अझै असहज र चुनौतीपूर्ण पत्रकारिता

अझै असहज र चुनौतीपूर्ण पत्रकारिता

‘म बेलुका त चाँडै घर फर्किनै पर्छ, बच्चा सानो छ। दिउँसो मात्र हो अलि–अलि फिल्डमा हिँड्न पाउने। बच्चा ठुलो नभएसम्म बिहान र बेलुकाका कार्यक्रममा सहभागी हुनै मुस्किल हुने रहेछ’, विराटनगरकी पत्रकार जुनु भट्टराईले भनिन्।

इलामकी पत्रकार कोकिला ढकाललाई भने श्रीमान् पनि पत्रकार नै भएकाले केही सहज छ। बच्चा सानो भएका कारण त्यति धेरै बाहिर निस्कन नपाएको सुनाउने ढकाल नेपाल पत्रकार महासङ्घ इलामकी पूर्व अध्यक्ष समेत हुन्।

प्रेस चौतारी मोरङकी उपाध्यक्ष चिना थापा विवाहपछि सक्रिय पत्रकारितामा फर्कन आफूलाई करिब चार वर्ष समय लागेको बताउँछिन्। सक्रिय पत्रकारिता गरेर भविष्य खोज्ने अधिकांश महिला पत्रकारको समस्या जुनु, कोकिला र चिनासँग मिल्दाजुल्दा नै छन्।

महिला पत्रकारको अवस्थाबारे बीबीसी लन्डनकी कार्यक्रम उत्पादक सुजाने फ्रयांकले आफ्नो पुस्तक ‘वुमन एन्ड जर्नालिज्म’मा लेखेकी छन्, ‘महिला पत्रकार चाहे सम्पादकको तहमा होस् या संवाददाता, उसले पारिवारिक जिम्मेवारी लगायतका समाजका विविध जिम्मेवारी पूरा गर्नै पर्छ। अझ सञ्चारगृह संवेदनशील नभए उसको लागि पत्रकारिता अझै असहज र चुनौतीपूर्ण हुनेछ।’

समाजले पत्रकारिताको कार्यगत प्रकृति नबुझिदिँदा झनै समस्या हुने गरेको सुनाउँछन् महिला पत्रकारहरू। परिवार र समाजले उठाउने प्रश्नले महिला पत्रकारहरूलाई व्यावसायिक बन्न कठिन रहेको मोरङकी अग्रज पत्रकार ललिता भट्टराईको बुझाइ छ।

अलिक अबरेसम्मको काममा खटिनुपर्दा वा बिहान सबेरै कुनै कार्यक्रममा जानुपर्दा किन यति ढिलो र चाँडो? भन्ने जस्ता प्रश्नले काममा सक्रिय हुन अवरोध गरेको अनुभव महिला पत्रकार सुनाउँछन्।

रिपोर्टिङकै क्रममा पुग्दा कतिपयले गर्ने व्यवहार र सहकर्मी पुरुषसँग कतै हिँड्दा समाजले गरिदिने टिप्पणीले कार्यक्षेत्रमा खटिँदा पीडा थपिने गरेको सुनाउँछन् महिला पत्रकारहरू। पत्रकार कोकिला ढकालले रेडियो र टेलिभिजनमा केही महिला पत्रकार अडिए पनि छापामाध्यममा काम गर्नेको सङ्ख्या कम देखेकी छन्।

महिलाको पत्रकारिता यात्रा

पत्रकारितामा महिलाको प्रवेश २००७ सालको क्रान्तिपछि मात्र देखा परेको पढ्न पाइन्छ। २००८ सालमा ‘महिला’ मासिक पत्रिका निस्केको पाइन्छ। जसलाई नेपालकै पहिलो महिला पत्रिकाको रूपमा चिनिन्छ। साधना प्रधान सम्पादक रहेको उक्त पत्रिका लामो समयसम्म भने प्रकाशन हुन सकेन।

उक्त ‘महिला’ मासिकलाई नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकार उत्पादन गर्ने पत्रिकाको रूपमा चिनिन्छ। त्यसयता आरम्भ भएको महिला पत्रकारिताको इतिहासमा अपेक्षाकृत उपस्थिति नभए पनि क्रमशः बढ्दै गएको पाइन्छ। जसरी सञ्चारमाध्यमको विकास हुँदै गए, क्रमशः पत्रकारहरूको सङ्ख्या पनि बढ्दै गयो तर पुरुष पत्रकारहरूको तुलनामा महिला पत्रकारहरूको सङ्ख्या भने बढ्न सकेन।

अखबारबाट रेडियो, एफएम रेडियो र टेलिभिजनको पुस्तासम्म आइपुग्दा सञ्चार जगत्मा महिलाको सङ्ख्या बढेको छ। तर जति बढे पनि व्यावसायिक पत्रकारिता गर्दै यसलाई निरन्तरता दिनेहरूको सङ्ख्या न्यून छ।

यद्यपि सञ्चारक्षेत्रमा लागेर आत्मसन्तुष्टि मात्र नभई पर्याप्त उपलब्धि समेत हासिल गरेको अनुभव फेवा साप्ताहिककी सम्पादक ललिता भट्टराईसँग छ। पत्रकारितामा तीन दशकभन्दा बढीको निरन्तरता दिँदा यो क्षेत्र आफ्नो लागि उपलब्धिमूलक रहेको उनले बताइन्।

दर्जन बढी सङ्घसंस्थाबाट सम्मान र पुरस्कार प्राप्त गरेकी भट्टराई प्रदेश सरकारबाट पनि सम्मानित हुनु कर्मको फलको रूपमा लिन्छिन्। देशका विभिन्न क्षेत्रको भ्रमण, नयाँ पुराना साथीहरूसँगको घुलमिल तथा विभिन्न तालिम र गोष्ठीको सहभागिताले बौद्धिक स्तर बढाउनेदेखि आफूलाई समयसापेक्ष रूपान्तरण गर्न पनि सम्भव भएको उनको तर्क छ।

अझ निरन्तर फिल्डमा खटिएर समाचार लेखिरहँदा समाजका सबै तहका व्यक्तिहरूसँगको सङ्गतले जीवन जिउन पनि ऊर्जा थपिने उनको बुझाइ छ।

महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफएम रेडियो ‘रेडियो पूर्वाञ्चल’की बोर्ड अध्यक्ष तथा स्टेसन म्यानेजर कमला कँडेल पनि पत्रकारिताबाट प्रशस्तै उपलब्धि हासिल गर्न सकिने बताउँछिन्।

सबैभन्दा बढी त उनमा खुसी यस अर्थमा छ कि एसियामै महिलाहरूले सञ्चालन गरेको पहिलो सामुदायिक रेडियो थियो पूर्वाञ्चल। तर अहिले नेपालमा मात्रै महिलाहरूले सञ्चालन गरेका रेडियोको सङ्ख्या ८ पुगेको बताउँछिन् कँडेल।

मोफसलमा रहेर सामुदायिक रेडियो सञ्चालन गरिरहँदा एउटा उदाहरण मात्र नभई धेरै महिला पत्रकार उत्पादन गर्ने र व्यावसायिक पत्रकार बनाउन सफल भएको दाबी उनको छ।

रेडियो पूर्वाञ्चलबाट पत्रकारिता आरम्भ गर्नेहरू अहिले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशील छन्। घरको काम सकेर व्यावसायिक पत्रकार बन्न सक्ने क्षमता महिलामा नै बढी हुने तर्क गर्दै उनले अवसर पाउँदा महिलाले सबै जिम्मेवारी पूरा गर्न सक्ने बताइन्। उनको बुझाइमा मात्र लगनशील र क्षमताको विकासमा केन्द्रित हुन आवश्यक छ।

नेपाल पत्रकार महासङ्घको सदस्यता सङ्ख्यालाई नै आधार मान्ने हो भने पनि १८ दशमलव ४१ प्रतिशत मात्रै महिला पत्रकारको सङ्ख्या देखिन्छ। तथ्याङ्कअनुसार कुल १३ हजार ७७ जना पत्रकार महासङ्घका सदस्य हुँदा २ हजार ४०८ जना मात्र महिला पत्रकार रहेको पाइन्छ।

पत्रकारितामा महिलाको सङ्ख्या बढाउन सम्बन्धित पक्षहरूले केही प्रयास गरेको देखिए पनि पत्रकारिता पेसामा लागिरहँदाका अनेकौँ चुनौती, आय–आर्जन र भविष्यको सुनिश्चितता जस्ता विषयले प्रभाव पार्ने नै देखिन्छ।

कुल जनसङ्ख्याको आधाभन्दा बढी महिलाको सङ्ख्या रहेको देशका लागि महिला पत्रकारहरूको योगदान ठुलो रहन्छ। महिलाहरूका मुद्दा उठाउनेदेखि लिएर हकअधिकार स्थापित गर्ने र कुरीतिका विरुद्ध जति महिला पत्रकारको कलम तिखो र प्रभावकारी हुनसक्छ, त्यति पुरुष पत्रकारहरूको नहुन पनि सक्छ।

पत्रकार चिना थापा भन्छिन्, ‘महिलाहरूका कतिपय यस्ता विषय हुन्छन्, ती महिला पत्रकारहरूले मात्रै न्यायपूर्ण हिसाबले सम्प्रेषण गर्न सक्छन्। उनीहरूले पनि आफ्ना कुरा महिला पत्रकारहरूलाई नै भन्न रुचाउँछन्।’ समाजमा महिला पत्रकारहरूको योगदानका विषयमा जति पुरुष पत्रकारहरूको रहन्छ त्योभन्दा अधिक महिला पत्रकारहरूले पुर्‍याउन सक्ने दाबी उनको छ।

यस्तै अग्रज पत्रकार ललिता भट्टराईले पनि सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूले अरूको सरह मात्र नभई त्यो भन्दा बढी योगदान गर्ने बताइन्।

पत्रकारसँग सम्बद्ध अधिकारकर्मी संस्थाहरूले महिला पत्रकारहरूलाई गुणस्तरीय बनाउन ध्यान दिन आवश्यक छ। हुन त पत्रकारितामा विगतमा भन्दा महिलाहरूको समर्पण बढेको पनि छ।

संसद् भवन होस् या मन्त्रिपरिषद्का निर्णय कुर्दै आधारातसम्म महिला पत्रकारहरू पनि फिल्डमै खटिएका दृश्यले अवस्था फेरिएको सबैलाई अनुभूति हुनुपर्ने विराटनगरका पत्रकार सुदीप कोइरालाको भनाइ छ।

उनी भन्छन्, ‘अवस्था धेरै फेरिएको छ, अवसरका ढोका प्रशस्त छन्। क्रियाशील पत्रकारहरूलाई जीविकोपार्जनलाई समस्या पर्दैन। अहिले पुरुष सरह महिला पत्रकारहरू पनि अब्बल दर्जामा हुनुहुन्छ।’ उनको बुझाइमा पत्रकारिता प्रवेश गर्नेहरूको सङ्ख्या तुलनात्मक रूपमा कम भए पनि गुणात्मक दृष्टिले महिला पत्रकारहरू पनि अब्बल छन्।

क्रमशः पत्रकारितामा महिलाहरूको उपस्थिति बढाउँदै लैजान र व्यावसायिक बनाउँदै लैजाने सके अपेक्षाकृत उपस्थिति हुने देखिन्छ।

(पत्रकार रोमा दाहाल (निशा) को यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading