चालु वर्ष आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, ५.८४ प्रतिशत हुने अनुमान

चालु वर्ष आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, ५.८४ प्रतिशत हुने अनुमान

काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले चालु वर्ष आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हासिल हुने अनुमान गरेको छ। सरकारले चालु आर्थिक वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने लक्ष्य राखेको थियो। सरकारको लक्ष्य घटाएर ५.८४ प्रतिशत हासिल हुने अनुमान विभागले सार्वजनिक गरेको हो।
कुनै आर्थिक क्षेत्रभित्र निश्चित गणना अवधिमा भएका आर्थिक क्रियाकलापबाट सृजित कुल मूल्य अभिवृद्धिको योगफल कुल गार्हस्थ्य उत्पादन हो। यो वर्ष पनि कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षहरूमा जस्तै कृषि क्षेत्रको रहने अनुमान विभागले गरेको छ। कृषि क्षेत्रले गत वर्ष २४.९ प्रतिशत हिस्सा ओगटेकोमा चालु वर्ष घटेर २३.९५ प्रतिशत हुने अनुमान गरिएको छ।
यातायात तथा भण्डारण, थोक तथा खुद्रा व्यापार, विद्युत्, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, निर्माण, उद्योग, आवास तथा भोजन सेवा र स्वास्थ्य तथा सामाजिक सेवा क्षेत्र सामान्य बढेका छन्। कृषि वन तथा मत्स्य, घरजग्गा कारोबारको सेवा, वित्तीय मध्यस्थता, सूचना तथा सञ्चार, सार्वजनिक प्रशासन तथा रक्षा, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनउत्पादन, अन्य सेवाहरू, पेसागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरू सामान्य रूपमा घटेका छन्।
खानी तथा उत्खनन र शिक्षाको हिस्सा कुल गार्हस्थ्य उत्पादनमा बराबर नै रहेको विभागले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। उद्योग, विद्युत् तथा ग्याँस, पानीको आपूर्ति र निर्माण क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १३.७ प्रतिशत योगदान रहनेछ।
थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रको योगदान ६१.८ प्रतिशत रहने अनुमान विभागले गरेको छ।
आर्थिक वृद्धिदरमा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत तथा गैर कृषि क्षेत्रको ७६.०५ प्रतिशत रहने अनुमान छ। कृषि वन तथा मत्स्य क्षेत्रले २३.९५ प्रतिशतको योगदान कुल गार्हस्थ्य उत्पादन दिने अनुमान छ।
धानको उत्पादनमा कमी आउने भन्दै विभागले कृषि वन तथा मत्स्य क्षेत्रको वृद्धिदरमा कमी आउने अनुमान गरेको छ।
उद्योग क्षेत्रको योगदान ५.६५ प्रतिशत मात्रै रहेको छ। विद्युत्, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा क्षेत्रको योगदान ३६.६७ प्रतिशतले वृद्धि हुने अनुमान विभागले गरेको छ।
निर्माण क्षेत्रको ६.१७ प्रतिशत, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको योगदान १६.४०, यातायात तथा भण्डारण क्षेत्रको ५.९८ प्रतिशत, जग्गा जमिनको खरिद बिक्री, जग्गा जमिन भाडामा लगाउने अन्य घरजग्गा कारोबारका सेवा दिने तथा आफ्नै घर आवासबाट उपलब्ध आवास सेवाहरू ३.८२ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान विभागले गरेको छ।
चालु आर्थिक वर्ष शिक्षा क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८.१ प्रतिशत योगदान दिने अनुमान विभागले गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading