प्रचण्डले गल्ती बोलेकै हुन्?

प्रचण्डले गल्ती बोलेकै हुन्?

काठमाडौं : सरदार प्रीतम सिंहको पुस्तक विमोचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रधानमन्त्री ‘कसरी बन्छन्’ भन्ने कुरा चुहाएपछि बबन्डर मच्चिएको छ। प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीबाट प्रचण्डको राजीनामा नै मागेको छ।

सत्तारुढ गठबन्धन दलहरूले अर्कै सन्दर्भमा बोलेको कुरालाई लिएर प्रतिपक्षी दल एमालेले असंसदीय गतिविधि गरेको आरोप लगाएको छ। प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष मात्रै निकालेको छैन, संसद् फेस गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेर संसद् अवरुद्ध गरेका प्रतिपक्षी दलहरूलाई सत्ता गठबन्धन दलहरूको बैठकले संसद् फेस गर्ने जवाफ दिएको हो। प्रचण्डको राजीनामा माग्ने एमालेको कदम असंसदीय रहेको भन्दै राजीनामा दिनुपर्ने कुनै कारण नरहेको ठहर गरेको नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताए। ‘जनताले पनि बुझ्नेछन्,’उनले भने,‘संसद् फेस गर्छौ।’

प्रतिनिधि सभाको शुक्रवार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने तयारी गरेका छन्। माओवादी नेता हितराज पाण्डेले संसद्मा प्रधानमन्त्रीले जवाफ दिने बताए। ‘रोड्स टु द भ्याली : दि लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल’ नाम पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ ( प्रीतम सिंह)ले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटी दिल्ली जानु पनि भयो। काठमाडौँमा नेता साथीहरूसँग लगातार छलफल गर्नुभयो।’

पत्रकार डिल्ली आचार्यले प्रचण्डले गल्ती बोलेकै हुन? भनेर सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। ‘२०४६ मा भारतका पूर्वप्रधानमन्त्री चन्द्र शेखरलाई बोलाएर पुतलीसडकमा उनको नेतृत्वमा जुलुस गरेका दिन नेपाल देश हामीले बाँकी राखेका थियौँ?नेपाली काँग्रेस (खुकुलो वामपन्थी) र वाममोर्चा (कम्युनिस्ट नाम जोडिएका सबै) मिलेर भारतीय नेताहरूसँग नेपालमा नाकाबन्दी लगाउन माग गरेका थियौँ।,’ आचार्य फेसबुकमा लेख्छन्,‘उतिखेर एमाले र अहिले समाजवादीका नेता माधवकुमार नेपालले भारतीय सेना बोलाएर नेपालमा शासन पल्टाउने प्रस्ताव राख्दा मदन भण्डारीले विरोध गरेको सन्दर्भ कम्युनिस्ट सबैलाई थाहा होला। २०५१ सालको नौ महिने सरकार गठन गर्दा समेत बङ्गाली नेता सीताराम येचुरीको हस्तक्षेपकारी निर्देशन बिर्सन मिल्छ र?’

माओवादी नेताहरूको भारत बसाइ, सैद्धान्तिक हिसाबले कठोर नेता मोहन वैद्य र सीपी गजुरेललाई पक्राउ गर्न लगाउने काम, भारतीय सुरक्षाकर्मीले माओवादी लडाकुलाई उत्तराखण्डस्थित चकराता तालिम केन्द्रमा सैन्य प्रशिक्षण दिएका कुरा सबै ह्वाङ्गै रहेको पत्रकार आचार्यले लेखेका छन्।

‘केपी ओलीलाई पनि भारतीय एउटा पक्षले उक्साउँदै लगेर अन्तिममा कहाँ ठोक्कायो, स्पष्ट छ। उताको साथ छ भनेर ओली मक्ख थिए। सत्ता बाहिरको शक्तिले कहाँ लाँदै छ भन्ने मेसो पाएनन्,’उनले लेखेका छन्,‘ओलीले केका लागि हेलिकप्टर चार्टर गरी सुधीर चौधरीको टोलीलाई काठमाडौँ ल्याई अन्तरवार्ता लिन लगाएका थिए, त्यो पनि स्पष्ट छ। दिल्लीको अभिभावकत्वमा गरिएको १२ बुँदे समझदारीलाई गर्वका साथ उच्चारण गर्दै छौँ। यति मात्रै हो, प्रचण्डले पर्दा खोलेरै हो भने।’

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरदार प्रीतम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा नदिने बताएकी छन्। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितले सदन अवरुद्ध गरेका कारण मिटरब्याजी विरुद्धको विधेयक संसद्बाट पास हुन नपाएको उनले उल्लेख गरिन्।

प्रधानमन्त्री ‘प्रचण्ड’को अभिव्यक्तिलाई अपव्याख्या गरेको भन्दै प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस नोट जारी गर्दे प्रधानमन्त्रीको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभीष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण उल्लेख गरेका छन्।

नेपाललाई नयाँ युगतर्फ लैजान प्रचण्डकै राजनीतिक नेतृत्व आवश्यक रहेको बताउने नेपालका शुभेच्छुक सिंहले अनौपचारिक भेटघाटका क्रममा प्रचण्डसँग ‘तपाईँजस्तो योग्य मान्छे फेरि देशको प्रधानमन्त्री हुनुपर्छ’ भन्ने सदाशयता व्यक्त गर्दै आउनु भएको सन्दर्भ पुस्तक लोकार्पणको क्रममा प्रधानमन्त्रीले प्रसङ्गवश उल्लेख गर्नुभएको प्रेस सल्लाहकार आचार्यले उल्लेख गरेका छन्।

‘तर, सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बङ्गाएर अतिशयोक्तिपूर्ण राजनीतिकरण गर्नु आफैमा निरर्थक र दुखद छ,’प्रेस सल्लाहकार आचार्यले लेखेका छन्,‘सम्मानित संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव सङ्घीय संसद्प्रति जबाफदेही हुनुहुन्छ। संसद्मा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढङ्गले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ।’

प्रधानमन्त्री प्रचण्डको विवादित अभिव्यक्तिबारे संसद्मा स्पष्ट पार्नुपर्ने सत्ता गठबन्धन दलहरूले निष्कर्ष निकाले पनि एमालेले भने राजीनामा नै दिनुपर्ने बताएको छ। सत्तारुढ र अरू प्रतिपक्षी दलले प्रधानमन्त्रीको जवाफ आए संसद् चल्न दिने भनिरहँदा एमालेले राजीनामा नै दिनु पर्ने अडान राखेको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको राजीनामा नै बटमलाइन भएको बताए। ‘प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्ने अवस्था छैन,’गिरीले भने,‘देशको प्रधानमन्त्रीले बोलेको आपत्तिजनक कुराको छिनोफानो नभएसम्म सदन चल्दैन।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading