प्रचण्डले गल्ती स्वीकारे, संसद्को अवरोध अन्त्य

प्रचण्डले गल्ती स्वीकारे, संसद्को अवरोध अन्त्य

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै जारी संसद्को अवरोध अन्त्य भएको छ। प्रधानमन्त्रीको राजीनामा आउनै पर्ने अड्डी कसेको प्रमुख प्रतिपक्षी नेकपा एमाले एक साता नपुग्दै राजीनामाको अडानबाट ब्याक भएपछि बुधवारदेखि जारी संसद्को अवरोध अन्त्य भएको हो।

प्रधानमन्त्रीको राजीनामा नआउने पक्का भएपछि एमालेले स्पष्टीकरणको मौका दिएको छ। स्पष्टीकरण दिन रोष्टममा उभिएर प्रधानमन्त्री प्रचण्डले संसद् अवरुद्ध गरेर राजीनामा माग्नुको कारण बुझ्न नसकेको बताए।

प्रतिपक्षी दलहरूको घेराबन्दीमा परेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह भारत गएको अभिव्यक्ति भावनामा बहकिएर दिएको भने। आफ्नो अभिव्यक्ति गलत भएको स्वीकार गर्दै भविष्यमा सतर्क हुने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमति जनाएपछि सदनको गाँठो फुकाउन एमाले तयार भएको हो।

प्रचण्डले गल्ती बोलेकै हुन्?

प्रधानमन्त्री प्रचण्डले पनि आफ्नो यो तहको भावुकता ठिक नभएको निष्कर्षमा पुगेको बताए। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई र्‍याखर्‍याख नै पारेका थिए।

प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको किताब विमोचनमा आफूले प्रधानमन्त्रीको हैसियतभन्दा पनि छोरीको बुबा भएर भावनात्मक भएर बोल्न पुगेको प्रष्टीकरण दिए। उनले प्रधानमन्त्रीको हैसियतले नबोलेको भन्दै छोरी ज्ञानुको बुबा भएर बोल्न पुगेको बताए। तारनतार राजीनामा मात्रै माग भएपछि प्रधानमन्त्री प्रचण्डले आफू धेरै लामो समयका लागि प्रधानमन्त्री नबनेको सुनाए।

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिएसँगै प्रतिनिधिसभाको बैठक असार २९ गते बस्ने गरी स्थगित भएको छ। संसद् बैठकपछि माओवादीले एमालेको भ्रम हटेको बताएको छ। एमालेले गल्ती स्विकारेकाले मौका दिएको बताएको छ भने काँग्रेस मौन बसेको छ।

संसद् कब्जा नगर्न रविले दिए चेतावनी

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर एमालेले अनावश्यक राजनीति मुद्दा बनाएको आरोप लगायो। संसद् भवन बाहिर पत्रकारसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेले केही दिन जनतालाई भ्रममा राखे पनि ती सबै भ्रमहरू हटेको दाबी गरे।

एमालेले भने प्रधानमन्त्री आफैँले बोल्ने कुरामा त्रुटि भएको भन्दै आत्मालोचना गर्ने भनेपछि संसद् चल्न दिएको बतायो। एमाले प्रमुख सचेतक पदम गिरिले संसद्मै आएर कमजोरी भयो भनेर गल्ती स्विकार्ने भनेपछि एक पटकलाई मौका दिएको बताए।

सत्ता साझेदार दल नेपाली काँग्रेस भने मौन बसेको छ। यस विषयमा बोल्दा पार्टी नै फुट्ने हो कि भन्ने डरकाबीच आफूहरू चुप बसेको काँग्रेस नेता शशाङ्क कोइरालाले बताए। ‘मैले नै बोल्न थाले भने पार्टी नै फुट्ने सम्भावना थियो,’कोइरालाले भने,‘त्यसैले म उहाँकै सपोर्टमा उभिए।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.