किलोका किलो सुन तस्करी, पशुपतिनाथको सुन भने गायब

किलोका किलो सुन तस्करी, पशुपतिनाथको सुन भने गायब

काठमाडौं : पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा १ किलो ४ सय ९१ ग्राम सुन गायब भएको पुष्टि भएको छ। संसद्मा जलहरी काण्ड उठेपछि नाप जाँच गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन गायब भएको पुष्टि गरेको हो।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुन भनेर पित्तल राखेको माओवादी सांसद लेखनाथ दाहालले आरोप लगाएपछि एमालेले संसद् चल्न दिएको थिएन। एमालेले सांसद दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाए पछि मात्रै संसद् चल्न दिएको दियो। त्यसपछि झल्याँस्स भएको अख्तियारले जलहरीमा राखिएको सुनको तौल लिएको थियो।

पशुपतिनाथको सुन काण्डले रुवावासी

अनुसन्धान गर्दा १ किलो ४ सय ९१ ग्राम सुन हिनामिना भएको पुष्टि गर्दै अख्तियारले बल्ल आइतबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदीप ढकाल, हालका सदस्य सचिव डा. मिलन कुमार थापा र अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुविरुद्ध जनही एक करोड १७ लाख बिगो माग दाबी गरिएको अख्तियारले जनाएको छ।

आयोग गठन

सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दलको धम्की पछि सरकारले छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्टै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको हो।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। आयोग गठन नभए संसद्को काम कारबाही अगाडि बढ्न नसक्ने ओलीको चेतावनी पछि बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा आयोगको सदस्य छन्। सत्ता र प्रतिपक्षीबीच आयोगको क्षेत्राधिकारमा रहेको विवाद अन्त्य भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन।

आयोगले तीन महिनाको समय पाएको छ। सुन तस्करीको छानबिन गर्न आयोग गठन भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक चल्न दिएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन र अमेरिका भ्रमण सफल भएको दाबी सुनाए भने संविधान जारी भएको आठ वर्ष पछि विद्यालय शिक्षा विधेयक पेस भएको छ। विधेयकमा शिक्षकको पेसागत हक अधिकारलाई सुनिश्चित गरिएको दाबी शिक्षामन्त्री अशोक राईले गरे।

किलोका किलो सुन तस्करी

सुन तस्करीको छानबिन गर्न सत्ता र प्रतिपक्षीबीच माथापच्छी भइरहँदा नेपालमा किलोका किलो सुन भित्रिरहेको छ। त्रिभुवन विमानस्थलमा कडाइ भएसँगै तस्करहरूले मान्छेको आवत जावत खुल्ला हुन थालेका चीनसँगका नाकाबाट किलोका किलो सुन ल्याउन थालेका हुन्।

कोभिड सुरु भएदेखि बन्द रहेका चिनियाँ नाका खुल्ला भएसँगै तस्करका लागि सुन भित्र्याउने सजिलो बाटो बनेका छन्। विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको ६१ किलो सुन बरामद भएसँगै तस्करहरूले चिनियाँ नाका प्रयोग गरेको खुलेको हो।

दोलखाको लामाबगर, फलेक र रसुवाको रसुवागढी नाका पछिल्लो समय सुन तस्करी गर्ने बाटो बनेको छ। चीनसँग सीमा जोडिएको दोलखाको फलेक नाकाबाट आइतबार मात्रै चार किलो सुन बरामद भएको छ।

योसँगै दोलखाबाट मात्रै ११ किलो बरामद भएको प्रहरीले जनाएको छ। यो सधैँ बन्द रहने नाका भए पनि विभिन्न स्थानबाट लुकिछिपी मानिसहरू आवतजावत गर्ने गरेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहितको टोलीले रसुवागढी नाकाबाट पछिल्लो समय तीन किलो सुन बरामद गरेको छ।

पशुपतिनाथको जलहरी : राष्ट्रपतिदेखि मन्त्री सम्मको नाम भेटिएपछि आलोचना

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.