पुरुष समलिङ्गी तथा तेस्रोलिंगीमा एचआइभी सङ्क्रमणको जोखिम उच्च

पुरुष समलिङ्गी तथा तेस्रोलिंगीमा एचआइभी सङ्क्रमणको जोखिम उच्च

काठमाडौं : नेपालमा एचआइभी सङ्क्रमणको उच्च जोखिममा पुरुष समलिङ्गी तथा तेस्रोलिंगीहरु रहेको पाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एड्सको उच्च जोखिममा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र रोजगारीका लागि बिदेसिनेहरू छन्।

केन्द्रले सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीहरूमा संक्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको जनाएको छ।

सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ। यस्तै सन् २०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ।

प्रदेश नं १, लुम्बिनी तथा सुदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ।

नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरूप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारका लागि बिदेसिने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको केन्द्रले जनाएको छ।

योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ। अहिले अनुमानित एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ सङ्क्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको छ।

अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको केन्द्रले जनाएको छ। देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ।

१४ वर्षमुनिका बालबालिका सङ्क्रमित

नेपालमा १४ वर्षमुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको पाइएको छ। कुल सङ्क्रमितमध्ये शून्य दशमलव १२ प्रतिशत वयस्क र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिका रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ।

सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ। केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमी आएको उल्लेख छ।

सन् २००० मा ४ हजार तीन सय ७० जना र सन् २०२१ मा ६ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका केन्द्रका निर्देशक डा सुधा देवकोटाले जानकारी दिइन। सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन्। यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्। निर्देशक डा देवकोटाले अझै पनि करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउन नसकिएको बताइन।

सङ्क्रमण रोक्ने चुनौती

नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्‍याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संसाधन, बजेट, पूर्वाधारको विकास गर्ने चुनौती देखिएको छ।

यस्तै नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीघ्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रित उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन्।

यस्तै एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सात वटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ। सन् १९८१ मा पहिलो पटक एचआइभी सङ्क्रमित फेला परेका थिए। अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआइभी सङ्क्रमित रहेका छन्। अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ्क रहेको छ। सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित भएका छन्।

सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ सङ्क्रमित घटेको पाइएको छ। सन् २०२१ मा १५ लाख नयाँ सङ्क्रमित फेला परेका थिए। सन् १९९० देखि २०२१ सम्म एचआइभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाइएको छ।

सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ सङ्क्रमण देखिएको जनाइएको छ। त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो। सन् २०१० मा तीन लाख २० हजारमा नयाँ सङ्क्रमित रहेका थिए। सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ। त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो।

सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो। विश्वमा कूल सङ्क्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस (एआरभी) उपचारमा रहेका छन्। विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआइभी सङ्क्रमित हुने गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading