विदेशमा रहेका नेपाली : निराशालाई आशामा बदल्दै

विदेशमा रहेका नेपाली : निराशालाई आशामा बदल्दै

काठमाडौं : विदेशमा बसोबास गर्ने नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ एनआरएनएले नागरिकता निरन्तरताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

रबि लामिछानेको नागरिकता विवादमा संसददेखि मन्त्री पद गुमेपछि तर्सिएका गैरआवासीय नेपालीले नागरिकता निरन्तरताको व्यवस्था गर्न आग्रह गरेका हुन्।

‘एक चोटिको नेपाली सधैँको नेपाली’ भन्ने नारा र एनआरएनहरूलाई जोडेर नेपाललाई संवृद्ध बनाउन नागरिकता निरन्तरताको माग गरेको बताउँछिन् एनआरएनए अध्यक्ष रबिना थापा। विदेशमा बसेका नेपालीहरूलाई नेपालमा ल्याउन नागरिकताको विषयले अन्योल भएको थापाले बताइन।

गैरआवासीय नेपालीले नेपालमा किनेका सम्पत्तिहरूको सुरक्षाको चिन्ता समेत देखिएको उनले सुनाइन। ‘अझ बढी लगानी ल्याउने भन्ने कुरामा लिगल पार्ट नागरिकताको कुराले गर्दा अन्योलमा छौँ,’थापाले भनिन्,‘त्यसकारण धेरै नेपालीहरू यतिवेला एकदमै तर्सेको, झस्केको अवस्था छ।’

एनआरएनएको मागै माग, सरकारको आश्वासन मात्रै

उनले निराशामा रहेका नेपालीलाई आशामा बदल्ने उद्देश्यका साथ काम गरिरहेको दाबी गरिन्। ‘अब हामी नेपालमा केही गर्न सकिन्न होला भन्ने निराशा छ,’थापाले भनिन्,‘त्यो निराशालाई कसरी आशामा बदल्न सकिन्छ भन्ने हाम्रो मेन उद्देश्य छ अहिले।’

संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था छ। राजनीतिक बाहेकको अधिकार दिने व्यवस्था छ संविधानमा। संविधानको व्यवस्था अनुसार संशोधन हुनु पर्ने नागरिकता ऐन २०६३ को विधेयक तयार गर्दैछ सरकार। अघिल्लो संसद्ले दुईदुई पटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपति कार्यालयले निष्क्रिय बनाइदियो। अहिलेको नयाँ संसद्मा नागरिकता ऐन संशोधन विधेयक पुगेको छैन।

राष्ट्रपति पौडेलले भने, नागरिकता विधेयकमा समस्या छैन

विदेशमा बसेका नेपालीलाई तेस्रो पुस्तासम्म मात्रै नागरिकता दिने कुराले झस्काएको छ। चौथो पुस्तापछि नेपाली नागरिकता सकिने कुराले तर्साएको छ विदेशमा बसेका नेपालीलाई।

‘त्यस्तो कानुन बनाउनु भनेको देशको लागि पनि ठुलो हानी हुन्छ। विदेशमा बस्ने सेकेन्ड जेनेरेसनका बच्चाहरूलाई नेपाल ल्याउने पनि बन्द हुन सक्छ,’उनले भनिन्,‘त्यसकारण त्यसलाई निरन्तर गर्नुपर्छ। यही बस्ने भए राजनीतिक सुविधा पनि दिने आफ्नो ठाउँमा छ त्यो। त्यही पनि विदेशमा बस्नेहरू धेरै राजनीति गर्न आउँदैनन्। तर त्यो बाहेकको हामीलाई त्यही नागरिकतामा, त्यही नम्बरमा निरन्तर गरिदिनु पर्‍यो भन्ने हाम्रो माग हो।’

नागरिकताको निरन्तरताले आफ्नो देशमा आवत जावत गर्न सहज हुने र धेरै लगानी आउने दाबी एनआरएनए अध्यक्ष थापाले गरेकी छन्। ‘जग्गा जमिन यथावत् रहन्छ। तीन पुस्तासम्म भन्दा छ सम्पत्ति म्यानेज गर्न मात्रै दिए जस्तो लाग्छ,’उनले भनिन्,‘सरकारले त विदेशमा गएकालाई फिर्ता ल्याउने वातावरण बनाउनु पर्छ। आउनै पर्छ भन्ने योजना ल्याउनु पर्छ। त्यसका लागि नागरिकताको निरन्तरता हुनु पर्छ।’

नेपालको सम्पत्ति बिक्री गरेको पैसा विदेशमा, नागरिकता दिए बेचबिखन रोकिने एनआरएनए अध्यक्ष डाक्टर केसीको दाबी

विदेशको पासपोर्ट लिएका रबि लामिछानेले नेपालमा लिएको पुरानो नागरिकता बुझाए पनि अरूले नबुझाएको उनले बताइन। नागरिकता नबुझाएकालाई निरन्तरता दिएर राजनीति बाहेकको अधिकार दिनुपर्ने थापाले बताइन। ‘सरकारले राम्रो पोसिली बनाउनु पर्‍यो। सिस्टम बदल्न जरुरी छ। सजिलो वातावरण बनाउनु पर्‍यो,’उनले भनिन्,‘विदेशमा सिकेको ज्ञान, सिप र पुँजी सरकारले माग्नु पर्‍यो, स्वयंसेवक भएर सहयोग गर्न राजी छौ।’

सबै एनआरएनएलाई नेपाली बनाउनु पर्ने उनले बताइन। एनआरएनए भन्ने नै बन्द गराउनु पर्ने थापाले सुनाइन। ‘नागरिकताका इस्युहरुलाई समाप्त गर्नुपर्छ,’उनले भनिन्,‘एनआरएनए भन्ने नै अब बन्द गराउनु पर्छ।’

एनआरएनए अध्यक्ष थापाले विदेशमा बसेका सधैँ सङ्गठनलाई बलियो बनाउने मात्र नभई अब नेपाललाई संवृद्ध बनाउन लाग्नु पर्ने बताइन। ‘नेपाललाई कसरी धनी बनाउन सकिन्छ। विकसित (डेभलप) देशका नागरिकलाई हेर्ने दृष्टिकोणको लेभलमा पुर्‍याउन सक्नु पर्छ,’अध्यक्ष थापाले भनिन्,‘त्यो नै हाम्रो अबको उद्देश्य हुन्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading