स्वतन्त्र पार्टीका स्वर्णिमले लिए काँग्रेससँग बदला

स्वतन्त्र पार्टीका स्वर्णिमले लिए काँग्रेससँग बदला

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहुँ क्षेत्र नं. १ राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ।

प्रधानमन्त्री बन्न दौडधुप गरेर अन्तिममा राष्ट्रपति बनेका पौडेलको क्षेत्रमा स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले निर्वाचित भएका छन्।

मङ्सिर ४ को चुनावमा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सदस्यमा वाग्लेले काँग्रेसकै उम्मेदवार गोविन्द भट्टराईलाई पराजित गरे। वाग्लेले ३४ हजार ९१९ मत पाएका छन्। उपनिर्वाचनको मुखैमा काँग्रेस छोडेर स्वतन्त्र पार्टीमा गएका हुन् वाग्ले।

काँग्रेसका उम्मेदवार भट्टराईले २० हजार १२२ मत पाए। एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाउँदा पाँचै महिना अघिको चुनावमा राम्रो मत पाएको राजावादी पार्टी राप्रपाको अवस्था तनहुँको परिणामले साइजमा ल्याइदिएको छ। राप्रपाका उम्मेदवार शोभा गुरुङको पोल्टामा जम्मा २१८ मत परेको छ।

काँग्रेसमा रामचन्द्र राष्ट्रपति बनेपछि पार्टीबाट उम्मेदवार बन्ने अवसर पाएका भट्टराई उम्मेदवारमै सीमित बन्न पुगे। उपनिर्वाचनको परिणामले तनहुँमा काँग्रेसको विरासत पनि भत्किएको छ। पौडेलसँग राजनीतिक दुस्मनी कमाएका गोविन्दराज जोशीको कारबाही फुकुवा गरेको थियो काँग्रेसले।

काँग्रेसका दुवै महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले तनहुँका मतदातासँग भट्टराईको पक्षमा भोट मागेका थिए। तर, परिणाम वाग्लेको पक्षमा आएको छ। गठबन्धन गर्दा समेत मतदाता आकर्षित गर्न नसकेको देशको पुरानो पार्टी काँग्रेस रिफर्मको चरणमा पुगेको विश्लेषण समेत हुन थालेको छ।

राजनीतिक पण्डितहरूका अनुसार काँग्रेसमा ‘ए’ ग्रेडका नेता हुन् विश्वेश्वरप्रसाद कोइराला। गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई ‘बी’ ग्रेडमा रहे। गिरिजाप्रसाद कोइरालासम्म आइपुग्दा काँग्रेस ‘सी’ ग्रेड भयो। काँग्रेसमा अहिले ‘डी’ ग्रेडको नेतृत्व कायम छ। राजनीतिक पण्डितहरू ‘डी’ ग्रेडका नेता सर्वोच्च पदमा पुग्दा सङ्गठन नै कोल्याप्स हुने बताउँछन्।

बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाका अनुयायीहरू पार्टीको नेतृत्वमा छन्, उनीहरू ‘डी’ ग्रेडमा पुगेका छन्। पार्टी या सङ्गठन अनुयायीहरूबाट मात्रै नचल्ने पुष्टि हुँदै गएको छ।

‘डी’ ग्रेडमा पुगेको काँग्रेसमा अब संरचना नै बदलेर लैजानुको विकल्प नदेखिएको पण्डितहरूको सुझाव छ। राजनीतिक दर्शन भन्छ, ‘कि अर्काको पछि लाग्नु पर्छ कि संरचना नै बदलेर लैजानु पर्छ।’

जनअपेक्षा चुलिएको छ। शासन व्यवस्था परिवर्तनका नाममा जनतालाई भुलभुलैयामा पारेका पुराना दलको उम्मेदवार बन्दा पराजय हुनु परेको छ। क्रियाशील र सङ्गठित सदस्यलाई मात्रै जनता देख्ने दलहरूका मठाधिश उपचुनावको परिणामपछि झस्किए पनि गम्भीर बनेका छैनन्।

काँग्रेसले मङ्सिर ४ को चुनावी परिणामको समीक्षा समेत गर्न सकेको छैन। पार्टीभित्र आलोचना मत्थर पारेर समीक्षामा बस्ने सभापति शेरबहादुर देउवाको योजना छ। मङ्सिर ४ को चुनावमा जित हासिल गरेको तनहुँ १ पाँचै महिनामा गुमाउनु परेको छ काँग्रेसले।

तनहुँमा भोट घटेको छ। चितवनको भरतपुरका केही वडामा काँग्रेसका क्रियाशील सदस्य जति पनि मत नपाउनुलाई नेताहरूको कार्यशैली नै बाधक देखाइरहेका छन्।

पटकपटक कुनै स्वार्थ विना नेतृत्वमा पुर्‍याएका जनतामा आएको वितृष्णामा मठाधिशहरुले लगाएको डन्डा आफैँ तिर सोझिएको छ। काँग्रेसमा आशा गरेका नेताहरूकै राजनीतिक भविष्य सङ्कटमा पर्ने देखिएको छ।

दुई महामन्त्री सहित तनहुँबाट काठमाडौँमा चुनाव लडेर विजयी भएका प्रदीप पौडेल लगायतका काँग्रेसी युवा नेतृत्वलाई पार्टीसँगै आफ्नै राजनीति जोगाउन सकस पर्ने आकलन हुन थालेको छ उपनिर्वाचनको परिणामले।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading