नयाँ सरकार

प्रधानमन्त्रीमा काँग्रेस र माओवादीको दाबी, गठबन्धन भत्काउने एमालेको योजना

प्रधानमन्त्रीमा काँग्रेस र माओवादीको दाबी, गठबन्धन भत्काउने एमालेको योजना

काठमाडौं : सत्ता गठबन्धनको नेतृत्व गरेको काँग्रेस र सत्ता साझेदार माओवादी केन्द्रले प्रधानमन्त्री आफ्नै दलले पाउनुपर्ने दाबी गरेका छन्।

काँग्रेस कार्यसम्पादन समितिको आइतबार बसेको बैठकका निर्णय सुनाउँदै प्रवक्ता डाक्टर प्रकाशशरण महतले अबको प्रधानमन्त्रीमा पनि शेरबहादुर देउवाको विकल्प नरहेको बताए। ‘नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्छ र स्वाभाविक नेतृत्व अहिलेको पार्टी सभापति एवं प्रधानमन्त्रीको हो,’महतले भने,‘अब संसदीय दलको नेतृत्व पनि चयन हुन्छ,त्यसपछि छलफल गरेर निष्कर्षमा पुग्छौ।’

काँग्रेसले बुधवारसम्ममा संसदीय दलको नेता चयन गर्न सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ। पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने तथा समन्वय गर्ने नेतृत्व आवश्यक परेकाले सर्वसम्मत नेता चयन गर्नुपर्ने महतको भनाई छ।

काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रको समर्थनमा देउवा प्रधानमन्त्री बन्ने बताए। माओवादीसहित गठबन्धन दलको सरकार बनाउन पहल गर्ने उनले बताए। माओवादीले पनि प्रधानमन्त्रीमा दाबी गरिरहेको छ नि भन्ने प्रश्नमा महतले भने,‘ठिक छ, कुराकानी होला नि त।’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्नु स्वाभाविकै भए पनि छलफलबाट टुङ्गिने महतले बताए।

प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले पनि प्रधानमन्त्रीमा देउवाकै सम्भावना रहेको बताएकी छन्। निर्वाचन आयोगबाट समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीलाई उनले पार्टीको संसदीय दल र संसद्मा पनि ठुलो सङ्ख्या भएकाले देउवा नै प्रधानमन्त्री हुने सुनाइन।

माओवादीले नछोड्ने, एमालेले फुटाउने

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भने अबको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने दाबी गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि उपमहासचिव जनार्दन शर्माले अबको सरकारको नेतृत्व प्रचण्डले गर्ने बताए। ‘पहिलो नेतृत्व माओवादीले गर्ने भनेको छ,’शर्माले भने,‘माओवादीले गर्ने भनेकै हाम्रो अध्यक्षले नेतृत्व गर्ने भनेको हो।’

संसद्को पहिलो र तेस्रो दलले प्रधानमन्त्री दाबी गरे पछि प्रतिपक्षी दल एमालेले यसलाई अवसरको रूपमा सदुपयोग गर्ने योजना बनाएको छ। प्रतिपक्षमा बस्ने बताएको एमाले गठबन्धन तोड्न सक्रिय भएको छ।

गठबन्धन तोडेर सरकारको नेतृत्व लिने रणनीति एमालेको छ। एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले काँग्रेस वा माओवादीसँग मिलेर गठबन्धन तोडेरै छोड्ने बताए।

उनले गठबन्धन तोड्ने एमालेको दायित्व भएको बताए। ‘हाम्रो विरुद्ध बनेको दक्षिणपन्थी गठबन्धनलाई तोड्ने मुख्य काम हुन्छ,’गुरुङले भने।

संसद्मा चौथो दलको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग पनि दलहरूले अनौपचारिक छलफल सुरु गरेका छन्। सोमबार संसदीय दलको नेता चयन गर्न लागेको स्वतन्त्र पार्टीले सरकारमा जाने नजाने निर्णय गरेको छैन।

प्रधानमन्त्री बन्ने प्रचण्डको प्रस्ताव, मौका पाउँदा मात्रै दाबी गर्ने देउवाको योजना

पार्टीका प्रवक्ता मुकुल ढकालले आफूहरूका एजेन्डा कार्यान्वयन हुने सम्भावना रहे सरकारमा जान सकिने बताए। ‘पार्टीले उठाएको डेलिभरी लगायतका एजेन्डामा वातावरण मिल्यो भने सरकारमा जान्छौ या बाहिर बसेर पनि समर्थन गर्न सकिन्छ,’उनले भने,‘पहिला एजेन्डामा कन्भिन्स हुनुपर्छ भनेका छौ।’

स्वतन्त्र पार्टीले अहिलेसम्म एमाले र माओवादीसँग छलफल गरिसकेको छ। प्रवक्ता ढकालका अनुसार पार्टी सभापति रबी लामिछानेले शीर्ष नेताहरूसँग ‘वान टु वान’ भेटवार्ता गरेका छन्।

ठुला दलहरूले औपचारिक छलफलको अफर नगरेपछि राप्रपाले प्रतिपक्षीमै बस्ने बताएको छ।

राप्रपाबिना सरकारै बन्न नसक्ने अवस्था भए मात्रै सरकार बनाउन समर्थन गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए। ‘जसो गर्दा पनि देशमा सरकार बन्ने अवस्था सिर्जना भएन,राप्रपाकै कारणले सरकार विहीनताको अवस्था उत्पन्न भयो भने राप्रपाले निकास दिन्छ,’उनले भने,‘सरकारै नबस्ने अवस्था आयो भने राप्रपाले बाहिरै बसेर पनि समर्थन गर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading