प्रधानमन्त्रीले नबुझेको सेम जेण्डर म्यारिज के हो?

प्रधानमन्त्रीले नबुझेको सेम जेण्डर म्यारिज के हो?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अङ्ग्रेजीमा दिएको जवाफ भाइरल भएको छ। सामाजिक सञ्जालमामा यति पनि नबुझ्ने सम्मको गाली ओलीले खाएका छन्। उनी विवादमा तानिने भनेकै उनको बोलीले हो।

सामाजिक सञ्जालमा सुभाष पौडेलले लेखेका छन्,’देशको जिम्मेवारी बोकेको, पदमा भएको मान्छेले त Lgbtqia+ को simple definition त बुझेको छैन भन्छ भने अधिकारका लागि पहल गर्ने त कुरै भएन, तिम्रो काम छैन केपी बा धेरै बुढो भइसक्यौ हामीलाई शिक्षित युवा नेतृत्व चाहिन्छ, १०० वर्ष पुरानो सोचाइले देश चल्दैन।’

प्रधानमन्त्री ओलीले सुरुमै धेरै जानकारी नभएको विषय भनेका छन्। उनले जेण्डर इक्वालिटी हुनु पर्ने बताए। संविधानमा नभएको अङ्ग्रेजी प्रश्नले ओलीलाई फनफनती घुमाएन मात्रै नजिकै रहेका नायक राजेश हमालको समेत सहयता लिनुपर्ने बनायो। ‘अहिले के के भन्नु भयो नि क्युसम्मको,’राजेश हमालको सहयोग लिएर ओलीले भने,’एलजीबीटीक्यु सबैले अधिकार प्राप्त गर्नुपर्दछ।’

तर, सेम जेण्डरकाबीचमा म्यारिज गर्ने कुरा भने आफूले नबुझेको ओलीले बताए। प्रश्नकर्ता थिए, भारतमा अध्ययन गरेर नेपालमा विभिन्न ब्रान्डहरूले गर्ने ‘फेसन सो’ मा मोडलिङ गर्दै आएका पराक्रम राणा

फेसबुकमा मिक्हाङ मगरले लेखेका छन्,’हाम्रो देश को नेता हरू अनपढ गँवार ८-८ कक्षा फेल छ भनेर थाहा हुँदा हुँदै अङ्ग्रेजी मा किन सोध्न पर्‍यो काइते ले फेरि।’

नेपालको संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार नेपाली भाषामा लेखिएको कमै याद भएर पनि हुन सक्छ, उनले प्रधानमन्त्री ओलीलाई अङ्ग्रेजीमा प्रश्न गरे। सोधे, एलजीबीटीआईक्यूको अधिकार।

प्रधानमन्त्री ओलीले संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पढेका थिए। प्रश्नकर्ताले ए देखि क्युसम्मको अधिकारबारे सोधेपछि अक मकिए ओली। नेपालले पहिचान दिएको बाहेक अन्यत्रबाट आयातित शब्दावलीमा प्रधानमन्त्री ओलीले बुझ्ने प्रयास गर्ने बताए।

काठमाडौं यूथ कन्क्लेभ २०२४ मा पराक्रमले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफ भाइरल भइरहँदा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिलाई बुझ्नेहरू बढ्दै गएको देखिएको छ।

सौरभ रावतको प्रतिक्रिया यस्तो छ,’एउटाले प्रश्न नबुझेर ताई न तुइँको कुरा गरिराछ , त्यसैमा भेडाहरू हुटिङ गर्दै छन्, कति सम्म झोले बन्छौ ओ नेपाली।’

प्रधानमन्त्री ओलीले सेम जेण्डर म्यारिज आफूलाई थाहा नभएको बताए पनि नेपाल समलिङ्गी (इन्द्रेणी) विवाहलाई मान्यता दिने दक्षिण एसियामै पहिलो देश बनेको छ। लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा १३ मङ्सिर २०८० मा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको जोडीले पहिलो समलिङ्गी विवाह दर्ता गराइसकेका छन्।

माया र सुरेन्द्रले रचे इतिहास, स्थानीय तहमै गरे विवाह दर्ता (भिडियो)

१२ असार २०८० मा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश पछि माया र सुरेन्द्रसहित हालसम्म तीन जोडी समलिङ्गी तेस्रो लिङ्गीले विवाह दर्ता गराइसकेका छन्। सबै थाहा हुने प्रधानमन्त्री ओली समलिङ्गी विवाह दर्ता भएकोबारे बेखवर कसरी हुन सक्लान्?

मायाको पहिचान नेपालको लिखित आग्रहमा १२ वैशाख २०८१ मा गृहमन्त्रीस्तरिय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले समलिङ्गी तेस्रो लिङ्गीलाई लैङ्गिक पहिचान खुलाएर विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिसकेको छ।

पहिलो लेस्बियन जोडी : पाए समलिङ्गी विवाह दर्ता प्रमाणपत्र

तर, प्रधानमन्त्री ओलीले सेम जेण्डर म्यारिजबारे आफूले नबुझेको जवाफ दिएका छन्। सबै कुरा नबुझेको पनि हुनसक्छ,प्रधानमन्त्री ओलीले भने,बुझेको रैन छु भने बुझ्ने प्रयास गर्छु। सेम जेण्डर म्यारिज र समलिङ्गी विवाह एउटै हो। तर, प्रधानमन्त्री ओलीले प्रश्न अङ्ग्रेजीमा गर्नेलाई अङ्ग्रेजीमै जवाफ दिँदा सेमजेण्डर म्यारिज भनेका हुन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी)हरुले हरेक व्यक्तिलाई आफ्नो पहिचानबारे बुझाउनु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको जवाफले नै पुष्टि गरेको टिप्पणी समेत सार्वजनिक भएका छन्।

राज्यले आफ्ना नागरिकलाई दिएको अधिकार थाहा नपाउने व्यक्ति मन्त्री, प्रधानमन्त्री बन्दा यो समुदायका व्यक्तिहरू अझै पनि अधिकारका लागि सङ्घर्ष गर्न बाध्य छन्। हरेक पटक बन्ने मन्त्री र प्रधानमन्त्रीसँग अधिकार लिन हारगुहार गरिरहनु परेको सुनाउँछन् समुदायका सदस्यहरू।

सरकारले आफूहरूका मागमा सुनुवाइ नगरेको भन्दै सर्वोच्च अदालतमा रिट नै दायर गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूले। मायाको पहिचान नेपालले निर्वाचन कानुन र निजामती सेवामा आरक्षणको व्यवस्था गर्न सर्वोच्च अदालतमा रिट दायर गरेको छ। अग्राधिकार दिएको रिटमा पूर्ण सुनुवाइ हुन भने बाँकी छ।

अधिकारसँगै कर्तव्य भुल्न नहुने भन्दै मायाको पहिचान नेपालले पहिलो पटक इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन गरेको छ। विदेशी पर्यटकलाई आकर्षित गराउन नेपाली परम्परा अनुसारका जात्रा पर्व मनाइरहेको छ।

सुशान्तले पाए एक लाख

‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ मा सुशान्त खत्रीले एक लाख रुपैयाँको ‘यूथ आइकन नेपाल’ पुरस्कार पाए। फोनेक्श कलेज अफ म्यानेजमेन्ट युनिभर्सल कलेजद्वारा आयोजित काठमाडौँ यूथ कन्क्लेभमा नृत्यको माध्यमबाट नेपाललाई विश्वमा चिनाएको भन्दै खत्रीलाई एक लाख रुपैयाँको ‘यूथ आइकन नेपाल’ पुरस्कार पनि प्रदान गरिएको छ।

प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गरेपछि युवा उत्थान, युवा विकास, युवा सशक्तीकरणबाट मात्रै देश अगाडि बढाउन सकिने सुनाए।

युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले आयोजित ‘काठमाडौँ यूथ कन्क्लेभ २०२४’ मा उनले भने,‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा सशक्तीकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, सरकारका अहिलेका सबै प्रयास त्यसका लागि हो।’

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि एक आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभले उत्कृष्ट कार्य गर्न सफल भएको अपेक्षा कन्क्लेभका संयोजक राजु टण्डनले गरे।

सुन्नुहोस् टण्डनसँगको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.