‘कसैले डोर्‍याएर सफल उद्यमी बन्न सकिँदैन’

‘कसैले डोर्‍याएर सफल उद्यमी बन्न सकिँदैन’

काठमाडौं : नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएका छन्।

उद्यमशील काँग्रेसले काठमाडौैंमा शनिवार गरेको कार्यक्रममा पूर्व रक्षा तथा सञ्चारमन्त्री समेत रहेका नेता रिजालले सरकार र नेतृत्वको तीव्र इच्छाशक्तिले मात्र यो सम्भव हुने बताए।

ससाना पुँजीबाट मात्र क्रमशः ठुलो सफलता हासिल हुने भन्दै उनले त्यसलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरे। स्थानीय उत्पादनहरूलाई बजारसम्मको बाटो राज्य स्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रमहरू ल्याउनुपर्नेमा नेता रिजालले जोड दिए।

कसैले डोर्‍याएर सफल उद्यमी बन्न नसकिने उल्लेख गर्दै नेता रिजालले स्वयं व्यक्तिको पनि दृढ इच्छाशक्ति आवश्यक रहने बताए। शिक्षा पद्धति नै परिवर्तन गर्नुपर्ने भन्दै उनले सीप मूलक दक्षता प्रदान गर्ने किसिमको शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे।

कार्यक्रममा नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता निरज खनालले नवउद्यमीहरु पटक पटक असफल हुनसक्ने सम्भावना रहे पनि हताश हुन भने नहुने बताए। असफलतासँग डराउने मानिस उद्यमी बन्न नसक्ने भन्दै उनले राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न नहुने उल्लेख गरे।

राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउने उनेको भनाई थियो। उद्यमी खनालले राज्यले नीति तथा कार्यक्रमलाई व्यवहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा युवा उद्यमी निकिता आचार्यले सम्पूर्ण जोखिम आफैले व्यहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुनसक्ने बताइन। राज्यपक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मन सक्ने उनको भनाई थियो।

कार्यक्रमका सहजकर्ता युवा उद्यमी एवं ब्राण्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले उद्यमशीलताको क्षेत्रमा विद्यमान चुनौती न्यूनीकरण र उद्यममैत्री वातावरण निर्माणका लागि सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने बताए। त्यसकालागि सरकारलाई सबै पक्षबाट घच्घच्याउन आवश्यक रहेको उनले उल्लेख गरे।

कार्यक्रममा विशेष वक्ता रहेका काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन सरकारलाई आग्रह गरे।

उद्यमशील काँग्रेसका अध्यक्ष अश्विन सिटौलाले भएका नीति तथा कार्यक्रमको कार्यान्वयन पक्ष फितलो हुँदा उद्यमशीलता क्षेत्रले फड्को मार्न नसकेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.