निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हामी किन बिरामी हुन्छौँ? कसरी स्वस्थ रहन सक्छौँ?

हामी किन बिरामी हुन्छौँ? कसरी स्वस्थ रहन सक्छौँ?

151
SHARES

शरीर आफै एउटा शक्ति हो। शक्ति हुँदा हुँदै पनि किन हामी बिरामी हुन्छौँ त? यसका पछाडि विभिन्न कारण हुन्छन्। त्यसमध्येको सबैभन्दा मुख्य कारण विभिन्न समयमा दबिएर रहेका भावना र बिचारहरू हुन्। आमाको पेटमा आएदेखि नै कुनै न कुनै प्रकारका भावनात्मक असरहरू आमाको मनमा परेका हुन्छन्। आवश्यक माया, सदभाव, सान्त्वना, अनि चाहिने जति भिटामिन र प्रोटिनको कमी हुन सक्छ। यस्तो अवस्थामा जन्मिँदै शरीरमा कुनै न कुनै रूपमा शारीरिक ऊर्जामा कमी रहन्छ। यो ऊर्जालाई होमियोप्याथिक चिकित्सामा भाइटल फोर्स भनिन्छ।

हाम्रा पितापुर्खासँग रहेका रोगको अंश पनि जिन मार्फत हाम्रो शरीरमा आएका हुन्छन्। त्यसैले वंशाणुगत समस्या, पेटमा हुँदा देखिनै आमाले भोगेका समस्याको केही भाग र जन्मपछि आफूले भोग्दै आएका अपमान, निराशा, अभाव, दुःख, पिडाका कारण हाम्रो शरीरको ऊर्जामा कमी या बिचलन आउँछ अथवा ऊर्जा बिचलित हुन पुग्छ। यस्तो बेलामा भित्री या बाहिरी सङ्क्रमण बढ्न थाल्छ। यसलाई अरू सहयोग गर्छ वातावरण, अस्वस्थकर खानपान र तनावले। यसरी एकै पटक रोगका कारणलाई शरीरमा रहेको ऊर्जाले प्रतिकार गर्न नसक्ता रोग लाग्छ या बिरामी भइन्छ। होमियोप्याथिक चिकित्सामा उपचार गर्दा जीवनमा भोग्नु परेका सबै विषयलाई जानेर र त्यस्तै कारण र लक्षण भएका औषधि दिइने हुँदा रोग जरैदेखि निको हुन्छ। त्यसैले कुनै इमरजेन्सी बाहेक प्राकृतिक चिकित्सा अपनाउनु राम्रो हो। यसले शरीरमा विचलित भएको ऊर्जालाई पुनः सक्रिय बनाउँछ।

विकसित देशमा विवाहित जोडीलाई विशेष ध्यान र सम्मान दिइने गरिन्छ। त्यसमा पनि गर्भवती महिलालाई सरकारको तर्फबाट विशेष सहयोग हुन्छ। राम्रो पोषण र उपचार दिइन्छ। यसको कारण भनेकै स्वस्थ शिशु जन्मनु हो। शिशु जति स्वस्थ जन्मिन्छ उसको भविष्य त्यति नै राम्रो रहन्छ भन्ने दीर्घकालीन सोच हुन्छ। जन्मपछि समयमा खोप, पोषण, माया, स्याहार अनि डर विहीन विद्यालय आवश्यक हुन्छ। यसरी हुर्किन पाएका नानीहरूको ऊर्जा शक्ति उच्च हुन्छ र उनीहरू कमै बिरामी पर्छन्। तर हाम्रो देशमा अज पनि छोरा र छोरीमा विभेद कायमै छ। जन्मपछि गरिने स्याहार पनि उचित हुँदैन। विद्यालयको पढाइमा पनि विभेदै छ। अब तिनै छोरीहरूले विवाहपछि जन्माउने सन्तान के स्वस्थ हुन्छन् त? पक्कै पनि हुँदैनन्। त्यसैले गरिब मुलुकमा जन्मिएका धेरै सन्तान र आमाबुबा बिरामी परिरहन्छन् भने उपचारका दौरान घरखेत बेचेर सुकुम्वासी हुने अवस्था छ। यो क्रम तीव्र रूपमा बढेर गएको छ। कुनै एक विद्धानले भनेका थिए “देश कति धनी छ भनेर जान्न त्यो देशका नागरिक कति स्वास्थ्य छन् भनेर हेरे पुग्छ।” त्यसैले हरेक देशका सरकार र प्रत्येक मानिसले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नु पर्छ।

धर्मगुरु दलाई लामाले भनेका छन् “मानिस दिनरात नभनी, नसुती नसुती, स्वास्थ्यकर खाना नखाई सम्पत्ति जोड्छ। सम्पत्ति जोडने ध्याउन्नमा उसले आफ्नो स्वास्थ्य बिर्सिन्छ। जब बिरामी पर्छ त्यही कमाएको पैसा सकेर पनि पूर्ण स्वस्थ हुन सक्तैन भने त्यसरी कमाउनुको के अर्थ हुन्छ? जीवनमा पैसा चाहिन्छ र कमाउनु पनि पर्छ तर आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर।

रोग लान्ने अर्को कारण हो अनावश्यक लोभ। त्यो पनि मेरो, त्यो पनि मलाई चाहिन्छ, यो त मनै खाइसक्छु, मलाई पुगेन, अझ त्यो विना त हुँदै हुँदैन जो अर्काको अधीनमा हुन्छन् या अरूको पनि दाबी हुन्छ, त्यसमा पनि लोभ गरेपछि के होला? के यी सबै बस्तुहरू हामीले लिएर आएका हौँ अनि साथै लिएर जान्छौँ त? होइन, न केही लिएर आयौँ न लिएर जान्छौँ। हामीलाई आवश्यक वस्तु यहीँ जोडियो र जोडेका पनि छाडेर जाने हो भने किन अनावश्यक लोभ? भनिन्छ, “लोभले लाभ र लाभले विलाप।”

यसरी नै रोग लाग्ने अर्को कारण हो इष्या। आफू जे गरिन्छ त्यसको फल आफैलाई प्राप्त हुन्छ। अनावश्यक इष्या र देखावटीले आफ्नै नोक्सानी हुन्छ। आफैलाई हानी हुन्छ त्यसैले त शास्त्रमा भनिएको छ काम, क्रोध, लोभ, मोह, माद र मात्सर्य दुस्मन हुन् र यिनै रोगका कारण पनि हुन। आजकल मुखको स्वाद र मिठो खाने लोभका कारण आवश्यक भन्दा धेरै र अस्वस्थकर खाना खाएर बिरामी पर्नेको सङ्ख्या धेरै छ खान नपाउनेको भन्दा। सात्त्विक भन्दा तामसी र राजसी खानामा जोड दिएका कारण शरीरको ऊर्जा खलबलिएको छ र दीर्घ रोगीको सङ्ख्या पनि बढेको छ।

विचार र सोच जस्तो हुन्छ परिणाम पनि त्यस्तै बन्छ। यदि तपाईँको मनमा, विचारमा निराशा र दुःखका कुरा पटक पटक आउँछन् या त्यस्तै कुरा मनमा खेल्छन् भने हाम्रो शरीरमा नकारात्मक असर पार्ने रसायन अथवा हर्मोन जस्तै कर्टिसोन उत्पन्न धेरै हुन्छ जसले शरीरलाई रोगको मुखतिर लैजान्छ। तनाव तर्फ लैजान्छ ,असफलता तर्फ लैजान्छ। यसले हामीमा उच्च रक्तचाप, मधुमेह, माइग्रेन, कब्जियत, अनिद्राजस्ता अनेक रोग लाग्ने सम्भावना बढेर जान्छ। तर मेरो शरीर बिरामी नै भए पनि स्वस्थ छ, म निको हुँदै छु, मलाई सहज हुँदै छ, म प्रकृति या भगवानबाट माया र आर्सीवाद पाइरहेको छु भन्ने सोच, भावना लगातार आएमा शरीरमा खुसी र शक्ति दिने रसराग जस्तै डोपामिन, अक्सिटोसिन, इन्डोरफिन आदि उत्पन्न भएर निरोगी भइन्छ।

हाम्रो शरीरको मुख्य भाग मस्तिष्क जसमा चेतन तत्त्व छ जसले सकारात्मक तर्फ लाग्न बाटो देखाउँछ। तर हामीले नै वास्ता नगरेका कारण, अनदेखा गरेका कारण, विश्वास नगरेका कारण हामी आफैमा भएको शक्तिलाई थुनेर राखेका छौँ। अब यसैलाई बाहिर निकाल्न आफैमा रमाउन, बाहिरी चमक धमक भन्दा पनि आफूभित्र रहेको चमक चिन्ने हो। उसैलाई आफ्ना कुरा सुनाउने हो। गर्न खोजेका राम्रा काम सुनाउने हो। कुनै काममा असफल हुनु भनेको त्यो भन्दा राम्रो काम हुनलाई हो भनेर आत्मविश्वास बढाउने हो।

यसरी नै ध्यान, योग र एकाग्रता अर्को सफल हुने आधार हुन्। यस्ता सोच निःशुल्क औषधि हुन् जो हामी भित्रै रहेका छन्। त्यसैले सपनामा होस या बिपनामा म स्वस्थ छु भनेर पनि बिस्तारै स्वस्थ र सफल हुन सकिन्छ।

हरेक समय, हरेक असहज अवस्थामा, हरेक विपत्तिमा सकारात्मक सोच रहेमा शरीरमा सकारात्मक रसराग लगातार उत्पन्न हुन थाल्छन् जसले सफलता तर्फ लैजान्छ। म आफू भगवान् या प्रकृतिबाट माया र शक्ति पाइरहेको छु। त्यसैले म सबैसँग धन्यवाद र आभार प्रकट गर्दछु भनेर मनमा लिइरहनु पर्छ।

हामी बिरामी हुने कारणमा उमेर अनुसारको खानाको कमी, शारीरिक व्यायामको कमी, शारीरिक निष्क्रियता, असन्तोष अनि घुलमिल हुनु नसक्नु पनि हो। सबैको घरमा स्वास्थ्यकर खान उपलब्ध नहुन सक्छ तर थोरै खर्चमा पनि पौष्टिक तत्त्व धेरै भएको खानेकुरा खाने बानी बसाउन सके हरेक पक्ष राम्रो भएर जान्छ। उदाहरणका लागि कोदो, फापर, उम्रेका गेडागुडी, हरियो सागपात जो नियमित सेवन गर्न सकिन्छ। बजारमा पाइने खानेकुरा भन्दा, विज्ञापनले बताएका खाद्य वस्तु भन्दा यी गाउँघरमा पाइने खानेकुरा साना केटाकेटीबाटै सुरु गराउने हो भने, नियमित व्यायाम, परिवारमा घुलमिल, जे भेटिन्छ सन्तोषले खाने, समयमा सुत्ने र समयमा उठेर दैनिकीमा लाग्नु स्वस्थ रहने उपाय हुन्।

हरेक समय र हरेक परिस्थितिमा सकारात्मक सोच्ने हो भने मानिस स्वस्थ रहन सक्छ। हरेक असहज अवस्थाको समय सकिन्छ र सहज अवस्था आउँछ। यो प्राकृतिक नियम हो। त्यसैले धैर्यता र सकारात्मक सोच ठूलो औषधि हो हरेक परिस्थितिमा।

निरोगी हुने उपाय भनेको आफ्ना कमी कमजोरीलाई स्वीकार गर्नु पनि हो। यसरी नै अरूको गल्ती र अपमानलाई सहजै माफ गरिदिन सक्ने हिम्मत राख्नु पनि निरोगी रहने उपाय हो। यसले मनमा लामो समयदेखि बसेको बदलाको भावना अनि त्यसले बढाउने खराब रसरागलाई माफीले घटाएर खुसी रहने रसरङ्गको वृद्धि गर्छ। जसले शरीर भित्रैबाट स्वस्थ रहन थाल्छ।

मानिसको जीवन एउटा स्वतन्त्र शक्ति हो। यसलाई दबाब र पिडामा राख्ने होइन, स्वच्छ सोचमा छाडिदिने हो। शान्ति, विश्वास, सजगता र स्वीकार जस्ता विषय क्वान्टम हिलिङ अन्तर्गत पर्दछन्। क्वान्टम हिलिङ आफ्नै शरीरको शक्ति हो, निरोगी रहने पावर हो। यसरी नै समय पनि औषधि हो, आहार अथवा डाइट पनि औषधि हो र खाली खुट्टा केहिबेर माटोमा हिँड्नु पनि औषधि हो। समय समयमा लिइने व्रत पनि औषधि हो। त्यसैले पनि औषधि हाम्रै वरपर र हामीसँगै हुन्छ बस यसलाई उपयोग गर्न जान्नु पर्छ।

बिहान ८ बजेसम्म पानी बाहेक अरू नखाँदा पनि हुन्छ। आठ बजेपछि पाचन रसहरू सक्रिय हुन्छन् त्यसैले मजाले खाने। सकेसम्म बेलुका घाम अस्ताउनुअघि खाना खाइसक्ने। खानालाई औषधिको जस्तो मिलाएर खाने। जस्तै अम्ल भएका खाना भात या रोटीसँग सलाद र प्रशस्त तरकारी। यसले अम्ल र क्षार मिलाएर राख्छ। दही र महीलाई बिहान र दिउसो अनि दूध बेलुका पिउने। प्रोटिनको मात्र अलिक बढी खाने। यसरी नै खाली खुट्टा भुईँमा हिँड्दा शरीरमा भएका अनावश्यक तत्त्वहरू नष्ट भएर जान्छन् र शरीर स्वस्थ रहन सघाउँछ।

क्वानटम हिलिङका अनुसार मनले शरीरलाई चलाउने हो। मनले शरीरमा जस्तो सन्देश पठाउँछ त्यस्तै परिवर्तन शरीरमा देखा पर्छ। बिरामी भएका बेलामा मनमा सकारात्मक कुरा लगातार आएमा कठिन रोगमा पनि सुधारका सङ्केत देखा पर्छन्। यदि नकारात्मक कुरा, म निको हुन्न की, औषधिले काम गर्दैन कि जस्ता सोच मनमा आयो भने शरीरमा परिवर्तन भइरहने कोषिकाको विकासमा रोकावट आउँछ। नकारात्मक हर्मोनको मात्रा बढ्न गई शरीरको हिलिङ पावरमा अवरोध ल्याउन सक्छ। जसले शरीर कमजोर र बिरामी भइरहने अवस्थामा पुग्छ।

हामीले खाने औषधि एउटा सहयोगी मात्र हो। औषधि खाँदै छु, रोग निको हुन्छ भन्ने सकारात्मक आत्मविश्वासका कारण रोग प्रतिरोधी क्षमता बढाउने हुँदा शरीर हिलिङ मोडमा जान्छ र मानिस चाडै निको हुन्छन्। बाहिरी वातावरण सफा, सुन्दर फुलहरू, सबैमा समान र माया देख्ने भावको विकास, सम्मान र सहयोगी भावनाले पनि निरोगी बनाउन शरीर सक्रिय रहन्छ। पशुपक्षीहरू मानिसहरू भन्दा चाँडो निको हुन्छन् र बिरामी पनि कमै हुन्छन् यसको मुख्य कारण नकारात्मक सोच नभएर हो, बिरामी हुँदा खान नखाएर हो। खाली पेट रहेमा शरीरको सम्पूर्ण भाग र रक्तसञ्चार रोगसँग लड्न थाल्छ र चाँडो आराम हुन्छन्। त्यसैले अचानक देखा पर्ने रोगमा धेरै खानु भन्दा पर्याप्त पानी पिएर सकारात्मक सोच र निरन्तर मनलाई आत्मा विश्वास दिइरहन सकेमा चाँडो निको हुन्छ। तर पुरानो रोग र बल्झिरहने रोगमा भने स्वस्थ र पर्याप्त खान, व्यायाम, गहिरो निद्रा, सकारात्मक सोच, माया, करुणा र सहयोग अनि ध्यानले शरीरका सबैजसो कोषमा सकारात्मक ऊर्जाको फैलावट हुन्छ र स्वस्थ रहन सघाउँछ भने बिरामी पनि चाँडो निको हुन्छ।

मानव शरीर अन्य प्राणी जस्तै ऊर्जाको स्रोत हो। ऊर्जा कहिल्यै नास हुँदैन मात्र परिवर्तन हुन्छ। समय र आवश्यकता अनुसार यस्ता शक्तिलाई शरीर आफैले सदुपयोग गरिरहेको हुन्छ। शरीरमा रहेको ऊर्जा उमेर र वातावरण अनुसार विभिन्न अवस्थामा बाँडिएका हुन्छ। उदाहरणको लागि नाकका दुइवटा प्वालमा सूर्य र चन्द्रको प्रभाव या शक्ति हुन्छ। शरीर शिथिल भएमा, रक्तचाप घटेमा, आलस्यता र शक्ति कम भएको महसुस भएमा चन्द्र नाडीको शक्ति सक्रिय भएको मानिन्छ अथवा रक्तचाप घट्न जान्छ। यो बेलामा शरीरमा ऊर्जा बढाउन, रक्त चाप बढाउन दाहिने नाकको प्वालबाट हावा लिने र त्यसैबाट छोड्ने गर्नु पर्छ। यसो गरेमा बिस्तारै रक्तचाप बढेर आउँछ र आलस्यता हराएर जान्छ। यसरी नै रक्तचाप उच्च देखिएमा, रिस उठ्न थालेमा, जिउ तातिएमा गर्मी बडेमा देब्रे नाकले हावा लिने र त्यसैले फ्याक्ने गरेमा बिस्तारै रक्तचाप घटेर आउँछ, शरीर सामान्य अवस्थामा आउँछ। यो पनि शरीरमा रहेको ऊर्जा हो यसको व्यवस्थापन हो जसलाई हामीले जान्नु पर्छ भन्ने उदाहरण हो।

समाचार शेयर गर्नुहोस्
151
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.