चुनौती झेल्दै नेतृत्वको सङ्घर्ष

चुनौती झेल्दै नेतृत्वको सङ्घर्ष

बजारमा निकै चहलपहल थियो, त्यसबिचमा एक सुन्दर महिला कापी कलम, रेकर्डर मोबाइल समाती बदाम भुट्दै गरेकी एक आमाको छेउमा बसी भलाकुसारी गरिरहेकी थिइन्। आमा पनि उनीसँग निकै हँसिलो मुहारमा कुरा गरिरहेकी थिइन्। कहिले मलिन त कहिले हँसिलो मुहारका साथमा कुरा गरिरहेकी थिइन् ती आमा।

आमासँगको कुराकानीपछि मैले ती सुन्दर महिलासँग कुरा गरेँ जो अरूको कुराकानी बाहिर निकाली समाधान गर्ने गर्थिन्। आखिर उनी पनि आफू सङ्घर्ष पीडाका साथ अघि बढेकी रहिछन्। हेर्दा सबै राम्रो देखिने उनको त्यो मुहार पनि बाह्य स्वरूप मात्र रहेछ। किनकि पत्रकारिता पेसा अन्य काम जस्तो सहज छैन, यो पेसामा टिकिरहनका लागि आत्मविश्वास लगनशीलता र पेसाप्रति इमानदार हुन जरुरी हुन्छ।

सञ्चारकर्मीको अनुभवमा समय र जिम्मेवारीलाई राम्रोसँग बुझेको भएर मात्र यो पेसामा लागिरहेको पत्रकार दीपा कोइराला बताउँछिन्। उनी भन्छिन्, ‘यो पेसामा लागिरहँदा चुनौती नआएको होइन।’ महिला भएकै कारण बिहान अँधेरोमा काममा जाने, साँझ झिसमिसेमा घर फर्किनु। त्यसैमा सामाजिक अनि पारिवारिक समस्यालाई पार गर्दै यस पेसामा नै केही गर्छु र आफ्नो पहिचान बनाउँछु भन्ने सोचेर पेसालाई महत्त्व दिँदै जिम्मेवारीका साथ अघि बढेको बताउँछिन् उनी।

सक्षम महिला पत्रकारको कुनै स्थान नभएको हरेक महिला पत्रकारको गुनासो समेत रहेको बताइन उनले। भन्छिन्, ‘मैले पत्रकारिता गरेको पनि १८ वर्षमा लाग्यो।’

राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रमा महिला पत्रकारहरू लागेको केही समयपछि नै हराएर जान्छन्, किन दीर्घकालसम्म यो पेसामा रहन सक्दैनन्, हामी ठुलो जोस र आँट लिएर प्रवेश गर्ने पत्रकारिताको क्षेत्रमा किन केही समयपश्चात् नै पेसा छोड्ने अवस्था सृजना हुन्छ। उसको जिम्मेवारी कसैले पनि लिएको हुँदैन, कसैले पनि महिलालाई टिकाई राख्नुपर्छ, यिनीहरूको व्यवस्था राम्रो बनाउनु पर्छ भनेर आवाज समेत उठान नसक्ने गुनासो गर्दै उनी भन्छिन्, ‘महिला पत्रकार भएको नाताले हामीले छुट्टै सम्मान चाहेका छैनौँ र चाहने पनि छैनौँ, चाहेका छौँ त केवल आत्मसम्मान अनि पुरुष पत्रकार दाजुभाइमाझ समान रूपमा काम गर्न सक्ने वातावरण।’

पत्रकारिता क्षेत्रमा लागेका महिला पत्रकारको कामको मूल्याङ्कनसँगै प्रोत्साहन गर्ने चलन कमै मात्र भएको पाइन्छ। जसले गर्दा दक्ष महिला पत्रकार यो पेसाबाट बिस्तारै पलायन हुने क्रम दिनहुँ बढ्दै गएको छ।

पुरुष पत्रकार साथीसँग समन्वय गर्दा वा समाचार रिपोर्टिङमा एक्लै हिँड्दा समाजले कुरा काट्ने गरेका कारण पनि मोफसलका महिला पत्रकारमा आफ्नो पेसाप्रति माया पनि हराउँदै गएको पाइन्छ। उनी भन्छिन्,यसमा मसँगै लागेका धेरै साथीहरूले आफ्नो पारिवारिक समस्याका कारण यो पेसा छाड्नु भयो म भने यसमा नै रमाइरहेकी छु। मेरो घरपरिवारमा अहिले सासू, श्रीमान्, एक छोरा र छोरी छन्। परिवारसँगै मैले मेरो पेसालाई सङ्घर्षका साथ जोगाई नै राखेकी छु।

यस्तै समाचारमा कामै नगरेको पुरुषलाई समाचार प्रमुखमा राखिन्छ, कार्यक्रममा कामै नगरेकोलाई कार्यक्रम प्रमुख राखिन्छ। तर वर्षौँदेखि काम गरिरहेका महिलालाई भने सामान्य सोची कुनै पद नदिएको पत्रकार सिर्जना बुढाथोकी बताउँछिन्।

सुर्खेतमा दर्ता भएका पत्रपत्रिकाहरू ६७ वटा छन्, त्यसमा प्रकाशन भइरहेका दैनिक पत्रिका १० वटा, साप्ताहिक पत्रिका २ वटा मात्र छन्। त्यस पत्रिकामा काम गर्ने महिला पत्रकार बढीमा १० जना मात्रै छन्। यस्तै २ वटा टेलिभिजन पनि सञ्चालनमा छन्। त्यसमा काम गर्ने महिला बढीमा २ जना छन्।

एफएम रेडियोहरू ११ वटा छन्। त्यसमा काम गर्ने महिला पत्रकारको सङ्ख्या भने १० जना मात्रै छ। सुर्खेतबाट सञ्चालित अनलाइनहरू भने ३९ वटा छन्। त्यसमा पनि काम गर्नेको सङ्ख्या ७ जना मात्र छ। सञ्चालनमा रहेका यतिका सञ्चारक्षेत्रमा काम गर्ने महिला पत्रकारको सङ्ख्या २५ जना मात्र छ भने १५ जना महिला पत्रकार कुनै पनि मिडियामा काम गर्दैनन्।

(केही गर्नका लागि कि त नातेदार हुनुपर्दो रहेछ कि राजनीतिमा लाग्नु पर्दाेरहेछ) दुबैमध्ये कुनै एक विषयमा लागेमात्र अगाडि बढ्न सकिने वीरेन्द्रनगर ८ बस्दै आएकी निर्मला रेग्मीले बताएकी छिन्।

महिला सोझी हुनुको फाइदा लिनेहरू धेरै नै रहेको सुनाउँछिन् उनी। हरेक काम गर्दा महिला र पुरुषमा हुने विभेदमा परिवर्तन हुन भने नसकेको उनको गुनासो छ।

उनी भन्छिन्, ‘मैले २०५२ सालदेखि पत्रकारिता सुरु गरेकी हुँ ! मैले पत्रकारिता गर्दा तलब नलिएर सुरु गरेकी थिएँ, पहिला कुनै पनि टेक्नोलोजीको विकास थिएन, दिनभर डुली बनाएको समाचार विकास सञ्चार केन्द्रमा राखिएको फ्याक्सबाट पठाएर आफ्नो काम सकिन्थ्यो। पत्रकारिताको पनि विकास नभएकाले काम गर्न कठिन हुने गर्थ्यो, लामो समयसम्म आर्थिक अभावमा पत्रकारिता गर्न निकै कठिनाइ भोग्नुपरेको थियो, बाहिरबाट हेर्दा छोरीले जागिर खाएकी छ भन्ने थियो तर खाजा खाने पैसा समेत घरबाट लिएर जानु परेको मेरो त्यो दिन स्मरण गर्दा पनि आँखा रसाउँछन्। त्यो समयमा आर्थिक अभावसँगै स्टेसनको अभाव निकै थियो। पत्रकारितामा बाँच्न सहज बनाउने भनेको त अग्रज दाइहरूको मिठो बोली थियो।’

हुम्लाकी पत्रकार तिलसरा विकले गत चैतमा सम्पन्न नेपाल पत्रकार महासङ्घ हुम्लाको निर्वाचनमा जिल्ला सचिवमा लड्ने भन्दै उम्मेदवारी दिइन्। तर कार्य क्षमता र अनुभवका आधारमा उनीभन्दा पछाडिका पुरुषले बागी उम्मेदवारी दिएपछि सचिव पदमा दिएको उम्मेदवारी उनले फिर्ता लिइन्। ‘काम गर्छु भन्दा महिलालाई अवसर दिनेहरू धेरै हुँदैनन्,’ उनी भन्छिन्, ‘मलाई तिमीले सक्छौ भनेर आँट दिने त्यतिवेला कोही भएन र मैले उम्मेदवारी फिर्ता लिएँ।’

मुगुकी पत्रकार सुकमाया शाहीसँग नेतृत्वमा पुग्नका लागि लड्नुपर्ने लडाइँ त छँदै छ, काम गर्ने क्रममा विभिन्न कार्यालयका व्यक्तिसँग नाम जोडेर चरित्रमाथि औँला उठाएको भोगाइ छ। पत्रकारिता क्षेत्रमा काम गर्दैगर्दा उनीहरूले भोगेका कुरा यसरी व्यक्त गरेका छन्। उनीहरू भन्छन्, ‘पत्रकारिता क्षेत्रमा आबद्ध महिला पत्रकारहरूको साझा समस्या नै यही नै छ।’

विभिन्न चुनौतीबिच महिला पत्रकारहरूले काम गर्नु परिरहेको भन्दै अवसर नपाउँदा कमजोर साबित गरिदिएको समेत बताएका छन्।

यस्तै २०५४ सालदेखि पत्रकारिता सुरु गरेकी शोभा रेग्मी भन्छिन्, ‘आफ्नै क्षमता र श्रेष्ठताले महिलाहरू अगाडि बढ्नुपर्नेमा नै चुनौती भोगेका छौँ।’
सामाजिक, आर्थिक, घरपरिवार, ठाउँ पाउन नसक्नु र माओवादीका कारण आफ्नो नाम परिवर्तन गरी समाचार लेख्नुपर्ने मुख्य चुनौती रहेको उनको भोगाइ छ। पत्रकारिता क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि महिलालाई नेतृत्वमा पुग्न नदिन धेरै चलखेल हुने गरेको छ, तर पत्रकारका भन्दा अरू गुनासो बाहिर आउने र पत्रकारको नआउने हुनाले पत्रकार महिलाहरू निकै पीडामा परेका छन्।

आफूले काम गरेको क्षेत्रमा कुनै पनि सेवा सुविधा नहुँदा यसै क्षेत्रमा टिकिरहन पनि मुस्किल बन्दै गएको उनले बताएकी छिन्।

स्थानीय सुर्खेत पत्रका सञ्चालक तथा नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्षसमेत रहेका ललित बस्यालले क्षमतावान् महिला पत्रकारहरूको खाँचो जहिले पनि रहेको बताएका छन्। उनले भने, ‘जसले चुनौती र समस्याको समाधान गर्न सक्छन् तिनीहरू अहिले पनि पत्रकारिता क्षेत्रमा टिकिरहेका छन्। महिलाहरू विशेष गरी विवाह अगाडि सक्रिय हुने र विवाहपछि आर्थिक र पारिवारिक समस्याका कारण निष्क्रिय हुने गरेको अवस्था छ।’

यस्तै नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाले महिलाहरूलाई क्षमता अभिवृद्धिका लागि क्षमता अभिवृद्धि, सीप विकास सम्बन्धीका तालिमहरूमा सहभागिता गराई बिट पत्रकारिता, फेलोसिपहरूमा पनि अघि बढाइरहेको छ। महासङ्घले विशेष गरी महिला, जनजाति र दलितलाई धेरै पहल गरेको बताएका छन्।

(पत्रकार रमा के.सी.को यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

सूचना लुकाउने प्रतिस्पर्धा

न्यायिक निकायको प्रभावकारितामा सञ्चारक्षेत्र

अझै असहज र चुनौतीपूर्ण पत्रकारिता

त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading