राष्ट्रपति बन्न रामचन्द्रको दौडधुप, गोपालमानको पनि दाबी

राष्ट्रपति बन्न रामचन्द्रको दौडधुप, गोपालमानको पनि दाबी

काठमाडौं : सत्ता गठबन्धन दलहरूबिच शक्ति बाँडफाँडको टुङ्गो लाग्न सकेको छैन। प्रधानमन्त्रीमा काँग्रेस र माओवादी दुवैले दाबी छोडेका छैनन्। शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड पहिलो कार्यकालकै प्रधानमन्त्री बन्ने अडानमा छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय बेलुकी ५ बजे सकिनै लाग्दा काँग्रेसभित्र अबको राष्ट्रपति बन्न रामचन्द्र पौडेलले दौडधुप गरिरहेका छन्। प्रधानमन्त्रीमै कुरा नमिलिरहेका बेला पौडेल गठबन्धन कायम राख्न प्रचण्ड र माधवकुमार नेपालको निवास धाइरहेका छन्।

पार्टी सभापति र संसदीय दलको नेतामा देउवालाई सहयोग गरेका पौडेल राष्ट्रपति बन्ने दौडमा रहँदा गठबन्धनभित्र भने बेलुकी ५ बजेभित्र सरकार गठनको दाबी पेस गरेर प्रधानमन्त्री बन्ने रस्साकस्सी चलिरहेको छ। ‘गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, मुख्यमन्त्री पद बाँडफाँडको छलफल भएको छैन,’काँग्रेसका एक नेताले भने,‘रामचन्द्र दाइ राष्ट्रपति बन्ने लबिङमा भने लागिरहनु भएको छ।’

प्रधानमन्त्री माओवादीले लिए राष्ट्रपति काँग्रेसले पाउँछ। काँग्रेसले अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबैमा दाबी गरिरहेको छ। माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गर्ने भनेको छ। ‘माओवादी जसरी पनि प्रधानमन्त्री लिने दौडमा लागेको छ,’माओवादीका एक नेताले भने,‘राष्ट्रपति काँग्रेसले लिँदा पार्टीले सहयोग नै गर्छ।’

राष्ट्रपतिमा सत्ता गठबन्धनबाट पौडेल बाहेक झलनाथ खनाल र डाक्टर बाबुराम भट्टराईको नाम चर्चामा छ। तर देउवा निकट गोपालमान श्रेष्ठले पनि राष्ट्रपतिमा दाबी गरेपछि पौडेलको नाममा काँग्रेसभित्रै सर्वसम्मत नहुने देखिएको छ।

आदिवासी जनजातिको एक नम्बरमा नाम रहे पनि समानुपातिक तर्फको सांसद बन्न नसकेका श्रेष्ठले राष्ट्रपति बन्न देउवालाई दबाब नै बढाएका छन्। उनले आफू राष्ट्रपति पदको उम्मेदवार भएको बताए। ‘राष्ट्रपति काँग्रेसले पाउने पालो हो, काँग्रेसमा पनि जनजातिले पाउने पालो हो,’श्रेष्ठले भने,‘राष्ट्रपति बन्न योग्यता पुगेको व्यक्ति म छु।’

उनले गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्ने सम्भावना नरहेको सुनाए। ‘गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्ने सम्भावना छैन, पोलिटिकल मान्छे नै आउँछ,’उनले भने,‘अरू दाबेदार को छन् थाहा छैन, जनजातिबाट म एक जना मात्रै छु।’

राष्ट्रपति पदमा काँग्रेसबाट पौडेल र श्रेष्ठले दाबी गरे पनि देउवाले पौडेललाई समर्थन गर्ने आश्वासन दिएको बालुवाटार स्रोतले बताएको छ। ‘सभापति र दलको नेता चुन्न पौडेलले गरेको सहयोगको गुण तिर्ने मनस्थितिमा देउवा हुनुहुन्छ,’देउवा निकट एक नेताले भने,‘गोपालमानलाई राष्ट्रिय सभामा लगेर पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने देउवाको योजना छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading