राष्ट्रपतिमा काँग्रेस र एमाले भिडन्त, माओवादी रेफ्री

राष्ट्रपतिमा काँग्रेस र एमाले भिडन्त, माओवादी रेफ्री

काठमाडौं : प्रतिनिधि सभाले पाँच वर्षका लागि सभामुख चयन गरेको छ। सभामुखमा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भएका छन्।

संसद् बैठकमा उपस्थित २६८ मध्ये १६७ मत पाएर घिमिरे सभामुख पदमा निर्वाचित भए। एमालेका घिमिरेसँग प्रतिस्पर्धा गरेकी काँग्रेसकी ईश्वरीदेवी न्यौपानेले एक सय मत पाइन।

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेको नेकपा एमालेले पुस १० को सहमति अनुसार सभामुख पद पाएको छ।

सहमति अनुसार प्रतिनिधि सभाको उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनेछ। उपसभामुखमा शनिवार निर्वाचन हुने निर्वाचन कार्यक्रम अनुसार शुक्रवार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवार प्रस्तावको सूचना दर्ता गर्ने समय तोकिएको छ।

सत्ता गठबन्धनबाट एमालेलाई अलग गराउने काँग्रेसको योजना सभामुख चयनमा असफल बनेको छ। केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएर माओवादीलाई एमालेबाट अलग गराउने काँग्रेसको प्रयास अब राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ।

राष्ट्रपति पदमा राष्ट्रिय सहमतिको रटान लगाएको काँग्रेसको बोलीमा लोली मिलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेफ्रीको भूमिका निर्वाह गर्ने सङ्केत दिएका छन्। एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्।

एमाले र माओवादीबिच भएको भनिएको शक्ति बाँडफाँडको सहमति अनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारमै राष्ट्रिय सहमति खोज्नु पर्ने एमालेले जिकिर गरेको छ। प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलमा समझदारी बनाउने प्रयास जारी रहेको बताए। ‘अझै समय बाँकी छ,’उनले भने,‘कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्ने कोसिस छ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहमति खोज्ने प्रयास जारी रहेको बताए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमति एमालेले उठाएको उम्मेदवारमा हुनु पर्ने जिकिर गरेका छन्। ‘नेकपा एमालेले उम्मेदवार उठाउँछ,’ओलीले भने,‘हाम्रो सहमति त्यही हो,त्यसमा राष्ट्रिय सहमति बन्नु पर्छ।’

प्रधानमन्त्री र सभामुखदेखि सातै प्रदेशमा मुख्यमन्त्री र सभामुख गुमाएको काँग्रेस गठबन्धन टुटाउन लागेको छ। काँग्रेस सांसद चन्द्र भण्डारीले आफ्नो गठबन्धन टुटेर बनेको अर्को गठबन्धन टुटाउन लागिरहने बताए। उनले यो राजनीतिमा आउने निरन्तर प्रक्रिया भएको बताए। ‘अब मिसन सभामुख भएन, अब मिसन राष्ट्रपति हुन्छ,’उनले भने,‘मिसन टुटाउने पनि हुन्छ, यसमा कुनै शकै भएन।’

संसद्लाई भकुन्डो

राजनीतिक दलहरूले विधि निर्माणको थलो संसद्लाई भकुन्डो बनाएका छन्। सत्ता, शक्ति र पदका लागि दलहरूले संसद्लाई प्रयोग गरेर गोलपोष्ट ताकिरहेका छन्। चुनाव अघिको गठबन्धन तोडिएपछि सत्ता गुमाएको काँग्रेस एमालेसँग बदला लिने योजनामा छ।

उसले नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग निरन्तर छलफल गरिरहेको छ। विश्वासको मत दिँदा काँग्रेसले ढोक्सा थापेको र त्यसमा माछा नपर्ने बताएका एमाले अध्यक्ष ओलीलाई काँग्रेसले जवाफ फर्काएको छ।

प्रधानमन्त्रीलाई ओलीले पिँजडामा राखेको काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आरोप लगाए। शर्माले संविधानले नचिन्ने राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राखेको संज्ञा दिए।

ओलीले विधि र पद्धति भित्रै राजनीतिक संयन्त्रको संयोजक बनेको जवाफ फर्काएका छन्। काँग्रेस र एमाले सवालजवाफमा उत्रिएपछि माओवादी केन्द्रलाई हाइसन्चो भएको छ। सहमति अनुसार प्रधानमन्त्री पाइसकेको माओवादीले राष्ट्रपतिमा एमालेलाई सघाउने एमालेको आशा छ।

विश्वासको मत दिएकाले माओवादीको समर्थन पाउन काँग्रेस पनि दौडधुप गरिरहेको छ। दलहरू राष्ट्रपति पदमा रस्साकस्सी गरिरहे पनि चुनावको मिति भने तोकिएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading