राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ भोट माग्न व्यस्त

राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ भोट माग्न व्यस्त

काठमाडौं : राष्ट्रपति चयनका लागि मतदान हुने दिन नजिकिएसँगै उम्मेदवारहरू मत माग्न व्यस्त भएका छन्।

फागुन २५ गते मतदानको दिन नजिकिएसँगै नेपाली काँग्रेस र नेकपा एमालेका दुई जना उम्मेदवार आफू निर्वाचित हुन दलका नेतादेखि सांसदहरूलाई भेटेर भोट माग्न व्यस्त भएका हुन्।

आठ दलीय गठबन्धनका उम्मेदवार काँग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङले दलहरूलाई पत्राचार गरेर पनि भोट मागेका छन्। राष्ट्रपतिका उम्मेदवार पौडेलले जेलमा रहेका रेशम चौधरीलाई भेटेर भोट मागेका छन्।

गठबन्धन दलले काठमाडौँमा राखेको सङ्घीय सांसदका लागि अभिमुखीकरण कार्यक्रममा पौडेलले आफूले लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र संस्थागत गर्ने प्रतिबद्धता जनाउँदै मत मागेको बताएका छन्। उनले सकारात्मक जवाफ पाएको बताए।

एमालेका उम्मेदवार सुवास नेम्वाङसहितका नेताहरूले नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतलाई भेटेर भोट मागेका छन्।

पुस १० मा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिका दुवै उम्मेदवारलाई पार्टीको बैठकले निर्णय गर्ने जवाफ दिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रचण्डले धोका दिए पछि माधव नेपाललाई फकाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) लाई राष्ट्रपतिमा नेम्वाङलाई साथ दिन पत्र लेखेका छन्। ओलीले पठाएको पत्रमा पार्टीको नाम गलत पाएपछि डा. भट्टराईले ट्विटरमार्फत पार्टीको नाम स्मरण गर्न आग्रह गरेका छन्।

मन्त्रिपरिषद् विस्तारको गृहकार्य

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु भएको बताएका छन्। नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि १६ वटा मन्त्रालय आफूसँगै राखेका प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य सुरु भएको बताएका हुन्।

राष्ट्रपति उम्मेदवारमा पौडेललाई समर्थन गरेको आठ दलीय गठबन्धनले सांसदहरूको लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमबाट बाहिरिने क्रममा प्रचण्डले वर्तमान गठबन्धन पाँच वर्ष टिक्ने बताए। उनले राष्ट्रपति र उपराष्ट्रपति चयनपछि विश्वासको मत लिने बताए।

प्रमुख विपक्षी दलको विवादले प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्म स्थगित भएकाले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति चयनपछि मात्रै विश्वासको मत लिने बताएका हुन्।

सांसदहरूको अभिमुखीकरणमा प्रधानमन्त्री प्रचण्डले पुस २६ को प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठिक थियो भन्ने दाबी गरे पछि समीकरण बदलेको बताए। पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको प्रधानमन्त्री प्रचण्डले बताए।

राष्ट्रपतिका लागि म्याराथन दौड, देउवाले क्वात्रालाई झपारेको दाबी

राष्ट्रपति चयन : ओली-प्रचण्ड आमनेसामने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading