‘विवाहपछि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता’

‘विवाहपछि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता’

महिला पत्रकारलाई महिलामैत्री वातावरण नहुनु, यौन दुर्व्यवहार, जिम्मेवारी विभाजनमा विभेद हुनु, निर्णायक तहमा न्यून उपस्थिति हुनु, पेसागत सुरक्षाको ग्यारेन्टी नहुनु, विवाहपछि काम छोड्नुपर्ने लगायत चुनौती छन्।

महिला पत्रकारले कार्यस्थलमा भेदभाव सहनुपर्ने तथा काम गराइको हिसाबमा होच्याउने, महिला भएकै कारण जिस्किने, शारीरिक रूपलाई लिएर खराब स्पर्श गर्ने जस्ता धेरै समस्या भोग्नुपरेको देखिन्छ।

पत्रकारिताको इतिहासमा महिला

नेपाली पत्रकारिताको इतिहासमा महिला पत्रकारको जन्म महिला मासिकबाट सुरु भएको हो। २००८ सालमा मुलुकको पहिलो महिला सम्पादकको रूपमा आफूलाई स्थापित गर्दै साधना प्रधानले ‘महिला’ मासिक पत्रिका प्रकाशित गरिन्। त्यस वेलाको यो एकमात्र महिला पत्रिका लामो समयसम्म टिक्न सकेन। महिला मासिकले भने पत्रकारिता क्षेत्रमा महिला आकर्षण बढाएको मानिन्छ। नेपाली माटोमा महिलाहरूद्वारा सम्पादित भई प्रकाशित भएको पत्रिकाको जेठो बिरुवा हो यो।

यसको केही महिनापछि प्रियंवदा शर्माको सम्पादन तथा कन्यामन्दिर हाईस्कूल साहित्य विभागको प्रकाशनमा ‘प्रभा’ नामक नेपाली भाषाको मासिक पत्रिका २००८ साल आश्विनमा र कुन्तीदेवीको सम्पादन तथा अखिल नेपाल महिला सङ्घको प्रकाशनमा ‘प्रतिभा’ नामक नेपाली भाषाको मासिक पत्रिका २००९ साल भाद्र १६ गते प्रकाशित भयो। यी दुवै पत्रिकाहरू नेपाली भाषा र साहित्यको सेवा गर्न सक्दो अग्रसर भएको देखिए पनि एक वर्षभन्दा बढी जीवित रहन नसकेको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहासमा उल्लेख गरिएको छ।

पञ्चायतकालमा प्रेसमाथि हुने अङ्कुश २०४६ पछि अन्त्य भयो। २०४६ सालको राजनीतिक परिवर्तनपछि मात्र नेपाली मिडियाको विकास भएको हो। २०५० को दशक नेपाली पत्रकारितामा व्यावसायिक पत्रकारिताको विकास भएको हो। यसबिचमा पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजनको विकास र विस्तार भए। २०६२/०६३ को जनआन्दोलनपछि न्यु मिडियाको रूपमा अनलाइन न्युज पोर्टलको विकास भयो। डिजिटल प्रविधिको विकासले आज अनलाइन मिडियाको विकास भइरहेको छ।

यसका साथै सञ्चारक्षेत्रमा पत्रकार महिलाको सङ्ख्या र त्यहाँ उनीहरूलाई नेतृत्वदायी भूमिकामा स्थान बढाउन र पत्रकार महिलाको क्षमता विकास गर्न नेपाल सरकारले सञ्चारगृहमा लैङ्गिक नीति लागू गरेको छ। सरकारले लैङ्गिक नीति लागू वा समीक्षा गर्ने सञ्चारगृहलाई सरकारी सहयोग दिने खालको रणनीति बनाउनु पर्छ। तब मात्र सञ्चारक्षेत्रमा महिलाको विश्वास र भरोसा बढ्नेछ।

लिडिङ पोजिसन

राज्यका विभिन्न तहमा महिला सहभागिता कम छ। सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व सम्हाल्ने महिला थोरै छन्। महिला सम्पादक बन्नका लागि आफ्नै लगानीमा मिडिया हाउस वा अनलाइन सञ्चालन गर्नुपर्ने अवस्था देखिन्छ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) २०२० मा गरेको सर्वेक्षणबाट ६७.७ प्रतिशत पत्रकार महिलाले आफ्नो मुख्य बिट महिला तथा बालबालिका बनाएको देखिन्छ भने शिक्षा, स्वास्थ्यलाई त्यसपछिको रुचिको बिट छानेका पाइन्छ।

यसका साथै राजनीतिमा ४१.२ प्रतिशत र मनोरञ्जनमा २५.७ प्रतिशत महिला पत्रकारहरू आबद्ध छन्। शिक्षामा ५३.५ प्रतिशत र स्वास्थ्यलाई ५१.९ प्रतिशतले आफ्नो बिट मानेका छन्। साथै स्थानीयमा ४९.२ प्रतिशतले आफ्नो बिटको रूपमा लिएका छन्।

‘डब्लुडब्लुजे’ले गरेको सर्वेक्षणमा पाँचमध्ये दुई सहभागीले उनीहरूको सञ्चारगृहमा महिला सम्पादक रहेको बताएका छन् भने पाँचमध्ये तीनले आफ्नो सञ्चारगृहमा महिला सम्पादक नरहेको बताए।

प्रदेशस्तरीय जानकारीअनुसार आधाभन्दा बढी सहभागी ५७.६ प्रतिशतले कर्णाली प्रदेशमा आफ्नो सञ्चारगृहमा महिला सम्पादक रहेको बताएका छन्। बाग्मती प्रदेशका करिब आधाभन्दा बढी सहभागी ४९.४ ले पनि आफ्नो सञ्चारगृहमा महिला सम्पादक रहेको जानकारी दिएको तथ्याङ्क छ।

एफजिडी कार्यक्रममा प्राप्त जानकारीअनुसार सातै प्रदेशका अधिकांश महिला सम्पादकहरू साना स्तरका प्रायः आफैँले सञ्चालन गरेका दैनिक र साप्ताहिक समाचारपत्र, रेडियो र अनलाइनमा कार्यरत छन्। यद्यपि पत्रकार महिलाहरूलाई राज्य, सञ्चारगृह र पुरुष सहकर्मीको सहयोग सीमित मात्रामा मात्र उपलब्ध हुने गरेको छ। यसरी उनीहरू आफैँले आफैँलाई रोजगार र पद सृजना गरेर पत्रकारिता गरिरहेको तथ्याङ्कमा उल्लेख छ।

सम्पादक तहमा महिला हुनुपर्छ भन्ने सोचाइ अहिलेसम्म पनि मिडिया सञ्चालकमा विकास भएको छैन। महिलाहरू राजनीति गर्दैनन्, लेख्न जान्दैनन् जसकारण लिडिङ पोजिसनमा कमै आउँछन्।

नेपालमा पत्रकारिताको विकाससँगै महिला पत्रकारको सहभागिता भने बढेको पाइन्छ। तैपनि महिला भएकै कारण महिला पत्रकारहरूले घरगृहस्थी सम्हाल्दै गर्दा पत्रकारिता पेसा त्याग्नुपर्ने बाध्यता देखिएको छ।

कार्यस्थलदेखि फिल्डसम्मै हिंसा

डब्लुडब्लुजेले गरेको प्रदेशगत सर्वेक्षणले कर्णाली, गण्डकी र मधेस प्रदेश यस्ता मुख्य तीन प्रदेश हुन् जहाँ अधिकांश सहभागीले अन्य प्रदेशको तुलनामा बढी यौन दुर्व्यवहारको सामना गरिरहेका देखाएको छ।

पाँचमध्ये तीन सहभागीले पत्रकार महिलाले यौन दुर्व्यवहार भोगेको सुनाएका छन्। कर्णाली प्रदेशका ४५.५ प्रतिशत सहभागीले त्यस्तो घटना भएको सुनेको र गण्डकी प्रदेशका सहभागीले पनि उक्त कुरा उल्लेख गरेको तथ्याङ्क छ।

डब्लुडब्लुजेले गरेको सर्वेक्षणमा यौन दुर्व्यवहार भोगेको विषयमा ४७३ जना पत्रकार महिलाले दशमध्ये एकजना (१०.१ प्रतिशत) ले आफ्नो पत्रकारिता पेसामा यौन दुर्व्यवहार भोगेको उल्लेख गरिएको छ।

सर्वेक्षणका सहभागीहरूले पुरुष सहकर्मीसँग यात्रा गरिरहेका वेला यौन दुर्व्यवहार भोगेका केही उदाहरण पनि उल्लेख छन्। जस्तो उनीहरूको शरीरको वर्णन गर्ने, गलत मनसायले छुने आदि।

सहभागीहरूसँग महिला सञ्चारकर्मीमाथि यौन दुर्व्यवहार भएकोबारे प्रश्नमा ५०० सहभागीमध्ये ४६३ जनाले प्रतिक्रिया दिएका छन्। यीमध्ये पाँचमा दुईजना (४० प्रतिशत) ले यस्तो घटना सुनेको बताए भने पाँचमा तीनजना (६० प्रतिशत) ले यस्तो घटना नसुनेको तथ्याङ्क छ।

मधेस प्रदेशमा करिब पाँचमध्ये तीन सहभागी पत्रकार महिलाले यौन दुर्व्यवहार भोगेको केही घटना सुनेको, कर्णाली प्रदेशका ४५.५ प्रतिशत सहभागीले त्यस्तो घटना भएको सुनेको र गण्डकी प्रदेशका सहभागी केहीले पनि उक्त कुरा सुनेको तथ्याङ्कमा उल्लेख छ।

सर्वेक्षणको परिणामअनुसार मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशबाट सर्वेक्षणमा सहभागी ५०० मध्ये ४६८ जनाले महिला भएकै नाताले भेदभावको सामना गर्नुपरेको प्रतिक्रिया दिएका छन्। तीमध्ये एक तिहाइ (३३.५ प्रतिशत) ले यस्तो भेदभाव भोगेको उल्लेख गरेका छन्।

सञ्चारिका समूहकी पूर्व उपाध्यक्ष एवं वरिष्ठ पत्रकार कमला पन्थी आफूलाई पुरुष जत्तिकै अब्बल देखाउने प्रयासमा समय बिते पनि महिलालाई आफ्नो क्षमता प्रस्तुत गर्न बिसौँ वर्ष लाग्न सक्ने बताउँछिन्। ‘हामी पुरुषवादी समाजमा बाँचिरहेका छौँ। पुरुष हरेक तरिकाले सही छ भन्ने हाम्रो संस्कार हो’, उनले भनिन्, ‘यसरी नै कार्यस्थलमा सुरक्षाका दृष्टिकोणले महिला पत्रकार असुरक्षित छन्। कार्यस्थलमा सुरुमा महिला र पुरुषको सङ्ख्या उस्तै हुने तर दसौँ वर्षपछि महिला बिस्तारै यो पेसाबाट पलायन हुँदै गएको रिसर्चले समेत देखाएको छ।’

मिडियामा महिलामैत्री वातावरण नभएको बताउँछिन् उनी। कार्यस्थलमा एक महिला पत्रकार आमालाई सुत्केरी बिदा, अफिसमा बच्चा ल्याउने वातावरण, दूध खुवाउने वातावरण नहुनुको छुट्टै पीडा रहेको बताइन उनले।

महिलाले विवाहअघिको, विवाहपछिको र बालबच्चा भइसके पछिको गरी तीन फरक जिन्दगी बाँच्न बाध्य भएको उनले अनुभव सुनाइन्। ‘जस कारण कैयौँ क्षमतावान् महिला पत्रकारले विवाहपछि पेसा परिवर्तन गर्नुपर्ने बाध्यता छ’, उनले भनिन्।

सफ्ट बिट धारणा

सेतोपाटी अनलाइनमा ४९ कार्यरतमध्ये १४ जना महिला पत्रकार छन् र तीमध्ये अधिकांश महिला पत्रकारहरू कला, साहित्य तथा समसामयिक विषयमा कलम चलाउनेहरू छन्।

गोरखापत्र अनलाइनमा ३० जना पत्रकारहरूमध्ये ९ जना महिला पत्रकार छन्। नौजनामा पनि राजनीतिक बिटमा एकजना र बाँकी ८ जना कला, साहित्य र स्वास्थ्य बिटमा आबद्ध छन्।

महिला पत्रकारलाई कला, स्वास्थ्य, मनोरञ्जन, फेसन र सामाजिक मुद्दाका बिट पुरुषले सजिलो भन्दै थमाउने गर्छन् तर वास्तवमा यो सहज बिट भने हैन। पन्थीले भनिन्, ‘पुरुषले आफूले बोकेका बिट महान् र ठुला सोच्छन् तर सामाजिक विभेद, हिंसा, न्याय र दुर्व्यवहार सबै विषय सामाजिक मुद्दासँग जोडिएका हुन्छन्। राजनीतिमा फलाना नेताले बोलेको लेख्न गाह्रो मान्ने पुरुष पत्रकारले सामाजिक मुद्दामा कलम चलाउनु सजिलो भन्ने धारणा गलत हो।’

जहाँ धेरै अन्तर्संवाद त्यहाँ धेरै सूचना। कतिपय महिला पत्रकारहरू त आफ्नै स्रोतबाट हिंसामा परेका हुन्छन् तर सूचना पाउने फाइदाका कारण खुलेर हिंसासमेत इन्कार गर्न सकिरहेका हुँदैनन्।
पत्रकारितालाई जीवन बनाउँछु भनेर लागेका महिला पत्रकारहरूसमेत हिंसाविरुद्ध आवाज उठाउन नसकेर पलायन भएका छन्। त्यसैले जबसम्म महिलाहरू आफैँ नै नीति निर्माणको तहसम्म पुग्दैनन्, त्यो वेलासम्म महिलाहरू विभेद र हिंसामा परिरहन्छन्।

(पत्रकार सनम महर्जनको यो समाचार फिचर प्रशिक्षार्थी पत्रकार लेखनवृत्तिका लागि नेपाल पत्रकार महासङ्घले युरोपियन युनियन र इन्टरनेशनल अलर्टको सहयोगमा प्रकाशन गरेको ‘सिक्दै…लेख्दै…सिक्दै’ बाट लिइएको हो)

चुनौती झेल्दै नेतृत्वको सङ्घर्ष

सूचना लुकाउने प्रतिस्पर्धा

न्यायिक निकायको प्रभावकारितामा सञ्चारक्षेत्र

अझै असहज र चुनौतीपूर्ण पत्रकारिता

त्यो समाचार, जसले अँध्यारोमा सुत्केरी गराउँदा हुने जोखिम कम भयो

गोपनीयताको संस्कारमा हुर्केको प्रशासनिक संयन्त्र

पत्रकार महिलालाई सबै क्षेत्रमा असुरक्षा

पत्रकार महिला : नाम छ, दाम छैन

विस्थापित हुँदै पत्रकार

न्यायिक निकायको विश्वसनीयतामा शङ्का

महिला पत्रकार : अवसरभन्दा चुनौती धेरै

सामाजिक सञ्जाल : परिवर्तनको संवाहक तर जोखिम उस्तै

सूचनाको हक : कानुनमा छ, व्यवहारमा छैन

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading