दुई सय महिलाका कथाहरू लेख्ने क्रममा प्रकाशकले एक किसिमले सबै महिलाभित्र कुनै न कुनै किसिमको असाधारण क्षमता देखेको बताएका छन्। अन्तर्वार्ताकारहरू भन्दछन्, ‘जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि पारिवारिक जिम्मेवारी निर्वाह गरेको पाइयो।’
मान्छेभित्र समानता भए पनि असमानता र गरिबीले विभेद गरेको देखियो भन्ने प्रकाशकको भनाई छ। अन्तर्वार्ताका क्रममा सबैबाट आएको समस्याका रूपमा देखिएको विषय गरिबी र असमानता रहेछ भन्ने निर्क्योल गरेका छन्। विश्वमा यी कुराले समस्या निम्त्याएको कुरा पत्ता लाग्छ।
लेखक, पत्रकार र ब्युटीसियन, कलाकार, गीतकार समाजसेवी र विभिन्न पेसा, उमेरका महिलाको तौरतरिका, समर्पण बारे लेखिएको छ ‘टु हन्ड्रेड विमिन अफ दि वर्ल्ड’ नामक पुस्तकमा। ‘टु हन्ड्रेड विमिन अफ द वर्ल्ड’ नामक पुस्तकको अङ्ग्रेजी संस्करणको विमोचन कार्यक्रम अमेरिकाको न्युर्योकमा र जर्मनी संस्करणको म्युनिखमा राखिएको थियो। त्यो किताब यसअघि नै मेरो हातमा परिसकेको थियो। त्यस पुस्तकमा मेरो कथा र काम पनि समेटिएको थियो।
पुस्तकमा समाजका लागि सकारात्मक परिवर्तनका लागि समर्पित भएर लागेका महिलाका कथा रोचक ढङ्गमा प्रस्तुत गरिएका रहेछन्। असाधारण किसिमको पुस्तक विमोचन कार्यक्रममा भाग लिन पाएको अनुभव भयो। यस्तो किसिमको पुस्तक विमोचन मैले देखेकी थिइन। मलाई त अचम्मै लाग्यो विएम डब्लु कार निर्माता कम्पनीले उसको सामाजिक दायित्व अन्तर्गत त्यस समारोहको खर्च व्यहोरेको थियो। मलाई नेपालबाट भाग लिन जर्मनी निम्त्याइएको थिए।
यस्तो धूमधामको विमोचन कसरी सम्भव भयो भन्दा दुई सय महिलाको अनुभव समेटिएको किताबले समसामयिक, आर्थिक, सांस्कृतिक, राजनीतिक सबै कुरा समेटिएको महत्त्वपूर्ण पुस्तक भएकाले भनेर प्रकाशकले भने। एउटा देशको मात्र नभई संसारकै विविध परिवेशमा रहेका साहसिक महिलाको अनुभव समेटिएकाले त्यसको महŒव बढी भएको हो भनेर भने त्यहाँ उपस्थित हुनेहरूले पनि।
पुस्तकमा युद्ध पत्रकारिता गर्ने पत्रकारको कथाले द्वन्द्वमा भोगेका अनुभवहरू समेटिएको छ। साउथ अफ्रिकामा न्यायका आवाज उठाउँदा एक अमेरिकी परिवारका जवान छोरीको हत्या भयो। त्यस परिवार कि आमाले छोरीको नाममा संस्था खोलेर शान्तिका लागि काम गर्दै आएकी छिन्। उनी भन्छिन्, ‘समाजले मानिसलाई निर्मम हत्या गर्न उक्साएर त्यो कालाजातिको नव जवान पुरुषले हत्या गर्यो,अरू केटाहरूले त्यसो नगरुन् भनेर चेतना जागरणको काम गरेको।’ त्यस्तै छोरा अपहरणमा परेर मारिएका पत्रकार की आमाले त्यस विमोचन समारोहमा ‘म मेरो छोरालाई मर्न दिन्न, उसको नाममा काम गरिरहन्छ ’ भनिन। ती विषयहरू बोलिरहँदा उनीहरूको आँखामा आँसु थिएन। म छक्क परे । ती आमाहरू रुदाँरुदाँ आशु नआउने भैसकेछन।
यो किताब विमोचन समारोहले आत्मविश्वास बढायो। म र म जस्ताहरूलाई एकअर्काबीच चिनायो। नाम चलेको मात्र होइन, उनीहरूको मापदण्डमा सबै खाले महिलाको कथा समेट्न चाहेका थिए। त्यसमा कलाकार, गीतकार, पत्रकार, साना सडक व्यापारी र सामाजिक कार्यकर्तालगायत चाहे ती पढेका हुन् या नपढेका, धनी वा गरिब। चाहे ती सेता, चाहे कालाजातिका महिला नै किन नहुन्। नाम चलेका हुन या नचलेका। त्यस्ता महिलाको कथाको स“गालो संसारमा प्रस्तुत गरेमा महिलाको यथास्थिति समाजमा ल्याउन सकिने उनीहरूको धारणा रहेछ।
किताब प्रकाशन गर्नुअघि उनीहरूले विभिन्न देशमा गएर ती सबै वर्ग, क्षेत्र र उमेरका महिलालाई एकै खालका पाँचवटा प्रश्न सोधेका थिए। ती प्रश्नहरू सामान्य के गर्छौ? केले दुखी बनाउँछ? के ले खुसी बनाउँछ र परिवर्तन गर्न सक्ने भए के परिवर्तन गर्न चाहन्छौ? जस्ता थिए।
उनीहरूको टिममध्ये नेपाल आएको त्यो अन्तर्वार्ता गर्ने टिम तीन जनाको थियो। उनीहरू संसारका धेरै देश पुगेका रहेछन्। महिलालाई सशक्तीकरण गर्ने हो भने उनीहरूको सत्य कथा नसुनीकन सकिँदैन। महिलाका कुरा सुनेर मात्र वास्तविक कुरा आउने भएकाले संसार घुमेर अन्तर्वार्ता गरेका रहेछन्। सफल र शक्तिशाली मात्र होइन, संसारभरिको विविधतामा दुई सय महिलाको वास्तविक कथा बाहिर ल्याउने विषय पुस्तकमा छ। पुस्तकको सामग्री जुटाउन उनीहरू कलकत्ताको सानो गल्ली, प्यालेस्टाइनदेखि नेपालका गाउँसम्म पुगे।
महिलाले अत्यधिक कामको बोझ उठाएर समाज र घरलाई बचाएको पाइयो। बालविवाह, पढ्न नपाउनु, हिंसामा पर्नु पनि ठुला समस्या रहेछन्। यसका क्रेता पनि धेरै छन्। प्रकाशकले आफ्नै तवरले कस्ताकस्ता महिलाको अन्तर्वार्ता गर्ने, आफ्ना साथीभाइहरूका माध्यमबाट उनीहरूको मापदण्डमा परेपछि लिएका रहेछन्। त्यो समारोहमा आएका प्रायजसो सबैले किताब किन्ने गरेका थिए। आफ्ना छोरी, आमा, दिदीबहिनीलगायत परिवारका सदस्यलाई भनेर पुस्तक किन्दै थिए। डकुमेन्ट्री पनि देखाइएको थियो। डकुमेन्ट्रीमा किताबको सार थियो। त्यसले नै सबैलाई किताब प्रति आकर्षण गरेको थियो। संसारभरका महिलाको परिस्थितिबारे त्यो किताबमा उल्लेख भएकाले पनि सबैको आकर्षण पुस्तकमा थियो।
उनीहरूको टिमले नेपालका तर्फबाट जानुका नेपाललाई पनि भेटेका थिए। उनी पहाडी किसान महिला थिइन्। उनलाई पनि त्यही पा“च प्रश्न सोधिएको थियो। उनको जीवनी पनि पुस्तकमा उल्लेख छ। जानकीको आठ वर्षमा विवाह भयो तर बाह्र वर्षमै विधवा भइन्। उनले जीवनभरि नै त्यो घरकै सेवा गरेर बसिरहिन्। यो विषय उनीहरूको दृष्टिकोणमा छक्कै पर्ने विषय भयो। अर्कोचाहिँ काठमाडौँको सहरमा नाङ्लो पसलमा चुरोट, चकलेट, सुपारी जस्ता सामान्य वस्तु बेचेर आफ्नो परिवार धानेका महिलाको कुरा सुनेर, उनीहरूको परिवारप्रतिको समर्पण देखेर उनीहरू छक्क परेको कुरा बताए। धेरै नेपाली महिलाले परिवारका लागि सम्भार गरेको देख्दा छक्क परेको विषय बताउँथे।
लेखिका सुवेदीको प्रकाशोन्मुख ‘मेरो पहिचान’ बाट
गठबन्धनका नाममा राजनीतिक दर्शनभन्दा चुनावतन्त्र हाबी
‘गैरसरकारी संस्थाहरूले वकालत मात्र गरेर हुँदैन, जनताको मित्र बन्न सक्नुपर्छ’
विकासको प्रजातान्त्रीकरण व्यवस्थामा सङ्कट
ग्रामीण महिलाका साथी सहकारी, परियोजना सकिएपछि समुदायसँगको सम्बन्ध नै समाप्त
‘स्थानीय तहका उम्मेदवारलाई वातावरणीय जोखिम कम गर्ने प्रतिबद्धता सोधौँ’
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.