रबिनालाई बानाको सम्मान

अमेरिकामा रहेका नेपालीले गरे बालेनको चर्चा, नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान

अमेरिकामा रहेका नेपालीले गरे बालेनको चर्चा, नेपालमा डलर पठाउन एनआरएनए अध्यक्ष रबिना थापाले गरिन आव्हान

अमेरिका : अमेरिकामा बसेका नेपालीले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो बन्न नदिन सहयोग गर्नुपर्ने बताएका छन्। बाल्टिमोर एसोसिएसन अफ नेपालीज इन अमेरिका (बाना) ले एनआरएनए अध्यक्षमा निर्वाचित अमेरिका निवासी रबिना थापाको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनीहरूले विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा नेपालको आर्थिक अवस्था श्रीलङ्काको जस्तो बन्न सक्ने बताए।

उनीहरूले नेपाललाई विश्वभर छरिएर रहेका नेपालीले सहयोग गर्नुपर्ने उल्लेख गरे। नेपालमा भ्रष्टाचार हुनु नदिन समेत विदेशमा रहेका नेपालीले सहयोग गर्नुपर्ने उनीहरूको भनाई छ।

गैर आवासीय नेपालीले माग गर्दै आएको नागरिकता, मतदानको अधिकार, विदेशमा बस्ने नेपालीले पहिचान सहित नेपालबाट पाउनु पर्ने अधिकारमा लडिरहेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सुनाए।

गैर आवासीय नेपाली सङ्घ एनआरएनएकी अध्यक्ष रबिना थापाले ६० जनाबाट सुरु भएको बानाबाट एनआरएनएको अध्यक्षमा पुग्न साथ सहयोग गर्ने सबैलाई धन्यवाद दिइन। बानाले अमेरिकामा नेपाली भाषा कक्षा र बिजनेस फोरमहरू सञ्चालन गरेको स्मरण गर्दै अध्यक्ष थापाले सामाजिक संस्थामा काम गर्दा समाजमा राम्रो उपलब्धि हुनु पर्ने उल्लेख गरिन्।

अध्यक्ष थापाले संस्थालाई संस्थागत गर्न र विवाद मिलाउनका लागि भूमिका निर्वाह गर्दा धेरै चुनौती आएको बताइन। एक चोटिको नेपाली सधैँको नेपाली भन्ने अधिकार खोसिन लागेपछि एनआरएनएमा लागेको उनले सुनाइन्।

एनआरएनएले नेपालको नीतिमा काम गर्ने भन्दै उनले गैर आवासीय नागरिकता पाउने अभियान सफल हुने उल्लेख गरिन। आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाइने तर राजनीति गर्न र लोक सेवा आयोगमा आवेदन दिने अधिकार मात्रै गैर आवासीय नागरिकतामा नहुने थापाले बताइन्।

राजनीति र सरकारी जागिर बाहेकका सबै सुविधा पाउने गरी नेपाल सरकारसँग लबिङ गरिरहेको उनले बताइन। उनले गैर आवासीय नेपाली सङ्घले नेपालमा १० अर्बको परियोजना लागु गर्न बाधक बनेका ऐन नियम संशोधनको पहल भइरहेको जानकारी दिइन।

एनआरएनएलाई नेपालका बैङ्कमा डलरमा रकम जम्मा गर्ने बजेटमा गरिएको व्यवस्था भएको उनले बताइन। उनले नेपालमा लगानी गर्न अमेरिकामा रहेका नेपालीलाई आव्हान पनि गरिन।

उनले विदेशमा पैसा राख्दा पैसा तिर्नुपर्ने अवस्था नेपालमा नहुने भन्दै डलर खातामा जम्मा गरेको पैसाको ७ प्रतिशत व्याज पाउने व्यवस्था रहेको सुनाइन्। उनले हरियो पासपोर्ट लिएर विदेशमा बस्ने नेपालीले मतदानको अधिकार पाउनु पर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने वर्कसपमा छलफल हुने जानकारी दिइन्।

उनले श्रीमान् र दुई छोराले किचनबाट एनआरएनएको अध्यक्षमा पुर्‍याउन सहयोग गरेको बताइन। उनले एनआरएनको २० वर्षको अवधिमा पहिलो पटक अध्यक्षमा अमेरिकाबाट महिला निर्वाचित हुँदा विश्वभरका महिलाको अवसरको ढोका खुलेको बताइन।

उनले संस्थालाई राजनीतिकरण गर्न नहुने बताइन। डेलिगेट्सको सम्बन्धमा देखिएका विवाद एनआरएनएका पञ्जीकृत हरेक सदस्यले केन्द्रमा मतदान गर्न पाउने व्यवस्था गर्न सके समाधान हुने उनले उल्लेख गरिन्।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नारा कार्यान्वयन गर्न संस्थागत रूपमा सधैँ सहयोग रहने कास्की समाजका अध्यक्ष कुल गुरुङले प्रतिबद्धता जनाए।

गैर आवासीय नेपाली सङ्घमा अमेरिकाबाट पहिलो पटक अध्यक्षमा निर्वाचित थापा बानाकी संस्थापक हुन्। संस्थापक थापा एनआरएनएको अध्यक्षमा निर्वाचित भएपछि बानाले सम्मान कार्यक्रम आयोजना गरेको हो।
सहमतिको आधारमा संस्था सञ्चालन गर्ने ६ बुँदे सम्झौता, अब कुनै विवाद छैन : अध्यक्ष रबिना थापा
कार्यक्रममा बानाकी निवर्तमान अध्यक्ष अनु वन्तले नेपाल र नेपालीको हितका लागि अझ धेरै काम गर्न एनआरएनए अध्यक्ष थापालाई शुभकामना दिइन।

अमेरिकाको बाल्टिमोर र मेरिल्यान्डबाट अन्तर्राष्ट्रिय अध्यक्ष पाएकोमा नासो अमेरिकाका राज सेन्चुरीले खुसी व्यक्त गरे। उनले नेतृत्वमा पुग्न जनताको माझमा भिज्न सक्नु पर्ने बताए। उनले स्वतन्त्र उम्मेदवार काठमाडौँमा बालेन शाह, धरानमा हर्क राई र धनगढीमा गोपाल हमाल निर्वाचित भएर ट्रान्सफरमेसनको बाहक बनेको उल्लेख गरे।

उनले जातीय विभेद भुसको आगो सल्के जस्तै सल्किँदै गएको बताए। सेन्चुरीले महिला अधिकार मात्रै नभएर हरेक अधिकारमा लड्नका लागि मानव र मानवअधिकारमा देखिएको चुनौती सम्बोधन गर्न अध्यक्ष थापा सक्षम हुने विश्वास व्यक्त गरे।

मेरिल्यान्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले एनआरएनए अध्यक्ष थापालाई सहयोग गर्ने बचन दिए। नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति सुवास घिमिरेले मान्छेमान्छेबीचको अन्तरद्धन्द्ध हुने गरेको सुनाउँदै अमेरिकाले पहिलो पटक एनआरएनए अध्यक्ष एवं पहिलो महिला अध्यक्ष पाएको सुनाए। उनले रबिना थापालाई नेपालको मन्त्री प्रधानमन्त्री बन्न शुभकामना पनि दिए।

प्रवासी नेपाली एकता समाजका अन्तर्राष्ट्रिय संयोजक प्रेम श्रेष्ठले नेपालको अर्थतन्त्र धराशायी हुँदै गएको बताउँदै सहयोग र सुझाव दिनुपर्ने बताए। डलरको सञ्चिति घट्दै गए नेपालको अवस्था श्रीलङ्का जस्तै हुने भन्दै उनले नेपालको अर्थतन्त्र खराब अवस्थामा जान दिन नहुने सुझाए। सामाजिक काममा एक आपसमा मिलेर अगाडी बढ्नु पर्ने श्रेष्ठको भनाई थियो।

नेपालमा भएको भ्रष्टाचार अन्त्य गर्न अमेरिकामा भएका नेपालीले सहयोग गर्नुपर्ने श्रेष्ठले बताए। ओएनएफ अमेरिकाका सभापति प्रभु थापाले सबै सङ्घसंस्था मिलेर एनआरएनएमा एकता र विकास कायम राख्दै जीवनस्तर उच्च बनाउने काममा लाग्न सक्नु पर्ने बताए। उनले सङ्घसंस्थाहरू साझा इच्छा चाहना अनुसार अगाडि बढ्नु पर्ने उल्लेख गरे।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पन्तले अध्यक्ष थापाको अब्बल नेतृत्वले अब एनआरएनएमा कुनै कमी कमजोरी नहुने विश्वास व्यक्त गरे। डेलिगेट्स छनौट गर्ने प्रक्रिया वैज्ञानिक हुनु पर्ने बताउँदै उनले विवाद हुन नहुने उल्लेख गरे।

नागरिकता, कर छुटको व्यवस्थाका लागि नेपालसँग लबिङ गर्नुपर्ने बताउँदै उनले एनआरएनए नभई नहुने संस्था भएको बताए। उनले एनआरएनएमा विवाद आउन नदिन सदस्यता नीति परिवर्तन गरेर विधान संशोधन गर्ने बताए। एनआरएनएलाई सबैले स्वीकार गर्ने संस्था बनाउने अभियानमा मिलेर काम गर्नु पर्ने उनले उल्लेख गरे।

बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले एनआरएनएमा क्यान्सर लागिसकेको बताउँदै सुरुकै अवस्थामा उपचार गरे निको हुने बताए। उनले आगोको झिल्को सल्काएमा फैलने बताउँदै एनआरएनएलाई सफल बनाउन सहयोग गर्ने बताए।

उनले स्वतन्त्र उम्मेदवार बालेन शाहको नाम लिँदै संस्थाविनाका व्यक्ति पनि नेतृत्वमा पुगेको उल्लेख गरे।

बानाका अध्यक्ष सुबोध विलास पन्तले कोरोनाको समयमा एनआरएनए आइसिसीको उपाध्यक्ष हुँदा रबिना थापाले गरेको सहयोगको प्रशंसा गरे।

उनले डाक्टर, इन्जिनियर, पाइलटसहितका विज्ञ बानामा रहेको बताउँदै आवश्यक पर्दा एनआरएनएमा भूमिका निर्वाह गर्ने बताए। बानाले अध्यक्ष थापाबाट पूर्ण सहयोग हुने विश्वास लिएको पन्तले बताए।

भिडियो सुन्न यहाँ क्लिक गर्नुहोला

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.