खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता : कृषिमा आबद्धता रोजगारको सुनिश्चितता

खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता : कृषिमा आबद्धता रोजगारको सुनिश्चितता

भोकै रहेका मान्छे राज्यको सम्बन्धित निकायमा दिन दिनै धाइरहेका छन्

काठमाडौं (पहिचान) जेठ २५ – संसारभर जुन ७ तारिक विश्व खाद्य स्वच्छता दिवस मनाइने गरिएको छ । यो दिवस विश्वमा दोस्रो वर्ष मनाइदैछ भने हाम्रो देश नेपालमा बिगत १२ वर्षदेखि मनाइदै आइएको छ ।

अहिले हामी सबैजना विश्व महामारी कोरोना भाईरसको जोखिममा रहेका छौ । यो बेला सुरक्षित हुन सन्तुलित, पोषिलो तथा स्वच्छ खाना उपभोग गर्न अति नै आवश्यक छ । यो समयमा विश्व खाद्य स्वच्छता दिवसले ठूलो महत्व राख्दछ । स्वच्छ खाद्यवस्तु उपभोग गर्ने आम नागरिकको अधिकार हो तर अहिले देशभर कयौं मानिस भोक भोकै छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा यति बेला आफैमा कता कता नसुहाएको जस्तो देखिन थालेको छ ।

सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने कुरा बारम्बार भन्ने गरेको छ तर यो लकडाउनमा भने यी सबै कुरा गफमा मात्र सिमित भएको देखिएको छ । कोभिड–१९ को विश्वब्यापी महामारी जोखिम कम गर्न सन्तुलित र स्वच्छ खाद्यवस्तु अनिवार्य हुन्छ । कोरोना भाइरसको महामारीले अहिले विश्व कठीन मोडबाट गुज्रीरहेको छ । मानिसको जीवनमा खाद्य वस्तुको स्वच्छताको महत्व यस बेला झन् बढि हुँदै आएको छ ।

विश्वब्यापी महामारीले संसारका अधिकाशं देशमा बन्दाबन्दी रहेको समयमा पनि यस वर्ष ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ दोस्रो विश्व खाद्य स्वच्छता दिवस मानाइँदै छ । हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य उपभोगको हक सुनिश्चित गरेको छ । खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य भएको कुरा आइरहँदा खानेकुरा नभएर आम मानिस र बालबालिका सडकमा माग्दै हिंडेको दृश्य अझै देख्न सकिन्छ । भोकै रहेका मान्छे राज्यको सम्बन्धित निकायमा दिन दिनै धाइरहेका छन् । तर त्यसको व्यवस्थापन अझ जति राम्रोसँग हुनु पर्ने हो हुनसकेको छैन् ।

खाद्य सम्बन्धी अधिकार र उपलब्धता सँगसँगै खाद्यवस्तुको स्वच्छता अर्काे महत्वपूर्ण पक्ष हो । खाद्यवस्तु उपलब्ध भएर मात्र पुग्दैन, उपलब्ध खाद्यवस्तु गुणस्तरीय, स्वच्छ एवं सन्तुलित र पोषिलो हुन पनि उत्तिकै जरुरी छ । जबसम्म खाद्यवस्तुको स्वच्छताको सुनिश्चितता हुँदैन तबसम्म खाद्य सम्बन्धी हक प्राप्ती भएको मान्न सकिदैन ।

खाद्यवस्तुको स्वच्छता कायम राख्न सरकारले मात्र प्रतिवद्धता जनाएर पुग्दैन । यसको लागि यो श्रृंखलासँग जोडिएका सबैले आ–आफ्नो तहमा प्रतिबद्ध भै काम गर्न आवश्यक छ । नागरिकको खाद्य अधिकार र स्वास्थ्यको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ । हामीले खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम गर्न नसकेको अवस्थामा एकातिर कृषि तथा खाद्यान्नमा आधारित उद्योग व्यवसाय फस्टाउन सक्दैनन् भने अर्काेतर्फ आम जनसमुदायको स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । यसले गर्दा कृषि तथा खाद्यान्नमा आधारित निर्यातमा समेत नकारात्मक असर पर्न जान्छ ।

स्वदेशी खाद्यवस्तुको स्वच्छता र गुणस्तरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको स्तरमा पुर्याउन सकिएन भने यसले राज्यलाई ठूलो नोक्सानी पुर्याउन सक्छ । राष्ट्रिय स्तरमा खाद्य स्वच्छता कायम राख्न खाद्य ऐनलाई समायानुकूल बनाइ तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय एवं सहकार्य गर्न आवश्यक छ । यसो गर्न सकेमा हाम्रो स्वदेशी उत्पादन खपत हुन गै आयात पनि कम हुन्छ भने स्वदेशमै रोजगारी सृजना हुन पुग्दछ । विदेशी पर्यटक बढ्छन र नेपालमा पर्यटन व्यवसाय फस्टाउन सहयोग पुग्दछ ।

अहिले हेर्ने हो भने खाद्यान्न आयातको अवस्था डर लाग्दो छ । आर्थिक वर्ष ०७४/७५ को कृषिजन्य वस्तुको आयात निर्यातको तथ्यांक हेर्दा मुख्य कृषि वस्तु १ खर्ब ९४ अर्ब ३० करोड ८९ लाख ५६ हजार मुल्य बराबरको आयात भएको देखिन्छ भने १५ अर्ब ७६ करोड २४ लाख निर्यात भएको देखिन्छ । जसमध्ये दाल र गेडागुडी ४५ अर्ब ४१ करोड, चामल २८ अर्ब ९० करोड, खाने तेल २६ अर्ब ९३ करोड, रासायनिक मल १५ अर्ब २७ करोड, मकै १२ अर्ब ५४ करोड, तरकारी १२ अर्ब २९ करोड, जडिबुटि ११ अर्ब ३४ करोड, स्याउ ५ अर्ब ६३ करोड, प्याज ४ अर्ब ८५ करोड, कृषि यन्त्र ४ अर्ब ५५ करोड, मासु ४ अर्ब ३३ करोडको थियो ।

यसैगरी सोही आ.व.मा तोरी ९७ करोड १३ लाख, लसुन ६१ करोड ३९ लाख, आलु ६० करोड ३२ लाख, सुन्तला ५७ करोड लाख, केरा ५३ करोड ८४ लाख, कागति ४३ करोड १५ लाख, गोलभेंडा ३० करोड २४ लाख, सुकमेल २० करोड ४६ लाख, बेसार १६ करोड ७६ लाख, अदुवा ८ करोड ७१ लाख, कोदो ३ करोड ४ लाख, फापर ३ करोड १६ लाख, आरुबखडा २ करोड २५ लाख, मिनरल वाटर २ करोड ९९ हजार, स्विट कर्न १ करोड ९४ लाख, उखु १ करोड १८ लाख, एभोकार्डो १ करोड ४ लाख, जौ ७५ लाख १६ हजार, च्याउ २५ लाख ५० हजार मूल्यको आयात भएको देखिन्छ । त्यस्तै भन्सारको अभिलेखमा नभएको तर सार्क व्यापार चार्टरमा उल्लेख भएको चिनीको आयात ३८ हजार ७ मेट्रिक टन र तत्कालिन बजार मूल्य २ अर्ब ६६ करोड रहेको देखिन्छ ।

अब हामीले यस्तो अवस्था देखिरहँदा यसलाई एउटा अवसरको रुपमा लिई अगाडि बढ्नुपर्छ । खाद्यान्न व्यापारको क्षेत्रमा आयातित खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर नियमन गर्ने काम चुनौतिपूर्ण नै छ । तर हामीले हाम्रो स्वदेशी उत्पादन उपभोग बढाउनको लागि आयातित खाद्यान्नमा कडाई गर्ने र अझ बन्द नै गर्दा राम्रो हुन्छ । यसो गर्दा हाम्रो उत्पादनले सजिलै बजार पाउन सक्छ र उत्पादन बढ्न गै रोजगार पनि थप हुन्छ ।

अहिले नेपालमा हामी ७० प्रतिशत जति खाद्यमा आत्मनिर्भर छौं । बाँकी हामी परनिर्भर नै हो । त्यसलाई मात्र पूर्ति गर्न सक्ने हो भने पनि आर्थिक बचावट र थप रोजगार सृजना भै बेरोजगार व्यवस्थापन हुन सहयोग पुग्दछ । हामीले जोखिमको आधारमा खाद्यवस्तुको वर्गीकरण गरी आयातपूर्व, खाद्यवस्तुको स्वच्छता नियमन, नियन्त्रण तथा व्यवस्थापन गर्ने प्रणालीमा थप सुधार गर्दै विकास गर्नुपर्छ ।

त्यसैगरी निर्यात योग्य कृषि उपज तथा खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम राखी निर्यातमा समेत सहजीकरण गर्न सक्ने हो भने हामी आर्थिक हिसाबले पनि माथि उठ्न सक्छौं । हामीले उपभोग गर्ने खाना अस्वच्छ र कमसल भएमा एकातिर हामी विभिन्न अल्पकालीन तथा दीर्घकालीन रोगहरुको शिकार भैइन्छ भने अर्कातिर खाद्य वस्तुमा खरावी देखिएका कारण खाद्य व्यापारमा समेत ठूलो नोक्सानी व्यहोर्नु पनि पर्ने हुन्छ । तसर्थ हामी सबै स्वस्थ्य र निरोगी रहन, खाद्यान्न व्यापारमा वृद्धि गर्न र खाद्यान्न निर्यातलाई समेत बढाउन खाद्य वस्तुको स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिनु पर्दछ ।

खाद्य स्वच्छताको सुनिश्चितता गर्दै अब उत्पादन गर्न लाग्नुपर्दछ । अब यो महामारीका कारण रोजगारका लागि करिब ५० लाख मानिस बिदेशमा छन् र अब बिदेशबाट करिब १५/२० लाख मानिस फर्कछ्न अनि यहीँ स्वदेशमा पनि विभिन्न कारणले थप २/३ लाख मानिस बेरोजगार हुनेछन् । यसको व्यवस्थापन भनेको सजिलोसँग कृषि क्षेत्रमा गर्न सकिन्छ । अब हामीले सबै खाले खाद्य प्रशोधन उद्योग एवं उत्पादनको समयमा सावधानी अपनाई आवश्यक मापदण्ड कार्यान्वयनमा ल्याई अगाडि बढ्नुपर्ने हुन्छ ।

खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न सम्बन्धित सबै निकाय, सरकारी तथा गैर सरकारी संघ संस्थाहरु, पेशाकर्मी, उद्यमी–ब्यवसायी प्रतिबद्ध बनौं, विश्व खाद्य स्वच्छता दिवस, २०७७ को मुल मर्म अनुसार आआफ्नो स्थानबाट इमानदारीपुर्वक लागौं । यसो गर्न सकियो भने देश र हामी आम जनता सबैको हित हुनसक्छ ।

(लेखक नेपाल डेरी एसोसिएसनका महासचिव हुन)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading