नयाँ सरकार

प्रधानमन्त्री बन्ने प्रचण्डको प्रस्ताव, मौका पाउँदा मात्रै दाबी गर्ने देउवाको योजना

प्रधानमन्त्री बन्ने प्रचण्डको प्रस्ताव, मौका पाउँदा मात्रै दाबी गर्ने देउवाको योजना

काठमाडौं : चुनावी परिणामलाई लिएर दलहरू गम्भीर समीक्षामा जुटेका छन्। देशको राजधानीमा बसेर गठबन्धनको बलमा राज गर्ने शैलीलाई जनताले अस्वीकार गरेपछि नेताहरूबिच गम्भीर समीक्षा हुन थालेको छ।

सत्ता गठबन्धनका पाँच दल मध्ये चार दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने विज्ञप्ति सार्वजनिक गरेका छन्।

तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ।

गठबन्धन दलको बैठकपछि नवनिर्वाचित सांसद एवं वर्तमान सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गठबन्धनका उम्मेदवारलाई आफ्नै पार्टीबाट पनि असहयोग भएको बताए। ‘गठबन्धनको पनि जसरी एकताका साथ अगाडि बढ्नु पर्ने हो त्यसमा केही समस्या देखिएका छन्,’कार्कीले भने,‘समीक्षा गरेर आगामी दिनमा यस किसिमका घटना नदोहोरिन दिन गठबन्धन कटिबद्ध छ।’

मतदातालाई अघोषित ह्विप लगाउने पुराना दलको सिट चुनाव भन्दा पाँच महिना अगाडि दर्ता भएको स्वतन्त्र पार्टीले पाएपछि सरकार गठन गर्न सत्ता र प्रतिपक्ष दुवै गठबन्धनलाई सकस परेको छ। सोमबार बसेको सत्ता गठबन्धन दलको बैठकमा लोसपाका नेताहरू सहभागी भएनन्।

तर समानुपातिक तर्फ पाउने सांसद सङ्ख्या टुङ्गो नलागेसम्म यस्ता छलफल भइरहने काँग्रेसका सांसद एवं सरकारका प्रवक्ता कार्कीले बताए। ‘अहिले हामी मूल रूपले गठबन्धनको आवश्यकता किन थियो र भोलिका दिनमा किन छ भनेर छलफल केन्द्रित छ,’उनले भने,‘आगामी धेरै बैठकहरू हुनेछन्,तपाईँहरूसँग धेरै संवाद हुनेछ र धेरै कुरा स्पष्ट हुँदै जानेछ।’

नेतृत्व कसको?

काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटबाट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारबाट शक्ति प्रदर्शन गरिरहेका छन्।

अबको सरकारको नेतृत्वमा पनि यिनै तीन दलले दाबी गरेका छन्। प्रधानमन्त्री बन्न प्रचण्डले काँग्रेससँग प्रस्ताव राखिसकेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका काँग्रेस सांसद ज्ञानेन्द्र बहादुर कार्कीसँगको भेटमा प्रचण्डले प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव राखेका हुन्।

सरकार गठनका लागि गठबन्धनलाई बहुमत जुटाउन सहज देखिए पनि प्रधानमन्त्री को बन्ने भन्ने विषय सजिलै टुङ्गिने देखिएको छैन। ठुलो दलको हैसियतमा काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने काँग्रेस उपसभापति पूर्णबहादुर खड्का देखि प्रवक्ता प्रकाशशरण महतसम्मले बताइरहेका छन्।

सरकार गठनमा समानुपातिककै भर, प्रत्यक्षमा पुगेन बहुमत

प्रधानमन्त्री बन्ने/नबन्नेबारे देउवाले नै भने सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। देउवा मौका पाउँदा मात्रै दाबी गर्ने योजनामा छन्। देउवा प्रधानमन्त्री नबन्दा काँग्रेसभित्र पार्टीबाट सरकारको नेतृत्व गर्नेहरूको ताँती पनि कम छैन।

उपसभापति पूर्णबहादुर खड्का, वर्तमान सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, पार्टी प्रवक्ता प्रकाशशरण महत देउवा प्रधानमन्त्री नबन्ने अवस्थामा काँग्रेसबाट सरकारको नेतृत्व गर्ने लबिङमा लागेका छन्।

देउवालाई पार्टी भित्रैबाट महामन्त्री गगन थापा, काँग्रेस विधानमा नभएको वरिष्ठ नेताको पद पाएका रामचन्द्र पौडेल लगायतले संसदीय दलको नेता चयनमै चुनौती दिने योजना सुनाइसकेका छन्।

देउवा सहयात्री दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेपछि ‘रिजर्भ’ बसेका छन्। प्रचण्डले आलोपालो प्रधानमन्त्री हुनुपर्ने र पहिलो कार्यकाल सरकारको नेतृत्व आफूले गर्ने प्रस्ताव राखिसकेका छन्।

काँग्रेसबाट प्रधानमन्त्रीमा सहयोग नपाए अन्य विकल्पमा जान सकिनेबारे पार्टीमा छलफल भएको माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

माओवादी महासचिव देव गुरुङले अन्य विकल्पमा जानेबारे छलफल नभएको प्रस्टोक्ति दिए पनि प्रचण्ड जसरी पनि अबको प्रधानमन्त्री बन्ने दौडमा लागेपछि काँग्रेसलाई दबाब परेको छ।

सरकार गठनमा जसपाले सत्ता गठबन्धनलाई समर्थन गर्ने सङ्केत

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading