भुटानी शरणार्थी प्रकरण : कारबाही गर्न सरकारलाई चुनौती

भुटानी शरणार्थी प्रकरण : कारबाही गर्न सरकारलाई चुनौती

काठमाडौं : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम कुम्ल्याउने गिरोह जोगाउन राजनीतिक दलहरूबिच जुहारी चलेको छ।

नेकपा एमालेले पार्टीका सचिव समेत रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएको छ।

अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पनि संलग्नता रहेको बताएपछि भ्रष्टाचारीलाई कारबाही गर्न सरकारलाई चुनौती थपिएको छ। तर, सत्तारुढ काँग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा सघाउने बताएको छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि अर्थमन्त्री समेत रहेका प्रवक्ता प्रकाशशरण महतले यो प्रकरणको अनुसन्धान काँग्रेसतिर सोझिए के हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनु पर्ने बताए।

यो प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन रहेको बारेमा प्रवक्ता महतले गैरकानूनी क्रियाकलापलाई कहीँ कतै पनि राज्य संयन्त्रले संरक्षण कल्पना गर्न नसक्ने बताए।

नक्कली भुटानी शरणार्थी : प्रचण्डलाई ओलीको दबाब, रायमाझी सम्पर्क बाहिर

प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ। पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए।

भुटानीका नाममा नेपाली नागरिकमाथि लुट…

यस प्रकरणमा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिइसकेको छ। अनुसन्धानका क्रममा नाम जोडिएका थप १२ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रिजालले बताए।

यो प्रकरणमा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन्। ठगीमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले भने आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ।

प्रहरी अधिकारीका अनुसार पाण्डेलाई पक्राउ गर्दा उनीसँग भएको मोबाइल पनि नियन्त्रणमा लिइएको थियो। तर उनले सबै डाटा हटाएका कारण प्रहरीले फरेन्सिकमा पठाएको छ। पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको एसपी रिजालले बताए।

नारायणकाजीको चर्चा

नेपालमा पछिल्लो पटक बनेको सरकारका गृहमन्त्रीको कामले आस जागेको प्रतिक्रियाहरू आउन थालेका छन्। गत चैत १७ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त भएका नारायणकाजी श्रेष्ठको कामको अहिले चर्चा हुन थालेको छ।

मन्त्रालय सम्हालेको एक महिनाको अवधिमै गृहमन्त्री श्रेष्ठले केही आशालाग्दो काम गरेर देखाएका छन्। हिसाब देखाउनै नपर्ने गरी गृहमन्त्री र सचिवले वर्षको करोडौँ रुपैयाँ खर्च गर्न पाउने नियम खारेज, विदेशी कम्पनीलाई नेपालीको गोप्य सूचना रहेको परिचय पत्र रुजु गर्न पाउने नियम र ठेक्का खारेज, मिटरब्याजीलाई कारबाही गर्ने सम्बन्धी कानुन जारी, नक्कली भुटानी शरणार्थीका ठग र मतियारहरूलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउने अभियान सुरु र प्रहरी प्रशासनलाई बिना हस्तक्षेप विद्यमान कानुन पालना गराउने स्वतन्त्रता दिएको भनेर मन्त्री श्रेष्ठको प्रशंसा भएको छ।

पछिल्लोपटक नक्कली भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव, सांसद र पूर्वमन्त्रीलाई अनुसन्धानमा तान्ने प्रहरीको मनोबल उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बढाइदिएको भन्दै चर्चा भएको छ। उपप्रधानमन्त्री भएको तीन दिनमा श्रेष्ठले २०४७ सालमा सुरु भएको सूत्र परिचालन कार्यविधि खारेज गराए।

भुटान सम्बन्धी थप समाचार

भुटानी राजालाई राजनीतिक बन्दी रिहा गर्न अन्तर्राष्ट्रिय दबाब

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading