नेपाली भाषी भुटानीहरूले देश छाड्नुको धेरै मध्ये एक कारण भेष, भूषा र भाषा पनि हो। आफूले लगाउने दौरा सुरुवाल, ढाका टोपी, चौबन्दी र साडी चोलो भन्दा बेग्लै पहिरन हो भुटानको राष्ट्रिय पोसाक बक्खु र किरा।
नेपाली पोसाक छाडेर त्यो पोसाकसँग आफ्नो संस्कार संस्कृतिको सौदाबाजी गर्न नसक्दा र नेपाली भाषा छाडेर भुटानको राष्ट्रिय भाषा जोङ्खा अङ्गाल्न नसक्नु वा आफ्नो भाषा नेपाली भाषा त्याग्न नसक्दा देश नै छाड्नु पर्यो।
शरणार्थी शिविर देखी अमेरिका आउँदा सम्म पनि न बाबाहरूको सिरको ढाका टोपी ढल्यो न त आमाहरूको चौबन्दी र साडी नै फुस्कियो। अझ यिनले त आफ्नो भाषा, संस्कार र धर्म कहिल्यै छाडेनन्।
हिन्दुहरूका धर्म गुरु देखि भुटानी समाज चिन्ने सबैले भन्ने गर्छन् कि भुटानीहरूले जति भाषा र धर्मको सम्मान अरूले सायदै गर्लान्। भुटानीहरूले पुर्नवास पछि पनि धर्म बचाइ रहेका छन्। श्री वैष्णव परिषद् अमेरिका, श्री वैष्णव परिषद् ह्यारिसबर्ग, हिन्दु धर्म तथा संस्कृति सङ्गठन (ओएचआरसी) ग्लोबल भुटनिज हिन्दु अर्गनाइजेशन, श्री कृष्ण मन्दिर आदी धार्मिक संस्थाहरू यी भुटानीहरूले या यिनकै अगुवाइमा छन् र यहाँ दैनिक जसो धार्मिक वा आध्यात्मिक गतिविधि हुन्छन्।
भुटानीहरूले जहाँ गए नि आफ्नो धर्म छाडेका छैनन् र छाड्ने पनि छैनन् भन्ने प्रस्ट भइसकेको छ। यसरी नै मानव धर्म, किरात, बौद्ध धर्मावलम्वीहरूले पनि एक जुट भएर आफ्नो भाषा, संस्कार र संस्कृतिको जगेर्ना गरिरहेका छन्। किराँती भेषमा उभौली, बाइजीहरूको प्रवचन वा गुम्बा तिर लामाहरूको दर्शन पाउँदा तिनका अनुनयहरू मक्ख छन् र आफैले पालना गरेको संस्कार नयाँ पुस्तालाई सिकाइरहेका छन्।
सवाल रह्यो भेस र भाषाको:
आज पनि अमेरिकामा बाबाहरूको सिरमा ढाका टोपी नै हुन्छ चाहे गर्मी होस या जाडो, दौरा सुरुवाल र कमिजमा जति आनन्द यिनले अरू कुनै पोसाकमा पाउदैनन, यता आमाहरूको पनि त्यस्तै छ। छोटा कपडा र पश्चिमी पहिरन भन्दा साडी चोलीमै रमाउँछन् उनीहरू पनि। युवा पुस्ताले चाड पर्व, मठ मन्दिर र धार्मिक गतिविधिमा सामेल हुँदा नेपाली पन झल्कने पोसाक नै लगाएका हुन्छन्। प्रत्येक भुटानीहरूको कपडा होस या खाद्यान्न पसलमा हाम्रो संस्कृति झल्कने पोसाक, सर सामान, गरगहना नपाउने कुरै हुन्न।
भुटानले नचिनेको नागरिक
भुटानले यी सोझा नागरिकलाई कहिले नै आफ्नो ठान्न सकेन तर यी भूमि पुत्रहरूले त्यो देश कहिल्यै भुल्न सकेनन् र भुल्ने पनि छैनन्। यदि अझ पनि यी मानिसलाई स्विकार्नु हो भने यी पुर्नासित भुटानीहरू पर्यटक बनेर भुटान जाने थिए, त्यहाँको संस्कार र संस्कृति, जातीय र धार्मिक मेलमिलापको नारा घन्काउँदै भुटानमा पर्यटनको माहौल सिर्जना गर्दै देश विकासमा यिनले ठुलै भूमिका निर्वाह गर्ने थिए।
छाडिएका, विपन्न र दुखिले त यी मानिसहरूबाट ठुलै लाभ लिने थिए किनकि यी भुटानीलाई दुख र पिडा के हो मज्जाले थाहा छ र दुखीलाई जहिल्यै नि सहयोग गरी नै रहन्छ। यी मानिसलाई एकातिर आफ्नो अधिकार र अर्को तिर धर्म र सत्यता छान्न दिने हो यिनले धर्म र सत्यता नै छान्छन्।
शिक्षा नै महत्त्वपूर्ण साथी
हिजो शरणागत अवस्थामा रहँदा यी भुटानीहरूलाई कसैको सहयोगमा कारितास नेपालले शिक्षाको ज्योति फैलायो र यिनलाई शिक्षित बनायो। पुर्नवास पछि पनि यिनलाई हेर्ने हो भने १० जनामा ६ जना युवाले स्तरीय काम नै गरेका छन्। कोही रियल स्टेटमा छन् त कोही व्यवसायी, अमेरिकी सेना, प्रहरी, राजनीति देखि समाजसेवा सम्म गरिरहेका छन्। ग्लोबल भुटनिज अर्गनाइजेशन (जिबीओ) ले भुटानी शरणार्थी शिविर र आसपासका बालबालिकालाई शिक्षाको ज्योति फैलाइरहेको छ भने पुण्य फाउन्डेसन विभिन्न देशका विपन्न बालबालिकालाई शिक्षित बनाउने कार्यमा जुटेको छ।
जिबीओका अध्यक्ष डिबी राईले दिएको जानकारी अनुसार भुटान भित्रका विद्यार्थीले पनि सो संस्थासँग गोप्य रूपमा अनुदान मागिरहेका हुन्छन् र कति पयलाई त दिइनै रहेको हुन्छ तर लुकीछिपी राहत दिँदा सही ठाउँमा नपुग्ने पो कि भन्ने चिन्ता पनि राईले व्यक्त गरे। यदि भुटानले यी मानिसलाई भुटान जाने र आउने वातावरण मात्र मिलाउने हो भने यो संस्थाले भुटानमा पनि काम गर्ने राईले बताए। जिबिओले नेपालमा २२ शिक्षक शिक्षिका र करिब ३०० बालबालिकालाई नेपाली रुपैयाँ ५.५ मिलियन वार्षिक रूपमा खर्च गर्दै आएको दाबी समेत गरेको छ।
शिक्षाको महत्त्व बुझेका यो समुदायको यहाँ पनि स्कुल ड्रप भने कमै छन्, काम गर्दै ब्याचलर, मास्टर गर्ने अनगिन्ती छन् भने मेडिकल डाक्टर, नर्स, पिएचडी, इन्जिनियर, पाइलटहरू भएका छन्।
भाषा संरक्षणमा भुटानी अमेरिकन
नेपाली भाषी भुटानीहरूले अमेरिकामा पुनर्स्थापन भए पछि पनि भाषा र संस्कृति भुल्न सकेका छैनन्। एस एन्ड के एजुकेसनले अमेरिकामा नेपाली भाषामा पुस्तक प्रकाशन गर्ने, पुस्तकालय बिस्तार र नेपाली पठनपाठनको काम गरिरहेको संस्थाका कृष्ण रेग्मीले जानकारी गराए। करिब १ लाख डलर लगानी गरिसकेको रेग्मीले बताए। त्यस्तै ओएचआरसीले पनि नेपाली कक्षा सञ्चालन गरिरहेको छ।
साहित्य परिषद् भुटान, मातृभाषा संरक्षण समूह, त्रिवेणी साहित्यिक मञ्च, भुटान गजल मञ्चहरूले भाषा संरक्षणमा ठुलै भूमिका निर्वाह गरेका छन्। विश्व भुटानी साहित्यिक सङ्गठनले पनि १०० भन्दा बडी बालबालिकालाई ग्लोबल एडुकेशन कार्यक्रम मार्फत अमेरिकामा नेपाली भाषा अध्ययन, अध्यापन गराइरहेको संस्थाका महासचिव पातलो अन्तरेले जानकारी गराए।
त्यसो त किरण गजमेर र करण राईले पनि अमेरिकन आइडलमा आफूलाई प्रस्तुत गर्ने सक्थे होला, तर यिनीहरूले भाषाको महत्त्व बुझेका छन् र नेपाली भाषालाई प्राथमिकता दिँदै सामेल बने, विजेता बने। तर यिनले विश्वसामु एउटा गतिलो सन्देश पनि पर्बाह गरेका छन्। हामी बरु देश नै छाड्छौ तर भाषा र संस्कृतिमा कुनै सम्झौता हुन्न भन्ने सन्देश दिएका छन्।
यस्तै भुटानले खेदेका अर्का व्यक्ति हुन डिल्ली अधिकारी। यिनले नेपाली भाषाको संरक्षण मात्र होइन, भाषालाई विश्वभर चिनाउन इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका नामक संस्था नै खोलेर भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन्। फाउन्डेसनले विश्वभरका नेपाली भाषीलाई नेपालमै लगेर मेरो डान्स र मेरो भाइस मार्फत भाषाको प्रचार गर्दै नेपाललाई विश्वसामु चिनाउने काम गर्दा अधिकारी भने विवादित बने। भुटानको इतिहास बङ्ग्याउने गरी अभिव्यक्ति दिएको भन्दै चौतर्फी आलोचनामा परे अधिकारी।
२००८ पछि अमेरिकामा नेपाली कार्यक्रम पनि धेरै बढेको पाइन्छ। नेपाली कलाकार, गायक गायिकाहरूलाई यी भुटानीहरूले आफ्नो कार्यक्रममा देउतालाई झैँ स्थान र सम्मान दिँदै आएका छन्। कुलाग्ङ्ग्रीको भन्दा सगरमाथाको धेरै गुणगान गाउँछन् यी भुटानीहरू। एमादाची होइन गुन्द्रुकमै रमाउँछन् आज पनि। देशको सिमानाले टाढा बनाए पनि भाषा र संस्कृतिले भुटानीलाई नेपालसँग जोडेको छ।
संस्कृति :
हामी यो मन त मेरो नेपाली हो मात्र भन्ने होइन, दौरा सुरुवाल, ढाका टोपी र चौबन्दीमा रमाउने समाजका मान्छे हौ। बरु देश छाड्यौ, संस्कृति र सभ्यता आज पनि छाडेका छैनौ। त्यसो त भुटनिज अमेरिकन अगम गुरुले सञ्चालन गरेको डेरी स्ट्रिटको रेस्टुरेन्टमा जाने हो भने मोमो सँगै हाम्रो सबै संस्कृति र सभ्यता त्यही पाइन्छ।
अब के त?
पेन्स्लभेनियको ह्यरीसबर्गलाई हेर्ने हो भने डेरी स्ट्रिट तिर त प्राय पुर्नबासी भुटानीहरूकै व्यापार व्यवसायको हब नै मानिन्छ। यी भुटानीहरूले आफ्नो पसल, कार्यालयमा नेपाल वा भुटान चिनिने गरेर कि त देशको झन्डा कि त देश झल्कने तस्बिर राखेर नेपाली भाषामा सेवा दिएका छन्। यहाँको भुटनिर कम्युनिटी इन ह्यरीसबर्गले नेपाली कर्मचारी नै राखेर जनतालाई निःशुल्क सेवा दिएकै छ। अब पुनर्वास पछि आफूले यही ठाउँलाई आफ्नो घर मानेका यी लगनशील भुटानीहरूले मुख्यतः एउटा राष्ट्रिय स्थिरको सङ्गठन खोल्न र भाषा र संस्कृतिको जगेर्ना गर्न कति पनि ढिला गर्नु हुन्न नत्र हामी पनि विलय हुन कति समय नै लाग्दैन।
जय भाषा!! जय संस्कृति!!!
(निरौला पूर्वभुटानी शरणार्थी हुन्। तेस्रो मुलुक पुनर्वासका क्रममा हाल अमेरिका रहेका उनी अमेरिकामा पत्रकारिता गरिरहेका छन्। उनी सन् २०२१ मा अमेरिकी राष्ट्रपतिबाट विभूषित भएका थिए। उनी हालै प्रकाशित ‘द फरगटन स्टोरी’ पुस्तकका लेखक हुन्)
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.