समलिंगी तेस्रोलिंगी कुनै दिन यो देशको राष्ट्रपति प्रधानमन्त्री बन्न सक्छन् : भूमिका

समलिंगी तेस्रोलिंगी कुनै दिन यो देशको राष्ट्रपति प्रधानमन्त्री बन्न सक्छन् : भूमिका

काठमाडौं/पहिचान – मानव अधिकारकर्मीका रुपमा काम गर्दै समलिंगी तेस्रोलिंगीको अधिकारको वकालत गर्ने भूमिका श्रेष्ठ कुनै दिन नेपालको प्रधानमन्त्री वा राष्ट्रपति नै तेस्रोलिंगी बन्न सक्ने बताउछिन् । समाजका मानिसले बाटो हिड्दा समेत घृणा गर्ने र बाटो हिड्दा भोगेको हिंसामा न्याय समेत नपाउने अवस्थाबाट संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर पुरुष महिला सरहकै लिंगको पहिचान प्रप्त गर्न सफल भएको विषयलाई भूमिका गर्वका साथ प्रस्तुत गर्छिन । अहिलेसम्म जुन लगाव र त्यस अनुरुपको सफलता प्राप्त भएको छ त्यसले समलिंगी तेस्रोलिंगीलाई कुनै दिन नेपालकै सरकार प्रमुख वा राष्ट्रप्रमुखसम्म पुर्याउन बाटो खोलेको बताएकी छन्। प्रस्तुत छ भूमिका सँग गरिएको कुराकानी ।
प्रश्न : पछिल्लो समय समलिंगी तेस्रोलिंगीहरु अन्यन्त्रसंगै राजनीतिक गतिविधिमा पनि सक्रिय भइरहेका छन । तपाइ पनि सक्रिय हुनुहुन्छ ?
उत्तर : म त सुरुदेखि नै फरक बिचार फरक खालको संस्थागत हिसाबले म नेपाली कांग्रेसमा आबद्ध छु, आफनो सिद्धान्त कुन पार्टीसंग मिल्ने भन्ने हिसाबले आफ्नो सिद्धान्त मिल्ने हुनाले नेपाली कांग्रेसमा आबद्ध छु ।
प्रश्न : अहिले नयाँ शक्ति नेपाल घोषणा सभामा देशभरका जिल्ला जिल्लाबाट पनि समलिंगी तेस्रोलिंगीहरु गाडी रिजर्भ गरेर नै आए भन्ने सुनिएको छ त्यो चाहि आस्थाका आधारमा हो ?
उत्तर : नेपालमा धेरै राजनीतिक पार्टीहरु छन । हाम्रो समलिंगी तेस्रोलिंगीको मुद्धा भनेको हरेक पार्टीले उठाउन जरुरी छ । फरक हिसाबले फरक पार्टीले जुन तरिकाले आवाज उठाइरहेको छ र सबै ठाउँमा त्यो आवाजलाई कसरी पुर्याउने भन्ने राजनीतिक पार्टीले भुमिका खेलिरहेको पनि छ । नयाँ शक्ति पार्टीमा जुन तरिकाले समलिंगी तेस्रोलिंगी साथीहरुको आबद्ध रहेको छ, त्यसलाई म एकदम स्वागत गर्छु ।
एकदम राम्रो हो किनकी एउटा मात्रै नेपाली काँग्रेस पार्टीले एमालेले माओवादीले समलिंगी तेस्रोलिंगीको बिषयलाई उठान गर्नुपर्छ भन्ने जरुरी होइन, कि जुनै पनि पार्टीले समलिंगी तेस्रोलिंगीको अधिकार र उहाँहरुको घोषणा पत्र र पार्टीको नीतिगत रुपमा समलिंगी तेस्रोलिंगीको कुरा कागजी रुपमा मात्रै नभएर व्यबहारिक रुपमा मात्रै नभएर सम्पूर्ण ठाँउमा लानुपर्छ भन्ने हिसाबले आइरहेको छ ।
प्रश्न : तपाइको भनाइमा एउटा पार्टीमा मात्रै लागेर एउटा पार्टीको मुद्धा बन्न सक्ला तर राष्ट्रिय मुद्धा बन्न समलिंगी तेस्रोलिंगी जुनसुकै पार्टीमा आबद्ध हुपर्छ भन्ने हो?
उत्तर : पछाडि पारिएको समुदाय आदिवासि जनजाती दलित अपांगता भएका व्यक्तिहरुको कुरा आउछ आरक्षणको कुरा आउछ । एउटा मात्रै पार्टीले उठाएको कुरा होइन नि त यो त हरेक पार्टीमा छ । पार्टीको हाम्रो आरक्षणको कुरा आउने बितिकै हरेक पार्टीले यो समुदायका मुद्धालाइ उठाएको छ । नयाँ शक्ति पार्टीले मात्रै उठाउनुपर्छ भन्ने होइन नेपाली कांग्रेस पार्टीले मात्रै उठाउनुपर्छ भन्ने होइन । सबै पार्टीको उतिकै जिम्बेवारी रहन्छ र उतिकै दायित्व पनि हुन आउछ, कि समलिंगी तेस्रोलिंगीको पहिचान फरक छ । तर पहिचान फरक भएको आधारमा एउटा मात्रै पार्टीले यो मुद्धालाई अगाडी बढाउनुपर्छ भन्ने कुरा होइन सबै पार्टीको त्यतिकै दायित्व रहन्छ यसमा । Bhumika 1
प्रश्न : तर रंगशालामा नयाँ शक्ति पार्टीको सभामा पुगेका समलिंगी तेस्रोलिंगीहरुले हामी बिभिन्न पार्टीमा लाग्यौ । कहिले नेकपा संयुक्तमा लाग्यौ कहिले नेकपा एमालेमा लाग्यौ । तर ति पार्टीबाट हामीले सर्पोट होइन धोका पायौ भनेर नै नयाँ शक्ति पार्टीमा लागेको बताएका थिए, तपाइ पहिला जहा हुनुहुन्थ्यो अहिले पनि त्यही नेपाली कांग्रेसमा नै हुनुहुन्छ, तपाइले चाहि त्यस्तो धोका पाएको महसुस गनुभएको छैन ?
उत्तर : मेरो बिचारमा कुनै पनि राजनीतिक पार्टी नराम्रो होइन । केहि व्यक्तिहरुले गर्दा पार्टीलाई नै नराम्रो बनाएका हुन । त्यस कारणले पार्टीको नराम्रो कुराहरु पनि आउँछ । म हिजो पनि कांग्रेसमा नै थिए आज पनि कांग्रेसमा नै छु र भोलि पनि कांग्रेसमा नै रहनेछु । म कहिले पनि कांग्रेस छोडेर अन्यन्त्र पार्टीमा जान सक्दिन किन भने मेरो बिचार कांग्रेसको सिद्धान्तसँग मिलेको छ, मलाई नेपाली कांग्रेस पार्टी राम्रो लाग्यो । नेताहरुले सहयोग गर्नुभएको थियो बिगतका दिनहरुमा त्यसलाई म भुल्न सक्दिन । भलै नयाँ पार्टीले म राम्रै खालको पद दिन्छु यताउता भनेपनि मेरो रगतमा पनि कांग्रेस बसिसकेको छ । सक्दिन छोडनलाई ।
बिगतमा संबिधानसभा चुनावमा समानुपातिकमा मेरो नाम राखिएको थियो । बिचमा प्राविधिक समस्या भनेर मेरो नाम हटाइयो । त्यतिखेर अलिकति मन खिन्न त भएको थियो । दुख लागिरहेको थियो । मलाई त्यतिखेर तेस्रोलिंगीको मुद्धालाई उठान गर्ने हिसाबले प्रजातान्त्रिक पार्टीले समावेश गरेको समानुपातिकको नामबाट चाहि खुसि थिए म । बिचमा आएर प्राविधिक समस्या देखायो र त्यो मौका मैले पाइन त्यतिबेला धेरै दुख लाग्यो तर अहिले त्यस्तो दुख लागेको छैन ।
प्रश्न : राजनीति भनेको त निरन्तर लागिरहनु पनि त हो नि होइन र ? तपाइ राजनीतिमा लागेर सक्रिय राजनीति गरेको त धेरै भएको छैन?
उत्तर : मैले हाम्रो पूर्वप्रधानमन्त्रि र पूर्व सभापति स्वर्गिय शुसील दाजुसँग भेटदाखेरी उहाले के भन्नुभएको थियो भने २००७ सालदेखि लागेका मान्छेहरु अहिलेसम्म पनि मौका पाएका छैनन् । तपाइहरुको त भर्खरै आइरहेको छ केहि समय, पर्खनुपर्छ भन्नुहुन्थ्यो । यसो सोच्दाखेरी मेरो उमेर पनि धेरै भएको छैन । मेरो यो राजनीतिक गतिविधिमा संलग्न भएको धेरै पनि भएको छैन अनि पछि मैले सोचे कि मेरो अझै पनि समय रैछ मैले केहि गर्ने मौका अझै पनि छ किन हार मान्नु भनेर त्यस्तो हरेस खाइन मैले मेरो पार्टीमा लाग्दाखेरी ।
प्रश्न : कुनै कुराको चाडो उपलब्धि हुनु राम्रो कुरा हो तर चाडै भएन भनेर निराश भयो भने त फेरी पुरै बाटो बन्द हुन्छ नि होइन ?
उत्तर : मान्छेको फेरी जिन्दिगीमा जुन तरिकाले एउटा लगाभ हुन्छ नि जस्तै सुरुमा म नेपाली कांग्रेसमा लागे महाधिवेसन प्रतिनिधि समेत भए नेपाली कांग्रेस पार्टीमा एक जना मात्रै तेस्रोलिंगी समुदाय छ । त्यतिखेर अब सबैसंग भेटघाट चिनजान पार्टीगत हिसाबमा पनि राम्रै भयो । बिचमा आएर संबिधान सभाको जुन खालको घोषणा भयो समानुपातिकमा त्यतिखेर नपाउदाखेरी अलिकति खिन्न पनि भएको थिए म अलिकति हरेस खाएको जस्तै यस्तै रहेछ राजनीतिक पार्टीका नेताहरु भनेजस्तो भएको थियो । तर यतिखेर आएर बुझदा के लाग्यो भने मैले छिटै सदस्यता लिने मौका पाए, मैले महाधिवेसन प्रतिनिधि पनि छिटै पाँए । यसो सोच्दाखेरी मलाई पार्टीले सहयोग गरेको हो जस्तो पनि लाग्छ । यसरी सर्पोट गर्दागर्दै कहिले काहि चान्स पाउने अबस्था नरहन सक्छ त्यसकारण हरेस खानु हुदैन रहेछ भन्ने लाग्यो । अब फेरी पहिलाको जस्तै एक्टिभ भएर राजनीतितिर पनि जान्छु र समुदायको अधिकारका बिषयमा पनि बोल्छु भन्ने हिसाबमा अघि बढनलाई कोसिस गरेको छु ।
प्रश्न : तपाइ त्यतिबेला त सांसद बन्ने पनि सपना देख्नुहुन्नथ्यो होइन । तर जति बेला राजनीतिक दलमा आबद्ध हुनुभयो एउटा महाधिवेसन प्रतिनिधि हुनुभयो । मान्छेहरुको नेटवर्कले कसरी काम गर्दो रहेछ भनेर थाहा पाउनुभयो त्यसपछि सांसदको सपना देख्नुभयो ?
उत्तर : सपना त म मा मात्रै होइन हरेक मानिसमा हुन्छ, किनकी कुनै काममा यति धेरै लगाव हाम्रो हुन्छ भने पछिको सपना पछिको भविस्य म यो ठाउँमा पुग्छु र हुन्छु भन्ने म मा मात्रै होइन कि आम मानिसमा हुन्छ । हरेक मान्छेमा हुन्छ हरेक राजनीतिक पार्टीमा लागेका व्यक्तिहरुमा पनि हुन्छ । म मा पनि थियो ।
प्रश्न : सांसद भइसकेपछि त फेरी मन्त्रिको सपना त देखिहाल्छ मान्छे स्वभावैले हैन ?
उत्तर : म त अब सांसद हुन पाइन मन्त्रि हुने सपना त्यसपछिलाई छोडिदिए ।
प्रश्न : तर सपना देख्न त छोडनु भएन नि सपना भनेको मिसन हो सुत्दा देख्ने सपना होइन उठी उठी मान्छेले योजना बनाउने कुरा ?
Bhumika 2उत्तर : यहि हिसाबमा नै पहिला म सभासदको लागि सपना देख्थे किनकी समानुपातिक समावेशीको हिसाबले हाम्रो पार्टीबाट म एक्लै थिए । अल्पसंख्यक समुदायबाट होस या तेस्रोलिंगी समुदायबाट त्यसपछि मैले यो मन्त्रि बन्छु भन्ने सपना चाहि देखेको थिइन । तर चान्स मौकाको कुरा आयो भने भबिष्यमा समावेसिको हिसाबले केहि न केहि किन नहोला भन्ने लागेको थियो । तर पछि आएर जुन तरिकाले मेरो नाम निकालियो प्राविधिक समस्या भनेर त्यसपछि मैले त्यो खालको सपना छाडिदिए तर एक्टिभली भएर लाग्छु कुनै न कुनै बेला त्यो मौका आउछ भन्ने हिसाबमा ।
प्रश्न : तपाई १२ औ महाधिवेसनमा कांग्रेसको महाधिवेसन प्रतिनिधि हुनुहुन्थ्यो १३ औ महाधिवेसनमा प्रतिनिधि भएर आउनु भएन तपाइको क्रियाशिलता घटेको हो अथवा त्यहा तपाइको प्रतिस्पर्धा बढेको हो ?
उत्तर : यसलाई म कसरी लिन्छु भने केहि हिसाबमा मेरो क्रियाशिलता घटेको पनि हो । केहि हिसाबमा मेरै पार्टीका सदस्यहरुले मेरै क्षेत्र जिल्ला इकाइका दाजुहरुले पनि प्रतिस्पर्धिको रुपमा लिन थाल्नुभयो । मलाई उहाहरुले भुमिका श्रेष्ठ अगाडि नआओस, पदमा नपुगोस भन्ने व्यक्तिहरु पनि मेरो पार्टीमा हुनुहुन्छ । त्यसले गर्दा पनि केहि हिसाबमा मेरो आफनो क्रियाशिलतालाई मैले ग्याप पनि राखे, त्यो ग्याप राख्दैमा मैले पार्टीलाई चटक्कै छोडेको भने छैन, माया मारेर म राजनीति गर्दिन भनेको छैन तर केहि हिसाबमा त्यस्तो खालको समस्या पनि भयो र आफनै मेरो व्यक्तिगत कारणले गर्दा पनि म जान सकिन त्यो चाहि दुख लाग्छ मलाई । तर १३ औ महाधिवेसनमा आउन नसके पनि त अरु थुप्रै ठाउँहरु छन ।
प्रश्न : अब पार्टीका जिल्लाका विभागहरु हुन्छन अथवा केन्द्रका पनि विभागहरु हुन्छन त्यसमा बसेर काम गर्ने वा भातृ संस्थाहरुमा बसेर काम गर्ने ?
उत्तर : अ त्यो सोचेको छु मैले । १३ औ महाधिवेसनमा म महाधिवेसन प्रतिनिधि भएर आउन सकिन । त्यसमा छुट्टै कारण छ । तर महिला संघ छ, हामी तेस्रोलिंगी महिलाका लागि नेविसंघ छ, तरुण दल छ थुप्रै भातृ संगठनहरु छन । विभिन्न क्षेत्रमा कुनै पार्टीमा संलग्न भएर काम गर्न सक्ने । त्यो हिसाबमा म सोचिरहेको छु । कुन तरिकाले काम गर्ने अर्थात एक्टिभली भएर लाग्ने त्यसको लागि अहिलेदेखि नै म गृहकार्य गर्दैछु । अगाडि बढछु म अझ हाम्रो समुदायको लागि नेपाली कांग्रेसमा जुन तरिकाले हाम्रो घोषणा पत्र अवधारणा पत्रमा लेखिएको थियो त्यो हिसाबमा व्यबहारिक रुपमा अझ समुदायको आवाजलाई स्ट्रङ्ली लान्छु । कुनै न कुनै कुरामा सक्रिय त हुनैपर्छ ।
प्रश्न : तेस्रोलिंगीहरुको राजनीतिमा संलग्नताको बिषयमा कुराकानी गरियो खासमा राजनीति के रहेछ ?
उत्तर : जतिवेला म राजनीतिमा थिइन त्यतिखेर मैले राजनीति भनेको एउटा फोहोरी खेल भन्थँे, सबैले त्यहि भन्थे मलाई पनि त्यस्तै लाग्थ्यो । जब म पार्टीमा प्रवेश गरे, एक्टिभली लाग्न थाले त्यहाँबाट मलाई महसुस भयो कि राजनीति भनेको कति धेरै महत्वपूर्ण रहेछ । बिना राजनीति हाम्रो देश चल्न सक्दैन त्यो हिसाबले अहिलेको पुस्ता नयाँ पुस्ता, युवा पुस्ता पनि यो राजनीतिमा हावी हुन जरुरी छ ।
प्रश्न : राजनीति भनेको त नीतिहरुको पनि मुल नीति भनिन्छ त्यसै कारणले नै राजनीति भनिएको होइन ?
उत्तर : अर्थनीति, शिक्षा नीति, विज्ञान प्रविधि सम्बन्धि नीति अथवा देश चलाउनका लागि आवस्यक यी नीति सबै के बाट निर्देशित हुन्छन् भन्दाखेरी मुल रुपमा राजनीतिबाट ।
प्रश्न : राजनीतिमा अगाडि बढ्नका लागि सबै भन्दा धेरै जिम्बेवारी त आफै हुन्छ नि होइन ?
उत्तर : आफै हुन्छ जस्तै हामी समाज परिवर्तन गर्छौ भन्छौ । समाज परिवर्तन गर्नका लागि परिवर्तन त आफैबाट हुनु पर्यो नि त ।
प्रश्न : राजनीतिक स्वतन्त्रता हरेकलाई हुन्छ तर सफल हुन्छ भने निरन्तरता पनि आबश्यक हो होइन ?
उत्तर : निर्णय आफैले गर्नुपर्छ, किन भने एक पटक गलत तरिकाले धोका पाइयो भन्ने कुराहरु आइरहेको छ । भलै कांग्रेस पार्टीले मलाई सभासद बन्ने मौका दिएन । मलाई धोका दियो भन्दै अरु पार्टीमा जानु त ? त्यो त नीतिले मेरो सिद्धान्तले बिचारले दिदैन नि । किनकी जुन तरिकाले संघर्ष गरेर म त्यो ठाउँमा पुगे त्यो संघर्ष गर्न फेरी मलाई शून्य लेभलदेखि सुरु गर्नुपर्छ अरु पार्टीमा त्यस्तो खालको बिचार पनि मिल्दैन किनकी जुन बिचार जुन आस्था मैले मेरो पार्टीमा पाए अरु पार्टीमा त्यो बिचार र आस्था मैले कहिले पनि पाउन सकिन त्यहि भएर म कांग्रेस भएको हो ।
प्रश्न : कांग्रेसमा नै रहने बिचारमा हुनुहुन्छ तपाइ ?
उत्तर : कहिले पनि छोडदिन ।
प्रश्न : अब जहासम्म तपाइ कांग्रेसमा संलग्न हुनुहुन्छ अरु समलिंगी तेस्रोलिंगीहरु नयाँ शक्तिसहित विभिन्न पार्टीमा छन्, कुनै यस्तो दिन आउला जुन दिन सबै पार्टीको सामुहिक एजेण्डा पनि बन्न सक्ला तेस्रोलिंगीहरुको एजेण्डा ?
उत्तर : हाम्रो समुदायका समलिंगी तेस्रोलिंगी साथीहरु फरक पार्टीमा हुनुहुन्छ । सक्रिय रुपमा नै लागिराख्नु भएको छ, जस्तै म आफनो पार्टीमा लागिरहेको छु । हाम्रा अरु साथीहरु अरु पार्टीमा लागिराख्नुभएको छ । जस्तै हामीले जुनै पार्टीमा गए पनि उठाउने त एउटै मुद्धा हो, एजेण्डा एउटै हो नि त । मैले गएर मेरो पार्टीमा समलिंगी तेस्रोलिंगीका कुरा उठाउछु त्यहाँ राख्नको लागि, भने मेरा अरु अरु साथीहरुले अरु पार्टीमा गएर तेस्रोलिंगीको मुद्धा राख्नु हुदैन भन्ने कुरा त होइन नि त पार्टी फरक भएपनि एजेण्डा एउटै हो । बिचार फरक छ तर मुलभुत रुपमा एजेण्डा त एउटै छ ।
प्रश्न : तपाइहरुले अहिले अलि आशावादी कुरा गरिराख्नु भएको छ, तपाईहरुले १६ बर्षको दौरानमा जुन उचाईमा पुर्याउनुभयो यस्ले के देखाउछ, समलिंगी तेस्रोलिंगीहरुले पुरै देशलाई नेतृत्व गर्ने दिन पनि आउछ ?
उत्तर : त्यो त अहिले म भन्न सक्दिन । पुरै देशलाई नेतृत्व गर्ने भन्दा पनि नीति निर्माण तहमा पुग्न सक्ने क्षमता राख्छौ हामी । पुरै देशलाई नेतृत्व एउटा व्यक्ति समुदायले मात्रै गर्ने कुरा होइन, सबै जना मिलेर काम गर्दै जाँदा एउटा व्यक्ति त्यहाँ पुग्ने हो । क्षमता छ हामी लाग्छौ ।
प्रश्न : पुरै देशको नेतृत्व लिने कुरा पनि अपेक्षा गर्न सकिन्छ ?
उत्तर : त्यो त हुन सक्छ नि, त्यो खालको नेतृत्व राख्ने क्षमता हामीमा छ । नेतृत्व राख्ने आफनो समुदायको लागि अगाडि बढने राष्ट्रपति, प्रधानमन्त्रिको पनि कुनै न कुनै बेलामा कुनै पनि पदमा हाम्रो साथीहरु जानेछन । मैले देखेको छु ।

प्रस्तुती : अम्बिका दाहाल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.