नयाँ सरकार

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, कांग्रेसको योजना भताभुङ्ङ

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त, कांग्रेसको योजना भताभुङ्ङ

काठमाडौं : देशको नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभा सदस्य प्रचण्डलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई सोमबार पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ।

नेकपा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्तिका ४, स्वतन्त्र सांसद प्रभु शाह, अमरेश सिंह र किरण कुमार शाहको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन्।

नेपालको ४४ औँ प्रधानमन्त्रीमा नियुक्त प्रचण्ड तेस्रो पटक सिंहदरबार प्रवेश गर्न सफल बनेका छन्। प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले ३० दिन भित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।

प्रचण्डले विश्वासको मत पाए अबको दुई वर्ष अविश्वासको प्रस्ताव पेस गर्न नपाइने संवैधानिक व्यवस्था छ। विश्वासको मत लिन नसके मात्रै संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभाको ठुलो दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था छ।

अविश्वासको प्रस्ताव पेस गरेर सरकारको नेतृत्व लिन काँग्रेसले दुई वर्ष कुर्नुपर्नेछ। त्यति वेला काँग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख पद गुमाइसकेको हुनेछ।

प्रधानमन्त्रीमा तेस्रो पटक इन्ट्री

काँग्रेसले सहमतिमा धोका दिएको भन्दै बालुवाटारको बैठक छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे प्रचण्ड। एमालेसँग पावर सेयरिङमा सहमति गरेको माओवादीले साढे २ वर्षपछि एमालेलाई सरकारको नेतृत्व सुम्पनेछ। प्रचण्ड २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए।

नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई हटाउने विषयमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवसँग विवाद भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका प्रचण्ड दोस्रो पटक काँग्रेसको समर्थनमा २०७३ मा प्रधानमन्त्री बनेका थिए।

२०७४ को चुनावपछिका प्रधानमन्त्री केपी ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएर काँग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार भित्र्याएका प्रचण्डले यो पटक देउवालाई बुढानीलकण्ठ पठाउन सफल बने।

प्रचण्ड २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए। २०७० मङ्सिरमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा सिराहा क्षेत्र नं.–५ बाट निर्वाचित प्रचण्ड ०७३ साल साउन १९ गते व्यवस्थापिका संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त गरी दोस्रो पटक ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए।

चुनाव जित्न क्षेत्र फेरिरहने प्रचण्डले सरकारको नेतृत्व गर्न उही प्रवृत्ति देखाएका छन्। नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका दलसँग मिलेर प्रतिनिधि र प्रदेशसभाको चुनावमा गएका प्रचण्ड फेरी एमालेको बलमा सरकारको नेतृत्वमा पुगेका छन्।

काँग्रेस असफल, एमाले सफल

नेपाली काँग्रेस सत्ता गठबन्धन जोगाउन असफल भएको छ। चुनावमा गठबन्धन गरेको माओवादी सरकार गठनको दाबी पेस गर्ने अन्तिम समयमा एमालेसँग गएपछि काँग्रेस गठबन्धन जोगाउन असफल भएको हो।

स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा चुनावमा गठबन्धन तोड्न नसकेको एमाले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेरै भए पनि गठबन्धन फुटाउन सफल भएको छ।

गठबन्धन फुटाएर नयाँ सत्ता समीकरणमा लागेको एमालेले लाभै लाभ र राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री पाउने महत्वकांक्षाले काँग्रेसलाई फेरी प्रतिपक्षको बेन्जमा बस्न बाध्य पारेको छ।

गठबन्धन जोगाएर राष्ट्रपति बन्ने दाउमा लागेका काँग्रेस नेता रामचन्द्र पौडेलको दौडधुप खेर गएको छ। पाँच वर्षमा एक पटक प्रधानमन्त्री बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको योजना भताभुङ्ङ बनेको छ। चुनाव अगाडि घोषणा गर्न नसकेका शक्ति बाँडफाँडको खाँका चुनावी परिणामसँगै विघटनको डिलमा पुगेको थियो।

एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादीलाई प्रचण्डले छोडेर एमालेसँगै अङ्कमाल गरेपछि माधव नेपाल रनभुल्लमा परेका छन्। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काँग्रेसमा देखिएको दम्भका कारण सत्ता समीकरणको पासा पल्टिएको प्रतिक्रिया दिएका छन्।

बिहानसम्म सरकार गठन गर्ने भन्दा पनि प्रतिपक्षमा बसेर टेबुल बजाउने बताएको एमालेले सत्ताको साँचो लिएको छ। अब एमाले केन्द्रमा राष्ट्रपति र प्रदेशमा मुख्यमन्त्रीसँगै अब बन्ने सरकारमा महत्त्वपूर्ण मन्त्रालय हात पार्ने अवस्थामा पुगेको छ।

काँग्रेस बहुमत जुटाउन असफल भएपछि बाध्य भएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयमा पुगेको एमाले महासचिव शङ्कर पोखरेलले बताएका छन्। हिजो प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज कुनै प्रतिक्रिया जनाएनन्।

बालकोटको बार्दलीबाट ओली र प्रचण्डले हात हल्लाइरहँदा नेता कार्यकर्ताले बाम एकताको नारा लगाए। समाचार सङ्कलन गर्न गएका केही पत्रकारले नारा लगाएपछि होहल्ला नै भएको थियो बालकोटमा। तर अध्यक्ष ओली भने ‘अहिले हतार छ बोल्न भ्याउँदिन’ भन्दै शीतल निवास निस्के।

जनमोर्चा सरकारमा नजाने

२०७४ को चुनावमा दोस्रो दल बनेको काँग्रेस मङ्सिर ४ मा सम्पन्न चुनावी परिणामले पहिलो ठुलो दल बनेको छ। तर काँग्रेस बाहेक दलको बहुमत पुगेपछि काँग्रेसको हातबाट सत्ता खुस्किएको छ। दुवै पद लिने ढिपी गर्दा अरूले क्रिसमस मनाइरहँदा काँग्रेस अप्रिल फुलमा परेको टिप्पणी समेत भएका छन्।

एकाएक गठबन्धन तोडेर नयाँ गठबन्धन गरेर प्रधानमन्त्री पाउन सफल माओवादीले काँग्रेसको दम्भले आजको स्थिति आएको बताएको छ। माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले काँग्रेसबाट धोका हुँदा गठबन्धन तोडिएको बताए। काँग्रेसले माओवादी एमालेसँग जाँदैन भन्ने आकलन गरेर सहमतिका नाममा लिंगरिङ गर्दा आजको स्थिति आएको पाण्डेले बताए।

सत्ता खुस्केपछि काँग्रेस नेताहरू रनभुल्लमा परेका छन्। प्रतिक्रिया दिने अवस्थामा नभएका काँग्रेस नेताहरू अनौपचारिक रूपमा एकले अर्कोलाई गाली गर्न थालेका छन्। हिजोसम्म राष्ट्रपति काँग्रेसले पाउने र जनजातिबाट आफू मात्रै दाबेदार रेको बताएका काँग्रेस नेता गोपालमान श्रेष्ठलाई आज बोल्न मनै लागेन।

उनले उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता ज्ञानेन्द्रबहादुर कार्की, प्रवक्ता डा.प्रकाशशरण महतको नाम लिँदै आफू नबोल्ने सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading