राष्ट्रपति पौडेलले भने, नागरिकता विधेयकमा समस्या छैन

राष्ट्रपति पौडेलले भने, नागरिकता विधेयकमा समस्या छैन

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयकमा कुनै समस्या नरहेको बताएका छन्। राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान पनि गरेका छन्।

गैरआवासीय नेपाली सङ्घका अनुसार राष्ट्रपति पौडेलले आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताए।

बधाई दिने नाममा वंशजकै नागरिकता निरन्तरताको माग गर्दै शीतल निवास पुगेका गैरआवासीय नेपाली सङ्घ एनआरएनएका अध्यक्ष रबिना थापा र कुल आचार्यसहितको टोलीलाई राष्ट्रपति पौडेलले नागरिकता विधेयकमा कुनै समस्या नरहेको बताएका हुन्।

नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपतिको जवाफ : समय आएपछि निर्णय गरौँला

राष्ट्रपति पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकता विधेयकमा गैरआवासीय नेपालीको माग पनि सम्बोधन भएको उल्लेख गरेका छन्।

संविधानको धारा १४ अनुसार नागरिकता ऐन २०६३ मा संशोधन गर्दै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरेको नागरिकता विधेयक विद्यादेवी भण्डारीले एक पटक फिर्ता गरेर र दोस्रो पटक प्रमाणीकरण नै नगरिदिएर निष्क्रिय पारिदिइन।

राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने बताउनु भएको एनआरएनएको सचिवालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

राष्ट्रपति पौडेलको कार्यकाल सुरु, भारत, चीन र अमेरिकाको बधाई

गैरआवासीय नेपालीको मागमा राष्ट्रपति सकारात्मक हुनु भएको अध्यक्ष रबिना थापाले बताइन। ‘पोजेटिभ हुनुहुन्छ,’उनले पहिचानसँग भनिन्,‘हाम्रो माग त वंशजकै नागरिकता पाउनुपर्छ भन्ने हो।’

उनले प्रमाणीकरण हुन नसकेको नागरिकता विधेयकमा गरिएका व्यवस्थाले आफूहरूको माग सम्बोधन नहुने बताइन।

थापाले लामो समयदेखि सङ्घले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराइन।

राष्ट्रपति कार्यालयमा नागरिकता विधेयक होल्ड, सभामुख र उपसभामुखले गरे बिदाइ भेट

सङ्घका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गरे।

आचार्यले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकार सम्बन्धमा स्पष्ट कानुनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै उक्त विषय सम्बोधनका लागि पनि आग्रह गरे।

संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहे पनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए।

गैरआवासीय नेपालीहरूले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै डा महतोले उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading