भ्रष्टाचार नियन्त्रणमा सरकार ट्र्यापमा, प्रधानमन्त्रीलाई नै सुरक्षा थ्रेट

भ्रष्टाचार नियन्त्रणमा सरकार ट्र्यापमा, प्रधानमन्त्रीलाई नै सुरक्षा थ्रेट

काठमाडौं : भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिपक्षी दलको ट्र्यापमा परेको छ। स्वास्थ्य सामग्री खरिददेखि पशुपतिनाथको जलहरीमा सुन कि पित्तल भन्ने अभिव्यक्ति दिने सत्तारुढ दलका सांसदको अभिव्यक्ति नै संसद्को रेकर्डबाट हटाउन सरकार बाध्य भएको छ।

अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाउने सांसद लेखनाथ दाहालले माफी माग्नु पर्ने अडान राखेको एमालेले अन्ततः अभिव्यक्ति रेकर्डबाट हटाउने निर्देशनसँगै संसद्को अवरोध अन्त्य गरेको छ।

संसदीय छानबिन समिति गठन गर्ने सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ओलीविरुद्धको अभिव्यक्ति हटाउने निर्देशन दिन बाध्य बनाएको हो।

जलहरी लगाउने काम गर्ने जिम्मेवारी पशुपति विकास कोषको रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई चोख्याउने प्रयास गरेका छन्।

पशुपतिनाथमा लगाइएको जलहरी सुन कि पित्तल हो भन्नेबारे संसद्मा चर्चा उठेको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सरकारले सघाउने प्रचण्डले बताए।

प्रमुख तीन दलको मिलीभगतमा पशुपतिनाथको जलहरी प्रकरण संसद्को रेकर्डबाट हटाइएको छ। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले नै सो प्रकरणमा प्रतिपक्ष दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित नहुने भन्दै यस्ता भनाइहरू संसद्को रेकर्डबाट हटाउने परम्परा रहेको बताए।

‘पशुपतिनाथको जलहरीलगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन अनुसन्धान भइरहेको छ। यस विषयमा आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग रहनेछ,’ प्रचण्डले भने, ‘पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन। यस्ता विषयमा संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ।’

सभामुख देवराज घिमिरेले सांसद दाहालले राखेको विचारमा पशुपतिमा सुनको भनेर पित्तल राखेको र स्वास्थ्य सामग्री खरिदमा २ अर्बको भ्रष्टाचार भएको भन्ने विषय संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए।

शीर्ष नेताहरूबिच शनिवार बिहान बैठक बसेपछि प्रधानमन्त्रीले बोल्ने, सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने र संसद् अघि बढाउने सहमति भएको थियो।

प्रधानमन्त्रीलाई नै सुरक्षा थ्रेट

भ्रष्टाचारका विषयमा सडक देखि सदनसम्मै खबरदारी हुन थालेसँगै राजनीतिक दलका नेताहरू झस्किन थालेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा एक अर्कामा दोष थोपर्दै चोखिन खोज्ने प्रवृत्ति दलहरूमा हाबी भएका बेला भ्रष्टाचारको फायल खोल्ने जस लिने प्रतिस्पर्धा देखिन थालेको छ।

भ्रष्टाचारका फायल खोल्दा अमूख पार्टीका अध्यक्ष नै तानिने त हैन भन्ने भएबाट त्रसित दलहरू समयमै नसच्चिए यही प्रकरणबाट उनीहरूको अस्तीत्वनै खतरामा पर्न सक्ने टिप्पणी समेत हुन थालेको छ।

भ्रष्टाचारका नयाँ नयाँ प्रकरण बाहिरिँदै गर्दा प्रधानमन्त्री प्रचण्डले यही प्रकरणकै कारण आफूमा सुरक्षा थ्रेट बढेको भन्दै जुन सुकै बेला मारिए पनि केही समय भित्रै अर्को ठुलो प्रकरण बाहिर ल्याउने तयारीमा रहेको बताएका छन्।

‘जस्तोसुकै समस्या परे पनि भ्रष्टाचार र बेथितिविरुद्ध लडाई चलाउने जनयुद्धको बेलामा जुन सङ्कल्पबाट हामफालेको थियो। अहिले भ्रष्टाचार र विकृति विरुद्धको लडाइँमा म त्यही मानसिकतासित हामफालेको अनुभव हुन्छ। अहिले भ्रष्टाचार, विसंगतिविरूद्धको यो लडाइँ अघि बढाइएको छ। जसरी हिजो कहाँ कुन बेला मरिने थाहा नभए पनि युद्धमा होमियौँ, अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन,’प्रचण्डले भने,‘कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ।’

नेपाली काँग्रेसले पनि अब सबै दल एक ठाउँमा उभिनुपर्ने बेला आएको र २००७ साल देखिकै फायल खोल्नुपर्ने बताएको छ। काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कारबाहीको सन्दर्भमा कुनै मोलाहिजा राख्न नहुने बताए।

‘केपी शर्मा अ‍ोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने प्रयास भइरहेको छ भन्नुभयो। को दोषी को निर्दोषी नेपाल प्रहरीले छानबिन गर्दैछ। यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौँ। कि अमुक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ। उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति राखिने कुरामा विमति प्रकट गर्दछु,’शर्माले भने,‘यो प्रकरणमा कोही आवेगमा आउनु जरुरी छैन।’

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टहरूको विषयमा निर्मम भएर लाग्ने बताएको छ। सभापति रवि लामिछानेले भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म विश्राम नलिने बताए। उनले जतिसुकै घेराबन्दी भए पनि भ्रष्टाचारको जरो उखेलेर फाल्ने बताए।

‘कुनै पनि भ्रष्टको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौँ। यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला। कत्रो सजाय भोग्नुपर्छ होला, मलाई थाहा छैन तर मलाई मतलब छैन। नेपाली जनताले त्यसै भोट हालेका होइनन्। नेता र पार्टी नभएर होइन। नेपाली जनताले यो भ्रष्टाचार चाहिँ निर्मूल पार्नु पर्‍यो भनेर घण्टी बजाएका हुन्। यो हामीले बुझेका छौँ,’लामिछानेले भने,‘जतिसुकै घेराबन्दी होस्। जतिसुकै मुद्दा चल्दै गरून्। भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौँ। अरू विवाद हामी गर्दै गरौँला।’

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा देशका लागि लज्जास्पद घटना भएको बताएका छन्। यो प्रकरणले देशको अस्मिता लुटिएको खनालले टिप्पणी गरे। उनले अपराध नगरेको मान्छेलाई फसाउन खोजिए सतर्क रहन आग्रह गर्दै अपराधीलाई त्यसै छोड्न नहुने बताए।

‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो लज्जास्पद छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अनुसन्धान प्रक्रियालाई पूर्ण रूपले टुङ्गोमा लैजानबाट वञ्चित गरियो भने नेपाली नेपाली जनताले सहन गर्नेवाला छैनन्,’खनालले भने,‘आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’

नक्कली शरणार्थी : निर्दोष फस्ने, दोषी उम्कने चिन्ता

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading