नयाँ राष्ट्रपतिको निर्वाचन कहिले?

नयाँ राष्ट्रपतिको निर्वाचन कहिले?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदै छ। संविधानमा पाँच वर्षको कार्यकाल हुने उल्लेख भए पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ।

संविधानको धारा ६३ (२) मा ५ वर्षको पदावधि सकिएपछि पनि अर्को निर्वाचित राष्ट्रपतिले पदभार नसम्हालेसम्म पुरानै राष्ट्रपतिले कार्यसम्पादन गर्ने व्यवस्था छ। संविधान र कानुन बाझिए पछि दलहरूले आफूअनुकुल व्याख्या गरेर लाभ लिइरहेका छन्।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा हतार नगर्ने बताएको छ। बिहीबार बसेको माओवादीको स्थायी कमिटी बैठकमा नयाँ राष्ट्रपति चयनबारे अध्यक्ष प्रचण्डले सुझाव मागेका छन्।

समय बाँकी रहेकाले राष्ट्रपति चयनमा केन्द्रित छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले बताए। ‘राष्ट्रपतिको निर्वाचन अझै बाँकी छ,’महराले भने,‘त्यो हुँदै जान्छ।’

निर्वाचन आयोग सरकार र सत्ता साझेदार दलहरूकै इशारामा चलेको प्रतिपक्षी काँग्रेसले आरोप लगाएको छ। तर आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल कार्यकाल सकिनुभन्दा अगाडि चुनाव हुने बताउँछन्।

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको मिति तोक्ने निर्णय गरेको छैन। आयोगका प्रवक्ता पौडेलले वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल सकिनु अगाडि नै निर्वाचन हुने बताए।

‘तर अहिले मिति तोक्ने विषय आयोगले भन्न सक्ने अवस्था छैन,’उनले भने,‘कानुनमा आयोगले तोक्ने र त्यसको जानकारी सरकारलाई गराउने भन्ने छ,मिति अहिले भन्न सकिने अवस्था भएन।’ उनले माघ अन्तिमसम्म निर्वाचनको मिति तय हुन सक्ने बताए।

राष्ट्रपति एमालेलाई दिने सहमति गरेर प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले काँग्रेसको विश्वासको मत पाए पछि प्रचण्डले काँग्रेसले भनेजस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।

माओवादी नेता देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चाहना राष्ट्रपतिमा साझा व्यक्ती होस् भन्ने रहेको सुनाएका छन्। पौडेलले भने,‘संसद्मा जुन फरक प्रकारको बनावट छ,त्यसलाई पाँच वर्षका लागि सकुशल लैजान सजिलो हुन्छ भनेर सकेसम्म राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गरौँ भन्ने छ।’

राष्ट्रपतिमा माओवादी र काँग्रेसको ताल मिले पछि राजनीतिले नयाँ कोर्स लिने शङ्का एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। ओलीले नयाँ समीकरण बन्न नदिन प्रधानमन्त्री प्रचण्डसँग नियमित संवाद गरिरहेका छन्। बिहीबार पनि ओलीले बालुवाटार पुगेर प्रचण्डसँग कुराकानी गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading