बालेनसँग भूटानी शरणार्थीको अपेक्षा : समाधानका लागि ढुंगानाको सन्देश

बालेनसँग भूटानी शरणार्थीको अपेक्षा : समाधानका लागि ढुंगानाको सन्देश

307
SHARES

अमेरिका – नेपालमा फागुन २१ गते सम्पन्न आमनिर्वाचनपछि बनेको नयाँ नेतृत्वप्रति नेपाली भाषी भूटानी शरणार्थी तथा पुनर्वास भइसकेका समुदायले दशकौँदेखि समाधानविहीन रहेको शरणार्थी समस्याको दिगो निकासका लागि ठोस पहलको अपेक्षा गरेका छन्।

नयाँ नेतृत्वप्रति आशा र अपेक्षा व्यक्त गर्दै नेपाली भाषी भूटानी शरणार्थी तथा पुनर्वास भइसकेका समुदायबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना व्यक्त गर्ने क्रम जारी रहेको छ।

क्यानडामा बसोबास गर्दै आएका भूटानी शरणार्थी खुदुनाबारीका भूतपूर्व सचिव भानु ढुङ्गानाले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै नेपालमा वर्षौँदेखि रहँदै आएको भूटानी शरणार्थी समस्यालाई प्राथमिकतामा राखेर समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन्।

ढुङ्गानाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शरणार्थी मुद्दामा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएका छन्।

ढुङ्गानाले प्रधानमन्त्री बालेनलाई सम्बोधन गरी जारी गरेको शुभकामना सन्देशमा झापा र मोरङ जिल्लामा अझै पनि करिब ६–७ हजार भूटानी शरणार्थीहरू अत्यन्तै कठिन परिस्थितिमा जीवनयापन गरिरहेको उल्लेख गरिएको छ। दशकौँ बितिसक्दा पनि उनीहरूको दिगो समाधान नहुनु दुःखद रहेको भन्दै सम्मानजनक पुनर्वास तथा स्वदेश फिर्ती सुनिश्चित गर्न नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिइएको छ।

सन्देशमा विभिन्न कारणले मातृभूमि फर्कन नसकेका शरणार्थीहरूका लागि नेपालमै सम्मानजनक बसोबासको सुनिश्चितता गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत सेवामा पहुँच सुनिश्चित गर्दै उनीहरूलाई सम्मानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहने ढुङ्गानाले उल्लेख गरेका छन्।

ढुङ्गानाले विगतमा भएका विभिन्न आन्दोलन, द्वन्द्व र राजनीतिक परिवर्तनका बाबजुद शरणार्थी समस्या समाधानमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै वर्तमान अवस्थामा नयाँ सरकारप्रति ठूलो आशा र अपेक्षा रहेको बताए।

जनविश्वास कायम राख्दै परिणाममुखी र दिगो समाधानतर्फ अग्रसर हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन्।

सन्देशमा प्रधानमन्त्री बालेन शाहको समग्र नेतृत्वप्रति उनले विश्वास व्यक्त गरेका छन्। उनको दूरदर्शी सोच र कुशल नेतृत्वमा नेपाल विकास र समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा उनले गरेका छन्।

शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सुशासन कायम गर्न सरकार सफल हुने विश्वास उनको शुभकामना सन्देशमा व्यक्त गरिएको छ।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन तथा कानुनी जटिलताको अन्त्य गर्दै समावेशी र समुन्नत राष्ट्र निर्माणमा सरकारले ठोस उपलब्धि हासिल गर्ने अपेक्षा पनि सन्देशमा गरिएको छ। साथै, विगतका राजनीतिक अस्थिरता र अधुरा परिवर्तनका कारण जनतामा रहेको निराशालाई आशामा बदल्ने अवसर वर्तमान सरकारसँग रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्रीको सफल कार्यकालको कामना गर्दै देश र जनताको हितमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल हुने आशा ढुङ्गानाले सन्देशमार्फत व्यक्त गरेका छन्।

समाचार शेयर गर्नुहोस्
307
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.