काठमाडौं : नेपाल छाडेर विदेशमा बसोबास गर्दै आएका नेपालीलाई यति बेला चुनाव लागेको छ। हरेक दुई/दुई वर्ष दसैँ तिहारको छेको पारेर विदेशमा बस्ने नेपालीले नेपालमा सम्मेलन गरेर नेतृत्व चुन्दै आएका छन्।
गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्व चयन गर्न एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुदैछ। राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मेलनको उद्घाटन गर्न निम्तो समेत दिइसकेको सङ्घले जनाएको छ।
सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली सङ्घले पहिलो पटक तीन अध्यक्ष समेत पाएको छ। राजनीतिक भागबन्डामा ६/६ महिना कार्यकाल बाँडेर कुल आचार्य, रबिना थापा र बद्री केसीले दुई वर्षको कार्यकाल सकेका छन्।
अबको दुई वर्ष पूरा नेतृत्वमा पुग्न रबिना थापाले उम्मेदवारी दिने बताएकी छन्। ६ महिने कार्यकालमा सुरुवात गरेका योजना कार्यान्वयन गर्न पुन उम्मेदवार बन्न लागेको थापा बताउँछिन्। ‘मेरो कार्यकालमा केही राम्रो कामको सुरुवात भएको छ,’थापाले पहिचानसँग भनिन्,‘वंशजकै नागरिकता निरन्तरताका लागि पहल गर्नु छ।’
एनआरएनए अध्यक्षमा दोहोरिने रबिनाको तयारी
संविधानको धारा १४ र नेपाली नागरिकता त्यागेर विदेश पुगेका नेपालीको माग अनुसार सरकारले पनि गैरआवासीय नेपाली नागरिकता जारी गर्न लागेको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।
गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा.बद्री केसी नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखा परे सहजीकरण गर्न सरकार तयार रहेको बताए।
‘एक पटकको नेपाली सधैँको नेपाली’ नारा राखेको एनआरएनएले अहिले फेरी वंशजकै नागरिकता निरन्तरताको माग गर्न थालेको छ। चाडबाड मनाउन नेपाल आएर सम्मेलन गर्ने, लगानीको प्रतिबद्धता जनाउने र नेपाल छाडेपछि कुरा मात्रै गर्ने आरोप एनआरएनए माथि लाग्ने गरेको छ।
नेपालको श्रीसम्पत्ति बिक्री गर्ने र बृद्धबाआमालाई वृद्धाश्रममा राखेर विदेश बस्ने सन्तान नै गैरआवासीय नेपाली भएर सम्मेलनमा सहभागी हुने चर्चा समेत सुनिने गरेको छ। नेपाल टेलिभिजनको ‘भद्रगोल’ हास्य टेलिश्रृखंलामा समेत बुबालाई वृद्धाश्रममा राखेर विदेश पुगेका सन्तानको चर्तिकला देखाइएको छ।
नयाँ सदस्यता
एनआरएनएको महाधिवेशन प्रतिनिधि दर्ता गर्न सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आह्वान गरेको सङ्घले नयाँ सदस्यता खुलाएको छ। एनआरएन पञ्जीकृत सदस्य (२०२३–२०२५) बन्न एनआरएनएको वेबसाइटमा गएर रजिस्टर गर्नु पर्नेछ। शुल्क ५ डलर तोकिएको छ।
एनआरएनए स्पेनकी सचिव सुन्दरी लामाले नयाँ नेतृत्व चयनका लागि हुन लागेको चुनावमा महाधिवेशन प्रतिनिधि मात्र सहभागी हुन पाउने बताइन। ‘अहिलेको नयाँ सदस्यता एनआरएनएको अभियान हो,’लामाले भनिन्,‘सबै सदस्यहरूले आआफ्नो देशको चुनावमा भाग लिन पाउँछन्,केन्द्रको चुनावमा भने प्रतिनिधिले मात्र भाग लिन पाउँछन्।’
एनआरएनको सदस्य भएको दुई वर्ष पछि स्वतः प्रतिनिधि हुने गरी विधानमा संशोधन गरिएको उनले जानकारी दिइन।
काठमाडौँमा हुने एनआरएनए महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको अन्तिम नामावली भने अगस्ट ३१ तारिखमा प्रकाशन गरिने सङ्घले जनाएको छ।
सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ।
नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान
एनआरएनए ‘नेपालीका लागि नेपाली’ भन्ने नाराका साथ सन् २००३ मा स्थापना भएको थियो। स्थापनाको २० वर्षमा ८७ मुलुकमा सङ्घको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठुलो साङ्गठनिक सञ्जाल निर्माण गर्न सक्नुलाई महत्त्वपूर्ण उपलब्धि ठानेको सङ्घले दाबी गरेको छ। सङ्घका अनुसार विश्वभरबाट ९६ हजार ८ सय ५० पञ्जीकृत सदस्य आबद्ध छन्।
१० औँ महाधिवेशनको क्रममा देखिएका असन्तुष्टीहरु समेत सम्बोधन भैसकेको दाबी सङ्घले गरेको छ। विवादका कारण सङ्घको नेतृत्वमा पहिलो पटक तीन जना अध्यक्ष चुनिएका थिए।
विदेशमा रहेका नेपाली : निराशालाई आशामा बदल्दै
गैरआवासीय नेपाली सङ्घमा झगडियाहरूले गरे पालैपालो अध्यक्ष बन्ने सहमति
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.