धान पुरस्कार २०२२ बाट सम्मान गरियो।

पुस्तक चर्चा

नेपाली भाषी भुटानीहरू जन्मभूमिबाट लखेटिए, दुःख–कष्टको जीवन बिताए, पुनः विश्वका विभिन्न ८ वटा देशमा छिन्नभिन्न भए। तर पनि थाकेनन्। अत्यन्त व्यस्त समयका बाबजुद पनि अलिकति समय निकालेर नेपाली भाषा साहित्यमा योगदान गरे, सङ्घर्ष गरे र गरिरहेका छन्। यिनै नेपाली भाषी भुटानीहरूको साहित्यिक सङ्घर्षलाई मूल विषय बनाएर नयाँ भुटानको छायाँचित्र पुस्तक तयार भएको छ। जसमा, २०२२ ओहायो राज्यको कोलम्बसमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाने तयारीदेखिका कार्यपत्र प्रस्तुति र अर्को सम्मेलन GBLO को लागि सम्बोधन पत्र, अमेरिका घुमघाम, पारिवारिक भेटघाट र साहित्यिक भेटघाट सकेर नेपाल घर फिर्तीसम्मका कुराहरूलाई समेटेर यात्रा संस्मरणको रूपमा प्रस्तुत गरिएको पुस्तक आएको छ। ३१३ पेजको बृहत्तर ग्रन्थ लाग्छ, भुटानी नेपाली भाषीहरूको डायस्पोरा साहित्यमा बनाएको उच्चतम योगदानको साहित्यिक ज्ञानकोष नै हो।

नेपाली भाषा–साहित्य उठानमा गरिएका सङ्घर्ष, उपलब्धि र डायस्पोरा साहित्यमा नेपाली भाषी भुटानीहरूको योगदानको सेरोफेरोमा पुस्तक बगेको छ। यसका अलावा सिक्किम, आसाम, दार्जिलिङ, नेपाल लगायतका साहित्य र साहित्यकारहरूको बारेमा पनि चर्चा छ।

यस पुस्तकमा, प्रस्तुत ग्रन्थबारे केही शब्द गोविन्द सर आफैले लेख्नुभएको छ। विषय सूचीमा ४० शीर्षक समावेश छन्। यस पुस्तकमा परिशिष्टहरू महत्त्वपूर्ण छन् जसमा ‘की–नोट स्पीच’ रहेको छ। परिशिष्ट १ : साहित्य परिषद् भुटानद्वारा अमेरिकाको ओहायोस्थित कोलम्बसको हिस्ट्री सेन्टरमा (२५ र २६ जुन २०२२ का दिन) आयोजना भएको अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनका अवसरमा प्रस्तुत प्रमुख सम्बोधन भाषण, परिशिष्ट २ मा जिबिएलो सम्मेलनको पहिलो दिनको सम्बोधन र परिशिष्ट ३ मा जिबिएलोद्वारा प्रायोजित अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित ह्यारिसबर्ग सहरमा Grand International Creative Ceremony–5 (जुलाई २–३१, २०२२) को अवसरमा प्रस्तुतिका लागि तयार पारिएको प्रमुख सम्बोधन पत्र रहेको छ। पुस्तकको विशेषता भनेको अनुक्रमणिका हो। यसमा चाहिएको सूचना तुरुन्त प्राप्त गर्न सकिन्छ।

पुस्तकका विभिन्न पाठमा मन छुने कुरा उल्लेख गर्नुभएको छ। “साइबर युगभित्र हराएका रहेछन् हाम्रा यहाँका भुटानी नेपाली समाज पनि अरू जस्तै। हामी ता निरक्षर गोठाला थियौँ ती हेरी।” – पृष्ठ १२

अमेरिका पुगेपछि त्यहाँको वातावरणमा भुटानी नेपालीहरू नयाँ युगको प्रविधिभित्र कसरी घुलमिल हुँदै गए र हामीचाहिँ उनीहरूको तुलनामा जङ्गली अवस्थाभित्रै छौँ कि भन्ने अनुभूति प्रकट गर्नुभएको छ। तल्लो वाक्यांशमा, शिविरमा बस्ने दिनचर्याहरू तुलना गर्नुभएको छ:

“रिमझिम उज्यालो हुन थालेदेखि मूल बाटामा साइकलको ताँती निस्कन्थ्यो। किर्लिङ किर्लिङ घण्टी बजाउँदै, कोही नबजाई शिविरबाट दमक बजार जाने, अझ टाढा मङ्गलवारे, पथरी जाने, दक्षिणका सितापुरी, गौरादह, गौरिगञ्जसम्म, पूर्व केरखा, सुरुंगा, टाढाटाढासम्म तीस चालिस किमीसम्म साइकलमा चढेर सिङ्गल र डबल घण्टी बजाउँदै धारो लाग्थे। उ भोटाङ्गे काममा निस्के। कति जाँगरिला ती! नारी थिए, पुरुष धेरै; दक्ष र अर्ध–दक्षहरू सस्तोमा श्रम बिक्रेताहरू।”

हिजोको कहालीलाग्दो चित्रण। झापा–मोरङका कुनचाहिँ ठाउँमा नपुगेका होलान् ती शिविरका भुटानीहरू कामको खोजीमा?

अमेरिका पुगेपछि अमेरिकामा रहेको भुटानी नेपालीको भौतिक सुख भोग र शिविरमा हुँदाको दुःख भोगको तुलना गर्नु भएको छ। भौतिक सुखभन्दा शिविरमा हुँदाको दुःखानुभूति जीवन्त देखिएको कुराले मन छुन्छ। किनभने त्यस्तो जीवन फर्केर आउने वाला छैन। “समय उही नै छ, चौबीस घण्टा, तर उसबेला दुःख थियो, घाम पानी थियो, झरी बादल, धूलो र हिलो मिसिएको जीवन थियो। हिजो सय जनाको ताँती पस्थ्यो काम गर्न अर्को गाउँ जाने। बजार पस्ने, आफ्ना ज्वावल, हतियार र खाजाका ससाना पोका थिए र जीवन थियो। तर अहिले सुख छ, आनन्द छ, भोक तिर्खा छ, तथापि ती साथीहरू छैनन्, ती जीवन्त पल छैनन् र साँचो जीवनानुभूति पनि छैन। ठुलो मौनतामा, सम्पूर्ण निस्तब्धतामा मौन जीवनसँग चिल्ला बाटामा बेला–बेला हिँड्छन् मौनताहरू, किन्तु ठुला कोलाहलका भारी बोकेर एक्लै–एक्लै।” – पृष्ठ १२।

नेपालका नेताहरू अर्थात् साम्राज्यवादका विरोधी भनाउँदाहरूले वास्तविक चित्रण गर्नुभएको छ। “अमेरिकी साम्राज्यवादको जीवनभरि विरोध गर्नेहरूका सन्तान यहीँ छन्; विरोध गर्दा–गर्दा गलेर थाकेका बाबुआमा झन् धेरै यहीँ छन्। यहाँ आउन नभ्याउनेहरू सत्तामा छन्। नेपालीहरू त्यहीँ बसेर साम्राज्यवादको घोर विरोध गर्छन्। फेरि मनमनै यहीँ टेक्ने प्रार्थनामा छन्।” – पृष्ठ ४१–४२।

यहाँनेर मानव हुनु मानवताको पहिचान जस्तै जाति हुनु, भाषी हुनु भनेको पहिचान र संस्कृति नै हो। जो जहाँ पुगे पनि आफ्नो पहिचान र संस्कृति भुल्नु हुँदैन र त्यो नै एक मात्र जोड्ने सूत्र हो। भुटानी नेपालीहरूले त्यही जोड्ने काममा अहोरात्र खटिरहेको चित्रण गर्नु भएको छ। “जाति जहाँ–जहाँ वितरित भए पनि भाषा र संस्कृति बाहेक आफ्नो पहिचान गराउने अन्य साधन नहुँदो रहेछ। त्यसैले उनीहरू अनेक केन्द्रमा नेपाली भाषा–साहित्यको स्वरूप जीवित राख्न सकियोस् भन्ने नित्य चिन्तामा छन्। अनेक सङ्घर्षले थाकेका भुटानीहरू यस्ता नवभूमिमा आएर स्थापित हुन् र अडिन झन् ठुलो सङ्घर्ष गर्दैछन्। जहाँ–सुकैका पुगुन् नेपालीहरू, तिनीहरूले उत्पादन गरेको भाषा, साहित्य–संस्कृतिको फल एउटै ढुकुटीमा पस्दछ, त्यो अलग छैन। त्यो विश्व नेपालीको साझा सम्पदा हुन्छ।” – पृष्ठ ३४।

ग्लोबल ड्यास्पोराको उद्देश्यमा जानुपर्छ, नत्र हराउन सकिन्छ। भारतीयहरूले राइटर्स अब दी इन्डियन डायस्पोरालाई अगाडि ल्याइसके, हामीले चाहिँ किन नगर्ने? भनी चिन्ता व्यक्त गर्नु भएको छ। “नेपाली जातिले त्यस्तो ग्लोबलताको स्थापना गर्न सकेको छैन। हामी संकिर्णताप्रेमी र साम्प्रदायिक छौँ कि? यो ग्लोवल नेप्लिजको धारणा विकसित नगरे हामी एक्ला–एक्ला हुन्छौँ र पहिचानको युद्धमा हार्न सक्छौँ।” – पृष्ठ ३५।

साहित्य परिषद् भुटानको साहित्यिक महोत्सवमा अनेसासको उपस्थिति नदेखिनु अलिक दुःख र चिन्ताको विषय भएको कुरा व्यक्त गर्नु भएको छ।

फीजीका नेपाली, हङकङका नेपाली हराइसके, केवल “म नेपाली हुँ” भन्ने मात्र थाहा छ। तर भुटानी नेपालीहरूले नेपालमा नेपालीहरूले पनि छाडिसकेका संस्कृतिहरूलाई कसरी बचाइराखेका रहेछन्? त्यो सीप, पहिचान र संस्कृतिले भुटानी नेपालीहरूमा कति गहिरो छाप बसिराखेका रहेछन् त? विश्व जगत् नै चकित पर्ने किसिमले।

“सबैभन्दा पहिले मङ्गल धुन प्रस्तोता पाँच पुरुष तत्पर थिए। पञ्चे बाजाका पाँच यन्त्र (सनै, नगरा, ट्याम्को, दमाहा र नरसिंहा) बोकेर हजार वर्षदेखिका पुर्खाले पूजा गरेका पञ्चे बाजाको स्वरूप। विशेष प्रकृतिका दौरा, सुरुवाल, टोपी र राता मखमली कोटधारी नेपालीहरू।
त्यो शिल्प र परम्पराको भारी थामिदिने दमाई जातिका अवशेष गाउँगएमा छैनन्। धन्य भुटानी–नेपाली, कसरी ती कलाकार जुटाए! आज यहाँ अमेरिकाको मुटुमा नौमती बाजा घन्किन लागे। एउटा शुभकर्मको आरम्भ हुन लागेको बेला नेपाली गाउँ पुगेर यो मुटु धड्किन थाल्यो। भुटानमा कहिले पुगेर यहाँका नेपालीको रक्तमा अन्तरघुलित यो सांस्कृतिक धुकधुकी आज यहाँसम्म ल्याएका छन्। ह्यारिसबर्गमा यो हेर्न पाएर मन हर्षले भिज्यो। कति टाढादेखि स्मृतिमा बोकी ल्याएका यी गाडधनका कन्तुर बाकसहरू पहिलोपल्ट भुटानी नेपालीले यहाँ खोल्न थालेछन्।” – पृष्ठ १८९।

“थाइल्यान्डमा विलय भएका, फीजीमा नामनिसान हराएका, ल्हासाका आदिवासी जस्तै भएका ‘खचरा’ भनिने एक लाख जति नेपाली विलयको परिचयमा छन्। तिनीहरू संस्कृतिविहीन, भाषा–साहित्यविहीन छन्। यति मात्र चेतना छ – हामी नेपाली मूलका थियौँ।” – पृष्ठ २५२।

पुस्तकमा भएको भाषा–शैली सरल छ। केही ठाउँमा सामान्य त्रुटि पनि छन्। यात्रा संस्मरण जस्तो देखिए पनि त्यसभित्र यात्रालाई साहित्यले प्राण भरेको छ। जसले गर्दा जीवन्तता मिल्दछ। लुरे गुफाको वर्णन अत्यन्त सुन्दर छ। धेरै जनाले लेखनकलाको बारेमा भनिसक्नु भएकोले त्यसमा मैले धेरै टिप्पणी गरिनँ – सत्यं शिवं सुन्दरम् मात्र भनेँ। तथापि मुख्य विषय पहिचान, संस्कृति र संस्कार नै हो। त्यसैले भुटानी नेपालीहरूले देखाएको सम्मान, सत्कार महत्त्वपूर्ण छन्।

खाना खान काँसका ठुला–ठुला थालमा सत्कार गरिएको, त्यसमा पनि अत्यन्त स्वादिष्ट भोजन। परम्परा अनुसार नाकमा बुलाकी लगाइराखेका हजुरआमाहरू भेटिनु, पूजाको सामग्रीहरू, तामाका भाँडाकुँडाहरू सजाएर राख्नुले नेपाली संस्कृतिलाई बचाइराखेको देखिन्छ। गुरु प्रतिको अनुरागले गुरुसँग भेटघाट, बी एण्ड बी को अनुभूति जस्ता कुराहरूले साह्रै नै मन छुन्छ। लाग्छ, पुस्तक पुनर्वास पछिको भुटानी साहित्यको सेरोफेरोमा भएको हुनाले पुस्तकको नाम “नयाँ भुटानको चित्र” मात्र राखेको भए अझ सुहाउँदिलो हुन्थ्यो कि?

समाचार शेयर गर्नुहोस्
3k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.