गैर आवासीय नागरिकता

नेपालको सम्पत्ति बिक्री गरेको पैसा विदेशमा, नागरिकता दिए बेचबिखन रोकिने एनआरएनए अध्यक्ष डाक्टर केसीको दाबी

नेपालको सम्पत्ति बिक्री गरेको पैसा विदेशमा, नागरिकता दिए बेचबिखन रोकिने एनआरएनए अध्यक्ष डाक्टर केसीको दाबी

काठमाडौं : गैर आवासीय नेपाली सङ्घ एनआरएनएले विदेशमा रहेका नेपालीले नागरिकता नपाउँदा नेपालको सम्पत्ति विदेशमा पुगेको बताएको छ। ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नाराका साथ स्थापना एनआरएनएका अध्यक्ष डाक्टर बद्री केसीले नेपाली नागरिकता नहुँदा पैतृक सम्पत्ति बिक्री गरेर विदेशमा पैसा लैजाने गरेको बताए।
विदेशमा रहेका नेपालीलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरे पैतृक सम्पत्ति बेचबिखन हुन रोकिने अध्यक्ष केसीले बताए। विदेशी नागरिकता लिएका अधिकांश नेपालीले पैतृक सम्पत्तिको रक्षा नहुने भएपछि बिक्री गरेर पैसा विदेशमा लगेको उनको भनाई छ।विदेशी नागरिकता लिनेको स्वतः नेपाली नागरिकता रद्द हुने भएकाले नेपालमा लगानी गर्न उत्साहित नभएको उनले सुनाए। ‘विदेशीले रातो कार्पेट बिछ्याएर नागरिकता दिएको हुन्छ। लिनु पर्ने बाध्यता पनि छ,’उनले भने,‘पैतृक सम्पत्तिको रक्षा नहुने भन्दै बिक्री गरेर नेपालको पैसा विदेश गइरहेको छ।’
त्यसैले विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता रहिरहनु पर्ने माग एनआरएनएले गरेको अध्यक्ष केसीले बताए।
अमेरिकामा रहेका नेपालीले गरे बालेनको चर्चा, नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान
विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता निरन्तर रहिरहनु पर्ने माग सन् २००७ देखि राख्दै आए पनि अहिलेसम्म कानुन बन्न नसकेको उनले बताए। उनले संसद्मा विचाराधीन नागरिकता विधेयकमा गैर आवासीय नागरिकता दिने व्यवस्था गरिए पनि अहिलेसम्म पारित हुन नसकेको उल्लेख गरे।
विदेशमा बसेका नेपालीले नागरिकता नपाउँदा नेपाललाई अर्बौँको घाटा भइरहेको उनले बताए। ‘विदेशमा भएका छोराछोरीलाई पनि नेपालसँग कनेक्सन गरिराख्न नागरिकता पाउनु पर्छ,’उनले भने,‘विदेशी नै भए पनि नेपाली नागरिकता राखिरहेकाहरूको नेपालमा खर्ब भन्दा धेरै लगानी छ,ठुलठुला बैङ्क, अस्पताल र जलविद्युतमा ठुलै लगानी छ।’
उनले विदेशमा ८० लाख नेपाली रहेको बताउँदै अब कृषि क्षेत्रमा पनि लगानी गर्न एनआरएनए लागिरहेको जानकारी दिए। ‘एक्लै आएर नेपालमा लगानी गर्दा सानो हुन्छ,’उनले भने,‘१० अर्बको कम्पनी खडा गरेर लगानी गर्न सरकारले ऐन संशोधन गरेको छैन।’
उनले विदेशी नागरिकलाई लगानीको सिलिङ तोके पनि विदेशमा रहेका नेपालीलाई लगानीको सीमा तोक्ने व्यवस्था हटाउनु पर्ने माग गरे। ‘लगानीको न्यूनतम सीमा नराखियोस्,नेपालमा लगानीका लागि अन्य कुनै विदेशीको मुख ताकिरहनु पर्दैन,’उनले भने,‘पचासौँ अर्ब ल्याउँछौ। ऐनमा सच्याएर नेपाली नागरिक सरह लगानी गर्न पाउनु पर्ने लबिङ गरिरहेका छौ।’
लगानीको सिलिङ हटाएर सानोसानो लगानी पनि गर्न पाउनु पर्छ : अध्यक्ष केसी
उनले ऐन सच्याएर मुनाफा सुरक्षित हुन्छ भन्ने सुनिश्चित भएपछि एनआरएनले नेपालमा लगानी भित्र्याउन रोड सो गर्ने योजना बनाएको बताए। उनले ऐन सच्याएर सानो सानो लगानी पनि गर्न सक्ने व्यवस्था गरे ३ महिनामा २० देखि ३० अर्ब पैसा नेपालमा ल्याउने दाबी पनि गरे।
अध्यक्ष केसीका अनुसार एनआरएनले वैदेशिक रोजगारमा गएका नेपालीको हकहितमा पनि काम गरिरहेको बताए। उनीहरूलाई पनि एनआरएनएको अभियानमा सहभागी गराइरहेको उनले बताए।
विदेशमा काम गरेको पैसाको केही रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने विषयमा पनि लबिङ भइरहेको उनले बताए। सबैको लगानी नेपालमा आओस् भनेर काम गरिरहेको उनले उल्लेख गरे।
उनले विदेशी नागरिकता लिने योग्यता हुँदा हुँदै पनि नेपाली नागरिकता राखिरहेकाहरूलाई मतदानको अधिकारबाट वञ्चित गराइएको बताए। उनले मताधिकार व्यवहारिकतामा लागु गर्नका लागि आवाज उठाइरहेको बताए। ‘राजनीतिक दलहरू सैद्धान्तिक रूपमा सहमत छन्। विदेशमा बस्दा कसरी भोट हाल्ने भनेर मेकानिजम बनाउनु पर्छ,’उनले भने,‘अनलाइनको जमाना छ। घरघरमै बसेर भोट हाल्न मिल्ने जमाना बनिसकेको छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading