महामारीको समयमा आइरिस प्रधानमन्त्री : गुमाएको राजनीतिक कद पुनः प्राप्त

महामारीको समयमा आइरिस प्रधानमन्त्री : गुमाएको राजनीतिक कद पुनः प्राप्त

काठमाडौं (पहिचान) बैशाख २ – अप्ठ्यारोमा ‘नेता’ आकार स्पष्ट हुन्छ, उनीहरुको क्षमताको परिधि देखिन्छ । परिपक्कताको पारख हुन्छ । छर्लङ हुन्छ उनीहरुको अभिभावकत्व । नागरिकले आफ्ना नेताको वास्तविक स्वरुप आपद विपदका बेला पाउँछन् ।

अहिले विश्व अति असामान्य विपदबाट गुज्रिरहेको छ । अदृष्य भाइरससँगको युद्धमा छ विश्व । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट जुधिरहेको यो समयमा विश्वका केही देशले आफ्ना नेताको सारै आत्मिय र नजिकको अभिभावकत्व प्राप्त गरेका छन् ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्र्डर्न आमा बनेको धेरै भएको छैन । उनले प्रधानमन्त्री रहेकै बेला सन्तान जन्माइन् र अहिले कोरोना भाइरसको महामारीका बेला देशका हरेक नागरिकको नेता मात्रै होइन अभिभावक बनेकी छन् । नागरिकले उनलाई आफ्नो संरक्षकका रुपमा स्वीकार गरेका छन् ।

यहि महामारीका बेला अर्को एक नेता पनि अति शानदार तर सामान्य कर्मबाट लोकप्रिय बनेका छन् । ती हुन् युरोपेली देश रिपब्लिक अफ आयरल्याण्डका प्रधानमन्त्री लियो भाराड्कार ।

सन् २०१७ मा सत्तामा आएका उनी त्यो बेला पनि चर्चामा थिए । उनी आयरल्याण्डको युवा तथा पहिलो संमलिंगी प्रधानमन्त्री थिए । तुलनात्मक रुपमा युरोपको अधिक परम्परावादी देश आयरल्याण्डले समलिंगी पुरुष प्रधानमन्त्रीका रुपमा उनलाई पाएको थियो ।

तर गएको फेब्रुअरीमा भएको चुनावमा उनको पार्टी तेस्रो स्थानमा रह्यो । आयरल्याण्डका पथपर्दक प्रधानमन्त्रीका रुपमा चिनिएका उनले त्यहाँको बसोबास समस्या समाधानमा महत्वपूर्ण काम गरेका छन् । तर अरु दुई पार्टीले गठबन्धन गरेपछि उनको पार्टी फेब्रुअरीमा भएको चुनावमा कमजोर देखियो । यसको कारण प्रधानमन्त्रीका रुपमा जनताले उनीबाट अपेक्षा गरेजतिको काम नपाउनु पनि थियो ।

तर अहिले कोरोना भाइरसको महामारीको समयमा प्रधानमन्त्री लियोले (जो हाल कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा छन्) गुमाएको राजनीतिक कद पुनः प्राप्त गरिरहेका छन् जनताको मनमा । त्यसको कारण उनले महामारीविरुद्ध गरेको काम र आफै फ्रन्टलाइनमा खटिने निर्णय हो ।

राजनीतिमा आउनु पूर्व उनी पेशाले मेडिकल डाक्टर (फिजिसियन) थिए । उनले राजनीतिमा आएपछि डाक्टरी पेशा छोडेका थिए । तर उनले गएको मार्चमा आफ्नो मेडिकल डाक्टरको दर्ता पुनः सक्रिय बनाए र आफै कोरोना भाइरस विरुद्धको युद्धमा फ्रन्ट लाइनमा खटिने निर्णय गरे ।

उनी हाल हप्तामा एक दिन डाक्टरका रुपमा अस्पतालमा गएर काम गर्छन् । आफै बिरामीको जाँच गर्छन् । उनको यो कामको स्वागत भएको छ । कोरोना भाइरस महामारी विरुद्धको अभियानमा खटिएका स्वास्थ्यकर्मीहरुले प्रधानमन्त्री लियोको कामले आफूहरुलाई थप उर्जा र सम्मान मिलेको बताउने गरेका छन् ।

सुरुमा उनको यो कामलाई धेरै आइरिसले चर्चामा आउनका लागि भएको भन्दै आलोचना गरेका थिए । तर लियो लगातार अस्पताल गएर कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा संलग्न भए । अहिले उनको प्रशंसा गर्नेहरु धेरै छन् । अधिकांशले उनलाई विपदका बेला अति उत्कृष्ट काम गरेको र अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै सरहाना गर्ने गरेका छन् ।

आइरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसका कारण ३२० जनाको मृत्यु भएको छ र ८ हजार ९ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

४१ वर्षका डा. लियोले देशको नेतृत्वकर्ताका रुपमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि पनि राम्रो काम गरेका छन् । उनले त्यहाँ तीव्र गतिमा धेरैको परीक्षणको व्यवस्था मिलाएका छन् । यस्तै सामाजिक दूरी सहितका उपायहरु लागु गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading