नयाँ सरकार

प्रधानमन्त्री प्रचण्डलाई ‘अल्पमत’मा पर्ने डर !

प्रधानमन्त्री प्रचण्डलाई ‘अल्पमत’मा पर्ने डर !

काठमाडौं : प्रतिनिधि सभामा निर्वाचित २ सदस्यले छुट्टै शपथ लिए। डोटीबाट प्रत्यक्ष तर्फ निर्वाचित सांसद प्रेम आले र नेपाली काँग्रेसको समानुपातिक कोटामा निर्वाचित माया राईलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ गराए।

नागरिकता विवादमा निर्णय सुनाउने हिम्मत नगरेको निर्वाचन आयोगले ज्येष्ठ सदस्यको विवरणमा एक नम्बरका महिन्द्रराय यादव र दुई नम्बरका चित्र बहादुर केसीको नाम संसद्लाई पठाएको थियो। पुस ७ गते निर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य राणाले शपथ गराएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पुस ६ गते शपथ गराएकी थिइन।

सङ्घीय संसद्ले निर्वाचित सदस्यको उमेर खुलेको विवरण माग्यो। निर्वाचनको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगले उमेर खुलाएको विवरणमा संसद्ले शङ्का गर्‍यो। नागरिकता भिडाउँदा चित्रबहादुर केसी भन्दा पशुपति शमशेर राणा ज्येष्ठ सदस्य पायो संसद्ले।

संसद्ले राष्ट्रपति कार्यालयमा राणाको नाम पठाए पनि आयोगले यस बिषयमा कुनै प्रतिक्रिया जनाएन। ‘आयोगले चुनाव गराउँदा नागरिकताको उमेरमा ख्याल गरेको पाइएन,’संसद् सचिवालयका एक सहसचिवले पहिचानसँग भने,‘किन राणाको नाम पठाएको भनेर सोध्ने हिम्मत पनि गरेन।’

उनका अनुसार सङ्घीय संसद् सचिवालयले दुवैको नागरिकता झिकाएर उमेर रुजु गरेको थियो। ‘आयोगले निर्वाचन सम्पन्न भएको विवरण संसद्लाई दिने हो दियो,’निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,‘अब सबै काम संसद्ले गर्ने हो।’

नागरिकतामा उमेर बढाएर राखेका यादव ज्येष्ठ सदस्य भए पनि २०७४ को प्रतिनिधि सभामा शपथ गराएका थिएनन्। उनले नै ज्येष्ठ सदस्यबाट शपथ लिएका थिए।

शपथ लिएका टेकबहादुर गुरुङ र लक्ष्मी कोइरी निलम्बनमा परिसकेका छन्। प्रतिनिधि सभा अब २७३ सदस्य बनेको छ। पुस २५ गतेका लागि आव्हान भएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको मिति तोक्ने तयारी गरेको छ।

पुस २२ को सर्वदलीय बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ।

अल्पमतमा पार्ने दाउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिने प्रस्ताव संसद्मा टेबल गर्नेछन्। प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन हुँदा विश्वासको मत पाउन प्रधानमन्त्रीको पक्षमा बहुमत नपुगे नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत पाउन नसके उपधारा ३ अन्तर्गतको सरकार गठनका लागि राष्ट्रपतिबाट आव्हान हुने छ। उपधारा ३ मा संसद्को ठुलो दलले सरकार गठन गर्न सक्ने व्यवस्था छ।

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन्। अल्पमतमा पर्ने डरले प्रचण्ड सत्ता साझेदार दलहरूसँगको निरन्तर संवादमा छन्। नेकपा एकीकृत समाजवादीको पनि समर्थन लिन प्रचण्डले प्रयास जारी राखेका छन्।

सरकारले विश्वासको मत नपाए के हुन्छ?

संसद्मा नेपाली काँग्रेसका ८९, नेकपा एमालेका स्वतन्त्र एक पार्टी प्रवेशसँगै ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन्। अहिले ३२ सांसद भएको माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन्।

पुस २६ मा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अल्पमतमा पार्न काँग्रेसले गोप्य रणनीति तय गरेको आशङ्का बजारमा व्याप्त हुन थालेको छ। प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परे संविधानको धारा ७६ को उपधारा ३ अनुसार संसद्को ठुलो दललाई सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गर्नुपर्नेछ।

काँग्रेसको केन्द्रीय समिति बैठक पुस २२ मा बोलाएको छ। सभापति शेरबहादुर देउवाले सल्लाह नलिँदा प्रतिपक्षमा बस्नु परेको आरोप लगाउने महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापा एवं सभापतिमा पराजित डा. शेखर कोइरालालाई जवाफ दिनेछन्। मुखमा आएको सत्ता गुमाएको आरोप लगाएका नेताहरूलाई सभापति देउवाले दिने जवाफसँगै केन्द्रीय समिति बैठक सकिनेछ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading