कुराले चिउरा भिज्दैन

कुराले चिउरा भिज्दैन

माधव दुलाल /पहिचान – अब त्यो कुराकानी हुन सक्दैन । बैशाख १२ को अघिल्लो साँझ काभ्रेको देउपुरमा रहेको ब्रम्हायणी मन्दिर दर्शन गरेर ललितपुर पाटनमा रहेको डेरा पुग्नुअघिसम्म गरिएको टेलिफोन वार्तालापनै जन्मन अधिकार दिने बुबासँग अन्तिम भयो । भुकम्प गएको दिन बैशाख १२ गते ११ बजेर ५६ मिनेट जादाँ आफूसँगै रहेकी जीवन संगिनी छोरा गणेश र छोरी कुसुमलाई त जोगाए तर मलाई मानव संसारमा परिचित गराउने जन्मदाता गुमाए ।

भाई अर्जुनको टेलिफोन सन्देश पछि होस हवास उडेको मन स्थिर गर्दै झापाली चिया पसलले परिचित साथीको गाडिमा श्रीमती भवानी, छोरा छोरीसँगै कानुन व्यवसायी सुजन पन्त, पिताम्वर चौलागाई, मिरा सिलवाल, बिकास अधिकारी, नारायण अधिकारी, प्रदिप अधिकारी र नरेश चौलागाईको साथमा स्थायी बासस्थान काभ्रेको काशिखण्ड नगरपालिका वडा नम्वर २ मा पुग्दा बुबा आमा बस्ने घर ढलेका थिए । त्यहि ढलेको घरमा पुरिनु भएका बुबालाई जिवितै उद्धार गरेर अस्पताल लैजादै गर्दा ५ मिनेटको बाटोमा बुबाको प्राण गएको रहेछ ।

अस्पताल पुर्याउन नसकिएको त्यसअघिकै खवरले होस हवास उडेको मन आमा बहिनी बुहारीहरु रोइरहेको चित्कारले रसाइरहेका आँखाबाट आँसु थाम्न कठिन भइरहेको थियो । काठमाडौंदेखि काभ्रेसम्मको यात्राका क्रममा गाडिको सिसाबाट देखिएका दृष्य र साथीभाईहरुबाट आएका सन्देशले म मात्रै यो दुर्दशा भोग्ने एक्लो होइन भन्ने सोचले अस्थिर मनलाई कठोर बनाइ रहे । भुकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको प्रायोजनमा झण्डै तीन बर्ष रेडियोमा भुकम्पिय सुरक्षा कार्यक्रम उत्पादन गरेको म आफै माथि यो बज्रपात पर्र्यो ।

भुकम्पबाट जोगिन घुडा टेकी गुडुल्की ओत लागि समात भन्ने बिधि अपनाउनु पर्ने सन्देश रेडियोबाट प्रसारण गर्ने र घर परिवार, साथी भाई सबैलाई सचेत गराए पनि बुबा बस्नु भएको झ्याल सहितको ढुङ्गा माटोको गारो ढलेको दृष्यले आफै अचम्मित भए । समय आएपछि जे जस्ता उपाय अपनाए पनि कालले छोड्ने रहेनछ । हुनत बुबा झ्यालमा नबसी घरको बिच भागमा गएर बस्नु भएको भए यो घटना नहुने रहेछ । आमालाई उता जानुस भन्दै आफू झ्यालमा बस्नु भएका बुबा गोबिन्द प्रसाद दुलालको निधन हुनुले जति पीडा आमालाई परेको छ त्यो त म छोराले कसरी बर्णन गर्न सक्छु र ।

मनमा अनेकन कुरा खेलिरहेका छन् । पटक पटक गएका पराकम्पनले बाँचेका हामी सबैलाई लगे हुन्थ्यो जस्तो पनि लाग्छ । अरुलाई सान्त्वना दिदै हिड्ने म आफै माथि परेको यो बज्रपातले छिनछिनमा टोलाउने बनाइरहेको छ । तर के गर्नु जेठो छोरो भएर जन्मिसके पछि आमा भाई बहिनी र बुहारीहरुलाई सन्त्वना दिनु पर्ने जिम्मेवारी अहिले आफ्नै काँधमा आइपरेको छ । यो जिम्मेवारी कसरी पूरा गर्ने ? गाउँ समाजमा बुबाले निर्वाह गर्दै आउनु भएको समन्वयकारी भूमिका के होला ? यस्ता अनेकन प्रश्नकाबीच मनलाई कठोर बनाएर समाचार हेरेर चित्त बुझाइरहेको छु । समाचार सुन्छु सरकारले घरबार विहिनलाई १५ हजार रुपैयाँ र घरको नक्सा दिने रे । त्यो कहिले आइपुग्छ ? हुरी बतास आउँदा टेन्ट र त्रिपाल समाएर कहिलेसम्म रात कटाउने ? नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य होइन ? भन्ने बित्तिकै काम भइहाल्छ नि भन्नेहरुलाई म पनि सामान्य तपाईहरु जस्तै नागरिक हुँ भन्नुको बिकल्प छैन ।

पहल नगरेको पनि होइन तर तत्काल बसोबासको व्यवस्था गर्न गोजीमा गाँठ हुनु पर्ने रहेछ । न त गोजीमा गाँठ न त मनमा आँट दुवै शिथिल भएको अबस्थामा कहाँ गएर गुहार माग्ने ? अरुले दिएको र मागेर लिएको भन्दा आफ्नै श्रममा भर पर्ने म जस्ता परिवारका सदस्य गुमाएका र घरबार विहिन भएका लाखौ नेपालीको पीडा कसले सुनिदिने ? त्रिपाल मुनीको बास भइरहँदा चोरको विगवगी हुनुले झनै मन तर्सिएको छ । एकातिर भुकम्पको झड्का अर्को तिर चोरको विगविगी त्रासै त्रासमा जीवन बिताउने म एक्लो होइन । कहिले प्रकृतीले त कहिले चोर्न हिड्नेले किन पीडा दिइरहन्छन ? गाउँमा रहेका हामी धेरै भुकम्प पीडितलाई सरकारले मृतक परिवारलाई दिएको ४० हजार किरिया खर्च र १ लाख रुपैयाँ राहत जोगाउन मुश्किल परिरहेको छ ।

अझ केही आफूलाई टाठा बाठा भन्नेहरुले भत्केको घरका लागि गएको राहत सामान्य चर्केको घरलाई वितरण गरिरहेका छन् । बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झै काभ्रेको काशिखण्डमा होइन दैनिक आएका समाचारले देशभरका गाउँका नागरिकको पीडा उस्तै देखाइरहेको छ । हुनत पीडा जसलाई परेको हुन्छ उसलाई जति सुन्ने र देख्नेलाई हुँदैन रहेछ । भरखरै नगरपालिका घोषणा भएको काशिखण्ड वडा नम्वर २ सालथुम्कीमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा बिहान बेलुका ढुङ्गा माटो र काठ बोकेर बनेका घर भत्केर बुबाको निधन हुनु अरुलाई जस्तै मेरा लागि पनि सहजै सहन गर्न सक्ने छैन । पीडामा परेका म जस्ता नागरिकलाई कसैले पनि आश्वासन नदिउँन ।

घर भत्केर बुबाको निधन भएको ४५ दिन पुग्न एक दिन बाँकी (जेठ २६ गते)छदाँसम्म काशिखण्ड नगरपालिकाको वडा नम्वर २ को लाकुरीबोट, सालथुम्की र जवदीवेशीमा नेपाली समाज अमेरिकाका उपाध्यक्ष बालकृष्ण जोशी नेतृत्वको टोलीले दिएको १ सय ४ वटा त्रिपाल राहत वितरण भयो भने नेपाल तरुण दल झापाका अध्यक्ष गोपाल तामाङ नेतृत्वको टोलीले बासको घर निर्माण गरिरहेको छ । यो बाहेक काशिखण्ड नगरपालिका मार्फत केही संघ संस्थाले पनि राहत वितरण गरिरहेका छन् । तर केहीले अहिले पनि चिल्ला कुरा गरेर पूरा गर्न नसक्ने आश्वासन दिनु पीडा माथि पीडा थप्नु हो । यसअघि मेरो नाममा नेपाल पत्रकार महासंघले उपलब्ध गराएको टेन्टमा आधा परिवार र भित्तोलाई गारो मानेर बेरबार पाएको जस्ताको कटेरो आधार परिवारले रात कटाइरहेका छौ ।

यो अबस्था मेरो मात्रै छैन । भुकम्पले सबैलाई यस्तै हविगत गराएको छ । बिपत्ती सधै र एउटैलाई मात्रै पर्दैन । घुमीफिरी जो कोहीलाई पनि पर्न सक्छ । त्यसैले महाभुकम्प पछि पीडामा परिरहेकाहरुलाई खुल्ला दिलले पीडा अन्त्य हुने गरी सरकार, राजनीतिक दल, विभिन्न संघसस्थाले काम गर्नु पर्छ । महाभुकम्पले घरबार बिहिनलाई अब त्रिपाल र टेन्ट होइन उचित बासस्थानको व्यवस्था गर्नु पर्छ । कुराले चिउरा भिज्दैन भनेझै अब आश्वासन नदियोस । सहयोगी मन र परिश्रमी हात भुकम्प पीडितको स्थायी बासस्थान निर्माणमा लम्कियोस । भुकम्पले पुर्याएको भौतिक क्षति त बिर्सन सकिएता तर मानविय क्षति भुल्न सकिदैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading