काठमाडौँ – संविधान लागू भएको एक दशकपछि प्रतिनिधिसभामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित भएको छ। संविधान सभामा सुनिल बाबु पन्तको प्रतिनिधित्व भएको १८ वर्षपछि भूमिका श्रेष्ठले संसद् प्रवेशको महत्त्वपूर्ण अवसर पाएकी छन्।
२०६२–०६३ को जनआन्दोलनपछि पहिलो पटक संविधान सभामा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व भएको थियो। नेकपा संयुक्तबाट पन्तले संविधान लेख्न अवसर पाएका थिए। जुन संविधानमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गरिएको छ।
संविधानको धारा १२ कार्यान्वयनमा आएको छ। लैङ्गिक पहिचान अनुसार नागरिकता दिने व्यवस्था कार्यान्वयन गर्न नागरिकता ऐन संशोधन भएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म १६३५ जनाले अन्य पहिचानमा नागरिकता लिएका छन्।
२०६४ साल पुस ६ गते सर्वोच्च अदालतले सुनिल बाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा दिएको निर्देशनात्मक आदेशपछि नेपालमा पुरुष र महिला भन्दा फरक पहिचानका व्यक्तिको अस्तित्व स्वीकार गर्न थालिएको हो।
सर्वोच्च अदालतको आदेश लगत्तै कास्कीबाट विष्णु अधिकारी र म्याग्दीबाट दिलु बुदुजा (बद्री पुन) ले तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका थिए। बद्री पुन नेपालको निर्वाचन इतिहासमा तेस्रोलिंगी पहिचानमा संसद्को उम्मेदवार बन्ने लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्ति हुन्।
२०७९ मा बद्री पुन नेकपा एकीकृत समाजवादीबाट समानुपातिक सांसदको बन्दसूचीमा थिए। पार्टीले थ्रेसहोल्ड कटाउन नसक्दा पुन सूचीमै सीमित भए। उनी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन् र तेस्रोलिंगी पहिचानमा राजनीतिमा सक्रिय छन्।
सर्वोच्च अदालतको आदेश र २०६९ मा गृहको निर्देशनपछि नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी) व्यक्तिहरूलाई पहिचान अनुसार अन्य पहिचानमा नागरिकता दिन सुरु भएको हो।
जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आएको उभारले भूमिका समानुपातिक सांसद बन्न सफल भइन्। पुरुषको नागरिकताबाट ‘अन्य’ र लिङ्ग परिवर्तनपछि महिलाको नागरिकता लिएकी भूमिका महिला कोटामा संसद् प्रवेश गर्न लागेकी हुन्।
उनले आफूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको तेस्रोलिंगी पहिचानमा चिनाएकी छन्। ट्रान्सजेन्डर अर्थात् तेस्रोलिंगी उनले भनेकी छन्। अब कानुन निर्माणको थलो संसदबाट उनले समुदायको हकअधिकार सुनिश्चित गर्ने महत्त्वपूर्ण जिम्मेवारी पाएकी छन्।
सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशन तथा परिपत्रका आधारमा समलिङ्गी विवाह कानुनी रूपमा दर्ता हुन थालेको छ। तर, स्पष्ट कानुन भने बनेको छैन। विभेदकारी कानुन संशोधन र नयाँ कानुन निर्माणमा भूमिकाको भूमिका महत्त्वपूर्ण हुने विश्वास समुदायले गरेको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गर्ने पन्त एसियाकै पहिलो खुलेका समलिङ्गी सभासद् हुन्। भारतको राज्यसभामा प्रतिनिधित्व भएका मेनका गुरुस्वामी एसियाकै दोस्रो समलिङ्गी सांसद हुन् भने भूमिका संसद् प्रवेश गर्ने एसियाको तेस्रो सांसद बनेकी छन्।
भूमिका जन्मँदा छोरा हुन्। २०४४ सालमा काठमाडौँ नैकापमा उनको जन्म भएको थियो। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुरुष पहिचानमा नागरिकता लिएकी थिइन्। नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) मा आबद्ध भएपछि कैलाश श्रेष्ठबाट ‘भूमिका’ नामले पहिचान बनाएकी उनले पछि ‘अन्य’ पहिचानमा नागरिकता लिएकी थिइन्। लिङ्ग परिवर्तन गरेकी भूमिकाले महिलाको नागरिकता लिएकी छन्।
भूमिकालाई यतिबेला बधाईको ओइरो लागेको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले संसदमा सुनिल बाबुपछि दोस्रो प्रतिनिधि पाउने निश्चित भएसँगै सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको हो। समुदायका सदस्यहरूले तस्बिर पोस्ट गर्दै शुभकामना व्यक्त गरिरहेका छन्।
भूमिकाले समावेशिता र सुशासन कायम गर्न भूमिका निर्वाह गर्ने बताएकी छन्। सदियौँदेखि आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अधिकारबाट वञ्चित गरिएका समुदायको आवाज उठाउने उनले बताइन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्र भूमिका अवसर पाउने एकमात्र पात्र बनेकी छन्।
२०६९ सालमा भूमिकाले नई रामलक्ष्मी पुरस्कार प्राप्त गरेकी थिइन्। ‘अन्य’ पहिचानमा विदेश यात्रा गर्ने उनी पहिलो व्यक्ति हुन्। तर, अहिले उनको नागरिकता महिला पहिचानमा रहेको छ।
उनले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको नागरिकता, स्वास्थ्य, शिक्षा र रोजगारीमा पहुँच अझै कमजोर रहेको उल्लेख गरिन्। “नीति–नियम अहिलेसम्म बनेको अवस्था छैन। संविधानको धारा १२, १८ र ४२ ले समावेश गरे पनि उचित कानुनको व्यवस्था हुन सकेको छैन,” उनले भनिन्।
उनले आफूजस्तै पछाडि पारिएको समुदाय संसदमा पुग्न लागेको बताइन्। “सबै कुरा सम्बोधन गरिहाल्छौँ नि, विशेष गरी पछाडि पारिएको समुदायको,” उनले भनिन्। उनले समावेशिता र सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याइन्।
एसियाकै पहिलो समलिङ्गी सभासद् एवं ‘मायाको पहिचान नेपाल’ का कार्यकारी निर्देशक सुनिल बाबु पन्तले भूमिकालाई इतिहास रचेको भन्दै बधाई दिएका छन्। “यो देशमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको दृश्यता र राजनीतिक सहभागिताको लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो,” उनले भने।
भूमिकालाई उनी कार्यरत गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटीले बधाई कार्यक्रम नै गरेको छ। तर, यही संस्थामाथि सुशासन, पारदर्शिता र जबाफदेहिताको प्रश्नमा गम्भीर आरोप लाग्दै आएका छन्। समुदायको नाममा स्रोत–साधनको दुरुपयोग, आन्तरिक अपारदर्शिता र समुदायमाथि नै शोषण भएको आरोपबीच सोही संस्थाबाट उदाएकी भूमिकाको संसद् यात्रा थप बहसको विषय बनेको छ।
सुशासन र पारदर्शिताको अभावको आरोप खेपिरहेको संस्थासँग जोडिएकी भूमिकाले भने सार्वजनिक रूपमा समावेशिता र सुशासनको नारा दोहोर्याएकी छन्। उनीमाथि ब्लु डायमन्डको अनियमितता लुकाउन शक्ति प्रयोग गरेको आरोप समेत लागेको छ।
कतिपय विवादबारे पत्रकारले सोधेको प्रश्नमा भूमिकाले आफूलाई थाहा नभएको जवाफ दिएकी छन्। “त्यो विषयमा मलाई थाहा भएन। आधिकारिक कुरा थाहा नहुन सक्छ। मैले बोलेको कुरा आधिकारिक नहुन पनि सक्छ, त्यो पछि पार्टीको प्रवक्ताले बोल्नुहोला,” उनले भनिन्।
उनले विविधता बोकेको समुदाय एकजुट भएर अगाडि बढ्नुपर्ने बताइन्। “नीति कानुन बनाउन जान लागेको हो। कानुनमा नीति नै ल्याएपछि कानुनले बोलेको कुरा सबैले लागू गर्नुपर्छ,” उनले भनिन्।
उनले रास्वपा पार्टीमा आफू आफैँ आएको बताइन्, कसले लगिदिएको हो भन्ने खुलाइनन्। यसलाई उनले समयको माग भएको बताइन्। “सम्पूर्ण समुदायको फन्डामेन्टल राइट्स राजनीतिक अधिकार हो। त्यसैले सबैको सहभागिता भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी भनेर जोडिसकेपछि धेरै मान्छे हुनुहुन्छ, विशेष गरी म आफैँ आएको यहाँचाहिँ,” उनले भनिन्।
उनले जिम्मेवारी बढेको स्वीकार गर्दै पाँच वर्षमा धेरै काम गर्ने विश्वास व्यक्त गरिन्। “रवि र बालेनलाई धन्यवाद छ। मुख्य कुरा सुशासन र जबाफदेहिताको हो,” उनले भनिन्।
सम्बन्धित समाचार
लिंग परिवर्तन गरेर महिलाको नागरिकता लिएकी भूमिकालाई अमेरिकी प्रतिष्ठित अवार्ड
भूमिकाको आत्मकथा : जलाउने कोही छैन
‘भूमिकाको आत्मकथाले सबै तेस्रोलिंगीको जीवनको पाना पल्टाउछ’
तरुण दलको केन्द्रीय सदस्यमा भूमिकाको उम्मेदवारी
समलिंगी तेस्रोलिंगी कुनै दिन यो देशको राष्ट्रपति प्रधानमन्त्री बन्न सक्छन् : भूमिका
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.