संसद् बन्धक, कब्जा नगर्न रविले दिए चेतावनी

संसद् बन्धक, कब्जा नगर्न रविले दिए चेतावनी

काठमाडौं : सङ्घीय संसद् प्रमुख तीन राजनीतिक दलको बन्धकमा परेको छ। सरकार र प्रमुख प्रतिपक्षी दलको जुँगाको लडाइँमा संसद् बन्धक बन्दा महत्त्वपूर्ण विधेयक अलपत्र परेका छन्।

मिटरव्याजीलाई कारबाही गर्न जारी भएको अध्यादेश निष्क्रिय बनेको छ। प्रतिपक्षी दलहरूकै विमतिका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाको बटमलाइनबाट नेकपा एमाले ब्याक भए पनि आइतबार संसद् बैठक बस्न सकेन।

सिंहदरबारमा भएको सहमति संसद् भवनमा पुग्दा उल्टिएपछि बैठक सोमबार बस्ने सूचना टाँस गरेर स्थगित भएको छ। प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउँदै माफी माग्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउने भनेको थियो।

प्रधानमन्त्रीले गत सोमबार सरदार प्रीतम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले बुधवारदेखि सदन अवरुद्ध गर्दै आएको छ। आइतबार बसेको राष्ट्रिय सभा बैठक पनि चल्न सकेन।

सिंहदरबारमा सहमति गरेर संसद् भवन नयाँबानेश्वर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सचिवालयबाट असार २१ गते जारी भएको विज्ञप्ति पाए। विज्ञप्ति पढे। विज्ञप्तिमा लगाइएको आरोप फिर्ता नलिएसम्म संसद् चल्न नसक्ने ओलीले सुनाए। ‘हामी माथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन,’ओलीले भने,‘त्यो गम्भीर आरोप कायम राखेर हामीले सहमति गर्ने कुरो छैन।’

प्रधानमन्त्री प्रचण्डको सचिवालयले एमालेले मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न सदन चल्न नदिएको बताएको थियो। एमालेले राजीनामा नै दिनु पर्ने अडानबाट ब्याक भए पनि आफ्नो दलमाथि लागेको आरोपले बिच्किएको छ।

प्रधानमन्त्रीको राजीनामाबारे प्रतिपक्षी दलहरूबीच नै बेमेल

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको मागमा अरू प्रतिपक्षी दलहरू सहमत हुन नसके पछि एमाले राजीनामाको अडानबाट ब्याक भएको हो। विकल्प दिएर मात्रै राजीनामा माग्नु पर्ने भन्दै काँग्रेस र एमालेलाई मिलेर सरकार चलाउन सुझाव दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सदन कब्जा नगर्न तीन दलका नेतालाई चेतावनी दिएका छन्।

उनले प्रमुख तीन दलले संसद्लाई आफ्नो सिन्डिकेट बनाउन खोजेको बताए। ‘यो गर्न पाइँदैन, यो गलत हो,’लामिछानेले भने,‘जनप्रतिनिधिको थलो संसद्लाई सिन्डिकेटमा राखेर कब्जा गर्न पाइँदैन।’

सत्तारुढ नेपाली काँग्रेसले भने प्रधानमन्त्रीले संसद्मा जवाफ दिने र सदन सुचारु हुने बताएको छ। काँग्रेस सांसद प्रदीप पौडेलले सोमबार संसद् चल्ने बताए। ‘भोलि प्रधानमन्त्रीले बोल्नुहुन्छ, संसद् खुल्छ,’काँग्रेस सांसद पौडेलले प्रश्न गरे,‘यत्रो दिनको अवरोध किन हो? के कुरा बिग्रिएको थियो र के कुरा सप्रिएर यो सब ठिकठाक भयो त?’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.