राष्ट्रपतिका लागि म्याराथन दौड, देउवाले क्वात्रालाई झपारेको दाबी

राष्ट्रपतिका लागि म्याराथन दौड, देउवाले क्वात्रालाई झपारेको दाबी

काठमाडौं : राष्ट्रपति निर्वाचनको मिति निजिकिदै जाँदा दलका नेताहरूको म्याराथन दौड सुरु भएको छ। पानी बाराबारको अवस्थामा रहेका नेताहरू राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा नजिक बनेका छन्।

पुस १० को परिस्थितिमा पनि फेरबदल आउने देखिएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा पुरानो गठबन्धनलाई समर्थन गर्ने सङ्केत दिएकाले परिस्थितिमा फेरबदल आएको मान्न सकिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए।

‘विपक्षमा बसेका पार्टी समर्थन सहित विपक्षमा बसेको अवस्था छ,सरकारमा सहभागीका पार्टी सरकार बाहिर बसेर समर्थन गरेको अवस्था भन्या त परिस्थितिमा केही फेरबदल भइराखेको छ,’बस्नेतले भने,‘यो परिस्थितिमा आएको फेर बदलले सहमतिको माग गरेको हो।’

राष्ट्रपति चुनावले सत्ता गठबन्धनमा फेरबदल हुने नहुने समेत निश्चित गर्नेछ। प्रतिपक्षी काँग्रेसले राष्ट्रपति चुनावबाट एमालेलाई सत्ता बाहिर पुर्‍याउने अन्तिम प्रयास जारी राखेको छ।

तर, एमाले उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल गठबन्धन नै फेरबदल हुने अवस्था अहिले नदेखिएको दाबी गर्छन्। ‘सम्बन्धहरूमा उकाली ओरालीहरू राजनीतिक नेताहरुकाबिचमा देखापर्छन,तर मुलुकको परिस्थितिले आवश्यकताले नेताहरूलाई एक ठाउँमा खडा पनि गर्छ,’उनले भने,‘त्यसकारण अहिले जुन दुरी नापिरहनु भएको छ, त्यो यथार्थमा त्यस्तो छैन भन्ने मैले बुझ्या छु।’

गठबन्धन जोगाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो नाम लिँदा पनि कुल्ला गर्नुपर्ने अभिव्यक्ति दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेका छन्। नेपालले पनि आफूलाई घुमाउरो पाराले अध्यक्ष ओलीबाट राष्ट्रपति बन्न प्रस्ताव आएको स्वीकार गरेका छन्।

केपी ओली गठबन्धन जोगाउन राष्ट्रपतिको अफर दिन व्यस्त भएका छन्। उनले बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटार पुगेर छलफल गरेका थिए। राष्ट्रपतिमा ओलीले दिएको अफरलाई काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको सुनको बालामा अलमलिन नहुने बताएका छन्।

‘अब सुनको बाला देखाउने भनेर कमरेड केपी ओलीले काँग्रेसलाई भन्नुहुन्थ्यो,सुनको बाला निक्कै वटा छ कि क्या हो बालकोटमा, कहिले उहाँ (ओली) माधव कमरेडलाई देखाउनुहुन्छ,कहिले झलनाथ कमरेडलाई देखाउनु हुन्छ, कहिले महन्थ ठाकुरलाई देखाउनु हुन्छ,’शर्माले भने,‘त्यसकारण अहिले उहाँको सुनको बालामा अलमलिनु हुँदैन।’

राष्ट्रपति चयनका विषयमा काँग्रेस र एकीकृत समाजवादी पार्टीका नेताहरूले बुधवार बेलुकी प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगै बालुवाटार प्रवेश गरे पनि माधव नेपाल भने देउवा भन्दा अगाडि नै बाहिरिएका थिए।

प्रधानमन्त्री प्रचण्ड आफू अनुकूल राष्ट्रपतिको खोजीमा

राष्ट्रपतिको उम्मेदवार दर्ता गर्न तीन दिन मात्रै बाँकी रहँदा काँग्रेस र एमालेले उम्मेदवारको टुङ्गो लगाउन भने सकेका छैनन्। एकीकृत समाजवादीले माधव नेपाल वा झलनाथ खनाललाई राष्ट्रपतिमा समर्थन जुटाउन पहल गर्ने निर्णय नै गरेको छ।

राष्ट्रपतिको प्रस्ताव नआए पनि पार्टीले सरोकार राख्ने समाजवादीका सम्मानित नेता खनालले बताए। समाजवादीको बैठकले राष्ट्रपति चयनका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपतिमा महन्थ ठाकुरलाई समर्थन मागेको लोकतान्त्रिक समाजवादी पार्टीले बुधवार काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेको छ। सभापति देउवाले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिनुभएको लोसपा नेता शरदसिंह भण्डारीले जानकारी दिएका छन्।

मतदातामा फरार सांसद

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि फरार सांसदको नाम समावेश गरेर मतदाता नामावली सार्वजनिक गरेको छ। ८ सय ८१ जना मतदाताको नामावलीमा फरार सांसद लक्ष्मी कोइरी महतोको समेत नाम समावेश गरिएको छ।

फागुन २५ मा हुने राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश गरिएको छ। कुल ८ सय ८४ मध्ये सङ्घीय संसद्का अरुण कुमार चौधरी र टेकबहादुर गुरुङको नाम समावेश गरिएको छैन। रवि लामिछानेको पद रिक्त भएकाले ३ जना मतदाता कम छन्।

राष्ट्रपतिको चर्चामा पूर्वप्रधानमन्त्रीहरु : संविधानले दिएको अधिकार के हो?

नाम समावेश नभएका अरुण कुमार चौधरीको निलम्बन फुकुवाको पत्र आएकाले निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

संसद् सचिवालयले कोइरीको नाम नामेसी दिएकाले कायम राखिएको प्रवक्ता पौडेलले बताए। ‘संसद् सचिवालयले लक्ष्मी कोइरीको सही सलामतको नाम नामेसी दिनुभएको छ,अब बाहिर कहाँ कता फरार हुनुहुन्छ रे भन्ने कुरा आयोगले जानेन त्यो कुरा,’उनले भने,‘संसद् सचिवालयले सलक्क नाम दियो, आयोगले सलक्क पठाइदियो।’

मतदाता नामावलीमा बिहीबारसम्म उजुरी दिन सकिने र छानबिन गरी पर्सी शुक्रवार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। शनिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गरिनेछ।

देउवाले झपारे

राष्ट्रपति चयनमा विदेश चलखेल भएको आरोप लागेको छ। भारत र चीनले खुलेआम नेपाली नेताहरूलाई भेटेर राष्ट्रपति चयनमा चासो राखेका छन्।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री लगायतका नेताहरूलाई भेटेर भारतीय विदेश सचिव विनय मोहन क्वात्राले राष्ट्रपति चयनमा दबाब दिएको आरोप लागेको हो।

प्रधानमन्त्री बन्न नपाएका काँग्रेस सभापति शेरबहादुर देउवाले विदेश सचिव क्वात्रालाई झपार्नु भएको देउवा निकट स्रोतले बताएको छ। ‘राष्ट्रपतिको उम्मेदवारबारे क्वात्राले देउवासँग कुरा राखेका थिए,’देउवा निकट स्रोतले भन्यो,‘हाम्रो आन्तरिक मामिलामा किन चासो भयो जानुहोस् भन्नुभयो।’

देउवा रिसाएको भेउ पाएपछि क्वात्राले फकाउन देउवा निकट नेताहरूसँग भेटेको स्रोतको दाबी छ। देउवालाई सम्झाइदिनु पर्‍यो भन्दै क्वात्राले नेताहरूसँग आग्रह गरेको स्रोतको दाबी छ। देउवाले झपारेपछि क्वात्राले देउवालाई सम्झाइदिन भन्दै नेता बालकृष्ण खाँणलाई भेट्नु भएको स्रोतले दाबी गरेको छ।

क्वात्रा भारत फर्के लगत्तै नेपालका लागि चिनियाँ राजदूतले भेटघाटलाई तीव्रता दिएका छन्। चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई छुट्टाछुट्टै भेटेर राष्ट्रपति चयनमा चासो राखेका छन्।

राष्ट्रपति चयनमा विदेशी चलखेल भएको भन्दै संसद्मा विरोध भएको छ। सत्तारुढ दल नेकपा एमालेका सांसद रघु जी पन्तले नेपालका भावी राष्ट्रपतिको नाम विदेशीको ट्विटमा पढ्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद पन्तले भारतीय चलखेल रोक्न नसक्ने परराष्ट्र मन्त्रीको आलोचना समेत गरेका छन्। परराष्ट्रमन्त्रीमा एमालेकै विमला राई पौड्याल छिन्।

एमाले सांसद पन्तले विदेशी नेपाल भ्रमण आउँदा नियमन गर्नेबारे ध्यान दिन परराष्ट्र मन्त्रालयलाई आग्रह गरे।

‘परराष्ट्र मन्त्रालयले इमिडियट विदेशी राजदूतहरू, पदाधिकारीहरू आउँदा कसरी त्यसलाई नियमन गर्ने हो,यो देशको स्वाभिमानका लागि पनि नगरी नहुने भयो,’पन्तले भने,‘नेपाल सरकारको ध्यान तदारुकताका साथ यसतर्फ जाओस् भन्ने आग्रह गर्छु।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading