चुनाव

आक्रामक चुनावी प्रचार, देउवा र ओली आमनेसामने

आक्रामक चुनावी प्रचार, देउवा र ओली आमनेसामने

काठमाडौं : मङ्सिर ४ गते हुने चुनावमा मतदान गर्न १५ दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरूले आक्रामक प्रचार अभियान थालेका छन्। राजनीतिक दल र उम्मेदवारहरूले जसरी पनि चुनाव जित्न प्रचार अभियानलाई आक्रामक बनाएका हुन्।
देशका ठुला भनिएका दलका नेताहरू चुनावको मिति नजिकिएसँगै एक अर्कालाई हिलो छ्यापेर आफू ओभानो बन्ने प्रयासमा उत्रिएका छन्। सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस र नेकपा एमाले आमनेसामने भएका छन्।
सिद्धान्त फरक भए पनि बोली र व्यवहार उस्तै भएका दलहरू आफू पानीमाथिको ओभानो बन्न जनतालाई झुक्क्याइरहेका छन्। एमालेले अहिले फेरि पुरानै राष्ट्रवादको कार्ड अघि सारेर चुनावी प्रचार आक्रामक बनाएको छ।
दार्चुला पुगेर अध्यक्ष केपी शर्मा ओलीले गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीलाई भाषण गरेर गुमेको भूभाग फिर्ता नहुने जवाफ फर्काएका छन्।
देउवाले बन्दुक लिएरै सीमामा लड्न जान एमाले अध्यक्ष ओलीलाई चुनौती नै दिएका छन्। डडेलधुरामा भएको चुनावी सभामा प्रधानमन्त्री देउवाले कूटनीतिक माध्यमबाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको बताए।
भारतको विरोध गरेर जनमत बटुल्ने रणनीतिमा लागेका एमाले अध्यक्ष ओलीले भने काठमाडौँमा प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनमा खन्चुवा गठबन्धनलाई देशको माया नभएको सुनाए। ओलीले विदेशमा रहेका नेपालीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछि लाग्न छोडेर सुती खेती गर्न समेत भनेका छन्।
सत्ता गठबन्धन दलले भने ओलीलाई संविधान विरोधीको संज्ञा दिएको छ। उसले संविधान जोगाउनकै लागि गठबन्धन गरेर चुनावमा होमिएको दाबी समेत गरेको छ। काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानविपरित दुई दुई पटक संसद् विघटन गरेका कारण संविधान जोगाउनकै लागि गठबन्धन भएको बताए।
सुनसरीमा भएको चुनावी सभामा सरकारका प्रवक्ता समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओलीको पार्टीले झुटको खेती गरेर जनतालाई अलमलाई रहेको बताए। जस्तालाई त्यस्तै ढिलोलाई निस्तै भनेजस्तै जवाफ फर्काए पनि अहिलेसम्म नेपालका दल र नेताहरूबिच खासै भिन्नता छैन। सबैले जनतालाई झुक्क्याइरहेका छन्। सिद्धान्त र विचारलाई बलि चढाएर एक धुब्रबाट अर्को धुब्रमा रातारात चुनावी तालमेल र गठबन्धन गर्ने दलका एजेन्डा र विकासका कुरामा मतदाता विश्वस्त बन्न सकिरहेका छैनन्।
आचारसंहिता उल्लङ्घनमा जरिवाना
चुनाव प्रचारका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने ७५ जनालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको जनाएको छ। आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षलाई आचारसंहिता उल्लङ्घनमा जरिवाना नै तिराएको जनाएको छ। आयोगले आचारसंहिता उल्लङ्घन गर्नेमाथि कडा कारबाहीको चेतावनी दिए पनि स्पष्टीकरण सोधिएका मध्ये एक जनालाई मात्रै जरिवाना गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गण्डकी प्रदेश सरकारले करका दरहरू परिवर्तन गरेको भन्दै आयोगले छुट दिने निर्णय बदर गर्न निर्देशन दिएको छ। करको दरमा हेरफेर गर्ने निर्णय प्रक्रियामा संलग्न गण्डकी प्रदेशका मुख्यमन्त्री, अर्थ मन्त्री, प्रमुख सचिव र अर्थ मन्त्रालयका सचिवलाई समेत छुट्टाछुट्टै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग ४८ घण्टे स्पष्टीकरण माग गरेको छ। हाम्रो नेपाली पार्टीका अध्यक्ष तथा इन्जिनियर अनन्तराज घिमिरेको तस्बिर र नाम राखेर भोट मागेको भन्दे आयोगले पार्टीसँग संलग्नता रहे/नरहेकोबारे स्पष्टीकरण बुझाउन बालेनलाई दुई दिनको समय दिएको हो।
यस्तै आयोगले हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरे र सोही पार्टीका प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ क्षेत्र नं. २ बाट उम्मेदवार बनेका कोषराज सुवेदीलाई पनि स्पष्टीकरण सोधेको छ।
आयोगले एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार कोमल वलीसँग पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ। वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ। स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ? भन्ने प्रश्न गरिएको आयोगले जनाएको छ।
जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेको बारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार सिंहलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचार प्रसारबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ।
आयोगको स्पष्टीकरणमा परेका काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगन थापाले भने आफू घेराबन्दीमा परेको बताएका छन्। थापाले आफूसँगै प्रतिस्पर्धामा रहेका उमेद्वारहरुले सुरुबाटै आक्रमण थालेको सुनाए। काठमाडौँमा भएको चुनावी सभामा थापाले सामाजिक सञ्जालमा मात्र होइन आफूले थालेको डेङ्गु नियन्त्रणको अभियानलाई रोक्न र लोकप्रियता घटाउन निर्वाचन आयोगमा उजुरी दिएको गुनासो गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading