प्रधानमन्त्रीको राजीनामाबारे प्रतिपक्षी दलहरूबीच नै बेमेल

प्रधानमन्त्रीको राजीनामाबारे प्रतिपक्षी दलहरूबीच नै बेमेल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामाबारे प्रतिपक्षी दलहरूबिच नै बेमेल भएको छ।

प्रचण्डको राजीनामा नआएसम्म संसद् चल्न नदिने एमालेको अडान कायम छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका अरू विपक्षी दल भने संसद्मा प्रचण्डले जवाफ दिए अवरोध अन्त्य गर्ने तयारीमा छन्।

सूचना प्रविधिको सहज विस्तारले ‘एक पटक बोली फुत्किए पछि’ प्रधानमन्त्री प्रचण्डलाई होइन भनेर प्रष्टीकरण दिँदाको हैरानी छ। ‘कुरो र कुलो जता घुमाए पनि घुम्छ’ भने जस्तै प्रचण्ड अहिले व्यापारी प्रीतम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिले आफैँ फनफनी घुमिरहेका छन्।

सत्तामा रहेका सात दलले शुक्रवार पनि संसद् फेस गर्न पाएनन्। प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भयो। आइतबारसम्मका लागि सङ्घीय संसद्को बैठक स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्ड आइतबार संसद्मा जवाफ दिने र प्रतिपक्षी दलको अवरोध हटाउने प्रयासमा लागिरहेका छन्।

राजीनामाको अडानबाट पछि नहटेको प्रमुख विपक्षी नेकपा एमाले यही बहानामा सत्ता उलटपुलट गराउने दाउ हेरेर बसेको छ। एमालेले आइतबारको सङ्घीय संसद्का दुवै सदन चल्न नदिने बताएको छ।

प्रधानमन्त्री प्रचण्डको राजीनामा नआएसम्म संसद् बैठक चल्न नसक्ने एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले बताए। ‘हामी जहाँको त्यही छौँ,’नेम्वाङले पहिचानसँग भने,‘अहिले अध्यक्ष केपी शर्मा ओलीले भोलिको बैठकबारे केही भन्नु भएको छैन।’ उनले संसद् खुलाउने बारे सरकारबाट पार्टीसँग कुनै संवाद नभएको बताए।

प्रीतम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंहले भारतमा पहल गरेको बताएपछि एमालेले प्रचण्डको राजीनामा माग गरिरहेको छ। एमालेले यही बहानामा सत्ता उलटपलट गराउने रणनीति अपनाए पनि विपक्षी दलहरूलाई आफ्नो अडानमा ल्याउन सकेको छैन।

प्रचण्डले गल्ती बोलेकै हुन्?

राष्ट्रिय स्वतन्त्र पार्टीले विकल्प दिएर मात्रै प्रधानमन्त्रीको राजीनामा माग्नु पर्ने बताएको छ। पार्टीका प्रवक्ता मुकुल ढकालले लडाकु शिविरका कारण नेकपा माओवादी केन्द्र सत्तामा टाँसिएर बसिरहेको भन्दै काँग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिए।

रास्वपा सभापति रवि लामिछानेले एमालेसँग मिलेर सदन अवरुद्ध नगरेको प्रष्टीकरण नै दिएका छन्। सरकार नै गैरजिम्मेवार बन्दा संसद् अवरोध कायम रहेको उनले आरोप लगाए।

सत्तारुढ दलहरूले भने एमालेमा सत्ताबाट झर्नुपर्दाको छटपटी देखिएको आरोप लगाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीमा सत्ताबाट झर्नुपरेको छटपटी देखिएको नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आरोप लगाए। ‘एमालेको संसद् अवरोध बचपना र आग्रहपूर्ण छ’, भुसालले भने, ‘खासगरी ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिरहनु भएको छ, यो अनुचित छ।’

संसद्को अवरोध हटाउन संवादमा नआएको प्रतिपक्षी दलहरूले आरोप लगाइरहँदा सत्तामा रहेका तीन दल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समाजवादी मोर्चाले आचारसंहिता बनाउने निर्णय गरेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मोर्चाको अध्यक्षता गर्ने भएका छन्। आगामी ६ महिनाका लागि मोर्चाको अध्यक्षता गर्ने जिम्मा नेपालले पाएका हुन्। ६/६ महिनामा मोर्चाको नेतृत्व परिवर्तन हुने छ।

मोर्चाले आचारसंहिता, भावी नीति तथा कार्यक्रम तयार गर्न नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल‚ नेकपा माओवादी केन्द्रका देव गुरुङ‚ जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मा रहेको कार्यदल गठन गरेको छ। कार्यदललाई मोर्चाको आचारसंहिता र भावी नीति तथा कार्यक्रम बनाउने जिम्मा दिइएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

मोर्चा गठन भएको २३ दिनपछि बसेको पहिलो बैठकले सात वटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ। मिति घोषणा गर्ने काम असार २७ गते बस्ने बैठकले गर्ने पाण्डेले बताए। दीर्घकालमा पार्टी एकताकै लक्ष्यका साथ हाललाई मोर्चाबन्दी गरिएको नेताहरूले बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading