पशुपतिनाथको सुन काण्डले रुवावासी

पशुपतिनाथको सुन काण्डले रुवावासी

काठमाडौं : पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउँदा हराएको सुन काण्डले संसदीय समितिमा रुवावासी चलेको छ। राज्यले दिएको निर्देशनमा सुन राख्नु गलत नभएको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापा समितिको बैठकमा आँसु झारेर रोए।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको मङ्गलवार बसेको बैठकमा थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा सुनको जलहरी राखिएको बताए। ‘राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो? त्यतिखेर सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्थ्यो। सम्माननीय राष्ट्रपति विद्या भण्डारीज्यू हुनुहुन्थ्यो। उहाँहरूको निर्देशनमा हामीलाई शिवरात्रि भरीमा त्यो सकाउनु भनिएको थियो। हामीले सकायौँ,’उनले सोधे,‘गल्ती के गर्‍यौ?’

उनले सुन हराएको हो भने नेपाली सेनाले जिम्मा लिनु पर्ने कि नपर्ने भनेर प्रश्न समेत गरे। ‘अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको भिडियो अहिले आइरहेको छ। सेनालाई विश्वास गर्ने कि नगर्ने?’सदस्य सचिव थापाले भने,‘यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिएँ।’

आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यही हो? भनेर पनि प्रश्न गरे।

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरुपयोग गरेर बाँच्नु नपर्ने पनि बताए।

उनले यो केशमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र? सांसदहरूसँग जिज्ञासा राखे। ‘मलाई पशुपतिको भेटी तलमाथि गरेर कुनै जग्गा, जमिन बेचेर खानु छैन। धनी र गरिब मर्दा एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु,’उनले भने,‘यो भन्दा धेरै बुझेको छैन। यो सुनको जलहरीका विषयमा मैले पनि न्याय माग्न के आत्महत्या गर्नुपर्ने हो? माननीयज्यूहरू। म यो सुनको जलहरी समितिको संयोजक हो। यसमा नेपाल राष्ट्र बैङ्कले दिएको सम्झौता अनुसार हामीले सुन लिएर आएका छौँ–१०३ केजी।’

पशुपतिनाथको जलहरीमा सुन कि पित्तल भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सरकार बाध्य

९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको र १० केजी भएको छैन भनेपछि माईन्यूटमा नलेख्नु गल्ती भएको थापाले स्वीकार गरे।

‘१० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। जोख्दा थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो भनेर। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु,’थापाले भने, ‘आज मेरो गाउँभरि बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्। (गहभरि आँसु पार्दै) अन्यथा नलिनु होला। म कमजोर होइन। तर राज्यले कमजोरी बनायो नि त। आयोगले छानबिन गर्न नपर्ने? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउनु यो च्यालेन्ज हो। पुगेन पनि फाँसी देऊ भनेको।’

बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए।

प्रतिनिधिसभाको बैठकमा सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन हराउनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिएपछि हङ्गामा भएको थियो।

संसद् नै चल्न नदिने एमालेको धम्की पछि सांसद दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको थियो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading